कामिरिता शेर्पा: सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमान यसै पटक नतोडिने अनुमान

तस्बिर स्रोत, Reuters
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
कामिरिता शेर्पाले बनाएको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने पाँच वर्षदेखिको कीर्तिमानलाई यसपालि पासाङ दावा शेर्पा (पादावा) ले दुई पटक चुनौती दिएका छन्।
तर विश्वको सर्वोच्च शिखरमा २८औँ पटक पाइला टेकेर ५३ वर्षे कामिरिताले बनाएको त्यस्तो कीर्तिमान कम्तीमा यस याममा भङ्ग हुने सम्भावना नभएको पर्वतारोहण अधिकारीहरूले बताएका छन्।
पर्यटन विभागका पर्वतारोहण शाखा हेर्ने निर्देशक युवराज खतिवडा भन्छन्: "हामी यामको अन्त्यतिर आइसकेकाले अब पुन: वहाँहरूबाट अर्को आरोहण हुने काम सहजै सम्भव देखिँदैन। हामी मे २९ [जेठ १५] तिर यो यामको आरोहण बन्द गर्ने तयारीमा छौँ।"
जारी वसन्त याममा पादावाले पहिलो पटक तीन दिन र दोस्रो पटक एक दिनका लागि कामिरिता शेर्पाले बनाएको कीर्तिमानसँग बराबरी गरेका थिए।
उनीहरू कसैले पनि यसै याममा अर्को आरोहणका लागि प्रक्रिया सुरु नगरेको खतिवडा बताउँछन्।
तर कामिरिताले जेठ ९ को सबेरै यो यामको दोस्रो सगरमाथा आरोहण गरेर आफूलाई उक्त सूचीको अग्रपङ्क्तिमै राख्न सफल भए।
सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रकै कामिरिता शेर्पासँग पादावाले जेठ ८ मा सगरमाथा सबैभन्दा धेरै अर्थात् २७औँ पटक आरोहण गर्ने कीर्तिमान बराबरी गरेका थिए।

तस्बिर स्रोत, Pradeep Bashyal/BBC
त्यसअघि ३१ वैशाखमा समेत २६औँ पटकको सगरमाथा आरोहणको कीर्तिमानमा कामिरिता र पादवाले बराबरी गरेका थिए।
तर सन् २०१८ यता सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने कामिरिताको कीर्तिमान अरु कसैले तोड्न भने सकेको छैन।
बीबीसीसँगको एक पुरानो अन्तर्वार्तामा आफूले २५ पटक सगरमाथा चढ्ने बताएका ५३ वर्षीय कामिरिताले २८ पटक आरोहण सकिसक्दा समेत कहिले रोकिने भन्ने खुलाइसकेका छैनन्।
उनलाई पछ्याइरहेका पादावा अहिले ४८ वर्षका छन् र उनले समेत कहिलेसम्म सगरमाथा चढिरहने भनेर केही खुलाएका छैनन्।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले सर्वाधिक आरोहण कसको नाममा रहिरहने भन्ने इतिहास लेखाउनका लागि "थप एक-दुई वर्ष" प्रतिस्पर्धा जारी रहने देखिएको बताउँछन्।
उनी भन्छन्: "तर यसपटक वहाँहरूले रेकर्डका लागि प्रतिपर्धा गरेको मलाई लाग्दैन। दुवैजना क्षमतावान आरोही हुनुहुन्छ वहाँहरूले आफ्नो कामलाई निरन्तरता दिनुभएको हो।"


