तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
औलोविरुद्ध लड्न मद्दत पुग्ने नयाँ उपाय पत्ता लागेको हो?
- Author, नाओमी ग्रिम्ली
- Role, स्वास्थ्य संवाददाता
वैज्ञानिकहरूले लामखुट्टेबाट मानिसमा औलो सर्नबाट रोक्न मद्दत गर्ने ब्याक्टेरियाको एउटा प्राकृतिक प्रजाति फेला पारेका छन्।
एउटा प्रयोगात्मक अनुसन्धानको क्रममा लामखुट्टेहरूमा औलोको परजीवी विकास भएको नदेखिएपछि उक्त सूक्ष्मजीव, ब्याक्टेरिया संयोगवश पत्ता लागेको हो।
हरेक वर्ष छ लाख मानिसको ज्यान लिने विश्वको सबैभन्दा पुरानो मध्येको उक्त रोगसँग लड्नका निम्ति यो ब्याक्टेरिया नयाँ अस्त्र बन्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
उक्त प्रजातिको ब्याक्टेरिया औलोका विरुद्ध प्रयोग गर्न कतिको सुरक्षित छ भन्ने पत्ता लगाउन अहिले परीक्षणहरू भइरहेका छन्।
जीएसके फर्मास्युटिकल कम्पनीद्वारा सञ्चालित स्पेनको एक अनुसन्धान केन्द्रका वैज्ञानिकहरूले औषधि विकासको लागि प्रयोग गरिएको लामखुट्टेहरूको समूहमा औलो नदेखेपछि यो तथ्य पत्ता लगाएका हुन्।
"लामखुट्टेमा सङ्क्रमणदर घट्न थाल्यो र परिणामस्वरूप वर्षको अन्त्यसम्ममा लामखुट्टेमा औलोको परजीवी नै बाँकी नरहेको देखियो," अनुसन्धानको नेतृत्व गरेका डा. ज्यानेट रोड्रिगेस् भन्छिन्।
उनी सहितको समूहले सन् २०१४ मा एक परीक्षणका क्रममा नमुनाहरू चिस्यानमा भण्डारण गरेको थियो र दुई वर्षपछिको अवस्था जाँच गर्न पुनः ती नमुनाको अध्ययन गरेको थियो।
थप अध्ययनहरूले देखाएअनुसार वातावरणमा प्राकृतिक रूपमा अवस्थित उक्त कीटाणुको एक विशिष्ट प्रकार - टीसी १ ले लामखुट्टेको आन्द्रामा औलो अर्थात मलेरिया परजीवीको विकासलाई रोकेको थियो।
“लामखुट्टेमा त्यस ब्याक्टेरियाको एकपटक सङ्क्रमण भएपछि त्यो बाचुन्जेल रहन्छ,” डा. रोड्रिगेस्ले भनिन्।
“र हाम्रो अनुसन्धानले के पत्ता लगायो भने त्यस्तो ब्याक्टेरिया नै वास्तवमा ती लामखुट्टेमा मलेरियाको सङ्क्रमण कम गर्नमा जिम्मेवार छन्।"
साइन्स म्यागेजिनमा प्रकाशित नयाँ तथ्याङ्कअनुसार यो ब्याक्टेरियाले लामखुट्टेमा परजीवीको भार ७३ प्रतिशतसम्म घटाउन सक्छ।
यो सूक्ष्मजीवले लामखुट्टेको आन्द्रामा हुर्कने मलेरिया परजीवीको प्रारम्भिक चरणलाई रोक्ने हर्मेन भनिने सानो अणुलाई बिस्तारै उत्सर्जन गरेर काम गर्छ।
जोन्स हप्किन्स युनिभर्सिटीसँगको सहकार्यमा जीएसकेका वैज्ञानिकहरूले हर्मेनलाई चिनीसँग मिसाएमा लामखुट्टेले त्यसलाई खाने र त्यो उक्त जीवको शरिरमा प्रवेश गर्न सक्छ अथवा कुनै प्रकारले लामखुट्टेको शरिरले हर्मेनलाई छोएमा पनि त्यो सोसिएर भित्र छिर्न सक्छ।
यो गुणले गर्दा लामखुट्टे बस्ने सतहहरूमा उक्त यौगिकको मात्रा छर्कन सकिने सम्भावना पनि देखिएको छ।
जोखिमको अन्त्य
बुर्किना फासोमा अवस्थित मस्किटो स्फेयर नामक एक क्षेत्रीय अनुसन्धान केन्द्रमा वास्तविक रुपमा हर्मेनको प्रयोग गर्नु कत्तिको प्रभावकारी र सुरक्षित हुन्छ भन्ने आकलन गर्न थप परीक्षणहरू भइरहेका छन्।
वैज्ञानिकहरूले यस सूक्ष्म कीटाणुमा आधारित हस्तक्षेपलाई उत्पादनका रूपमा विकास गरेर चाँडै नै संसारको सबैभन्दा पुरानो रोगहरू मध्येको एकविरुद्ध लड्ने सामग्री प्राप्त गर्न सक्ने ठानिएको छ।
औलोका कारण हरेक वर्ष संसारभर ६,२०,००० मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ। अहिले खोपहरूको विकास भइसकेको छ तर ती अझै पनि अफ्रिकामा पठाइने प्रक्रियाको प्रारम्भिक चरणमा छन्।
'मलेरिया नो मोर' नामक परोपकारी संस्थाका ग्यारेथ जेनकिन्सले नयाँ अनुसन्धान आशाजनक रहेको बताए।
"औलोले प्रत्येक मिनेट एकजना बालकको ज्यान लिने गरेको छ। औलोको विश्वव्यापी भार कम गर्न महत्त्वपूर्ण प्रगति भएको छ तर हामीलाई पुनः सफलताको पुरानै बाटोमा फर्कन स्रोतका रूपमा नयाँ र नवीन उपकरणहरू चाहिन्छ।
"बलियो अनुसन्धानहरू हुने क्रममा रहँदा यसले हाम्रो जीवनकालमै औलोको खतरा अन्त्य गर्न सकिने सम्भावनातर्फ सङ्केत गरेको छ।''
मलेरिया कत्तिको घातक रोग हो?
विश्वव्यापी रूपमा मलेरिया प्रत्येक वर्ष करिब २१ करोड ९० लाख मानिसलाई लाग्छ।
जाडो भएको अनुभव हुने, काम्ने, ज्वरो आउने र अत्यधिक मात्रामा पसिना आउनु मलेरियाका लक्षण हुन्।
उपचार हुन नसकेको अवस्थामा श्वासप्रश्वाससम्बन्धी समस्या र शरीरका अङ्ग नै काम नगर्न सक्ने अवस्था हुन्छ।
मलेरियाका कारण ज्यान गुमाउनेमा सबैभन्दा बढी पाँच वर्षभन्दा मुनिका बालबालिका पर्ने गरेका छन्।