मानव तस्करीको आशङ्कामा फ्रान्समा नियन्त्रणमा लिइएको एक विमान 'मुम्बई फर्किँदै'

विमान

तस्बिर स्रोत, AFP

मानव तस्करीको आशङ्कामा गत बिहीवार फ्रान्समा अवतरण गराइएको एक विमान २७५ भारतीय यात्रीसाथ सोमवार मुम्बईका लागि उडेको ठानिएको छ।

मानव तस्करी हुन लागेको गोप्य सूचनाका आधारमा फ्रान्सका अधिकारीहरूले ३०३ जना यात्रु रहेको उक्त विमानलाई नियन्त्रणमा लिएका थिए।

केही यात्रु फ्रान्समै रहेको ठानिएको छ।

फ्रान्सको बीएफएम टिभीका अनुसार लेजेन्ड एअरलाइन्सको उक्त विमानलाई देश छोड्न अनुमति दिएपछि अदालतले प्रक्रियामा त्रुटि भएको भन्दै सुनुवाइ रद्द गर्ने निर्णय गरेको हो।

तर रोकिएको उक्त विमान कहाँ जाला भन्ने त्यसबेला टुङ्गो थिएन।

दुई दिनसम्म सोधपुछ

विमानस्थल

तस्बिर स्रोत, GETTY IMAGES

ती धेरैजसो यूएईमा काम गर्ने भारतीयहरू रहेको ठानिएको छ।

अभियोजनकर्ताहरूले यात्रुहरूलाई दुई दिनसम्म प्रश्नहरू सोधेका थिए।

उक्त विमानमा रहेका दुईजना अझै फ्रान्समा हिरासतमा छन्।

विवरणहरूका अनुसार ती दुईजनालाई गैरकानुनी हैसियतका विदेशीहरूलाई उक्त देश प्रवेश गर्नका लागि षड्यन्त्र बनाउन सहयोग गरेको अभियोग लाग्न सक्छ।

फ्रान्समा मानव बेचबिखनमा संलग्न भए २० वर्ष जेल सजाय हुने व्यवस्था छ।

बिहीवार दुबईबाट निकारागुआका लागि उडेको उक्त विमानका यात्रीहरूको अन्तिम गन्तव्य अमेरिका रहेको विवरणहरूमा जनाइएको थियो।

घटना

रोमानियाको लेजेन्ड एअरलाइनद्वारा सञ्चालित विमान इन्धन भर्नका लागि पूर्वोत्तर फ्रान्सको भाथ्री विमानस्थलमा अवतरण गरेको थियो।

जतिखेर त्यसलाई त्यहाँ रोकिएको थियो, त्यहीक्रममा प्रहरीले पूरै विमानस्थललाई घेराबन्दी गरेको थियो।

तर सो विमानसेवाले मानव बेचबिखनमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

फ्रान्सका अधिकारीहरूले विमान अवतरण भएपछि सुरुमा यात्रुहरूलाई विमानमा नै बसिरहन भनिएको जनाएका छन्।

पछि शुक्रवार रात त्यहाँ बस्ने प्रबन्ध मिलाउन भाथ्री विमानस्थलको आगमन कक्षलाई सुत्ने स्थानका रूपमा परिणत गरिएको थियो।

फ्रान्सको अखबार ‘लु मोन्ड’ का अनुसार त्यहाँको सङ्गठित अपराधविरोधी राष्ट्रिय निकाय जुनालले अनुसन्धानमा आफ्नो अग्रसरता लिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।