नेपाल र यूएईबीच खेल जारी, क्रिकेटमा यस्तो छ दुई देशको विगत

क्रिकेट

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमान्डू

एक दशक अगाडि फर्केर हेर्दा एसोसियट राष्ट्र माझ नेपालको दबदबा थियो।

तर परिदृश्य फेरिँदै गए।

एकाएक अफगानिस्तानको उदय भयो र उसले हेर्दाहेर्दै नेपाललाई निकै पछि पार्दै टेस्ट राष्ट्रको हैसियतमा पुग्न सफल भयो।

नेपाली क्रिकेट प्रेमीहरू बेला बेलामा थकथक मान्दै भन्ने गर्छन्, "अफगानिस्तान जहाँ पुग्यो त्यहाँ नेपाल हुनुपर्ने थियो।"

तत्कालीन कप्तान पारस खड्काले पनि संन्यास लिने बेला भनेका थिए, "अब नेपाली क्रिकेटको लक्ष्य टेस्ट राष्ट्र हुनुपर्छ।"

अफगानिस्तानको दुःस्वप्नबाट नेपाल पछि छुटिसकेको थियो। एसोसियटमा नेपालको डङ्का फेरि बज्न थालेको थियो। तर त्यसै बेला यूएई नेपालका लागि नयाँ तगारोको रूपमा देखापर्‍यो।

हुन त पछिल्लो समय नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको हैसियत बनाइसकेको छ र थुप्रै प्रतिद्वन्द्वीको अवस्था नेपालकै हाराहारीको वा नेपालभन्दा माथिल्लो स्तरमा छ।

यद्यपि नेपालका लागि महत्त्वपूर्ण प्रतियोगिताहरूमा यूएई नै वाधक बन्दै आएको देखिन्छ।

क्रिकेट

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, यूएईसँगको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर पुगेका छन्

संयुक्त ट्रफी

क्रिकेट

तस्बिर स्रोत, CAN

सन् २००२को एसीसी ट्रफी इलिट क्रिकेटको फाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भइसकेको थियो।

तर त्यसयता नेपाली क्रिकेटले गति लिन थाल्दै गर्दा यूएईको अवस्था भने खस्दै गयो।

तर त्यसको १० वर्षपछि सन् २०१२ मा यी दुई टोलीबीच एसीसी प्रतियोगिताको फाइनल खेलमै फेरि भेट भयो।

प्रतियोगिता युएईकै घरेलु मैदानमा हुँदै थियो।

भर्खरै डिभिजन ४ मा बढुवा भएको पारस खड्काले कमान सम्हालेको नेपाली टोलीले उक्त प्रतियोगिताको ट्रफी उचाल्ने विश्वास गरिएको थियो।

तर यूएईले बनाएको २४१ रन पछ्याउन आएको नेपाल त्यति नै रनमा सीमित हुन पुग्यो।

नेपालले जित्ने त्यो पहिलो एसियाली ट्रफी हुने थियो। तर बराबरी भएपछि दुवै टोली संयुक्त विजेता बने। एक्लै ट्रफी उचाल्ने नेपालको सपना अधुरै भयो।

red line
red line

कट्टर प्रतिद्वन्द्वी

त्यसपछि नै हो, युएई-नेपालको क्रिकेटमा प्रतिद्वन्द्व झन् झन् गहिरो हुँदै जान थालेको।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको मुख्यालय दुबईमा छ। धेरै खेलहरू प्राय: दुबईकै मैदानमा हुने गर्छ।

र यी दुवै टोलीले जित हारको लुकामारी खेल्दै आएका छन्।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि यूएईसँगै एकदिवसीय शृङ्खला दुबईमा खेलेको थियो। उक्त शृङ्खला नेपालले २-१ ले जितेको थियो।

टी-२० शृङ्खलामा पनि नेपालले यूएईलाई २-१ ले नै हरायो।

राष्ट्रिय टोलीका पूर्व खेलाडी दीपेन्द्र चौधरी भन्छन्, "यूएई बलियो टोली हो नै। तर किन हो किन नेपालसँग खेल्दा यूएईले सधैँ अझ राम्रो खेले जस्तो देखिन्छ।"

