त्रिभुवन विमानस्थल दैनिक १४ घण्टा मात्रै खुल्दा कस्तो प्रभाव, विमानहरू किन भैरहवा र पोखरा जान अनिच्छुक

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत तथा स्तरोन्नतिका लागि नोभेम्बर दोस्रो सातादेखि दैनिक १४ घण्टा मात्र सञ्चालन हुने छ।

दैनिक खुल्ने समय सात घण्टाले घट्दा नियमित आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूलाई कसरी सहज बनाउने भन्ने विषयमा अन्योल देखिएको अधिकारी तथा व्यवसायीहरूले बताएका छन्। मर्मत र स्तरोन्नतिको कामका कारण विद्यमान उडानमध्ये एकतिहाइमा प्रभाव पर्ने अनुमान छ।

विमानस्थल अहिले बिहान ३ बजेदेखि ६ बजेसम्म मात्र बन्द हुन्छ। अधिकारीहरूका अनुसार नोभेम्बर ८ मा निर्माणका काम सुरु हुने छ। पाँच महिनासम्म विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द रहने छ।

विमानस्थल पूर्ण क्षमतामा नचल्दा पर्यटकहरूको बढी चहलपहल हुने शरद् ऋतु र आसन्न वसन्त ऋतुका लागि हुने बुकिङ समेत प्रभावित भएको पर्यटन व्यवसायीहरूले बताएका छन्।

तर प्राधिकरणका अधिकारीहरूले पर्यटकीय यामलाई नै विचार पुर्‍याएर नोभेम्बरको दोस्रो सातादेखि मात्र विमानस्थलमा उडान हुने समयावधि घटाइएको दाबी गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार नोभेम्बरको दोस्रो सातादेखि नेपालीका मुख्य चाडपर्व पनि सकिने र शरद् यामका लागि आएका पर्यटकहरू पनि फर्किन थाल्ने ठानेर त्यसो गरिएको बताउँछन्।

"यो भन्दा ढिलो गर्दा आउँदो गर्मी यामको तालिका पनि प्रभावित हुन्छ। दुवै यामका तालिका प्रभावित पार्ने भएकाले त्यसो गरिएको हो," उनले भने।

"हामीहरूले ज्यानुअरीबाट बन्द गर्दै १० घण्टाको साटो आठ घण्टा गराउने विकल्प पनि हेरेका थियौँ। त्यसो गर्दा उल्टै ठेकेदारको आर्थिक दायित्व सरकारले नै बेहोर्नुपर्ने देखिएपछि हामी पछि हटेका थियौँ।"

यात्रुको टिकटको मूल्यदेखि योजनासम्म प्रभावित हुने अवस्थाप्रति अन्तर्राष्ट्रिय विमान कम्पनीहरूको सङ्गठन इन्टरन्याश्नल एअर ट्रान्सपोर्ट असोसिएशनले चासो व्यक्त गर्दै नेपाल सरकारलाई पत्राचार पनि गरेको थियो।

विकल्प के हुन सक्थ्यो?

सन् २०१९ मा पनि त्रिभुन विमानस्थलमा मर्मत र स्तरोन्नतिको काम भएको थियो। त्यस बेला चार महिना विमानस्थल सञ्चालन गर्ने समय घटाइएको स्मरण गर्दै प्राधिकरणका अधिकारीहरू यतिखेर भैरहवा र पोखरामा विकल्प हुँदाहुँदै पनि विमान कम्पनीहरू त्यहाँ जान अनिच्छुक देखिएको बताउँछन्।

"भैरहवा र पोखरामा अनेकौँ छुटहरू दिँदा समेत काठमाण्डूमै किन सीमित हुन खोजिरहेका छन् भन्नेबारे वायुसेवा कम्पनीले जबाफ दिन सकेका छैनन्," सहप्रवक्ता भुलले भने।

नेपाल असोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष कुमारमणि थपलिया विमान कम्पनी र सरकारबीच खुला संवाद हुन नसक्दा समस्या देखा परेको ठान्छन्।

"उहाँहरूले त्यसका लागि ती विमानस्थलमा विमान कम्पनीहरू स्वयंले गर्नुपर्ने सुरक्षा जाँचपासका कामहरू बाँकी रहनुलाई मुख्य कारण बताउनुभएको छ," उनले भने।

