हिमाली क्षेत्रका मतदाताहरूमा मताधिकारबाट वञ्चित हुने चिन्ता

    • Author, प्रकाश पन्त, सुर्खेत र कृष्णमाया उपाध्याय, जुम्ला
  • पढ्ने समय: ६ मिनेट

माथिल्लो डोल्पालगायत उच्च हिमाली क्षेत्रका धेरै मतदाताहरू आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भोट हाल्नबाट वञ्चित हुन सक्ने त्यहाँका जनप्रतिनिधिले बताएका छन् ।

उनीहरूका अनुसार अहिले उच्च हिमाली भेगका गाउँ बस्तीहरूमा पशु वस्तुको रेखदेखका लागि आवश्यक मानिसहरू मात्रै छन्।

जाडो मौसम सुरु हुनु अघि नै जाडो छल्न र व्यापार–व्यवसायका लागि न्यानो ठाउँतिर झरेका झन्डै आधाजसो मतदाता आफ्नो मताधिकारबाट वञ्चित हुन सक्ने जनप्रतिनिधिहरूको दाबी छ।

माघ र फागुन महिनाभरि गाउँ आउने/जाने बाटोहरू हिउँले ढाकिने भएकोले अब उनीहरू हिउँ बिलाएपछि मात्रै चैत्रतिरबाट गाउँ फर्किन थाल्ने माथिल्लो डोल्पामा पर्ने छार्काताङसोङ गाउँपालिकाका उपाध्यक्ष कर्मा ढुण्डुप गुरुङले बताए।

भूगोल र मौसमको ख्यालै नगरी चुनाव तोक्दा 'समस्या'

आफ्नो देशको भूगोल र मौसम कस्तो छ भनेर ख्यालै नगरी सरकारले चुनाव तोक्दा उच्च हिमाली क्षेत्रका धेरै मतदाता आफ्नो मताधिकारबाट वञ्चित हुने अवस्था सृजना भएको उनको भनाइ छ।

माथिल्लो डोल्पामा चैतको अन्तिमतिर वा वैशाख-जेठ महिनामा चुनाव हुन्थ्यो भने सबैले आफ्नो मताधिकार प्रयोग गर्न पाउँथे, उपाध्यक्ष गुरुङले बीबीसी न्यूज नेपालीसँग भने, अहिले मौसमी बसाइँसराइका कारण गाउँ बाहिर रहेका मतदाता भोट हाल्न आउन सक्ने अवस्था छैन।

बाटोभरि हिउँ जमेकोले गाउँमै भएका बुढापाकालाई समेत मतदान केन्द्र पुगेर भोट हाल्न गाह्रो हुने बताइएको छ।

जाडो छल्न गाउँ छाडेका कर्णालीका हुम्लाको नाम्खा, मुगुको मुगूमकार्मारोङ, डोल्पाको शे-फोक्सुन्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका आधा मतदाता धेरैजसो जुम्ला, कालिकोट, सुर्खेत, नेपालगन्ज, पोखरा, काठमाण्डू र कतिपय कालापार (भारत)मा रहेको जनप्रतिनिधि बताउँछन्।

मौसम अनुकूल नभए धेरै मतदाता मताधिकारबाट वञ्चित हुन सक्ने

प्रहरीले दिएको तथ्याङ्क अनुसार उच्च हिमाली क्षेत्रमा रहेका हुम्ला २९२९, मुगुका १११३, डोल्पा १०५२, रुकुम पश्चिमका १०० र जुम्लाका १९६६ जना मतदाता जाडो छल्न गाउँ छाडेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र रुकुम पश्चिम जिल्लाका उच्च हिमाली क्षेत्रका १८ हजार ८ सय २३ मतदाता हिउँबाट प्रभावित हुने देखिएको छ र त्यसमा ७ हजार एक सय ६० जना अहिले गाउँ बाहिर छन्।

कर्णालीका प्रहरी प्रमुख डीआइजी जयराज सापकोटाले भने, "मौसम अनुकूल भए धेरैजसो मतदाता सहभागी हुन्छन्। मौसम प्रतिकूल भए गाउँमै भएका मतदातासमेत मतदान केन्द्रमा जान नसक्ने अवस्था देखिन्छ।"

