तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हिमाली भेगको मौसमबारे सोधखोज, के चुनावको मिति सार्न लागिएको हो
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ६ मिनेट
प्रधानमन्त्री सुशीला कार्कीले कुनै स्थानमा कुनै कारणले मतदान प्रभावित भए निर्वाचन आयोगले अर्को मिति तोकेर चुनाव गराउने बताएकै बेला आयोगका अधिकारीहरूले जल तथा मौसम विज्ञान विभागसँग सम्भावित मौसमी विपत्तिबारे जानकारी मागिएको बताएका छन्।
यसले हिमाली क्षेत्रमा अर्को चरणमा चुनाव गर्न लागिएको हो कि भन्ने चासो र चर्चा बढाएको छ।
तर प्रधानमन्त्रीका एक सल्लाहकारले भने प्रधानमन्त्रीको आशय त्यस किसिमको नरहेको दाबी गरे।
"उहाँले दोस्रो चरणमा चुनाव गर्ने भन्नुभएको होइन," प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले बीबीसीसँग भने, "उहाँले विगतदेखि नै फागुन २१ को निर्वाचनबारे जुन दृढता देखाउँदै आउनुभएको छ, आज त्योभन्दा केही फरक कुरा राख्नुभएको होइन। कहीँकतै कुनै कारणले मतदान प्रभावित भए आयोगले अर्को मिति तोकेर चुनाव गराउँछ भन्नुभएको हो।"
"त्यही दिन कुनै निश्चित ठाउँमा समस्या भयो भने निर्वाचन आयोगले त्यहीँ वैकल्पिक व्यवस्था गर्छ।"
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई पनि सामान्य अवस्थामा तोकिएकै स्थानमा मतदान सम्भव हुने गरी आयोगले तयारी गरिरहेको बताए।
"जहाँसम्म हिमपातलगायतका प्राकृतिक समस्या आउन सक्ने विषयमा चासो छ," उनले भने, "मौसमी पूर्वानुमानहरूले भवितव्यको अवस्था देखा पर्यो भने विकल्प सोच्ने कुरा बेग्लै हो।"
जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले आयोगले मागेका विवरण बुधवार आयोगलाई उपलब्ध गराइने बताएका छन्।
"उहाँहरूले फागुन महिनाभरिको विवरण माग्नुभएको छ, त्यसमा सामान्यतया: हामीले मौसमको प्रवृत्ति र मासिक पूर्वानुमानको विवरण दिने हो," विभागकी प्रवक्ता विभूति पोखरेलले बीबीसीसँग भनिन्।
विगतको चलन
आयोगका भूतपूर्व प्रमुख आयुक्त भोजराज पोखरेलका अनुसार प्राकृतिक वा अन्य कारणले तोकिएको मितिमा चुनाव हुन नसके वैकल्पिक मिति तोकेर चुनाव सम्पन्न गर्ने अभ्यास विगतमा पनि रहँदै आएको छ।
"गर्न खोजेको तर गर्न नसकिएको र त्यो पनि आफ्नो नभई अन्य कारणले त्यसो हुँदा त्यो उचित ठहर्छ," उनले भने, "सबै ठाउँमा सारियो भने समस्या हुन्छ तर तर फागुन २१ गतेलाई नै आधार मानेर (हिमाली भेगको चुनाव) सार्दाखेरी चाहिँ आपत्ति हुन्छ जस्तो मलाई लाग्दैन।"
यद्यपि जानकारहरूका अनुसार नेपालमा विगतमा यस मौसममा निर्वाचनको अभ्यास देखिँदैन।
यो मौसममा प्राय: देशको उत्तरी भेगमा हिमपात हुने गर्छ र चिसो बढेसँगै जाडो छल्न मानिसहरू तल्लो भूभागमा झर्ने गर्छन्। सामान्यता: उनीहरू फागुन तेस्रो सातासम्म पनि तल्लो भूभागमै रहने गरेको बताइन्छ।
कस्तो छ हिमाली भेगको अवस्था?
