तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्यानडामा सिख नेताको हत्यापछि किन बढ्यो हिन्दू र सिख समुदायबीच तनाव
- Author, नदिन युसुफ
- Role, बीबीसी न्यूज, टोरन्टो
एकजना सिख पृथकतावादी नेताको हत्यालाई लिएर क्यानडा र भारतबीचको विवादले ‘डायस्पोरा’मा रहेका केही सिख र हिन्दूबीच राजनैतिक टकराव निम्तिएको छ।
यद्यपि कतिपयले त्यस्तो विश्लेषणलाई बढाइचढाइ गरिएको भनेका छन्।
क्यानडाको भूमिमा भएको हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको हुनसक्ने त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रूडोले सोमवार सार्वजनिक रूपमा आरोप लगाएका थिए।
त्यसपछि अमेरिकामा रहेको सिख पृथकतावादी समूहका प्रमुखले हिन्दू क्यानेडियनहरूलाई भारत फर्कन आह्वान गरेको देखिने एउटा भिडिओको अंश सामाजिक सञ्जालमा देखा पर्यो।
हिन्दूलाई चेतावनी दिइएको भिडिओ
"इन्डो-क्यानेडियन हिन्दूहरू, तिमीहरूले क्यानडा र क्यानडाको संविधानप्रति आफ्नो निष्ठा अस्वीकार गर्यौ," ‘सिख फर जस्टिस’का प्रमुख गुर्पत्वन्त सिंह पन्नुनले सेप्टेम्बर १२ मा लिइएको भिडिओमा भनेका छन्।
"तिमीहरूको गन्तव्य भारत हो। क्यानडा छाड र भारत जाओ," भिडिओमा उनले भनेका छन्।
पन्नुन क्यानेडियन र अमेरिकी दोहोरो नागरिकता भएका व्यक्ति हुन्। उनी निज्जरका साथी थिए।
उनको भिडिओ अनलाइन र भारतीय सञ्चारमाध्यममा व्यापक रूपमा फैलिएको थियो।
हिन्दू सांसदको ध्यानाकर्षण
त्यसले क्यानडाको संसद्का लिबरल सांसद चन्द्र आर्यको ध्यानाकर्षण गरायो।
"मैले धेरै हिन्दू-क्यानेडियनहरूबाट सुनेको छु-उनीहरू उक्त आक्रमण पछि डराएका छन्," आफू पनि हिन्दू रहेका आर्यले यसअघि ट्विटर भनिने एक्सको पोस्टमा लेखेका छन्।
उनी "क्यानडामा हिन्दू र सिख समुदायहरूलाई विभाजित गर्न" त्यस्तो टिप्पणी गरिएको हो भन्ने ठान्छन्।
तर उनले बीबीसीसँग त्यसबारे टिप्पणी गर्न अस्वीकार गरे।
स्पष्ट विभाजन
उक्त हत्याको घटना र त्यसपछिका कतिपय अभिव्यक्तिले क्यानडामा रहेका भारतीय डायस्पोराभित्र स्पष्ट विभाजन देखाएको छ।
यद्यपि क्यानडाले त्यसमा भारतको हात रहेको आरोप लगाएपछि तनावलाई केही कम गरेको जस्तो देखिन्छ।
भारतले चाहिँ निज्जरको हत्यामा उसको संलग्नतालाई अस्वीकार गरेको छ।
निज्जरको हत्यापछि क्यानडामा तनाव बढेको थियो।
उनको हत्यापछि उनका समर्थकहरूले क्यानडाभरि विरोध प्रदर्शन गरेका थिए र उनको मृत्युमा भारतको हात रहेको आरोप लगाएका थिए।
ती प्रदर्शनहरूले भारत सरकारका समर्थकहरूको विरोधको सामना पनि गर्नुपरेको थियो।
भारतको आपत्ति
ती प्रदर्शनका पोस्टरहरूमा भारतीय कूटनीतिज्ञहरूलाई "हत्यारा" भनेर आरोप लगाइएको थियो।
त्यस्तो आरोपको नयाँ दिल्लीका अधिकारीहरूले निन्दा गरेका थिए।
भारतले क्यानडामा हिन्दू मन्दिरहरूलाई लक्षित गरेर "भारत विरोधी भित्तेचित्र" टाँस्नुका साथै तोडफोड गरिएको बारे पनि बोलेको छ।
निज्जर भारतीय राज्य पञ्जाबमा सिखहरूका लागि छुट्टै मातृभूमि अर्थात् खालिस्तान राज्यको निर्माण हुनुपर्छ भन्ने पक्षमा पैरवी गर्ने व्यक्ति थिए।
भारतले खालिस्तान आन्दोलनको कडा विरोध गर्ने गरेको छ र निज्जरलाई आतङ्कवादीका रूपमा हेर्ने गर्थ्यो।
सिख नेताको दाबी
बीबीसीसँगको एक अन्तर्वार्तामा पन्नुनले आफ्नो टिप्पणी सबै हिन्दूहरू लक्षित नभएको तर भारत सरकारको स्वार्थसँग मिल्नेलाई लक्षित गरिएको बताए र उनको दाबीमा त्यस्ता हिन्दूहरू बहुसङ्ख्यक छन्।
बीबीसीसँग कुरा गरेका इन्डो-क्यानेडियनहरूले भने आफ्नो समुदाय क्यानाडाको आरोपबाट अचम्ममा परेको बताए। यद्यपि आफूहरूले सुरक्षामा कुनै खतरा भएको वा त्यस्तो खतरा बढेको अनुभव नगरेको बताए।
क्यानडामा दुवै देशसँग गहिरो सम्बन्ध भएका इन्डो-क्यानाडेलीहरूको जनसङ्ख्या ठूलो छ।
क्यानडामा विभिन्न धार्मिक र सामाजिक-आर्थिक पृष्ठभूमि भएका भारतीय मूलका १८ लाख ६० हजार बासिन्दा छन्।
क्यानडाका सिख र हिन्दू के भन्छन्?
