त्रिकोणात्मक क्रिकेट शृङ्खलामा फाइनल पुगिसकेको नेपालद्वारा यूएई पराजित

मध्य दशैँ चलिरहेको बेला सोमवार महानवमीको दिन नेपालले त्रिकोणात्मक टी -२० श्रृङ्खलाअन्तर्गत लिगको अन्तिम खेलमा युएईलाई पाँच विकेटले पराजित गरेको छ।

नेपालले युएईले दिएको कठिन ब्याटिङ परिक्षाबाट गुज्रिँदै अन्तत: जित हासिल गरेको छ।

यसअघि नै फाइनलमा स्थान बनाएको नेपालले लिग चरणको चार वटै खेल जित्यो।

सोमवारको खेलमा टस जितेको नेपालले फिल्डिङको निर्णय लिँदै युएईलाई १६४/७ मा रोकेको थियो।

जवाफमा नेपालले सुरुवाती विकेट धमाधम गुमाएर धरमराउन पुगे पनि अन्ततः चार बल बाँकी हुँदा लक्ष्य पूरा गर्न सफल भयो।

नेपालको बलिङ

युएईको टोलीमा बृत्य अरबिन्द फर्किएका छन् भने बाबर हायातलाई बाहिर राखिएको थियो।

बृत्यको उपस्थितिमा युएईको ब्याटिङ धारिलो देखियो। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४५ रनको महत्त्वपूर्ण योगदान दिएका थिए।

कप्तान मोहम्मद वासिम र खालिद शाह आउट भइसकेको अवस्थामा खेललाई सम्हालेका उनले ५१ बल खेलेर चार चौका प्रहार गरेका थिए।

वसिमलाई सोमपाल कामीले गुलशन झाबाट क्याच गराएका थिए। खालिद शाहलाई उनले बोल्ड गरेका थिए।

बृत्यपछि बसिल हमिदले आक्रामक ब्याटिङ गर्दै युएईको स्कोर बढाएका थिए। जम्मा १९ बल खेलेका उनले दुई चौका र पाँच छक्का प्रहार गर्दै ४५ रन बनाएका हुन्।

उनले करण केसीको बलमा बढी रन बटुले। करणले चार ओभर बलिङ गर्दा ५३ रन खर्चेका थिए।

बसिललाई अविनाश बोहोराले आउट गरेका थिए।

कुशल मल्ल नेपालका लागि किफायती बलर बने। उनले चार ओभर बलिङ गर्दा १० रन मात्र दिएका थिए।

गुलशन झाले आशिफ खानको विकेट लिए।

अविनाश बोहोराले पनि दुई विकेट लिए। करण केसीको भागमा एक विकेट पर्‍यो।

उत्कृष्ट पुनरागमन

सुरुको १३ बल खेल्दा तीन विकेट गुमेपछि नेपालको इनिङ्स सङ्कटमा परेको थियो।

कुशल भुर्तेल (१ रन), सोमपाल कामी (२ रन) र कुशल मल्ल (० रन) आउट भएपछि मूलपानी मैदानको माहोल अन्योलग्रस्त बनेको थियो।

तर त्यसपछि आशिफ शेख र रोहित पौडेलले इनिङ्लासई धैर्यपूर्वक सम्हाले। यी दुईले ११-३ को खेललाई ११०-४ को अवस्थामा पुर्‍याएका थिए।

चौथो विकेटको लागि बनेको ९९ रनको साझेदारीले जितको आधार तय गरेको थियो।

आशिफले ५० बलमा ६२ रन बनाए। उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए।

रोहित ४७ रनमा आउट भए।

तर त्यसपछि दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङको आफ्नो स्वभावलाई कायम राख्दै खेललाई जितउन भूमिका खेले।

आफ्नो पहिलो बलमा नै छक्का प्रहार गरेका दीपेन्द्रले १५ बलमा अविजित ४० रन बनाएर मूलपानी मैदानमा रहेका दर्शकलाई रोमाञ्चकता प्रदान गरेका थिए।

सो क्रममा उनले छ चौका र एक छक्का प्रहार गरेका थिए।

उनी नै विजयी रनका लागि दौडिएका थिए।

विवेक यादव र अविनाश बोहरा टीममा

प्रशिक्षक मोन्टी देशाईले आजको खेलको लागि विवेक यादव र अविनाश बोहरालाई टोलीमा स्थान दिएका थिए। प्रतिश जिसी र ललित नारायण राजवंशीलाई भने बेन्चमा राखिएको थियो।

विवेक एक वर्षपछि टिममा फर्किएका हुन्। उनले पछिल्लो समय अगस्ट ३०, २०२२ मा नैरोबीमा युएईविरुद्ध खेलेका थिए।

पछिल्लो समय चोटले सताइएको ललितलाई पनि आजको खेलमा समावेश गरिएन। जिसीलाई भने हङकङ विरुद्धको खेलमा मौका दिइएको थियो।

नेपालले आगामी शुक्रवार फाइनल खेल्नेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।