युक्रेन युद्ध: पुटिनले राष्ट्रसङ्घीय परमाणु निगरानीकर्तालाई जापोरिजा जान दिने, त्यहाँ के भइरहेको छ?

जापोरिजा

तस्बिर स्रोत, Reuters

    • Author, म्याट मर्फी र लिओ स्यान्ड्स
    • Role, बीबीसी न्यूज

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूलाई जापोरिजा परमाणु केन्द्रमा अनुगमनका लागि अनुमति दिइने बताएका छन्।

पुटिन र फ्रान्सेली राष्ट्रपति एमानुअल माक्रोँबीच फोनवार्ता भएपछि क्रेमलिनले त्यस्तो घोषणा गरेको हो। 

यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले बीबीसीलाई उक्त प्लान्टको अवस्थाबारे आफू "चिन्तित" रहेको बताएका थिए। 

उनले जापोरिजा वरपर सैन्य गतिविधिहरू अन्त्य हुनुपर्ने भन्दै मस्कोलाई अनुगमनकर्तालाई प्रवेश दिन आग्रह गरेका थिए। 

अवस्था

मार्च महिनाको सुरुदेखि त्यस क्षेत्र रुसको नियन्त्रणमा छ। 

तर युक्रेनी प्राविधिकहरू अझै त्यहाँ रुसीहरूको निर्देशनमा काम गरिरहेका छन्। 

पुटिन

तस्बिर स्रोत, Getty Images

फ्रान्सेली र रुसी नेताहरूबीचको कुराकानीपछि जारी विज्ञप्तिमा क्रेमलिनले उक्त केन्द्रमा पहुँचका लागि राष्ट्रसङ्घीय निगरानीकर्ताहरूलाई "आवश्यक सहायता गर्न" पुटिन सहमत भएको जनाएको छ। 

दुवै नेताहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएका विज्ञहरूलाई पठाएर त्यहाँको वास्तविक अवस्थाको मूल्याङ्कन गर्ने काम महत्त्वपूर्ण हुने बताएको क्रेमलिनले जनाएको छ। 

एईए प्रमुखको नै जाने इच्छा

राष्ट्रसङ्घीय परमाणु निगरानीकर्ता निकाय आईएईएका महानिर्देशकले पुटिनको वक्तव्यको स्वागत गर्दै सो प्लान्टमा जाने टोलीको नेतृत्व आफैले गर्न खोजेको जनाएका छन्। 

"यो निकै अस्थिर र नाजुक अवस्थामा विश्वको ठूलोमध्येको परमाणु ऊर्जा केन्द्रको सुरक्षालाई थप जोखिममा पार्नसक्ने कुनै नयाँ कदम नचाल्नु निकै महत्त्वपूर्ण छ," रफायल ग्रोसीले भने। 

युक्रेनी अधिकारीहरूले उक्त परिसरलाई रुसले सैन्य आधारको रूपमा प्रयोग गरिरहेको बताएका छन्। 

किएभले त्यहाँ सैन्य उपकरणहरू, हतियार र झण्डै ५०० को सङ्ख्यामा सैनिकहरू तैनाथ गरेको जनाएको छ। 

ती फौजले केन्द्रलाई ढाल बनाएर निपर नदीसँगै रहेका नगरहरूमा हमला गरिरहेको युक्रेनी अधिकारीहरूको भनाइ छ। 

पछिल्ला साताहरूमा उक्त केन्द्र आसपासका क्षेत्रमा भीषण हवाई हमलाहरू भएका थिए। 

जसका लागि किएभ र मस्कोले एक अर्कालाई दोष लगाएका छन्। 

आरोप-प्रत्यारोप

बिहीवार गुटेरस र टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनसँगको बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त ऊर्जा केन्द्रमा रुसले "नियतवश" हमलाहरू गरिरहेको भन्दै त्यसको निन्दा गरेका थिए।

जापोरिजा

तस्बिर स्रोत, Reuters

निगरानिकर्ताहरूलाई प्रवेश अनुमति दिने इच्छा देखाए तापनि रुसी अधिकारीहरूले त्यस क्षेत्रलाई सैन्यकृत गर्नुपर्ने अन्तर्राष्ट्रिय मागलाई सिधा अस्वीकार गरेका छन्। 

रुसी विदेश मन्त्रालयको सूचना तथा प्रेस विभागका एकजना सहनिर्देशकले शुक्रवार त्यस्तो कदमले उक्त प्लान्टलाई "अझ बढ्ता जोखिमपूर्ण" बनाउने बताएका थिए। 

यसैबीच रुसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई एउटा पत्र पठाउँदै त्यसमा जापोरिजा परमाणु ऊर्जा प्लान्टमा युक्रेनले "उक्साहटपूर्ण" व्यवहार गरेको भन्ने विवरणहरू समेटेको छ। 

राष्ट्रसङ्घस्थित रुसी नियोगले "आफूहरूले सामान्य दुर्घटना ठानेको" रेडिएसन चुहावटलाई लिएर युक्रेनले रुसलाई "परमाणु आतङ्कवाद"को आरोप लगाउन सकिने सोचेको आरोप लगाएको छ। 

उक्त पत्रमा रुसी फौजले सो केन्द्रमा हतियारहरू भण्डारण गरिएको भन्ने कुरालाई अस्वीकार गरिएको छ। 

उसले युक्रेनीहरूले बमबारी गरिरहेको आरोप दोहोर्‍याएको छ।