‘माउन्ट एभरेस्ट’ हेर्न नेपाल आएको परिवारका पाँचै जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु

मनाङ एअर

तस्बिर स्रोत, MANANG AIR

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मेक्सिकोका पाँच जना एकै परिवारका सदस्य भएको र उनीहरू खुम्बु क्षेत्रमा पर्यटनका लागि आएको उनीहरूको भ्रमणको व्यवस्थापन गरेको एउटा एजेन्सीले जनाएको छ।

एभरेस्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्स नामक हेली टुर सेवा प्रदायक कम्पनीका सञ्चालकका अनुसार सीफुइन्तेस जी फर्नान्डोको परिवार आइतवार नयाँ दिल्ली हुँदै नेपाल आइपुगेको थियो।

उक्त परिवारका पाँच सदस्यको मङ्गलवार बिहान होलिकप्टर दुर्घटनामा निधन भएको पुष्टि भएको छ।

नेपाली अधिकारीहरूले मेक्सिकोका कूटनीतिक निकायसँग सम्पर्कमा रहेको र आवश्यक प्रक्रिया पूरा गरी उनीहरूको शव हस्तान्तरण गरिने जनाएका छन्।

दुर्घटनामा परेका मेक्सिकोका नागरिकहरू को हुन्?

उक्त परिवारको नेपाल भ्रमणमा सघाएको एभरेस्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्स नामक एजेन्सीका सञ्चालक मुक्ति पाण्डेले भने, “अस्ति ९ जुलाईमा अपराह्ण २:५५ बजे उहाँहरू एअर इन्डियाको विमान चढेर नयाँ दिल्लीबाट आउनुभएको थियो। हिजो लुक्लामा नै बस्ने उहाँहरूको योजना थियो। आज चाहिँ माथि खुम्बु क्षेत्र गएर फर्कने क्रममा खराब मौसममा परेर यस्तो दुर्घटना हुन पुग्यो।”

उनले थपे, “उहाँहरू एभरेस्ट मात्रै हेर्न आउनुभएको थियो। काठमाण्डूमा नै पनि कतै पनि जान पाउनुभएन। भोलि नै फर्कने कार्यक्रम थियो।”

उनले थपे, “उहाँहरुले खुम्बु क्षेत्र हेर्ने र त्यहाँको संस्कृति हेर्ने इच्छा राख्नुभएको थियो। समय धेरै नभएकाले त्यसका लागि उहाँहरूसँग जम्मा एक दिनको समय थियो।”

उनले उक्त परिवार व्यापारमा संलग्न भएको भन्ने कुरा आफूलाई भनिएको उल्लेख गर्दै उनले दिवङ्गत परिवारको मेक्सिकोको ठेगाना भने आफूलाई थाहा नभएको बताए।

तर ज्यान गुमाउनेमा बुवा, आमा, दुई छोरी र एक छोरा रहेको उनको भनाइ छ।

उनले दिल्लीस्थित मेक्सिकोको राजदूतावास र नेपालस्थित मेक्सिकोको कन्सुलेट सम्पर्कमा आइसकेको बताए।

हेलिकप्टर दुर्घटानामा परेका सबै जनाको शव काठमाण्डू ल्याइसकिएको छ।

मनाङ एअर दुर्घटना

अधिकारीहरू के भन्छन्

एक चालकसहित ज्यान गुमाएका छ जनाको शव दुर्घटनास्थलबाट सङ्कलन गरिएको थियो। तर खराब मौसमले तिनलाई राजधानीमा ल्याइपुर्‍याउन बाधा केही ढिलो भएको थियो।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बीबीसीसँग भने, “पाँचवटा शव चिन्न सकिने अवस्थामा नै पाइएको छ। एउटा पहिचान गर्न गाह्रो छ। ... राजधानीमा तिनको पोस्टमोर्टम गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गरिने छ।”

दुर्घटनास्थलमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराई पनि पुगेका थिए।

तीनवटा हेलिोप्टर उद्धारमा खटाइएको भएपनि मौसम खराब भएका कारण समयमै दुर्घटनास्थलमा अवतरण गर्न समस्या भएको थियो।

उनका अनुसार डाँडाको टुप्पामा हेलिकप्टर दुर्घटना भएकाले नेपाली सेना तथा नेपाल प्रहरीका उद्धारकर्ताहरूले बोकेरै शवहरू उद्धारका लागि पुगेका हेलिकप्टर भएका ठाउँसम्म लगेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुईवटा हेलिकप्टरले मृतकका शवहरू त्रिवि शिक्षण अस्पताल काठमाण्डूमा साँझमा ल्याइपुर्‍याएको बीबीसीलाई जानकारी दिए।

कलसाइन नाइन एन–एएमभी रहेको नयाँ हेलिकप्टर सन् २०१८मा नेपालमा भित्र्याइएको थियो।

एच-१२५ हेलिकप्टर एअरबस कम्पनीले उत्पादन गरेको कम्पनीले जनाएको छ।‍

दुर्घटनाग्रस्त हेलिकप्टर

तस्बिर स्रोत, CAAN

नेपालमा सन् २००६ यता भएका केही घातक हेलिकप्टर दुर्घटना

  • एप्रिल २०१९- सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
  • फेब्रुअरी २०१९ - एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तात्कालिक संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
  • सेप्टेम्बर २०१८ - गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीर रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो। एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
  • मे २०१५ - भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त हुँदा छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
  • जुन २०१५: सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
  • सेप्टेम्बर २००६ - ताप्लेजुङको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा तात्कालिक वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्केसहित २४ जनाको मृत्यु
  • मे २०२३ः सङ्खुवासभाको सिप्रुङमा सिम्रिक एअरको एउटा हेलिकप्टर दुर्घटनामा पर्दा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु