धवलागिरि हिमालमा बेपत्ता पाँचै जना रुसी पर्वतारोहीको मृत्यु भएको आशङ्का

मुक्तिनाथबाट खिचिएको यो तस्बिरको पृष्ठभूमिमा धवलागिरि देखिन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मुक्तिनाथबाट खिचिएको यो तस्बिरको पृष्ठभूमिमा धवलागिरि देखिन्छ
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

म्याग्दीको धवलागिरि हिमालमा बेपत्ता भएका पाँच जना रुसी पर्वतारोहीहरूको मृत्यु भएको आशङ्का गरिएको नेपाली अधिकारीहरूले बताएका छन्।

म्याग्दी जिल्लाका प्रहरी प्रमुख भरत श्रेष्ठले उक्त हिमाल आरोहणका लागि पुगेका पाँच जना रुसी नागरिकको मृत्यु भएको ठानिएको बताए।

प्रहरीका अनुसार उनीहरूको खोजीका लागि गएको उद्धार टोलीले पाँचै जना रुसी नागरिकहरू ७,६०० मिटर उचाइमा लडिरहेको अवस्थामा भेट्टाएको थियो।

पर्यटन विभागको पर्वतारोहण शाखाका प्रमुख राकेश गुरुङले पनि हेलिकप्टरबाट हेर्दा पाँच जना मानिसहरू लडिरहेको अवस्थामा देखिएको जानकारी दिए।

उनीहरूसँगको सम्पर्क आइतवार राती ११ बजेबाट टुटेको थियो।

चिप्लिएर लडेको आशङ्का

उनीहरूको आरोहण व्यवस्थापन गरिरहेको आईएम ट्रेकिङ एन्ड एक्सपिडिशन कम्पनीका प्रबन्ध निर्देशक पेम्बा जाङ्बु शेर्पाले उनीहरू चिप्लिएर लडेको आशङ्का गरिएको बताए।

“उनीहरू चिप्लिएर लडेको जस्तो देखिएको छ। एउटै डोरीमा भएका कारण एक जना लड्दा सबैजना लडेका हुन सक्छन्,” जाङ्बुले बीबीसी न्यूज नेपालीसँग भने।

"उनीहरू लडेर करिब ६,८०० मिटर उचाइमा एकै ठाउँमा पाँचै जना अड्किएको हेलिकप्टरमा गएकाहरूले बताएका छन्," शेर्पाले भने। तर पर्यटन विभागले भने उनीहरू ७,६०० मिटरको उचाइमा देखिएको जनाएको छ।

पर्यटन विभागका महानिर्देशक नारायण रेग्मीले उद्धारका लागि गएको टोलीले उनीहरू “जीवित रहेको आशा कम रहेको” जानकारी गराएको बताए।

आरोहण व्यवस्थापन कम्पनीले धेरै उचाइमा भएका कारण रुसी आरोहीहरूलाई हेलिकप्टरमा डोरी झुन्ड्याएर गरिने उद्धार ‘लङ लाइन रेस्क्यू’ गर्न सम्भव नदेखिएको जनाएको छ।

क्याम्प फोर पुग्न लाग्दा दुर्घटना

आईएम ट्रेकिङ एन्ड एक्सपिडिशनका निर्देशक शेर्पाका अनुसार छ जनामध्ये पाँच जना आइतवार ४ बजे ८ हजार १६७ मिटर अग्लो विश्वको सातौँ अग्लो हिमाल धवलागिरिको शिखर नजिक पुगेका थिए।

तर खराब मौसमका कारण उनीहरू आरोहण नगरी फर्किएको पाइएको पर्यटक विभागका प्रवक्ता गुरुङले बताएका छन्।

"बीच बाटोबाटै फर्किएका उनीहरूको टोलीका एक जनाले खराब मौसमका कारण माथि नजान भने पनि उनीहरू मानेका थिएनन्। तर केही समयपछि रेडिओ सेटमा उनीहरूले आरोहण परित्याग गरेर तल झर्दै गरेको बताएका रहेछन्," गुरुङले भने।

फर्कने क्रममा खराब मौसमका कारण उनीहरूको यात्रा केही ढिलो भएको थियो। दुर्घटनामा पर्नुभन्दा केही समय अघिसम्म रुसी आरोहीहरूको टोलीले आधार शिविरमा सम्पर्क गरिरहेको थियो।

“उनीहरूले राती ११ बजे ७,७०० मिटरसम्म आइपुगेको जानकारी बेस क्याम्पमा गराएका थिए। त्यहाँभन्दा ३०० मिटर तल मात्रै क्याम्प फोर थियो। तर क्याम्प फोरमा सम्पर्क नभएपछि खोजी सुरु गरिएको थियो,” आरोहण व्यवस्थापन कम्पनीका शेर्पाले भने।

शेर्पाका अनुसार क्याम्प फोरमा जडान गरिएको सञ्चार प्रणालीबाट जवाफ नआएपछि उनीहरूलाई खोज्न सोमवार हेलिकप्टर पठाउने प्रयास गरिएको थियो। तर खराब मौसमका कारण सोमवार दिनभरि हेलिकप्टर पठाउन सकिएन। मङ्गलवार उनीहरूसँगै आएका एक जना रुसी पर्वतारोही सहित हेलिकप्टरमा गएका उद्धारकर्मीहरूले पाँचै जनाको मृत्यु भएको निष्कर्ष निकालेका थिए।

तर उनीहरू भएकै ठाउँमा पुगेर कसैले पनि मृत्युको पुष्टि नगरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

अक्सिजन क्याम्प फोरमै थियो

अल्पाइन स्की गाइड भएका कारण रुसी टोली अक्सिजन नलिई धवलागिरिको आरोहणका लागि गएको थियो। उनीहरूसँग शेर्पा गाइड पनि थिएनन्।

"सबै जना अल्पाइन स्की गाइड भएका कारण उनीहरूले स्थानीय शेर्पाहरूको सहयोग लिएका थिएनन्," आरोहण व्यवस्थापन कम्पनीका शेर्पाले भने।

उनीहरूले आफ्नो साथमा लिएर गएको आपत्कालिन अक्सिजन पनि क्याम्प फोरमै छोडेका थिए।

“अल्पाइन आरोहीहरूले अक्सिजन लिएर जाँदैनन्। इमर्जेन्सी अक्सिजन पनि क्याम्प फोरमा छोडेका थिए,” उनले भने।

एक जनाले अन्तिम समयमा आरोहण त्यागेका थिए

शेर्पाका अनुसार छ जनाको टोली मध्ये एक जनाले ७,६०० मिटर आसपासको क्षेत्रबाट आरोहण त्यागेर फर्किएका थिए।

आईएम ट्रेकिङ एन्ड एक्पिडिशनका सञ्चालक शेर्पाका अनुसार १६ जनाको समूहमा आएका रुसीहरूले दुई टोलीमा आरोहण सुरु गरेका थिए। त्यसमध्ये पहिलो टोलीका आठ जनामध्ये छ जनाले स्वास्थ्यका कारण आरोहण त्याग गरेका थिए। बाँकी दुई जना सफल आरोहण सकेर आधार शिविर फर्किइसकेका थिए। बाँकी छ जनाको दोस्रो टोली भने अनुकूल मौसमको पर्खाइमा आरोहणका लागि केही ढिलो शिखरतर्फ पुगेको थियो।

धवलागिरी हिमाल आरोहणका लागि नेपालीहरूका लागि १० हजार रुपैयाँ प्रतिव्यक्ति र विदेशीहरूका लागि १,८०० अमेरिकी डलर रोयल्टी शुल्क तोकिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।