टिकटकबाट 'नाम र दाम' कमाएका मिस पबी र अंश वर्मा प्रतिबन्धबारे के भन्छन्

तस्बिर स्रोत, Getty Images
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि जनमत विभाजित भएको देखिएको छ।
एकथरीले “अभिव्यक्ति स्वतन्त्रताविरोधी” भन्दै सरकारको चर्को आलोचना गरेका छन् भने अर्कोथरीले प्रतिबन्धलाई “सही” मानेका छन्।
नेपालमा निकै लोकप्रिय बनेको उक्त भिडिओ शेअरिङ मञ्चबाटै "नाम र दाम" कमाएका दुई टिकटकरले सरकारले प्रतिबन्धको सट्टा नियमन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
“सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको” भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
सरकारी निर्णयको भोलिपल्ट काठमाण्डूमा एउटा सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले लामो बहस र दलहरूबीच सहमतिपछि टिकटकमाथि प्रतिबन्ध लगाइएको बताएका छन्।
मिस पबी जसले टिकटकमा चर्चित भएपछि म्युजिक भिडिओ खेल्ने अवसर पाइन्

तस्बिर स्रोत, FACEBOOK/PABI SHAKI
टिकटकमा मिस पबीको रूपमा चिनिएकी डडेलधुराकी पवित्रा साकी नराम्रा कुरालाई नियन्त्रण गर्नुपर्ने बताउँछिन्।
डेढ वर्षको अवधिमा नौ लाखभन्दा बढी फलोअर बनाउन सकेकी उनी नराम्रा कुरा टिकटकमा मात्र नभई अरू मञ्चमा पनि पनि हुने गरेको तर्क गर्छिन्।
“नकारात्मक कुरा भए त्यसलाई नियन्त्रण गर्नुपर्छ जस्तो मलाई लाग्छ। एप नै बन्द गर्नु पर्दैनथ्यो,” बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।
“नराम्रो गर्न चाहने मान्छेका लागि नराम्रा कुरा त फेसबुक, यूट्बूब, ह्वाट्स्याप र भाइबरमा पनि हुन्छन्। टिकटकमाथि प्रतिबन्ध लगाउनुभन्दा त्यसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्थ्यो।”

तस्बिर स्रोत, FACEBOOK/Ansh Verma
अंश वर्मा जसले टिकटकबाटै प्रशस्त कमाए
पवित्रा साकीको भनाइसँग नेपालका अर्का चर्चित टिकटकर अंश वर्मा पनि सहमत छन्।
“यूट्यूब खोल्नूस्, गूगल खोल्नूस् त्यहाँ पनि नराम्रा भिडिओ आउँछन्। या त सबै एपलाई बन्द गरिदिनूस् या त नियन्त्रणमा राख्नूस्,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
“त्यस्ता [उच्छृङ्खल] भिडिओ बनाउने दुई जनालाई कारबाही गरिदिने हो भने अरूले समेत त्यस्तो गर्न आँट गर्दैनन्।”
थोरैले नराम्रो गरेको दण्ड धेरैलाई दिन नहुने वर्माको तर्क छ।
“सयमा पाँच जना नराम्रा होलान्। उदाहरणका लागि, तपाईँले किनेर ल्याएको एक किलो टमाटरमा एउटा खराब निस्कियो भने पूरै फाल्नुहुन्छ र? एउटालाई पो झिकेर साइडमा राख्नुहुन्छ,” उनले भने।
साकी पनि सीमित प्रयोगकर्ताको गल्तीको परिणाम बाँकी सबैले भोग्नुपरेको बताउँछिन्।
“धेरैले आफ्नो व्यापार-व्यवसाय प्रवर्धन गर्ने माध्यम पनि बनाएका थिए जहाँबाट कुराहरू सजिलै थाहा हुन्थ्यो। व्यापार गर्ने धेरै मान्छेलाई घाटा हुने भयो,” उनले भनिन्।
टिकटकबाटै आफ्नो पहिचान स्थापित भएको र त्यसैमार्फत् नै धेरै मान्छेले आफूलाई चिनेको उनी बताउँछिन्।
“टिकटकै कारण मैले म्युजिक भिडिओहरू खेल्न पाएँ। सामाजिक कामहरू पनि गरेकी थिएँ। मलाई राम्रो थियो,” साकीले अगाडि थपिन्।
'लाइफ सेटल' र समाजसेवा गर्न पनि टिकटककै भरथेग
सन् २०२० मा टिकटकलाई समय बिताउने मेलोको रूपमा लिएका अंश वर्माले त्यसबाट “गतिलै” आम्दानी होला भन्ने कल्पनासमेत गरेका थिएनन्।
“टिकटकबाटै कमाएर मैले आफ्नो लाइफ सेटल गरेँ, परिवारलाई खुसी राखेँ। म त टिकटकलाई सम्मान गर्छु,” टिकटकले लगाएको गुनबारे उनी सम्झन्छन्।

