सगरमाथा चढ्न जाने आरोहीहरूमा 'अब चिप्स जडान गरिने'

पर्वतारोहीको साङ्केतिक चित्राङ्कन
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

अब सगरमाथा आरोहण गर्न जाँदा प्रत्येक आरोहीले सरकारले उपलब्ध गराउने विद्युतीय चिप्स लैजानैपर्ने योजना बनाएको अधिकारीहरूले बताएका छन्।

पर्वतारोहीको विशेष पोसाकमा विद्युतीय चिप्स जडान गर्नुपर्ने नियम यही वसन्त यामदेखि नै लागु हुने छ।

पर्वतारोहीको ज्याकेटमा त्यस्तो चिप जडान गरिने र त्यसले पर्वतारोहण थप सुरक्षित बन्ने उनीहरूको अपेक्षा छ।

उद्धारमा सहायक

सगरमाथा आरोहण

तस्बिर स्रोत, Gelje Sherpa

तस्बिरको क्याप्शन, उच्च हिमाली भेगमा खोज तथा उद्धार कार्य निकै जटिल हुने गर्छ

“हामीले खोज तथा उद्धारकार्यलाई थप प्रभावकारी बनाउनका निम्ति आरोहीहरूको पोसाकमा चिप जडानलाई अनिवार्य बनाउने भएका छौँ,” पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बीबीसी न्यूज नेपालीलाई बताए।

कुनै आरोही दुर्घटनावश वा अन्य कारणले उच्च हिमाली क्षेत्रमा हराएको खण्डमा तिनलाई सहज रूपमा खोज तथा उद्धार गर्न त्यस्तो चिप सहायक हुने उनको भनाइ छ।

“अन्तर्राष्ट्रिय बजारमै परीक्षित अनि प्रयोग भएका गुणस्तरयुक्त चिपहरू एजेन्सीमार्फत् दिने गरी हामी प्रयोगमा ल्याउँछौँ। अनि त्यसलाई पत्ता लगाउने डिटेक्टर प्रणाली पनि व्यवस्थित गर्नुपर्ने छ,” गुरुङले भने।

चिपको मूल्य १०-१५ डलर पर्ने उनले बताए।

हिजोआज आरोहीहरूले प्रयोग गर्दै आएका मोबाइल वा जीपीएस उपकरणमा ब्याटरीमा निश्चित समयमा सकिने समस्या आउने हुँदा तीभन्दा चिपको उपयोग बढी उपयोगी हुने उनी ठान्छन्।

हिमपहिरोमा परेका समयमा कैयौँ फिट हिउँमुनि आरोही पुरिएको हुनसक्ने अवस्थामा पनि चिपबाट पत्ता लगाउन थप सहयोगी हुनसक्ने ठानिएको छ।

चिप उत्पादकहरूसँग अहिले सरकारले छलफल गरिरहेकाले सबभन्दा विश्वसनीय र प्रभावकारी हुने किसिमका चिप चयन गरिने बताइएको छ।

खुम्बु आइसफल

तस्बिर स्रोत, Pradeep Bashyal

तस्बिरको क्याप्शन, कतिपय आरोहीहरूलाई उच्च हिमाली क्षेत्रमा लेक लागेर दिग्भ्रमित हुने वा कुनै क्रिभास (खर्पस)मा खसेर हराउनसक्ने जोखिम हुने गर्छ

‘सकारात्मक कदम’

पर्वतारोहीहरूलाई थप सुरक्षित बनाउने विषय भएकाले चिप जडानको योजना सकारात्मक रहेको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले बताए।

खास गरी सगरमाथा आरोहणको हकमा आरोहीहरूको साथमा अन्य गाइड तथा टोली रहने हुँदा हराउने समस्या कमै हुने भए पनि चिपको प्रयोगले दुर्घटनाका बेला खोजी र उद्धार सहज बनाउने उनी ठान्छन्।

व्यक्तिगत आरोहण वा उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्नेहरूका निम्ति भने यो प्रणाली झन् लाभदायी हुने शेर्पाले भने।

“तर जे नयाँ कुरा पनि पहिले गरेर त हेर्नुपर्छ। यो सकारात्मक कुरा नै हो,” उनले भने।

कतिपय आरोहीहरूलाई उच्च हिमाली क्षेत्रमा लेक लागेर दिग्भ्रमित हुने वा कुनै क्रिभास (खर्पास)मा खसेर हराउन सक्ने जोखिम हुन्छ।

गत वर्ष सगरमाथा आधारशिविर नजिकैको खुम्बु आइसफल क्षेत्रमा तीन शेर्पा खर्पासमा खसेर बेपत्ता भएका थिए।

उद्धारको आवश्यकता

उच्च हिमाली क्षेत्रमा उद्धारकार्यहरूको समन्वय गर्दै आएको संस्था हिमालयन रेस्क्यू असोसिएशनले पनि नयाँ योजनाको स्वागत गरेको छ।

“खोजी र उद्धारमा यस्ता योजना सहायक नै हुन्छन्,” असोसिएशनका उपाध्यक्ष कुमार रानाभाटले बताए।

रानाभाटका अनुसार सामान्यतया प्रत्येक याममा १०-१५ वटा उद्धारकार्य गर्ने अवस्था आइपर्छ।

“मौसम बिग्रियो भने चाहिँ त्योभन्दा धेरै सङ्ख्यामा उद्धार गर्नुपर्ने पनि हुन्छ,” उनले भने।

असोसिएशनले सगरमाथा आधारशिविरमै टेन्टमा अस्थायी स्वास्थ्यशिविर सञ्चालन गर्ने गरेको भन्दै कतै माथि कुनै दुर्घटना भएमा हेलिकप्टर कम्पनी तथा एजेन्सीहरूसँग सम्पर्क र समन्वय गरेर उद्धारकार्य गराउने उनले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।