तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बारा-२ बाट 'बाहिरिया' भनिएका उपेन्द्र यादव निर्वाचित
बारा-२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्।
यादवले आफ्ना निकटम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहलाई ५,०८१ मतान्तरले पराजित गरेको निर्वाचन आयोगले जनाएको छ।
मतगणना सुरु हुँदा केही समय यादव र कुशवाहबीच चर्को प्रतिस्पर्धा देखिएको थियो। तर मङ्गलवार बिहानदेखि यादवले मतान्तर बढाउँदै लगेका थिए।
नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल उनीहरू दुई जनाभन्दा पछाडि परे भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल चौथो स्थानमा सीमित भएको वीरगंजबाट बीबीसी संवाददाता माधुरी महतोले जनाएकी छन्।
यादवले आफ्नो विजयलाई स्वाभाविक रूपमा लिएको बताए।
आफू निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले आफ्नो दल सरकारमा जाने विषयमा निर्णय लिन बाँकी रहेको बताए।
"अहिले त्यो विषयमा केही पनि सोचेको छैन," यादवले भने।
कसले कति मत प्राप्त गरे?
- उपेन्द्र यादव (जनता समाजवादी पार्टी-नेपाल): २८,४१५ (विजयी)
- शिवचन्द्र कुशवाह (जनमत पार्टी): २३,३३४
- पुरुषोत्तम पौडेल (नेकपा एमाले): १०,२१६
- रमेश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी): २,८२९
- अरुणकुमार ज्ञवाली (स्वतन्त्र): २,७३८
जनता समाजवादी पार्टी-नेपालका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त निर्वाचन क्षेत्र रिक्त हुन गएको थियो।
पटक पटक मन्त्री भइसकेका यादव सोही पार्टीका केन्द्रीय अध्यक्ष हुन्।
त्यहाँ १० दलका र २४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए।
निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बारामा ६५.०२ प्रतिशत मतदान भएको थियो।
उक्त निर्वाचन क्षेत्रमा गत मङ्सिरमा ६३.५६ प्रतिशत मत खसेको थियो।
उपाध्यायका अनुसार यहाँ ६८,००० भन्दा बढी मत खसेको थियो।
निर्वाचन क्षेत्र फेरिरहने उपेन्द्र यादव
गत मङ्सिर महिनामा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि उपेन्द्र यादवको नाम बारा-२ बाट सिफारिस भएको थियो। तर उनले सप्तरी रोजे।
सप्तरीमा उम्मेदवार बनेका यादवलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले उनलाई ठूलो मतान्तरले पराजित गरिदिए।
मतपरिणाम आएपछि यादवले आफूलाई हराउन "ठूलो षड्यन्त्र र चलखेल भएको" बीबीसीलाई बताएका थिए।
गैरसरकारी संस्थाको पृष्ठभूमिबाट उदाएका यादव पहिलो संविधानसभा निर्वाचनमा मोरङबाट उम्मेदवार बनेका थिए।
त्यसपछिको चुनाव उनले सुनसरीबाट लडे।
चुनावी क्षेत्र परिवर्तन गरेकै कारण आफूलाई विपक्षीहरूले "बाहिरिया" भनेको उनले यसअघि बीबीसीसँग स्वीकार गरेका थिए।
“सङ्घीयता र समावेशिताको रक्षासँगै सुशासन, विकास र समृद्धिको एजेन्डा लिएर म जनताको माझमा पुगिरहेको छु, जनता निक्कै उत्साहित पनि देखिएका छन्। यहाँका जनताले मलाई आत्मसात् गरिसकेका छन्,” यादवले भनेका थिए।
“सुरुसुरुमा विपक्षीहरूले बाहिरिया भनेर भ्रममा पार्न खोजे पनि अब त्यो भ्रम हराएको छ।”
पृष्ठभूमि कस्तो?
उपेन्द्र यादव कानुन र विज्ञान विषयमा स्नातक हुन् तथा गणित विषयमा स्नातकोत्तर हुन्।
वि.सं. २०३२ सालमा वामपन्थी दलनिकट विद्यार्थी राजनीतिमा संलग्न भएका उनी २०४८ सालपछि नेकपा एमालेमा संलग्न भएको बताइन्छ। त्यसको झन्डै आठ वर्षपछि उनले एमाले परित्याग गरे।
वि.सं. २०६३ सालपछि मधेशी जनअधिकार फोरम नेपाल नामक पार्टी गठन गरेर त्यसको अध्यक्ष बने।
पछि एमालेबाट बाहिरिएका अशोक राईको समूहलाई लिएर सङ्घीय समाजवादी फोरम गठन तथा नेतृत्व गरेका थिए।
चार दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय उनी त्यसअघि शिक्षण पेसामा आबद्ध थिए।
राजनीतिक जीवनमा पटकपटक गरी साढे तीन वर्ष जेल परेका यादव झन्डै छ वर्ष भूमिगत रहे भने झन्डै आठ वर्ष निर्वासनमा रहेको विवरण उनी यसअघि प्रतिनिधिसभा सदस्य हुँदा संसद्ले प्रकाशित गरेको विवरणमा उल्लिखित छ।
उनका 'नेपाल मधेशी समुदाय: एक विवेचना'लगायत आठवटा पुस्तक प्रकाशित भएको पनि त्यसमा लेखिएको छ।
तनहुँ-१ बाट स्वर्णिम वाग्ले विजयी
तनहुँ-१ बाट अर्थशास्त्री स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनी उपनिर्वाचनको केही साताअघि मात्र नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उम्मेदवार बनेका थिए।
प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४,००० मतले पछि पार्दै वाग्लेले संसद् भवनको यात्रा तय गरेका हुन्।
वाग्लेले ३४,९१९ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
उनका प्रतिद्वन्द्वी भट्टराईले भने मतगणना जारी रहँदै 'हार स्वीकार गर्दै' फेसबुक स्टाटस लेखेका थिए: "मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वासयोग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।"
चितवन-२ मा पुन: रवि लामिछाने निर्वाचित
चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत मङ्सिरमा सम्पन्न निर्वाचनमा आफैँले प्राप्त गरेकोभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्।
मङ्सिरमा भएको मतदानमा उनी ४९,३०० मत ल्याएर निर्वाचित भएका थिए। नागरिकता विवादका कारण उनको सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।
पाँच महिनापछि भएको उपनिर्वाचनमा लामिछाने पुनः उम्मेदवार बनेका हुन्।
उनी ५४,१७६ मत ल्याएर विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारभन्दा झन्डै ४३,००० बढी मत ल्याए।
त्यहाँ कुल ७८,२७७ जनाले मतदान गरेका थिए।
मतगणना सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गरेका छन्।
"सरकारलाई (दिएको समर्थनको) निरन्तरताको औचित्य देखिएको छैन। त्यस कारण (काठमाण्डू) फर्किसकेपछि हामी छलफल गर्छौँ," उनले भने।
"स्थिरता नै रहोस् भनेर समर्थन गरिदिएका हौँ। तर स्थिरताकै नाममा जे पनि गर्नुलाई नोटिसमा लिएका छौँ," उनले भने।