तस्बिर स्रोत, Facebook/ Ansh Raj Verma
टिकटककै कारण आफूले बाढीपीडितदेखि लिएर हालै जाजरकोटमा गएको भूकम्पका पीडितसम्मलाई सहयोग गर्न सकेको वर्मा बताउँछन्।
“कञ्चनपुरमा बाढी आउँदा टिकटकले गर्दा मैले सहयोग गर्न सकेँ। जाजरकोटमा अस्ति भूकम्प पीडितलाई सहयोग गरेँ। त्यो पनि टिकटकले गर्दा,” उनले सुनाए।
“कञ्चनपुर र कैलालीका कुनै पनि आश्रम (वृद्धाश्रम होओस् कि बाल आश्रम) छैन जहाँ पुगेर अंश वर्माले सहयोग गरेको छैन।”
“काठमाण्डूमै असहाय २०० बालबालिकाको पढाइमा मैले सघाएको छु। टिकटकबाट मैले थुप्रै सामाजिक कामहरू गरेको छु।”
टिकटक बन्द भएपछि टिकटकरहरूले अब के गर्लान् चर्चा सुन्दा नमज्जा लागेको वर्मा बताउँछन्।
“मान्छेले अब अंश वर्मा के गर्छ भनिरहेका छन्। जुन मान्छेले तीन वर्षमा अरूलाई ५० लाख रुपैयाँ सहयोग गर्यो उसले आफ्नो लागि पनि त केही गरेको होला नि। त्यति त सेन्स लगाउनुपर्यो।”
उनको पछिल्लो टिकटक अकाउन्टमा छ लाखभन्दा बढी फलोअर थिए। त्यसअघिका अकाउन्टहरू विभिन्न कारणले बन्द भएको उनले बताए।
सरकारले किन लगायो प्रतिबन्ध
प्रतिबन्ध लगाउने सरकारी निर्णयबारे जानकारी गराउने क्रममा सरकारकी प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले टिकटकका सामग्रीबारे पछिल्लो समय गुनासा बढ्दै गएको बताइन्।
“यो पटकपटक क्याबिनेटमा छलफल भएको विषय हो। धेरै गुनासा आएका थिए," उनले भनेकी सोमवार भनिन्, "समाजमा र परिवारमा बसेर हेर्न नसकिने किसिमका सामग्री राखिए भन्ने कुरा थियो। गृह मन्त्रालयले टिकटककै प्रतिनिधिलाई बोलाएर पनि त्यसबारे ध्यानाकर्षण गराएको थियो।”
सरकारको यो कुरामा अंश वर्मा र पवित्रा साकी 'मिस पबी' दुवै सहमत देखिन्छन्।
“मैले सन् २०२० मा सुरु गर्दा परिवारसँगै बसेर हेर्न सक्ने अवस्था थियो। अहिले तपाईँ आमाबुवा, बहिनीसँग बसेर हेर्न सक्ने वातावरण छैन। तर बन्द गर्नु नै समाधान होइन। त्यसलाई नियन्त्रण गर्नुपर्छ,” वर्माले भने।
टिकटक लाइभमा बसेर कतिपयले उच्छृङ्खल काम गरेका कुरा आफूले पनि पछिल्लो समय सुनेको साकी बताउँछिन्।
“पछिल्लो समय लाइभमा बसेर नराम्रा कुरा गरिरहेका हुन्थे। सरकारले पनि केही नराम्रा कुरा देखेरै बन्द गरेको होला। नहेरीकन त नगरेको होला,” उनले भनिन्।
अभियानकर्मी के भन्छन्?
टिकटक प्रतिबन्ध गर्ने कदमलाई धेरैले वाक्स्वतन्त्रसँग पनि जोडेर हेरिरहेका छन्।
साइबरसम्बन्धी कानुनका एक जानकार अधिवक्ता बाबुराम अर्याल सरकारको कदमले भविष्यमा चुनौती थप्न सक्ने जोखिम औँल्याउँछन्।
मानिसहरूले टिकटकमार्फत् व्यापार-व्यवसायको प्रवर्धन गर्नेदेखि विभिन्न अध्ययनका लागि स्रोत सामग्री समेत पाउने गरेको उनी बताउँछन्।
“ती कुरामा असर पर्ने नै भए। अर्को महत्त्वपूर्ण कुरा कानुनबिना यो बन्देज लगाइएको छ। संविधानले दिएको अधिकारभन्दा बाहिर रहेर चालिएको कदम हो,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
“यसले स्वेच्छाचारिता बढाउँदै जान्छ। बिस्तारै राज्य निरङ्कुश हुँदै जाने जोखिम रहन्छ। यसले गैरसंवैधानिक कार्यलाई नजिरको रूपमा स्थापित गर्ने खतरा छ। नागरिकको अधिकार खोस्ने बहाना नबनोस्।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