तर एक वर्ष अगाडिको टी-२० विश्वकप प्रतियोगिताको छनोटमा यूएईले नेपाललाई हराउँदै नराम्रोसँग बदला लियो।

सन् २०१४ पछि गत वर्ष नेपाल टी-२० विश्वकप प्रतियोगिताको छनोटको सङ्घारमा पुगेको थियो।

उमेर समूह पनि उस्तै

क्रिकेट

तस्बिर स्रोत, can

उमेर समूहको प्रतिस्पर्धा पनि उस्तै परिदृश्य देखिन्छ।

सन् २०१६को यू-१९ विश्वकपमा अफगानिस्तानसँग पराजित हुँदा नेपालका लागि विश्वकपको ढोका बन्द भएको थियो।

सन् २०१८मा भने नेपाललाई रोक्ने काम युएईले गर्‍यो।

नेपाल जिततिर अग्रसर भइरहेको बेला वर्षाले खेल बिथोलेको थियो।

अनि डक वर्थ लुइस पद्धतिको आधारमा निर्णय गरिँदा नेपाल एक रनले पराजित हुन पुग्यो र दुर्भाग्यपूर्ण तरिकाले युवा विश्वकप खेल्नबाट वञ्चित हुन पुग्यो।

त्यो हारको प्रभाव नेपाललाई सन् २०२० को विश्वकपसम्म पर्‍यो। कोरोनाभाइरस महामारीको खतराका माझ अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि ठप्प हुँदा विगतकै विजेताहरूलाई विश्वकपमा सोझै छानिएको थियो।

विगतको विजेताका रूपमा यूएईले नै यू-१९ विश्वकप खेल्दा नेपाल टुलुटुलु हेर्न बाध्य भयो।

महिला क्रिकेटमा पनि युएईनै तगारो

क्रिकेट

तस्बिर स्रोत, can

पछिल्लो समय महिला क्रिकेटमा पनि यूएई नै नेपालीका लागि वाधक बन्दै आएको छ।

सन् २०२१ मा भएको आईसीसी टी-२० विमिन्स एशिया कप क्षेत्रीय छनोट अन्तर्गत जित्नै पर्ने खेलमा यूएईले नेपाललाई पराजित गर्‍यो।

र, राष्ट्रिय महिला टोलीको ग्लोबल क्वालिफायर खेल्ने ढोका बन्द भयो।

नेपाललाई ४८ रनले हराएको यूएई भने ग्लोबल क्वालिफायरमा छनोट भयो।

एशियाली मुलुकहरूको छनोटमा शीर्ष स्थान प्राप्त गर्ने टोली मात्र ग्लोबल क्वालिफायरमा छानिन्छन्।

चार वर्षअगाडि सन् २०१८मा भने दुई टोली ग्लोबल क्वालिफायरमा छनोट हुने नियम थियो।

तर त्यस बेला पनि नेपाल अघि बढ्न सकेन। कारण: यूएईसँगको हार।

त्यस बेला थाइल्यान्ड पहिलो, यूएई दोस्रो अनि नेपाल तेस्रो स्थानमा सीमित हुन पुगेको थियो।

गत वर्ष राम्रो मानिएको थाइल्यान्डले एशियाली छनोट खेल्नु परेन। तर पनि नेपालले यूएईको तगारो नाघ्न सकेन।

त्यो दुःखद हारपछि खेल जीवनको उत्तरार्धमा रहेका थुप्रै महिला खेलाडीहरूले टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्न नपाइकनै करिअर अन्त्य हुने सम्भावना प्रबल हुँदै गएको छ।

red line
red line

अवस्था फेरिएको हो?

