तीन हप्तामा फेरिएको नेपाली क्रिकेटका लागि अबका तीन खेल यस कारण निर्णायक

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
नेपाली क्रिकेटका लागि गत महिनासम्म स्थिति हरेक दृष्टिकोणले प्रतिकूल थियो।
नेपाल क्रिकेट सङ्घ (क्यान) विवादको नमिठो भुमरीमा फसिरहेको थियो। सङ्घ नै विघटन हुने हो कि भन्ने स्थिति बनेको थियो।
टोलीले लगातार असफल नतिजा भोगिरहेको थियो।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) को हैसियत जोगाउन सक्नेमा क्रिकेटप्रेमीहरूले नै शङ्का गरिरहेका थिए।
तर एक महिनाको बीचमा पत्याउन नसक्नेगरी सबै थोक फेरियो।
अहिले नेपाल सहज अवस्थामा पुगेको मान्न सकिन्छ।


तीन खेल तीन परिणामको सम्भावना

तस्बिर स्रोत, CAN
आईसीसी विश्वकप लीग-२ शृङ्खलामा नेपालले अब तीन खेल खेल्न बाँकी छ - दुई खेल यूएईसँग र एउटा खेल पपुवा न्युगिनीसँग।
जसमध्ये एक खेल जितेमा ३६ अङ्कसहित नेपालको ओडीआई मान्यता जोगिनेछ।
यसकारण पनि आइतवार युएईसँग घरेलु मैदानमा हुने खेलबारे समर्थकहरूको ठूलो चासो छ।
तीनवटै खेल जितेमा ४० अङ्कसहित नेपाल तालिकाको तेस्रो स्थानमा उक्लिनेछ र एकदिवसीय विश्वकपको क्वालिफायरमा छनोट हुनेछ।
तर तीनवटै खेल हारेमा ३२ अङ्क मात्रै हुन्छ र नेपाल छैटौँ स्थानमा झर्दै एकदिवसीय मान्यता गुम्न सक्ने स्थिति आउन सक्छ।
त्यो मान्यता जोगाउन नेपालले आठ राष्ट्र सम्मिलित प्लेअफ खेल्नुपर्नेछ। अनि त्यसको नतिजाले नेपालको ओडीआई मान्यता जोगिने वा गुम्ने तय गर्नेछ।
सात राष्ट्र सम्मिलित विश्वकप लीग-२ मा अब चार खेल हुन बाँकी छन्।
तिनको परिणामले नेपाल वा यूएई मात्र होइन, सबै खेल खेलिसकेका अमेरिका वा नामिबियाको अवस्थामा समेत परिवर्तन गर्न सक्ने देखिन्छ।
ढुक्क रहेको दुई टोली भनेको शीर्ष स्थानको स्कटल्यान्ड र दोस्रो स्थानको ओमान मात्रै हो।
यस अर्थमा लीग-२ राष्ट्रहरूको ध्यान यो हप्ता कीर्तिपुर मैदानबाट तय हुने परिणाममा केन्द्रित हुनेछ।
अन्तिम स्थानमा रहेको पपुवा न्यूगिनी भने यस्तो टोली हो जसलाई हार वा जितसँग केही मतलब छैन तर उसले प्रतिद्वन्द्वीहरूको अवस्था भने उल्ट्याइदिन सक्छ।

परिणाम उल्टिन सक्ने अवस्था
- नेपालले एक खेल जिते ओडीआई मान्यता जोगिने। कम्तीमा पाँचौँ स्थानमा रहने पक्का।
- नेपालले तीन खेल जितेमा 'शीर्ष तीन'मा पर्ने। त्यो अवस्थामा नामिबिया चौथो स्थानमा झर्ने र विश्वकप क्वालिफायर खेल्नबाट वञ्चित हुने।
- तर नेपालले तीनवटै खेल हारेमा भने छैटौँ स्थानमा झर्ने र ओडीआई मान्यता खतरामा पर्ने।
- यदि यूएईले बाँकी तीन खेल जितेमा र नेपालले एक खेल (पपुवा न्यूगिनीविरुद्ध) जितेमा अमेरिका छैटौँ स्थानमा झर्ने। यस्तोमा एकदिवसीय मान्यता खतरामा पर्ने पालो अमेरिकाको हुने।
- यदि यूएईले दुई खेल जितेमा अमेरिकासँग अङ्क बराबर (३५/३५) हुने। यस्तोमा रन रेटले पाँचौँ र छैटौँ स्थानमा रहने देशहरूको भाग्य निर्धारण गर्ने।

कस्तो छ विगत ?

