ओडीआई क्रिकेटमा नेपालको अहिलेसम्मकै उच्च रन, पपुवा न्यूगिनीमाथि अर्को जित

आशिफ शेख
तस्बिरको क्याप्शन, आशिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक शतक बनाएका हुन्

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाउँदै पपुवा न्यूगिनी (पीएनजी) लाई आईसीसी विश्वकप लीग-२ को खेलमा पराजित गरेको छ।

लीग-२ को अन्तिम शृङ्खलामा बिहीवार नेपालले पहिला ब्याटिङ गर्दै २९७ रन जोडेको थियो।

टस जितेर नेपाललाई ब्याटिङ गर्न निम्तो दिएको पीएनजीले प्रत्युत्तरमा ४७.१ ओभरमा २४५ रन मात्र बनाउन सक्यो। खेलमा नेपाल ५२ रनले विजयी भयो।

यो जितसँगै नेपालले ३३ खेलबाट ३४ अङ्क जोडेको छ र तालिकाको पाँचौँ स्थानमा यथावत् छ।

अन्तिम स्थानमा रहेको पीएनजीले भने पछिल्लो तीन खेलमा नेपालसँग लगातार पराजय भोगेको छ।

घरेलु समर्थकहरूमाझ कीर्तिपुर रङ्गशालामा नेपाली टोलीले हात पारेको सफलतामा ब्याटिङतर्फ आशिफ शेख, कुशल भुर्तेल र भीम सार्कीको योगदान महत्वपूर्ण रह्यो ।

बलिङमा स्पिनरहरु चम्किए। सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले विपक्षीलाई तहसनहस पारे।

लामिछानेले चार विकेट लिए। ऐरीले दुई र मल्लले एक विकेट लिए।

दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन आएको पीएनजीले राम्रो सुरुवात गरेको थियो।

टोनी उरा र किप्लिन डोरिगाले १२औंँ ओभरसम्म कुनै विकेट नगुमाई ७७ रनको साझेदारी गर्दै लामो इनिङ्स खेल्ने सङ्केत गरेका थिए।

आशिफ शेख

तस्बिर स्रोत, CAN

तर ओरिगा रन आउट भएपछि विपक्षी टोली पीएनजी अप्ठेरोमा पर्‍यो। त्यसपछि पीएनजीले लगातार तीन खेलाडी गुमाउनुपरेको थियो।

त्यसमा राम्रो खेलिरहेका ओपनर टोनी उरा पनि थिए। पचास रन बनाएर खेलिरहेका उरालाई लामिछानेले आउट गरेका थिए।

बयालीस रन बनाएर खेलिरहेका कप्तान अरसद भाला आउट भएपछि पीनएनजीको ठूलो लक्ष्य भेट्टाउने सम्भावना सकिएको थियो। उनलाई मल्लले आउट गरेका हुन्।

त्यसपछि टोलीको विकेट लगातार झर्न थाल्यो।

आशिफ शेखले पहिलो पटक बनाए शतक

यसअघि आशिफ शेखको शतकको मदतमा नेपालले कीर्तिपुर मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको उच्च रन २९७ रन जोडेको थियो।

नेपाल ४९.१ ओभरमा अलआउट भएको हो।

शेखले आफ्नो एकदिवसीय खेलजीवनकै उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ११० रन बनाए। त्यसका लागि उनले ११० बलको सामना गर्दै १२ चौका र दुई छक्का प्रहार गरे। यो उनको पहिलो ओडीआई शतक पनि हो।

रमाइलो कुरा के छ भने शतक बनाउने क्रममा उनले दुई पटक जीवनदान पाएका थिए। एक पटक तेस्रो ओभरमा पाँच रन मात्र बनाएर खेलिरहँदा उनको 'क्याच ड्रप' भएको थियो।

अर्को पटक भने नवौँ ओभरमा २२ रन बनाएर खेलिरहँदा उनी समातिनबाट जोगिए।

पीएनजीले त्यसको सजाय नराम्ररी भोग्नुपर्‍यो।

red line
red line

शेख नेपालबाट ओडीआईमा शतक प्रहार गर्ने उनी पाँचौँ खेलाडी बनेका छन्।

यसअघि पारख खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले मात्र नेपालबाट ओडीआईमा शतक प्रहार गरेका थिए।

बिहीवारको शतकसँगै शेखको ओडीआईमा १,००० रन पूरा भएको छ। रोहितपछि हजार रन कटाउने उनी दोस्रा नेपाली खेलाडी हुन।

उनी ३८ औँ ओभरमा आउट भए।

उच्च स्कोर

क्रिकेट

यो खेलअघि नेपालले बनाएको सर्वाधिक स्कोर २८७ रन थियो। त्यो स्कोर नेपालले २३ दिनअगाडि कीर्तिपुर मैदानमा विश्वकप लीग-२ कै खेलमा नामिबियाविरुद्ध जोडेको थियो।

