'सेल्फी खिच्नेको भिड': यात्रुको भन्दा अरूको घुइँचो बढेपछि त्रिभुवन विमानस्थलमा भिजिटर पास बन्द

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय टर्मिनलको हकमा दिँदै आएको 'भिजिटर पास' मङ्गलवारबाट बन्द गरिदिएको छ।

उक्त विमानस्थलको नागरिक उड्डयन कार्यालयले एउटा सार्वजनिक सूचना जारी गरी नयाँ व्यवस्थाबारे जानकारी गराएको हो।

यात्रुको भन्दा उनीहरूसँग भित्र जान खोज्ने मानिसको अनावश्यक घुइँचो बढेका कारण समस्या उत्पन्न हुन थालेपछि यो निर्णय गरिएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बीबीसीलाई बताए।

यसअघि अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुका आफन्त र साथीभाइलाई विशेष परिस्थितिमा 'भिजिटर पास' दिइँदै आएको थियो। नयाँ नियम लागु भएसँगै अब त्यो सुविधा बन्द भएको छ।

विमानस्थलका एक कर्मचारीका अनुसार भिजिटर पास देखाउँदै हिँड्नु कतिपयका लागि "मान र सानको विषय पनि बनेको" देखिन्थ्यो।

मुख्य कारण के हो?

सहज रूपमा सेवाप्रवाहदेखि सुरक्षासम्मका विषयलाई ध्यानमा राखी भिजिटर पास बन्द गर्ने निर्णय लिइएको अधिकारीहरू बताउँछन्।

महाप्रबन्धक पाण्डेका अनुसार अशक्त तथा सहायता चाहिने यात्रुहरूका लागि भिजिटर पासको व्यवस्था गर्दै आइएकोमा पछिल्लो समय भिजिटर पास भनसुनबाट दिनुपर्ने परिस्थिति उत्पन्न भएको थियो।

"राजनीतिक दलका नेता तथा उच्चपदस्थ कर्मचारीहरूले 'मेरो मान्छे चेक-इनमा जानुपर्ने भयो, लौ न पास मिलाइदिनुपर्‍यो' भन्ने प्रवृत्ति बढेर हामीलाई थेगिनसक्नु समस्या आएको थियो।"

"वास्तविक यात्रुले भन्दा भनसुनबाट भिजिटर पास लिने प्रचलन बढ्यो। त्यसरी भनसुनका आधारमा पास लिएर माथि घुम्न जाने, सेल्फी खिच्न जाने प्रवृत्ति देखिएपछि त्यसलाई निरुत्साहित गर्ने भनेर आजबाट यो कदम चालिएको हो," महाप्रबन्धक पाण्डेले थपे।

विमानस्थलको सुविधादेय समितिले सुविधा चाहिएका यात्रुका लागि पहिलेदेखि कायम रहेको व्यवस्थालाई अझ व्यवस्थित बनाउँदै बाँकीका हकमा बन्द गर्ने निर्णय गरेको हो।

पाण्डेका अनुसार "यात्रुलाई चेक-इन गराइदिन्छु, लोड मिलाइदिन्छु" भन्दै भिजिटर पास लिएर त्यसको प्रयोग गर्ने विकृति बढेको थियो।

"बाहिर यात्रुलाई तपाईँको सामान २० केजीभन्दा बढी छ, म मिलाइदिन्छु भन्ने अनि पासको प्रयोग गरेर एअरलाइन्सका कर्मचारीलाई अनावश्यक दबाव दिने र भिडभाड बढाउने समस्या भइरहेको थियो। यात्रुभन्दा भिजिटरको सङ्ख्या बढी हुन थाल्यो," पाण्डेले भने।

"साँघुरो क्षेत्रमा यात्रुसँगै भिजिटरहरू हुँदा चेक-इन गर्न पनि असजिलो भइरहेको थियो। यात्रुले समेत हामीभन्दा भिजिटर नै बढी हुन थाले भन्ने खालका गुनासो गर्न थालेका थिए। त्यसलाई पनि नियन्त्रण गर्नुपर्ने स्थिति थियो।"

महाप्रबन्धक पाण्डेका अनुसार धेरै भिडभाड बोर्डिङ पास जारी हुने 'चेक-इन' क्षेत्रमा हुने गरेको थियो। माथिल्लो तलामा अध्यागमन काउन्टरनजिकै पनि यात्रुबाहेकका अरू मानिसको घुइँचो देखिने गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल दैनिक बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुने गरेको छ।

अहिले बर्खा याममा दैनिक ७,००० को हाराहारीमा यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने गरेका छन्।

"विमानस्थल सञ्चालन अवधिभरि दैनिक १,२०० देखि १,४०० सम्म भिजिटर आउने गरेका थिए," पाण्डेले भने।

प्रवक्ता पौड्यालका अनुसार भिजिटर पास लिनेहरूका नाम टिप्नैका लागि कर्मचारी छुट्ट्याउनुपरेको थियो।

आन्तरिक टर्मिनलमा कायम

निश्चित प्रकृतिका व्यक्तिलाई बाहेक भिजिटर पास पूर्ण रूपमा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था कायम रहेको महाप्रबन्धक पाण्डेले स्पष्ट पारे।

"विमानस्थलभित्र विभिन्न सरकारी एवं गैरसरकारी निकाय पनि छन्। त्यहाँ अफिसिअल कामका लागि आउनेहरूको हकमा त्यो प्रबन्ध जारी रहन्छ। तर यात्रुसँग आउने मानिसका लागि भिजिटर पास चाहिँ बन्द नै गरिएको छ," उनले भने।

विमानस्थलका प्रवक्ता तेजबहादुर पौड्यालका अनुसार आवश्यक भएका व्यक्तिहरूको हकमा भिजिटर पासको व्यवस्था कायम छ। "वास्तविक रूपमा जसलाई आवश्यक छ उहाँहरूका लागि रोकिएको छैन, अन्यका हकमा बन्द भएकै हो," उनले भने।

अन्तर्राष्ट्रिय टर्मिनलमा भिजिटर पास बन्द गरिए पनि आन्तरिक विमानस्थलतर्फ चाहिँ त्यस्तो कुनै निर्णय नगरिएको अधिकारीहरूले स्पष्ट पारेका छन्।

"आन्तरिकतर्फ त्यस्तो गुनासो आएको छैन। गुनासो आयो र सम्बोधन गर्नुपर्ने देखियो भने हामी त्यो पनि गर्छौँ," पाण्डेले भने।

'सबैलाई समान नियम'

सुरक्षाका हिसाबले विमानस्थललाई संवेदनशील क्षेत्रका रूपमा लिइन्छ।

अनावश्यक रूपमा भिडभाड हुँदा सुरक्षाकर्मीलाई पनि व्यवस्थापनमा समस्या हुने गरेको सुरक्षा अधिकारीहरू बताउँछन्।

पछिल्लो कदम सुरक्षाको हिसाबले पनि उपयुक्त रहेको एक अधिकारीले बीबीसीलाई बताए।

"सबैलाई समान नियम होओस् भनेर आउनु राम्रो हो," भिजिटर भिसा बन्द गरिएकोबारे प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र राठौरले बीसीसी न्यूज नेपालीसँग भने।

विमानस्थलको बाटो हुँदै भएका सुनलगायत कतिपय तस्करीको विषयलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थापनबारे विभिन्न खालका टीकाटिप्पणी हुने गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।