डेङ्गीको जोखिम रोकथामका लागि के गर्दैछ सरकार?

वर्षा लागेसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढेपनि यो रोगले तत्काल प्रकोपको रूप लिने सम्भावना नरहेको विज्ञहरूले बताएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सङ्कलन गरेको प्रारम्भिक विवरणको विश्लेषणका आधारमा अहिले नै डेङ्गीको स्थितिबारे “डराउनु नपर्ने” देखिएको महाशाखाका निरीक्षक उत्तम प्याकुरेलले बीबीसीलाई बताए।

“हामीले गत वर्ष डेङ्गीको प्रकोप फैलिए लगत्तै यससँग सम्बन्धित तथ्याङ्क सङ्कलन तथा नियन्त्रणका लागि पहल थालेका थियौँ। यो रोग मौसम र तापमानअनुरूप लगभग देशभर देखिएको छ र त्यसैका आधारमा रोकथामको कार्य योजना बनाएर अगाडि बढेका छौँ,” उनले भने।

कस्तो छ स्थिति?

सन् २०२३ को ज्यानुअरीदेखि जूनको अन्त्यसम्ममा देशभर १,०२४ जनालाई डेङ्गीको सङ्क्रमण भएको तथ्याङ्कले देखाउँछ।

यससँगै नेपालमा पहिलो पटक फेला परेयता डेङ्गी हुनेको कुल सङ्ख्या ५५,८०८ पुगेको छ।

यो वर्ष हालसम्म देशका ६६ वटा जिल्लामा यो रोग देखिएको छ। यद्यपि अहिलेसम्म मनाङमा बाहेक देशका ७६ वटा जिल्लामा यसको सङ्क्रमण फैलिएको हुनसक्ने जानकारहरू बताउँछन्।

यो वर्ष दार्चुलामा सर्वाधिक १८७ जनामा, धादिङ तथा सुनसरीमा क्रमशः १३१ जना र ७५ जना मानिसलाई डेङ्गीको सङ्क्रमण भएको देखिन्छ।

उपत्यकाको हकमा भक्तपुरमा सबैभन्दा धेरै ३५, काठमाण्डूमा २७ जना र ललितपुरमा १२ जनामा यो रोग देखिएको छ।

यो वर्ष हालसम्म डेङ्गीको कारण कसैको पनि मृत्यु भएको विवरण छैन।

सन् २०२२ को विवरण विश्लेषण हुँदासम्म डेङ्गीको सबैभन्दा धेरै बिरामी वाग्मती, लुम्बिनी र कोशी प्रदेशमा थिए।

“अब यो लगभग देशभरि फैलिएको छ। तर आत्तिनेभन्दा पनि सतर्क रहनुपर्ने स्थिति छ,” निरीक्षक प्याकुरेलले भने।

वैशाख महिनादेखि कार्तिकसम्म डेङ्गीको जोखिम रहने उनले बताए।

डेङ्गी रोकथामका लागि के गरिँदैछ ?

डेङ्गी रोग फैलाउने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने हुँदा मनसुन र उक्त अवधि सकिएको एक महिनासम्म उच्च जोखिम हुने विज्ञहरू बताउँछन्।

त्यसैले जिल्ला स्वास्थ्य कार्यालय वा स्थानीय सरकारको पहलमा देशभरका विभिन्न स्थानमा लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्ने कार्य अघि बढाइएको बताइएको छ।

“जहाँ डेङ्गीका नयाँ केस देखिए त्यहाँ लामखुट्टेको अण्डा नष्ट गर्नका लागि हामीले अपिल गर्‍यौँ। देशका विभिन्न पालिका वा सहरमा अहिले यसलाई अभियानको रूपमा अघि बढाइएको छ,” प्याकुरेलले भने।

उनका अनुसार डेङ्गी नियन्त्रणका लागि वर्षको सुरुवातमै बजेटसहितको कार्य योजना बनाइएको थियो। उक्त योजनामा सङ्घ, प्रदेश, जिल्ला र स्थानीय स्तरमा कसले, कति बेला के गर्ने भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको उनको भनाई छ।

“विशेषगरी पालिकाहरूसँगको सहकार्यमा जनचेतनामूलक गतिविधिहरू आयोजना गरिरहेका छौँ। जहाँ डेङ्गीका बिरामीको सङ्ख्या धेरै देखिन्छन् ती स्थानमा बढी जोड दिन्छौँ,” प्याकुरेलले भने।

पहिलेजस्तो एउटा निकायमा निर्भर हुनुपर्ने अवस्था नरहेकाले डेङ्गीको रोकथाम सहज बन्ने स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. पवनकुमार साहको विश्वास छ।

उनी भन्छन्,”स्थानीय तहका सबै निकायको क्षमता उस्तै नहुने भएकाले सङ्घबाट आवश्यक प्राविधिक सहयोग सङ्घीय सरकारले गर्छ।”

के हो डेङ्गी?