त्यस्तै बाजुरा, दार्चुला, बझाङ, मनाङ, मुस्ताङ, दोलखा, रसुवा, ताप्लेजुङ र सोलुखुम्बु जिल्लाका उच्च हिमाली भेगका मतदाता पनि फागुन २१ गते हुने चुनावमा आफ्नो मताधिकारबाट वञ्चित हुन सक्ने अवस्था देखिएको स्थानीय अधिकारीहरू बताउँछन्।

सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा र बझाङका उच्च हिमाली क्षेत्रका मानिसहरू पनि जाडो छल्न गाउँ छाडेर तलतिर झरेका पाइन्छन्।

सुदूरपश्चिमका प्रहरी प्रवक्ता एसएसपी पदमबहादुर विष्टले दार्चुलाका छाङरूङ र टिन्करका मानिस एकै ठाउँमा आएर बसेको हुनाले उनीहरूका लागि सदरमुकाममा नै मतदानको व्यवस्था मिलाइएको तर विभिन्न जिल्लामा छरिएर बसेको हुनाले बाजुरा र बझाङका मतदातालाई भने त्यो सम्भव नभएको बताए ।

"सबैलाई मतदानमा सहभागी गराउन कि चुनाव चैत वैशाखतिर सार्नु पर्‍यो, कि जहाँ बसेका छन् त्यहीँबाट भोट हाल्ने व्यवस्था गर्नु पर्‍यो, " अध्यक्ष लामाले भने, "नत्र आफ्नो गाउँपालिकाका ४ हजारमध्ये २ हजार मतदाता अर्थात् आधाजसो नागरिक आफ्नो मताधिकारबाट वञ्चित हुन्छन्।"

हुम्लाको नाम्खा गाउँपालिकाका लिमीका तील, हल्जी, जाङ र हिल्साका मानिस पनि चिसो छल्न तलतिर झरिसकेका बताइएको छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले पनि माथिल्लो डोल्पाका स्थानीय जनप्रतिनिधि र कर्मचारीले दिएको जानकारी अनुसार भन्दै अहिले करिब ३० प्रतिशत मतदाता गाउँ बाहिर रहेको बताइन्।

उनले भनिन्, "छरिएर बसेका हुनाले को कहाँ छन् भन्ने यकिन छैन। बाहिर रहेका मतदातालाई ल्याउन कुनै निर्देशन प्राप्त भएको छैन। तर मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुर्‍याउन भने ठुलो चुनौती छ।"

यस्तै मनाङ र मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारीहरूका अनुसार दुवै जिल्लाका करिब ७० प्रतिशत मानिसहरू जाडो छल्न काठमाण्डू, पोखरालगायतका ठाउँमा झरेका छन्।

फागुन २१ गतेको चुनावमा उनीहरू गाउँ फर्किने नफर्किने कुनै टुङ्गो नभएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पौडेलले बताए।

मतदाता भन्छन्: जाडोले गाउँ फर्किनै समस्या

जाडो छल्न हुम्लाबाट सुर्खेत झरेकी ७० वर्षीय बाँझकला रोकायले यस अघिका सबै चुनावमा भोट हालेको बताइन्। उनले यसपालिको चुनावमा आफूले भोट हाल्न नपाउने भएको ठानेकी छन्।

"अहिलेसम्म भोट हाल्न छुटाएकी थिइनँ", उनी भन्छिन्, "यसपालि पनि भोट हाल्न मन थियो तर के गर्ने? गाउँमा चिसो छ। बाटोको पनि राम्रो सुविधा छैन। त्यसैले भोट हाल्न गाउँ फर्किनै समस्या छ।"

जाडो छल्न गाउँ छाडेर न्यानो ठाउँतिर आएका बाँझकला जस्ता धेरै मतदाताहरू यसपालिको चुनावमा भोट हाल्न नपाइने चिन्ताले पिरोल्न थालेको बताउँछन्।