कीर्तिमानका शृङ्खला

तस्बिर स्रोत, Pradeep Bashyal/BBC
सन् २०२३ को जारी आरोहण याममा यी दुवै शेर्पा नेपालतर्फको दक्षिणी मोहडाबाट दुई पटक सगरमाथाको चुचुरो पुगेका हुन्।
आरोहीमा हुने शक्ति र समयानुकूल मौसमका आधारमा निकै दुर्लभ रूपमा एकै याममा तेस्रोपटक आरोहण हुनेगरेको विगत छ।
तर सन् २००७ मा सोलुखुम्बुकै खुम्जुङका फुर्वातासी शेर्पाले एकै याममा तीन पटक सगरमाथा आरोहण गरेका थिए।
अन्तिम पटक सन् २०१३ मै २१ पटक सगरमाथा आरोहण गर्ने गरेका उनै फुर्वातासीले त्यसको दुई वर्षअघि सन् २०११ मा आपा शेर्पाले सबैभन्दा धेरैपटक बनाएको कीर्तिमान बराबरी गरेका थिए।
आपाले सन् २०११ मै संन्यास घोषणा गरेका थिए भने फुर्वातासीले सन् २०१५ को भूकम्पयता सगरमाथाको आरोहणमा नजाने घोषणा गरे।
सन् २०१४ मा खुम्बु आइसफलमा गएको घातक हिम पहिरो र सन् २०१५ मा आरोहणको अन्तिम तयारी भइरहँदा आधार शिविरसम्मै आएको अर्को घातक हिमपहिरोले गर्दा आरोहणहरू भएका थिएनन्।
तर पनि कामिरिताले सन् २०१८ मा मात्र फुर्वातासी र आपाको कीर्तिमान तोडेका थिए।


चलिरहने प्रतिस्पर्धा

तस्बिर स्रोत, EPA
पादवाले सन् १९९८ मा पहिलो पटक चुचुरोमा पुग्दा कामिरितासँग तीन पटक सगरमाथा आरोहण गरिसकेको अनुभव थियो।
तर पादावाले २१ वर्षको उमेरमा पहिलो सगरमाथा आरोहण गरेका थिए भने कामिरिताले २४ वर्षको हुँदा सगरमाथाको चुचुरो पुगेका थिए।
पर्वतारोहण क्षेत्रका जानकार आङ् छिरिङ शेर्पाले "आफूले ६० वर्ष नाघिसक्दा पनि सगरमाथा आरोहण गरिरहेका शेर्पाहरू देखेको हुँदा उनीहरूले चढ्ने काम जारी राखेमा अस्वाभाविक नमान्ने" बताउँछन्।
"तर कामिरिताले पछिल्ला केही वर्ष एकै सिजनमा दुईपटक चढिरहेका छन् र यसपटक समेत योजनावद्ध ढङ्गले दुईपटक चढेका हुन्। प्रतिस्पर्धाजस्तो देखिन आएको मात्र हो।"
त्यसयता कहिले विदेशी आरोहीलाई लिएर जाने त कहिले आरोहणको सुरुमै डोरी टाँग्दै सगरमाथाका बाटो बनाउने काममा खटिँदा यी दुवैले कुनै याम दुईपटक समेत आरोहण गरेका छन्।
कामिरिताको गाउँ थामे कोङ्दे हिमालको छेवैमा गोक्यो पदयात्रा मार्गमा पर्छ भने पादवाको गाउँ पाङ्बोचे सगरमाथा आधार शिविर जाने बाटोमा आमादब्लम हिमालको काखैमा पर्छ।
कामिरिताले "सगरमाथा चुचुरो पुग्ने काम आफ्नो वसमा नहुने र भगवानमा विश्वास गर्नुपर्ने" बताउँछन्।
उनले "शेर्पाहरूबिना सगरमाथाको भविष्य नहुने भए पनि सरकारले आफूहरूको भविष्यबारे नसोचेकोमा दु:ख लागेको" बीबीसीलाई बताएका थिए।
हरेकपटक चुचुरो टेक्नुअघिको आफ्नो शैलीबारे यसअघि उनले भनेका थिए, "तपाईँको शरीरमा पाइला टेक्नुपर्यो भनेर माफी माग्दै पूजा गर्छु। चुचुरोमा पाइला टेक्नुअगावै तलबाटै तीन पटक ढोगेर माफी माग्छु।"
उता पादावाले एक कार्यक्रममा आमादब्लम हिमाल आरोहणको आफूले कुनै 'गणना समेत गर्न छाडेको' बताएका थिए।
७० पटकभन्दा बढ्ता उक्त हिमाल चढेको बताउने उनले एकपटक 'चौबिस घण्टाभित्रै आफ्नो घरबाट आमादब्लम चुचुरो पुगेर घर फर्केको' बताएका थिए।
बीबीसीसँगको पछिल्लो भिडिओ अन्तर्वार्तामा उनले "अहिलेजस्तो सङ्गठित ढङ्गले डोरी टाँगिएको बाटो नहुने, मौसमी विवरण राम्रो नहुने" जस्ता परिवेशमा गरिएका आफ्ना सुरुवाती आरोहण स्मरण गरेका थिए।












