के मानव तस्करहरूले भारतीय नागरिकलाई अमेरिका पठाउन लागेका थिए

फ्रान्सबाट मुम्बई आइपुगेको विमानका एक यात्रु

तस्बिर स्रोत, Reuters

मानव तस्करी हुन लागेको आशङ्कामा फ्रान्सको एउटा विमानस्थलमा केही दिन रोकिएको एउटा विमानले भारतको मुम्बई अवतरण गरेको छ।

यूएईबाट निकारागुआका लागि उडेको चार्टर्ड एअरबस ए३४० इन्धन भर्न फ्रान्समा रोकिएको थियो।

त्यति बेला उक्त विमानमा सवार ३०३ यात्रु भारतीय नागरिक भएको बताइएको छ।

उक्त विमान कुल २७६ यात्रु लिएर भारतका लागि उडेको थियो। दुई नाबालिगसहित २५ जना शरणका लागि आवेदन दिएर फ्रान्समै बसेका छन्।

मानव तस्करीमा संलग्न भएको ठानिएका दुई व्यक्तिलाई अनुसन्धानका लागि फ्रान्समै राखिएको थियो

उनीहरूलाई अवैध रूपमा विदेशी नागरिकहरूलाई फ्रान्स ल्याउने षड्यन्त्र गरेको अभियोग लाग्न सक्ने ठानिएको थियो।

तर अदालतको आदेशपछि उनीहरू रिहा भएका छन्।

 उडान ए३४० मुम्बई आइपुगेपछि विमानस्थलमा ओर्लिएका यात्रुहरू

तस्बिर स्रोत, ANI

तस्बिरको क्याप्शन, उडान ए३४० मुम्बई आइपुगेपछि विमानस्थलमा ओर्लिएका यात्रुहरू
मुम्बई विमानस्थल आइपुगेका यात्रुहरू

तस्बिर स्रोत, ANI

भारतीय समाचारसंस्था एएनआईले सार्वजनिक गरेका तस्बिहरूमा उक्त विमान मुम्बई आइसकेपछि केही यात्रीहरू विमानस्थलमा प्लास्टिकका कुर्सीमा बसेको देखिन्छ।

केही यात्रुहरू विमानस्थलबाट बाहिर गएको पनि देखिएको थियो। तर बीबीसी मराठीका अनुसार उनीहरूमध्ये अधिकांशले सञ्चारमाध्यमले सोधेका प्रश्नको उत्तर दिन अस्वीकार गरेका थिए।

अज्ञात सुराकी

लेजन्ड एअरलाइन्सको उक्त विमान स्थानीय समयानुसार मङ्गलवार बिहान सबेरै मुम्बईमा ओर्लिएको छ।

यसअघि उक्त विमानलाई श्यालोङ-भ्याट्री विमानस्थल छोड्न रोक लगाइएको थियो। उक्त सानो विमानस्थल फ्रान्सको राजधानी प्यारिसबाट १३० किमि टाढा छ।

बिहीवार उक्त विमानमा "तस्करीमा पर्न लागेका मानिसहरू" भएको हुन सक्ने सुराक अधिकारीहरूले अज्ञात व्यक्तिबाट पाएको सरकारी अभियोजनकर्ताहरूले बताएका छन्।

उक्त विमानमा भएका अधिकांश मानिसहरू यूएईमा कार्यरत भारतीय नागरिक भएको ठानिएको छ। तीमध्ये एकतिहाइ भारतको गुजरात राज्यका बासिन्दा हुन्।

लेजन्ड एअरलाइन्सको विमान

तस्बिर स्रोत, AFP

फ्रान्समा मानव बेचबिखनमा संलग्न भएको प्रमाणित भए २० वर्ष जेल सजाय हुने व्यवस्था छ।

फ्रान्समा सुरुमा यात्रुहरूलाई विमानमा नै बसिरहन भनिएको थियो। पछि शुक्रवार राति विमानस्थलको आगमन कक्षलाई सुत्ने स्थानका रूपमा परिणत गरियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार सङ्गठित अपराधविरोधी फ्रान्सको राष्ट्रिय निकायले अनुसन्धान थालेको थियो।

अधिकारीहरूले यात्रुहरूसँग दुई दिन सोधपुछ गरेका थिए।

लक्ष्य अमेरिका वा क्यानडा भएको आशङ्का

फ्रान्सेली अधिकारीहरूले विमानमा सवार मानिसहरू संयुक्त राज्य अमेरिका वा क्यानडा छिर्ने प्रयास गर्न निकारागुआ जान लागेको आशङ्का गरेको बताइएको छ।

उक्त विमानलाई फ्रान्स छोड्ने अनुमति दिनुअघि अधिकारीहरूले अपराध नभएको निर्क्योल गरे नगरेको स्पष्ट भइसकेको छैन।

श्यालोङ-भ्याट्री विमानस्थल

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, यूएईबाट आएको विमान पूर्वोत्तर फ्रान्सस्थित श्यालोङ-भ्याट्री विमानस्थलमा इन्धन भर्न रोकिएको थियो

उक्त विमान निकारागुआ नगई किन मुम्बई गयो भन्ने स्पष्ट हुन बाँकी छ।

लेजन्ड एअरलाइन्स रोमेनिआको चार्टर विमानसेवा हो।

उक्त कम्पनीसँग चारवटा विमान भएको जानकारी विमान र उडानहरूको अभिलेख राख्ने एप फ्लाइटरेडारले दिएको छ।

उक्त कमपनीले मानव तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

भारतको प्रतिक्रिया

प्यारिसस्थित भारतीय दूतावासले फ्रान्सेली अधिकारीहरूबाट भारतीय नागरिकहरू सवार विमान नियन्त्रणमा लिइएको जानकारी पाएपछि दूतावासको एउटा टोलीले उक्त परिस्थितिबारे अनुसन्धान गरेको र यात्रुहरूको कल्याणका लागि काम गरिरहेको जनाएको थियो।

सोमवार राति दूतावासले भारतीय यात्रुहरूलाई घर पर्किने मिल्ने गरी समाधान खोजिदिएकोमा फ्रान्स सरकार र भ्याट्री विमानस्थललाई धन्यवाद दिएको छ।

भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दूतावासको पोस्टलाई सामाजिक सञ्जाल एक्समा रिपोस्ट गरेका छन्।

अनुत्तरित प्रश्न

बीबीसी मराठीले फ्रान्समा रोकिएका र भारत फर्काइएका मानिसहरूसँग सम्बन्धित केही प्रश्न अझै अनुत्तरित रहेको जनाएको छ।

ती हुन् -

  • के ती भारतीय नागरिकहरूसँग आवश्यक भिसा कागतजपत्र र यात्रा गर्ने अनुमति थिएन?
  • फ्रान्स सरकारले सोधपुछ गरी उनीहरूलाई छोडिदिएको छ। के मानव तस्करीको आरोप गलत थियो?
  • के ती भारतीय नागरिक अमेरिका जाने प्रलोभनमा परेका थिए?
  • कुन भारतीय निकायले यो घटनाबारे अनुसन्धान गरिरहेको छ?

बीबीसी मराठीका अनुसार यसबारे भारत सरकारको तर्फबाट आधिकारिक धारणा अझै आइसकेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।