रुसी कब्जामा रहेको युक्रेनी क्षेत्रमा पुटिनको भ्रमण, उनी कहिले त्यहाँ पुगेका थिए र के गरे?

तस्बिर स्रोत, THE KREMLIN
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कब्जामा रहेको युक्रेनी क्षेत्र खेअर्सनको भ्रमण गरेका छन्।
क्रेम्लिनका अनुसार उनले त्यहाँ एक सैन्य बैठकको आयोजना गरेर कमान्डरहरूका विवरण सुनेका थिए।
पुटिनले लुहान्स्क क्षेत्रको समेत भ्रमण गरेको ठानिएको छ।
रुसले गत वर्ष खेअर्सन र लुहान्स्क गाभेको थियो।
रुसी नेताको त्यस्तो भ्रमण दुर्लभ रूपमा हुने गरेको छ। यद्यपि उनले गत मार्च महिनामा मरिओपोल सहरको आकस्मिक भ्रमण गरेका थिए।


किएभको प्रतिक्रिया र भिडिओको विरोधाभास
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीका एकजना सल्लाहकार मिखाइलो पोदोलियाकले ट्विटमार्फत् पुटिनले युक्रेनका "कब्जा गरिएका र क्षतविक्षत भएका भूभाग" भ्रमण गरेर " अन्तिम पटक आफ्ना समर्थकहरूले गरेका अपराधको आनन्द लिएको" लेखेका छन्।
उनले भने, "पुटिनको पतन लोभलाग्दो छ।"
पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले उक्त भ्रमण १७ एप्रिलमा भएको जनाएका छन्।
यद्यपि त्यो क्रेम्लिनको वेबसाइटमा सुरुमा राखिएको भिडिओ फुटेजसँग मिल्दैन।
उक्त भिडिओमा पुटिनले स्पष्टसँग इस्टरको बिदा "आउँदै गरेको" भनेको सुनिन्छ।
रुसमा अर्थोडक्स इस्टर १६ एप्रिलमा मनाइन्छ जुन पेस्कोभले दाबी गरेको भन्दा एक दिनअघि हो।
त्यसपछि भने क्रेम्लिनको वेबसाइटमा राखिएको भिडिओ सम्पादन गरिएको छ र "आउँदै गरेको" भन्ने पुटिनका शब्दहरू हटाइएको छ।
बीबीसीले पुटिनले त्यहाँ भ्रमण गरेको पुष्टि गरे तापनि त्यसको मिति भने अझै प्रस्ट हुन सकेको छैन।


पुटिनले के भने?
राष्ट्रपति पुटिनले जापोरिजाको अवस्थाबारे समेत सोधेको बताइएको छ जसलाई मस्कोले रुसी भागको रूपमा दाबी गरेको छ।
पुटिनले खेअर्सनको सैनिकहरूको बैठकमा उनीहरूको ध्यान मोड्न आफूले नखोजेको बताए। "अवस्था कसरी विकसित भइरहेको छ भन्नेबारे तपाईँको विचार जान्नु, तपाईँलाई सुन्नु र सूचना आदानप्रदान गर्नु मेरा लागि आवश्यक छ।"
रुसी फौज गत वर्षको अन्त्यतिर खेअर्सन सहरबाट पछि हटेको थियो। जस क्रममा मस्कोले सन् २०२२ को फेब्रुअरीमा अतिक्रमण गरेपछि नियन्त्रणमा लिएको एकमात्र क्षेत्रीय राजधानी गुमाएको थियो।
यद्यपि उक्त क्षेत्रको केही भाग अझै रुसी नियन्त्रणमा छ।
क्रेम्लिनले जारी गरेको भिडिओमा एक खुला ठाउँमा पुटिन हेलिकप्टरबाट निस्कँदै गरेको देखाइएको छ र त्यसपछि उनी कारबाट निस्केको र सैन्य जनरल ठानिएका एक व्यक्तिले स्वागत गरेको देखिन्छ।
त्यसपछि उनी सैनिकहरूमाझ बोल्दै गरेका देखिन्छन्।