चुनाव नसरे यसपालि भोट हाल्नबाट आफूहरू वञ्चित हुने निश्चित भएको उनीहरू बताउँछन्।

छ सय मतदाता रहेको मुगु जिल्लाको मुगूमकार्मारोङ गाउँपालिका-२ मुगूमगाउँ पनि अहिले खाली छ भने वडा नम्बर १, ३, ४, ५र ६ का आधा मानिस पनि गाउँमा नभएको मुगूम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्रे लामाले बताए।

उनका अनुसार कार्तिक-मंसिरमा जाडो छल्न जुम्ला, कालिकोट, सदरमुकाम गमगढी, सुर्खेत र काठमाण्डू झरेका उनीहरू अब चैत्र-वैशाख महिनामा मात्र गाउँ फर्किन्छन्।

माघ र फागुन महिनामा हिँड्ने बाटोहरू नै हिउँले पूरै जाम भएकोले चुनावमा खटिने कर्मचारी र चुनावका सामग्रीहरू पनि हेलिकप्टरबाट मतदान केन्द्रमा पुर्‍याउन पर्ने हुन सक्छ।

उच्च हिमाली क्षेत्रका जनप्रतिनिधि भने आफ्नो क्षेत्रको समस्या सरकारलाई दर्शाए पनि अहिलेसम्म केही प्रतिक्रिया नआएको गुनासो गर्छन्।

हिमाली जिल्ला जुम्लामा पनि झन्डै ३० प्रतिशत मानिसहरू जिल्ला बाहिर रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। मंसिरदेखि चैत महिनासम्म हिउँ पर्ने यो जिल्लामा मानिसहरू जाडो छल्न तथा विभिन्न व्यापार व्यवसायको लागि तराइमा झरेको जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।

उनले भने, "यहाँका मानिसहरूको घर नेपालगन्ज र सुर्खेतमा पनि भएको हुनाले हिउँदमा त्यहाँ जाने र वर्षामा खेतीपाती गर्नको लागि गाउँमा आउने भएकाले पनि अहिले गाउँमा धेरै जसो मानिसहरू भेटिन्नन्।"

आगामी फागुन २१ गते हुने निर्वाचनको मतदान केन्द्र अवलोकनको क्रममा जुम्लाका बस्तीहरूमा पुग्दा त्यहाँ कतिपय घरहरू नै बन्द गरेर मानिसहरू तराई तिर झरेको हुनाले जिल्लाभरिको कुल जनसङ्ख्याको ३० प्रतिशत जति मानिसहरू जिल्ला बाहिर नै रहेको अनुमान रहेको उनले बताए ।

१ नगरपालिका र ७ वटा गाउँपालिका रहेको जुम्ला जिल्लामा १ सय १० वटा मतदान केन्द्र तोकिएको हुनाले १५ वटा मतदान केन्द्रमा अहिले पनि हिउँ जमिरहेको हुनाले आगामी फागुन १५ गतेभन्दा पछाडि हिउँ परेको खण्डमा ती मतदान केन्द्रमा निर्वाचन गर्न कठिन हुन सक्ने विषयमा गृह मन्त्रालयलाई जानकारी गराइसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

७१ हजार मतदाताको सङ्ख्या भए पनि आधाजसो मानिसहरू अहिले जिल्ला बाहिर रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

व्यापार, व्यवसाय तथा विभिन्न कामको खोजीमा यहाँका मानिसहरू नेपालगन्ज, सुर्खेत, काठमाडौँ लगायतका शहर र भारतमा समेत गएको हुनाले चुनावको समयमा आउने नआउने विषयमा निश्चित नभएको जुम्लाको जिल्ला गाउँपालिका ४ नुवाकोटकी गोरीकला नेपालीले बताइन् ।

उनले भनिन्, "हाम्रो गाउँमा १ सय ८१ घरमध्ये २५ वटा घरका सबै परिवारहरू भारत र नेपालका विभिन्न शहरमा गएका छन् । उनीहरू चुनावको लागि आउँछन् आउँदैनन् त्यो निश्चित छैन," उनले भनिन् ।

जिल्लाबाहिर रहेका मतदाताहरूलाई जिल्लामा बोलाउनको लागि उम्मेदवारहरूले समन्वय गरिरहेको हुनाले जम्मा मतदाता सङ्ख्याको ६० देखि ६५ प्रतिशत मतदाताहरू जिल्लामा आउन सक्ने आकलन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।