सगरमाथाको उचाइ: विश्वको सर्वोच्च शिखर नाप्ने काम 'अहिलेसम्मकै सबैभन्दा बढी विश्वसनीय'

सगरमाथा

तस्बिर स्रोत, EPA

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको उचाइ पहिले मानिआइएको ८,८४८ मिटरभन्दा ८६ सेन्टिमिटर बढेको पाइएको पछिल्लो मापन प्रक्रिया र त्यसको नतिजा 'अहिलेसम्मकै सबैभन्दा बढी विश्वसनीय रहेको' अधिकारी एवं विज्ञहरूले बताएका छन्।

नेपाल र चीनको सीमा पर्वतका रूपमा रहेतापनि अहिलेसम्म चीन र नेपालले सगरमाथाको फरक-फरक उचाइलाई आधिकारिक मान्दै आएका थिए।

बेइजिङ्ले सन् २००५ मा गरेको मापनमा सगरमाथाको उचाइ ८,८४४.४३ मिटर पाइएको बताएको थियो।

छुट्टाछुट्टै मापन भए पनि विवरणहरू साटासाट गरेर संयुक्त रूपमा सार्वजनिक गरिएपछि अब नेपाल र चीन उक्त हिमालको उचाइका बिषयमा एकठाउँ पुगेका छन्।

प्रक्रिया

अहिलेसम्मकै सबैभन्दा भिडभाडयुक्त मानिएको सन् २०१९ को बसन्त याममा दुईजना नेपाली नापी अधिकृतहरू सगरमाथाको चुचुरोमा पुगेका थिए।

वायुमण्डलमा अक्सिजनको मात्रा निकै घट्ने परिवेशमा शारीरिक एवं मानसिक रूपमा लखतरान भएर चुचुरोमा पुग्ने काम हरेक आरोहीका लागि एउटा ठूलो सफलता मानिने गर्छ।

"हाम्रो लागि भने त्यहाँ पुगेपछि बल्ल काम सुरु हुँदैथियो," मापनका क्रममा चुचुरो पुगेका प्रमुख नापी अधिकृत खिमलाल गौतमले बीबीसीलाई सुनाए।

अर्का सहकर्मी रविन कार्कीसहित तीनजना शेर्पा लिएर चुचुरो पुगेका गौतम नेतृत्वको टोलीले त्यहाँ दुई घण्टा बिताएर साथै लगिएको यन्त्रका सहायताले भूउपग्रहीय विवरणहरू लिए।

त्यतिका धेरै समय त्यहाँ बिताउँदा गौतमको खुट्टाको एउटा औँला नै हिउँले खाएको थियो।

त्यहाँ उनीहरूले लगेको 'जिपिएस' यन्त्र र तल जमिनमा ८ ठाउँमा राखिएका ग्लोबल न्याभिगेसन स्याटलाइट सिस्टम (जीएनएनएस)ले एकैसाथ आफ्नो अवस्थितिबारे भूउपग्रहको सञ्जालका सहायताले विवरणहरू सङ्कलन गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसरी गरियो सगरमाथाको नयाँ उचाइको घोषणा

यूनिभर्सिर्टी अफ कोलोराडो बोल्डरमा भूगर्भविज्ञानका प्राध्यापक पिटर हल मोल्नरले बीबीसीलाई भने: "जीपीएसको सहायताले एक सेन्टिमिटर वा अझै कम तलमाथि पर्नेगरी हामीले पृथ्वीको केन्द्रभाग सम्मको दूरी नाप्न सकिन्छ।"

"हामीले उचाइको मापन समुद्री सतहसँग तुलना गरेर गर्छौँ। तर सगरमाथाको मुनि रहेको समुद्री सतह नाप्ने काम भने निकै कठिन छ।"

पृथ्वीको गुरुत्वाकर्षण र हाम्रो ग्रहमा असमान रूपमा रहेको पिण्डका कारण व्यवहारिक रूपमा समुद्री सतह समेत एउटै हुँदैन।

प्रमुख नापी अधिकृत खिमलाल गौतम भन्छन्: "त्यसैले यो उचाइ सम्भावित सबैभन्दा नजिकको विवरण हो। हामीले जेजस्तो तरिका र प्रविधि अपनायौँ त्यसका आधारमा यो अहिलेसम्म नाप्दा पाइएको सबैभन्दा विश्वासिलो उचाइ हो।"

खिमलाल गौतमको दलले उक्त विवरण लामो दायरामा सङ्कलन गर्न सोचिएभन्दा झण्डै दोबर अर्थात् दुई घण्टा समय चुचुरोमा बिताउने जोखिम मोलेको थियो।

नेपाली सर्वेक्षक

तस्बिर स्रोत, Getty Images

"विगतमा भएका मापन र यसपटक नै चिनियाँ नापी अधिकारीहरूभन्दा फरक हामीहरूले विहानको तीन बजे चुचुरोमा पुग्ने समय रोज्यौँ। सूर्यको प्रकाशमा निकै थोरै तलमाथि पर्न सक्ने विवरण पनि नहोस् भनेर हामीले त्यसो गरेका थियौँ।"

पछिल्लो समयको जिपिएस मापन बाहेक नापी टोलीले १९औँ शताब्दीदेखि प्रयोग गरिएको 'लेबलिङ सर्वे' समेत अपनाएको थियो।

जुन विधिमा उचाइ समुद्री सतहको तुलनामा मापन गरिन्छ।

'सटिक'

यूनिभर्सिटी अफ कोलोराडो बोल्डरकै भूगर्भशास्त्री प्राध्यापक रजर बिलमले हिमालय क्षेत्रको लामो समयदेखि अध्ययन गरेका छन् र उनी विगतका केही उचाइ मापनमा समेत संलग्न भएका थिए।