टोरन्टोका एकजना प्राविधिक क्षेत्रमा कार्यरत व्यक्ति रणवीर ग्रेवाल आफूलाई सिखका रूपमा चिनाउँछन्।
उनी भारतीयहरूको समाज हिन्दू र सिख क्यानेडियनहरूको मिश्रण भएकाले सबै हिन्दू क्यानेडियनहरूले क्यानडा छोड्नुपर्छ भन्ने टिप्पणीको निन्दा गर्छन्।
"ती अपेक्षाकृत रूपमा आपत्तिजनक बयानहरू हुन् र त्यसमा मानिसहरूले प्रतिक्रिया जनाउँछन्," ग्रेवालले भने।
ग्रेवालले क्यानडाका लागि हालै जारी गरिएको भारत सरकारको ‘ट्राभल एडभाइजरी’को विरुद्धमा पनि बोलेका थिए।
क्यानडासँगको विवादपछि भारतले हालै आफ्ना नागरिकहरूमाथि हिंसाको सम्भावना रहेको भन्दै उक्त उत्तर अमेरिकी देशमा भ्रमण गर्दा "अत्यन्त सावधानी" अपनाउन चेतावनी दिएको थियो।
उनले भने, “म मानिसहरुलाई पहिले जसरी भेट्थेँ अहिले पनि त्यसरी नै भेट्दै आएको छु। मेरो दैनिकीमा खासै परिवर्तन आएको छैन।”
उनका भनाइमा मानिसलाई भड्काउने खालका टिप्पणीहरू इन्डो-क्यानेडियन समुदायका केही गुटहरूद्वारा गरिएको छ तर त्यसले बहुसङ्ख्यकको प्रतिनिधित्व गर्दैन।
भानकुभरमा अध्ययनरत राधिका शर्मा हिन्दू समुदायकी हुन् र उनी यो सामाजिक दरारलाई "राजनीतिक" मुद्दाको रूपमा हेर्छिन्।
उनका भनाइमा उनका केही सिख र हिन्दू दुवै साथीहरू ट्रूडोको आरोपबाट विचलित भएका छन् किनकी उक्त आरोपलाई पुष्टि गर्न सरकारले कुनै पनि आधारहरू सार्वजनिक गरेको छैन।
"यो सत्य हो वा होइन हामीलाई थाहा छैन तर यदि यो हो भने यसको पुष्टि हुने प्रमाण हुनुपर्छ," उनले भनिन्।
"यसले दुई देशहरूबीच झगडा मात्र सिर्जना गरिरहेको छ।"
म्याकगिल विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकी रुपिन्दर लिडरको अनुसन्धान सिख-क्यानेडियन समुदायमा केन्द्रित छ।
उनले खालिस्तान आन्दोलनलाई आतङ्कवाद र हिंसासँग जोडेर गलत सूचना अनलाइनहरूमा फैलाइएको पाइएको बताइन्।
यद्यपि इन्डो-क्यानेडियन समुदायका केहीबीच राजनीतिक विभाजनको भावना भए पनि क्यानडामा हिन्दू र सिखबीच घनिष्ठ सम्बन्ध रहेको छ।
"सिख-क्यानेडियन र हिन्दू-क्यानेडियन समुदायबीच कुनै तनाव हुनु हुँदैन," उनले भनिन्, "बरु यो सबै क्यानडामा विदेशी हस्तक्षेप बारेमा हो भन्ने हामीले बुझ्नुपर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।