तस्बिर स्रोत, CAN
अस्ट्रेलियाका डेव वाटमोरले नेपाली क्रिकेट सम्हाल्ने भएपछि धेरैलाई लागेको थियो की अब नेपाली क्रिकेटले राम्रो नतिजा ल्याउनेछ।
उनले परिवर्तनका केही महत्त्वपूर्ण छनक त देखाए। तर खासै उथलपुथल भने ल्याउन सकेनन्।
विसं २०७८ को अन्तिम तिर उनले राजीनामा दिए। भनिन्छ, क्यानको वाक्कलाग्दो अवस्था देखेपछि उनले नेपाल छोडेका हुन्।
वाटमोरले छोड्दा नेपाल अङ्क तालिकाको चौथो स्थानमा थियो।
त्यसपछि पुनः नेपाल सम्हाल्न आएका पुबुदु दशानायके पनि क्यान विवादको भुमरीमा फसेको देखियो।
परिणाम उनको पालामा भएको लीग-२ को तीन वटा शृङ्खलामा नेपालले सात खेलमा हारको सामना गर्यो। चार खेलमा मात्र जित्यो भने एक खेल बराबरी भयो।
गत साउनमा दशानायकेले पनि राजीनामा दिए।
अब नेपाली क्रिकेट सम्हाल्ने पालो थियो भारतीय प्रशिक्षक मनोज प्रभाकरको।
उनले एउटा शृङ्खलामा मात्र नेपाललाई प्रशिक्षण दिए। तर चार खेलमा एक खेल पनि जिताउन सकेनन्। एक खेल वर्षाका कारण बिथोलियो।
यो नमिठो परिणामसँगै नेपाल तालिकाको छैटौँ स्थानमा झरेको थियो।
मात्र चार महिना नेपालमा रहेका प्रभाकरले खराब नतिजापछि सुटुक्क राजीनामा दिएर देश फर्किए।
छोटोछोटो समयमा एकपछि अर्को प्रशिक्षक परिवर्तन र असफल नतिजाले नेपाल अत्यन्त खराब स्थितिमा पुगिसकेको थियो।
त्यसपछि भारतकै प्रशिक्षक मोन्टी देशाई नयाँ प्रशिक्षकका रूपमा नियुक्त भए। त्यसपछि जे भयो त्यो चमत्कार सरह नै मान्नेहरू छन्।

तस्बिर स्रोत, CAN
देशाईको आगमन
कप्तान ज्ञानेन्द्र मल्लको तलब सुविधाका विषयमा सुरु भएको द्वन्द्व, त्यसलाई निस्तेज गर्न क्यानद्वारा सन्दीप लामिछानेलाई कप्तानीको जिम्मेवारी, अनि लामिछानेमाथि नाबालिग बलात्कारको मुद्दा, त्यसै बेला क्यानले आयोजना गरेको अति विवादास्पद नेपाल टी-२० फ्रेञ्चाइज क्रिकेट, स्पट फिक्सिङ र म्याच फिक्सिङ काण्ड, पारिश्रमिकविहीन बनेका खेलाडी जस्ता अनेक काण्डका बेला आएका प्रशिक्षक देशाईले गजबकै नतिजा दिएको क्रिकेटप्रेमीहरू ठान्छन्।
उनको प्रशिक्षणमा नेपालले विश्वकप लीग-२ मा नौ खेल खेल्यो, जसमा आठमा जित हासिल गर्यो।
सङ्कटमा रहेको क्यान र राष्ट्रिय टोली गुटबन्दीका कारण नराम्ररी विभाजित भएको भनिरहेको बेला यस्तो गजबको परिणाम धेरैका लागि अविश्वसनीय थियो।
यो शृङ्खलामा नेपालको सफलतासँगै खेलाडीहरू पनि एक पछि अर्को कीर्तिमान रच्न व्यस्त भएजस्तो देखियो।
क्रिकेट सङ्घका पूर्वपदाधिकारी दिवाकर घले भन्छन्, "जबजब क्यानको अवस्था नराम्रो हुन्छ, त्यस्तै बेला राष्ट्रिय टोलीले राम्रो खेल्ने गर्छ। यो गजब हो। "
त्यति मात्र नभई परिस्थिति पनि नेपालअनुकूल बन्दै गयो। नजिकको प्रतिद्वन्द्वी यूएईले एकपछि अर्को हारको सामना गरिरहेको थियो।
अनि तीन हप्ताको बीचमा लीग-२ को वातावरण फेरिएको छ।
नेपाली खेलाडीहरूको सफलताको जताततै चर्चा चलिरहेको छ। क्यानको विवाद पूरै छायामा परेको छ।
अब कीर्तिपुर क्रिकेट मैदानमै लीग-२ को समापन हुँदै छ, जहाँ खेलाडीहरूलाई सुहाउँदो परिणाम निकाल्दै घरेलु दर्शकसामू खुसी साट्ने सुनौलो अवसर छ।