"त्यसबाहेक ती दुवै विमानस्थलबाट राजधानी वा अन्य पर्यटकीय सहर जोड्ने सडकको बिजोग छ। विमान कम्पनीहरूले वैकल्पिक विमानस्थलबाट 'बिज्निस' नपुग्ने भन्दै आएका छन्।"

त्यसले पर्यटनमा कैयौँ महिना नराम्रो असर पर्ने देखिएको नाटाका थपलियाले बताए।

"मार्च-एप्रिलदेखि अर्को पर्यटकीय याम सुरु हुन्छ। यो बन्दको तालिकाले त्यसलाई पनि छुन्छ। तर अहिले नै टिकटको मूल्य हेर्ने हो भने दुई-तीनगुना बढी देखिन थालेको छ।"

उनका अनुसार यसअघि काठमाण्डू-दिल्ली उडान १५,०००-२०,००० रुपैयाँमा हुने गरेकामा अब त्यसको तीन गुनासम्म पुग्न सक्छ। नेपालमा माग नघटेको र उडानहरू कम हुने चिन्ताले मूल्य बढ्ने नै देखिएको उनको भनाइ छ।

पोखरा र भैरहवा जाँदा समस्या सुल्झन्छ?

प्राधिकरणका अधिकारीहरूका अनुसार विमान कम्पनीहरूसँग छलफल गरेर छ महिनाअघि यस विषयमा निर्णय गरिएको थियो।

विमानस्थल खुला हुने अवधि घटाउँदा पहिलेकै स्वरूपमा व्यवस्थापन गर्न सकिँदैन भन्ने कुरा सामान्य गणितीय दृष्टिले नै स्पष्ट विषय रहे पनि आफूहरूले विकल्पहीन अवस्थामा नछाडेको सहप्रवक्ता भुलको दाबी छ।

"बीस प्रतिशतजति [अन्तर्राष्ट्रिय] उडान भैरहवा र १० प्रतिशत उडान पोखरा सार्नका लागि हामीले अनुरोध गरेका पनि छौँ। काठमाण्डू उडान गर्न पाउने हरेक विमान पोखरा वा भैरहवा जान र निस्किन सक्ने व्यवस्था गरिएको छ।"

गर्मी याममा एक सातामा ४१८ वटा अन्तर्राष्ट्रिय उडान हुने गरेका थिए। नोभेम्बर दोस्रो सातादेखि काठमाण्डूमा साप्ताहिक उडानको सङ्ख्या २९५ मा सीमित हुने छ। अहिलेको उडानको चापलाई घट्न नदिने हो बाँकी १३० वटा भैरहवा र पोखराबाट हुनुपर्ने देखिन्छ।

बाहिरबाट पर्याप्त यात्रु नपुग्ने अवस्था हुन सक्ने ठानेर हरेक अन्तर्राष्ट्रिय कम्पनीको कम्तीमा एउटा उडानलाई काठमाण्डूमा समेत केही बेर रोकेर यात्रु थप्ने विकल्प दिइएको जानकारी भुलले दिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक पटक पाँचवटा विमान रहन सक्ने क्षमता छ भने भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक पटक आठवटा विमान रहन सक्ने अवस्था छ।

"काठमाण्डूमै चाहिन्छ भने भनेर ढिपी गर्दैमा नेपालको उड्डयन प्रशासन चल्दैन। विमानस्थल चलाउने सरकारले हो, विमान कम्पनीले होइन।"

तर नाटाका अध्यक्ष थपलियाले सरकारले सधैँ आफूले दिने सहुलियतमै जोड दिएको तर व्यावसायिक चिन्ता र अन्य कैयौँ पक्षबाट विमान कम्पनीहरूसँग सल्लाह गरेर निष्कर्षमा पुग्न नसकेको बताए।

काठमाण्डूमा धेरै उडान गर्ने कतार एअरवेज, नेपाल वायुसेवाजस्ता विमान कम्पनीका हकमा दोहा र दिल्लीजस्ता 'सेक्टर'मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हिउँदे तालिकामा आधाजसो उडान कटौती भएका छन्।

त्रिभुवन विमानस्थलमा के काम हुन्छ?