डोल्पाका जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले डोल्पाका कतिपय स्थानमा फागुन २१ मा चुनाव गर्न सकिने स्थिति नदेखिएको बताए।
"अहिले पनि हिँउ परिरहेको छ र त्यो बेला पनि पर्न सक्छ। यस्तोमा उपल्लो डोल्पाका तीनवटा पालिकामा चुनाव गर्न कठिन हुन्छ," उनले भने, "त्यहाँका दुइटा पालिकाका अध्यक्षले अलिक पछि सार्ने हो कि भन्ने आशयको ज्ञापनपत्र पनि बुझाउनुभएको छ। त्यहीअनुसार माथि लेखिपठाएका छौँ।"
त्यस्तै मुगुका जिल्ला निर्वाचन अधिकारी कमल उपाध्यायले हिमपात भइरहेको तर त्यसैका कारण चुनावका कार्यक्रम प्रभावित हुने नठानिएको बताए। "चिसोका कारण बेसीतिर झरेकाहरू मतदानका निम्ति आउने अपेक्षा गरिएको छ," उनले भने "तर कतिपय मतदान केन्द्रका मतपेटिका ओसार्न हेलिकप्टरको खाँचो पर्ने देखिएकाले त्यहीअनुसार निर्णय गरेर जानकारी गराएका छौँ।"
गण्डकी प्रदेशका मनाङ र मुस्ताङ पनि हिमाली जिल्ला हुन्। त्यहाँका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले ती जिल्लाहरूमा हिमपात भइरहेको तर फागुन २१ गतेसम्म तापक्रम पनि बढ्ने र हिउँ पनि पग्लिने ठानिएको बताए।
"प्रमुख जिल्ला अधिकारीले माथिल्ला भेगका बारेमा के गर्ने भन्नेबारे छलफल गरिराख्नुभएको भन्ने बुझेका छौँ तर उहाँहरूबाट त्यसबारे अन्य विवरणहरू आएका छैनन्।"
हिमपातको हिसाबले उच्च पहाडी भूभागहरू बढी जोखिमयुक्त हुने निर्वाचन आयोगका प्रवक्ता भट्टराई बताउँछन्।
"तर प्राकृतिक विपत्ति भनेको अन्यत्र पनि आउन सक्ने भएकाले अहिल्यै अनुमानका भरमा धेरै भन्न सकिँदैन," उनले भने।
अहिल्यै फागुनको मौसम पूर्वानुमान गर्न सकिन्छ?
मौसम विभागकी पोखरेल अहिल्यै फागुन महिनाको मौसमी पूर्वानुमान गर्न कसैले पनि नसक्ने बताउँछिन्।
"हामीले प्रवृत्ति हेर्ने हो। त्यसमा वर्षा र तापक्रमको घटबढ समेटिएको हुन्छ। त्यसमा सरदर वर्षाको सम्भावनाजस्ता सामान्य कुराहरू आउँछन्," उनी भन्छिन्, "ठ्याक्कैचाहिँ कसैले पनि दिन सक्दैन र दिन्छ भने पनि मेल खाँदैन।"
सामान्तया: एक साता वा तीनचार दिनअघि गरिने मौसमी पूर्वानुमान अधिक प्रभावकारी ठानिन्छ।
यद्यपि पोखरेलले फागुन महिनामा सरदरभन्दा कम वर्षा हुने र तापक्रम सरदरभन्दा बढी हुने ठानिएको बताइन्।
"सरदर भनेको ३० वर्षको औसत हो," उनले भनिन् "हिउँ र पानी पार्ने मौसमी व्यवस्था एउटै हो, हामी त्यसलाई छुट्याएर हेर्दैनौँ। सरदरभन्दा कम वर्षा हुने स्थितिले हिमपातको पनि कमै सम्भावना दर्शाउँछ।"
"त्यो पनि मासिक पूर्वानुमान हो, ठ्याक्कै फागुन २१ भनेर हेरेका हौइनौँ। निश्चित मितिको चाहिँ त्यो मिति नजिकिएपछि मात्रै पूर्वानुमान गरिन्छ।"
चुनाव सरेमा गणना पनि प्रभावित हुन्छ?
धेरैको चासो अहिले हिमाली भेगमा चुनाव सरिहालेको खण्डमा अन्यत्रको मतगणना प्रभावित हुन्छ कि हुँदैन भन्नेमा पनि देखिन्छ।
भूतपूर्व प्रमुख आयुक्त पोखरेल कुनै निश्चित क्षेत्रको सबै केन्द्रमा प्रत्यक्ष प्रणालीतर्फको मतदान सम्पन्न नहुँदासम्म उक्त क्षेत्रको गणना थाल्न नपाइने बताउँछन्।
"अन्यथा त्यसले बाँकी मतदातालाई प्रभावित तुल्याउन सक्छ। त्यसैले त्यस्तो निर्वाचन क्षेत्रमा बाँकी ठाउँमा पनि मतदान सम्पन्न भएपछि मात्रै गणना हुन्छ।"
"तर अन्य क्षेत्रका निम्ति त्यसले केही फरक पार्दैन," पोखरेलले भने।
निर्वाचन आयोगका प्रवक्ता भट्टराई त्यस्तो अवस्था आइहालेमा आयोगले नतिजा प्रभावित नहुने र ढिला पनि नहुने गरी उपयुक्त व्यवस्था मिलाउने दाबी गर्छन्।
"छलफल वा बहस हुनुलाई हामी अन्यथा मान्दैनौँ। कार्ययोजना बनाउने हिसाबले (यी विषय) सान्दर्भिक पनि हुन् तर अहिले हामी सामान्य अवस्थामै काम सम्पन्न हुन्छ भन्नेमै छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।