क्रिकेट

तस्बिर स्रोत, can

१९ वर्ष भन्दा कम उमेर समूहका युवाहरूले हालै प्राप्त गरेको नतिजालाई आधार मान्दा अहिले स्थिति नेपाल अनुकूल हुँदै गएको मान्न सकिन्छ।

तीन साता अगाडि भएको युवा विश्वकप छनोटमा नेपाली युवा टोलीले यूएईको पोल्टामा गइसकेको नतिजालाई खोसेर शानदार जित हात पारेको थियो।

दीपेश कँडेलको ह्याट्रिकको मदतले नेपाल अविश्वसनीय रूपमा आगामी वर्ष श्रीलङ्कामा हुने युवा विश्वकप प्रतियोगिताका लागि छनोट भएको हो।

युवा टोली जसरी नै राष्ट्रिय टोली पनि अहिले विजय यात्रामा अगाडि बढिरहेको छ।

पछिल्लो ११ खेलमा लगातार १०मा विजयी भएको राष्ट्रिय क्रिकेट टोली अहिले निकै राम्रो लयमा देखिन्छ। यद्यपि जारी प्रतियोगितामा नेपालले हारेको एक मात्र खेल यूएई विरुद्ध थियो।

हेड टु हेड

सन् २०१८ यता नेपाल र यूएईबीच १२ एकदिवसीय खेलमा भेट भएको छ। जसमा दुवै टोलीले समान ६ जित र उति नै हार बेहोरेका छन्।

पछिल्लो तीन भेटमा भने नेपालले दुईमा जित प्राप्त गर्न सफल भएको थियो।

जितले नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरमा पुर्‍याउनेछ भने हारले प्ले अफ क्वालिफायरमा झार्नेछ।

पछिल्लो १२ खेलको नतिजा

  • एसिया कप छनोट: नेपाल ७८ रनले पराजित - क्वालालम्पुर, अगस्ट ३०, २०१८
  • नेपालको यूएई भ्रमण: नेपाल ३ विकेटले पराजित - दुबई, ज्यानुअरी २५, २०१९
  • नेपालको यूएई भ्रमण: नेपाल १४५ रनले विजयी - दुबई, ज्यानुअरी २६, २०१९
  • नेपालको यूएई भ्रमण: नेपाल ४ विकेटले विजयी - दुबई, ज्यानुअरी २८, २०१९
  • विश्वकप लिग-२: नेपाल ४८ रनले पराजित - दुबई, मार्च १८, २०२२
  • विश्वकप लिग-२: नेपाल ९९ रनले पराजित - दुबई, मार्च २१, २०२२
  • यूएईको नेपाल भ्रमण: नेपाल ८४ रनले पराजित - काठमान्डू, नोभेम्बर १४, २०२२
  • यूएईको नेपाल भ्रमण: नेपाल ३ विकेटले विजयी- काठमान्डू, नोभेम्बर १६, २०२२
  • यूएईको नेपाल भ्रमण: नेपाल ६ विकेटले विजयी- काठमान्डू, नोभेम्बर १८, २०२२
  • विश्वकप लिग: नेपाल ६८ रनले पराजित - दुबई, मार्च २, २०२३
  • विश्वकप लिग: नेपाल ४२ रनले विजयी- दुबई, मार्च ६, २०२३
  • विश्वकप लिग: नेपाल १७७ रनले विजयी - काठमान्डू, मार्च १२, २०२३

निर्णायक खेल

यतिबेला नेपाल र यूएई विश्वकप लिग-२को अन्तिम तथा निर्णायक खेलमा भिडिरहेका छन्।

क्रिकेट समर्थकहरूले निकै चासोको रूपमा हेर्ने यो प्रतिस्पर्धा अगाडि कतिपयको अनुमान छ, "लयमा रहेको नेपालले नै खेल जित्नेछ र सिधै विश्वकप क्वालिफायरमा पुग्नेछ।"

तर यूएईलाई हल्का रूपमा लिन नसकिने तर्क पूर्व कप्तान विनोद दासको छ।

"यूएईलाई भोलिको खेलमा केही गुमाउनु छैन। त्यसैले उ खुलेर खेल्न सक्छ। यसमा नेपाली टोलीले विशेष ध्यान दिनुपर्ने देखिन्छ," उनले भने।

पपुवा न्यूगिनीलाई पराजित गर्दै अन्तिम खेल अगाडि यूएईको पनि मनोबल उच्च छ।

लगातारको जितले हौसिएको नेपाली टोली भने कीर्तिपुरमा भरिएका घरेलु समर्थकहरूको साथमा जस्तो सुकै प्रतिद्वन्द्वी पनि हराउन सक्ने मनस्थितिमा देखिन्छ।