डेढदेखि दुई वर्षसम्म लाग्ने निर्माण र पुनर्निर्माणका काम रहे पनि धावनमार्ग नै प्रभावित हुने गरी मार्चसम्म विमानस्थल बन्द गर्नुपर्ने अवस्था रहेको उड्डयन अधिकारीहरूले बताएका छन्।

अहिले विमान उड्नका लागि धावनमार्गको अन्त्यसम्म 'ट्याक्सी वे' छैन। त्यसैले विमानहरू केही पछाडि सरेर मात्र उड्न सक्छन्। त्यसका लागि चार मिनट समय लाग्ने गरेको अधिकारीहरू बताउँछन्।

"अब धावनमार्ग बराबरकै 'ट्याक्सी वे' बनाउँदा चार मिनटको अवधि घटेर दुई मिनटमा पुग्छ। अहिले केही समय कठिन भए पनि यो काम अत्यावश्यक र सबैको हितमा छ," भुलले भने।

"सन् २०१९ मा स्तरोन्नति गरेर हामीले वार्षिक ६० लाख यात्रुको क्षमतालाई हालको ८० लाख पुर्‍याएका थियौँ, अब हामी वार्षिक एक करोड यात्रु आउजाउ गर्ने क्षमतामा लैजाँदै छौँ।"

त्यसबाहेक एप्रोन, पार्किङस्थल, ह्याङ्गरसहितका विभिन्न क्षेत्रमा काम हुन लागेको बताइएको छ।

काठमाण्डूमा अहिले अपराह्ण एक घण्टाको अवधिमा औसत झन्डै ३२ वटा विमानले उडान तथा अवतरण गर्ने गरेका छन्। तर नोभेम्बर ८ पछि उडान र अवतरणको सङ्ख्या दिउँसो प्रतिघण्टा २६ वटासम्म र राति प्रतिघण्टा १२ बाट घटाएर आठ वटामा सीमित हुने छ।

क्षमता अभिवृद्धिको काम सम्पन्न भएपछि प्रतिघण्टा हुने उडान दोबर हुन सक्ने उड्डयन अधिकारीहरूको दाबी छ।

कारबाहीको चेतावनी

गत मे ३० मा प्राधिकरणले एउटा सूचना जारी गर्दै नोभेम्बर ८ देखि पाँच महिनाका लागि सबै टिकट काठमाण्डूका लागि नपाइन सक्ने जनाएको थियो। "त्यसो हुँदाहुँदै पनि अनुमति नदिइएको उडानको टिकट बिक्री गर्दै यात्रुबाट टिकट रद्द गर्दा लागेको रकम लिएको पाइएको छ, हामी तिनलाई कारबाही गर्छौँ," भुलले भने।

"हरेक उडानको न्यूनतम र अधिकतम मूल्यका टिकटको दायरा तोकिएको अवस्था रहेकाले हामीले भाडावृद्धिलाई समेत त्यससँग जोडेर अनुगमन गरिरहेका छौँ।"

उनले संसारभरि घण्टौँ विमानस्थल बन्द हुने यस्तो अवस्था आउने गरेको र नियामक निकायले तोकिदिने नजिकका विमानस्थलमै जानुपर्ने नियम हुने अनि वायुसेवा कम्पनीहरूले "बखेडा' झिक्न नहुने" बताए। उनले निष्पक्ष भएर तालिकामा समिटने वचनबद्धता व्यक्त गरे।

नाटा अध्यक्ष थपलियाले भने अहिले नै नेपाल आएका पर्यटकहरूलाई कसरी फिर्ता पठाउने भन्ने ठूलो चुनौती पर्यटन व्यवसायीहरूमाझ आइपरेको बताए।

"बन्द हुने अवधि १० घण्टाबाट घटाएर सात-आठ घण्टासम्म झार्ने, सक्दा धेरै उडानहरू गर्न सकिन्छ भन्ने हाम्रो सुरुदेखिकै सुझाव थियो," थपलियाले भने।

"तर अहिलेको अवस्थामा वैकल्पिक विमानस्थलमा जानभन्दा बरु उडान नै घट्ने अवस्था देखिन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।