उनले बीबीसी नेपालीलाई भने: "नेपाली नापी अधिकारीहरूले गुरुत्वाकर्षण र औसत समुद्री सतहको सटिक समीक्षा गरेर मिहिन ढङ्गले उचाइलाई सच्याएका छन्। पछिल्ला मापनमा त्यस्तो विवरण उपलब्ध थिएन।"

एकभन्दा बढ्ता तरिका अपनाइएकाले गौतमले मङ्गलवार घोषणा गरिएको सगरमाथाको उचाइ 'सबैभन्दा सटिक' भएको दाबी गर्छन्।

प्राध्यापक रजरका भनाइमा सन् १८५७ मा समुद्री सतहलाई कराची र कोलकातामा एक महिनाका विवरण लिएर मापन गरिएको थियो।

नापी

तस्बिर स्रोत, DEPARTMENT OF SURVEY, NEPAL

जसकै आधारमा भारतको विहारका केही ठाउँहरूको उचाइ नापिएको थियो।

जसलाई ज्यामितिय आधारका रूपमा लिएर सगरमाथाको उचाइ नापिएको थियो।

चिनियाँ नापी टोलीले समेत चुचुरोमा जिपिएस उपकरण जडान गरेको थियो।

तर उसले अमेरिकी स्वामित्वको जिपीएस प्रणाली प्रयोग नगरिकन उसको प्रतिस्पर्धी चीनको बेडो नेभिगेसन स्याटलाइट प्रयोग गरेको थियो।

पुर्नमापनको आवश्यकता

हिमालय क्षेत्र झण्डै पाँच करोड वर्ष अगाडि चरणबद्ध भूकम्पहरूका कारण बनेको हो।

यूनिभर्सिटी अफ अक्सफर्डका भूगर्भशास्त्रका प्राध्यापक माइक सिअर्लीका अनुसार सन् २०१५ को भूकम्पका बेला हिमालय देशान्तरमा रहेको नेपालको उत्तर-दक्षिणतर्फ एक मिटरसम्म उचाइ घटेको पाइएको छ।

जबकी काठमाण्डू उपत्यकाको उत्तरतर्फका पर्वतहरूमा एक मिटरसम्म उचाइ बढेको बताइन्छ।

चीनले यसअघि दुईपटक सगरमाथाको उचाइ मापन गरेको थियो।

चीन

तस्बिर स्रोत, Getty Images

पछिल्लोपटक उसले सार्वजनिक गरेको उचाइ ८,८४४.४३ मिटरमा मा हिउँको तहलाई आधार मानिएको थिएन।

यस मापनमा दुई देशका अधिकारीहरूले चुचुरोमा जम्ने हिउँको तहलाई समेत आधार मानेको बताएका छन्।

प्राध्यापक सिअर्ली थप्छन्: "चुचुरोमा जम्ने हिउँ हरेक याममा केही मिटरले नै फरक पर्छ। मनसुनका बेला हुने हिमपातले चुचुरोमा अझ बढ्ता हिउँ जमाउँछ। यद्यपि त्यसलाई पश्चिमी वायुले उडाइ पनि हाल्छ।"

गर्वको विषय

विश्व परिवेशमा चिनाउने आफ्नो महत्वपूर्ण सम्पत्ति भइकन पनि नेपालले अहिलेसम्म विदेशी मापनका विवरणलाई मान्नु पर्ने बाध्यता थियो।

"सीमितताकै बिच हाम्रा लागि यो एउटा चुनौति थियो। तर हामीमा देशको रूपमा नेपालले लिनुपर्ने स्वामित्वले गर्दा हरक्षण जिम्मेवारीबोध र प्रेरणा मिल्यो," खिमलाल गौतमले भने।

"यो नेपालको एउटा सामूहिक प्रयास थियो। हामी धेरैले आफ्नो बुद्धिविवेक प्रयोग गर्यौँ र व्यक्तिगत रूपमा चुचुरो पुग्दा हामीले जीवनकै जोखिम उठायौँ।"

विज्ञहरूले मापनको यो काम एउटा जटिल र लम्बे प्रक्रिया भइकन पनि आर्थिक हिसाबले धेरै खर्चिलो नभएको बताउँछन्।

उपकरणहरू झण्डै एक लाख डलरमै किन्न सकिने उनीहरूको भनाइ छ।

नापी कार्य

तस्बिर स्रोत, Department of Survey, Nepal

"यसको लागि खास आवश्यकता पर्ने भनेको साङ्गठनिक व्यवस्थापन, जोश र क्षमता हो," प्राध्यापक रजर विलमले उचाइ सार्वजनिक हुनुअघि बीबीसी नेपालीसँग भनेका थिए।

"नेपाली टोलीको विवरण विश्वासिलो हुनेछ किनकि उनीहरूले विगतका मापन सुधार गर्न निकै मिहिन र आशावादी भएर काम गरे।"

नेपाल संलग्न भएर यो काम पहिलोपटक फत्ते गरे पनि ब्रिटिश भारतले १६१ वर्षअघि पहिलो वैज्ञानिक मापन गरेको थियो।

ब्रिटिशहरूले उत्तरतर्फबाट सन् १९२० को दशकमा आधा मापनको काम गरेका थिए भने सन् १९६० को दशकमा चिनियाँहरू संलग्न भएका थिए।

सन् १९९९ मा न्याश्नल जिओग्राफिक सोसाइटीले गरेको मापनमा सगरमाथाको उचाइ ८,८५० मिटर देखा परेको थियो। तर नेपालले त्यसलाई स्वीकार गरेको थिएन।