डेङ्गी एडीज एजीप्टी वा एडीज एल्बोपिक्टस जातका लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको भाइरस हो। विश्वभरि प्रत्येक वर्ष ४० करोड मानिसलाई डेङ्गी हुने आँकडा छ।

यो भाइरस एशियाका विभिन्न भाग, दक्षिण तथा मध्य अमेरिका र क्यारिबीअन क्षेत्रमा सामान्य मानिन्छ। अमेरिकी स्वास्थ्य निकाय सीडीसीका अनुसार विश्वको झन्डै आधा जनसङ्ख्या अर्थात् चार अर्ब मानिस डेङ्गी भाइरसको जोखिमयुक्त क्षेत्रमा बस्छन्।

विश्व स्वास्थ्य सङ्गठनले पनि डेङ्गीलाई जनस्वास्थ्यको एउटा प्रमुख चुनौती मानेको छ। संसारभरि यसको सङ्क्रमण ३० गुणाले बढिरहेको सो सङ्गठनले जनाएको छ।

डेङ्गीका कारण ज्यानै जाने सम्भावना न्यून भए पनि स्वास्थ्यमा असर पार्ने भएकाले यसबाट जोगिनु पर्ने विज्ञहरूको सुझाव छ।

डेङ्गीबाट कसरी जोगिने र लक्षण कस्ता?

लामखुट्टेको अण्डा नष्ट पार्नुसँगै लामखुट्टेको टोकाइबाट जोगिनु डेङ्गी सङ्क्रमण नियन्त्रणको प्राथमिक उपाय भएको बताउँछन् सङ्क्रामक रोग विज्ञ डा. विमल शर्मा चालिसे।

“सम्भव भएसम्म घर वरपर पानी जम्न दिनु नै भएन। डेङ्गी सार्ने लामखुट्टे बिहान र सूर्यास्तभन्दा अगाडि सक्रिय हुने भएकाले विशेषगरी ती समय र अन्य बेला पनि लामखुट्टेको टोकाइबाट बच्नु पर्‍यो,” उनले भने।

यसबाट बच्न स्थानीय निकायसँगै हरेक व्यक्तिले सजगता अपनाउनु पर्ने उनको राय छ।

सतर्कता अपनाउँदा पनि डेङ्गी भइहालेको खण्डमा ज्वरो आउने, ज्यान, टाउको तथा आँखाको पछिल्लो भाग बेस्सरी दुख्ने डा. चालिसेले बताए। त्यससँगै अरुचि हुने, पेट दुख्ने, बान्ता हुने र शरीरमा डाबरहरू देखिने उनले बताए।

“धेरै सिकिस्त भएको खण्डमा बिरामीको शरीरमा प्लेट्लेट्सको मात्रा स्वात्तै घट्छ,” उनले भने।

प्लेटलेट्स मानिसको शरीरमा हुने कोशिका हो। विज्ञहरूका अनुसार यसले शरीरमा कुनै पनि किसिमको चोट लागेर वा अन्य स्वास्थ्य समस्याका कारण हुने रक्तस्राव रोक्न मद्दत गर्छ।

चिकित्सकका अनुसार प्लेटलेट्स कम भएमा डेङ्गीका बिरामीहरूको गिजा, नाकलगायत शरीरको विभिन्न भागबाट उच्च रक्तस्रावको जोखिम रहन्छ।

“हल्का लक्षण देखिँदा त सिटामोल खानु नै उचित हुन्छ। डेङ्गीका बिरामीलाई हामी अरू औषधि प्रयोग गर्ने सुझाव दिँदैनौँ। तर अवस्था असामान्य बन्दै गए चिकित्सककै परामर्श लिनु पर्छ,” डा. चालिसेले भने।

उनका अनुसार केही बिरामीमा आघात पर्ने, सास फेर्न गाह्रो हुने, शरीरको विभिन्न भागमा पानी जम्ने वा शरीरका अङ्गहरू निष्क्रिय बन्नेजस्ता समस्याहरू देखिन सक्छन्।

डा. चालिसेले यस रोग कुनै पनि विरुवाको पात वा जरा खाएर ठीक नहुने समेत प्रस्ट्याए।

नेपालमा डेङ्गी कहिले सुरु भयो?

ईडीसीडीका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गी सङ्क्रमण चितवनमा आएका विदेशी पर्यटकमा देखा परेको थियो। त्यसपछि सन् २००६ यता यो प्रकोपका रूपमा क्रमशः बढ्दै गएको छ।

त्यस यता नेपालमा कम्तीमा ८८ जनाले डेङ्गीका कारण ज्यान गुमाइसकेका छन्।

सन् २०१७ मा सबैभन्दा बढी दुई हजार एक सय ११ जनामा यो सङ्क्रमण देखिएको थियो।