नेपालले नामिबियाको २८६ रन पछ्याउने क्रममा त्यति रन बनाएको हो।

बिहीवार नेपालले ब्याटिङ गरिरहँदा एकसमय ३०० भन्दा बढी रन बनाउन सक्ने अनुमान गरिएको थियो।

तर अन्तिम ओभरको पहिलो बलमै भीम सार्की आउट भएपछि नेपालले पाँच बल खेल्न नपाउँदा त्यो अवसर गुम्न पुग्यो।

पहिलो विकेटका लागि शेख र कुशल भुर्तेलले ११० रनको साझेदारी गर्दै बिहानीको मौसममा कीर्तिपुर मैदानमा नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए।

हुन त सो क्रममा पीएनजीका फील्डरहरु चार वटा क्याच समाउन असफल भए।

उन्डाइसौँ ओभरमा भुर्तेल ४५ रनमा आउट भए।

शेखलाई कप्तान रोहित पौडेल राम्रो साथ दिए। चौथो विकेटका लागि दुवैले मिलेर ६७ रनको साझेदारी गरेका थिए।

कप्तान पौडेल ३८औँ ओभरमा ३० रन जोडेर आउट भए।

त्यसपछि भीम सार्कीले ४४ रनको प्रभावशाली पारी खेल्दै टोलीको स्कोर छिटोछिटो बढाएका हुन्।

अन्तिम ओभरमा उनी आउट हुने क्रममा ३८ बल खेलेर चार चौका प्रहार गरेका थिए।

पछिल्ला खेलहरूमा ज्ञानेन्द्र मल्ल (११ रन) र दीपेन्द्र सिंह ऐरी (७ रन) ले भने ब्याटिङमा प्रदर्शन गर्न सकेका छैनन्।

तीन बल खेलेका लामिछानेले एक छक्कासहित सात रन बनाए।

करण केसीले आठ तथा सोमपाल कामीले चार रन जोडे। पीएनजीबाट सेमो कामियाले पाँच र रिले हाकुरेले तीन विकेट लिएका थिए।

नेपाल विश्वकप क्वालिफाइअरमा पुग्ने सम्भावना कति?

एक महिनाभित्र खेलिएका नौ खेलमध्ये आठमा नेपालले नतिजा आफ्नो पक्षमा पार्दै विश्वकप क्रिकेटको क्वालिफाइअरसम्म पुग्ने सम्भावना जीवितै राखेको छ।

लीगमा शीर्ष तीन स्थानमा रहने टोलीहरूले सोझै क्वालिफाइअरमा प्रवेश पाउँछन्। पहिलो र दोस्रो स्थानमा रहेका स्कटल्यान्ड र ओमानले उक्त प्रतियोगिताका लागि आफ्नो स्थान सुरक्षित पारिसकेका छन्।

लीगमा सबै ३६ वटै खेल खेलिसकेको नामिबिया अहिलेसम्म अङ्कतालिकामा तेस्रो र संयुक्त राज्य अमेरिका चौथो स्थानमा छन्। नेपालले अब तीन र यूएईले अझै चारवटा खेल खेल्न बाँकी छ।

नेपाल तेस्रो स्थानमा पुग्ने सम्भावना कायम छ। त्यसका लागि नेपालले बाँकी तीनवटै खेल जित्नुपर्नेछ। यूएईले चारवटै खेल जित्दा उसको १८ खेलबाट ३९ अङ्क हुनेछ। नामिबियाले कुल ३६ खेलमध्ये १९ खेलमा जित हात पारेको थियो। समान अङ्क भए पनि त्यस अवस्थामा एउटा बढी खेल बढी जितेको हुनाले नामिबिया नै तेस्रो हुनेछ।

भारतमा हुने क्रिकेट विश्वकप २०२३ मा १० वटा देशका राष्ट्रिय टोलीहरू सहभागी हुनेछन्। आईसीसीका अनुसार तीमध्ये आठवटा टोली क्रिकेट विश्वकप सुपर लीगबाट छानिनेछन् भने बाँकी दुई टोली क्वालिफाइअरबाट पुग्नेछन्।

क्वालिफाइअरमा लीग-२ का शीर्ष तीन टोली र सुपर लीगको पुछारमा रहेका पाँच टोली सहभागी हुनेछन्।

काठमाण्डूमा जारी त्रिकोणात्मक शृङ्खलाको नतिजाले नेपालको ओडीआई मान्यता र क्वालिफाइअरमा प्रवेश पाउने सम्भावनाको छिनोफानो गर्नेछ।

ओडीआई मान्यता पाउन नेपाल पाँच स्थानभित्र पर्नैपर्ने हुन्छ। त्यसका लागि अब बाँकी तीन खेलमध्ये एउटामा नेपाल विजयी हुनुपर्नेछ।

बाँकी खेल कहिले?

मार्च १०ः यूएई र पपुवा न्यूगिनी

मार्च १२ः नेपाल र यूएई

मार्च १३ः नेपाल र पपुवा न्यूगिनी

मार्च १५ः पपुवा न्यूगिनी र यूएई

मार्च १६ः नेपाल र यूएई