हत्याको आरोपका माझ भारत र क्यानडाद्वारा एकअर्काका उच्च दूत निष्कासित

तस्बिर स्रोत, Reuters
भारत र क्यानडाले आआफ्नो देशमा रहेका उच्च कूटनीतिक कर्मचारीहरूलाई निष्कासन गरेका छन्। गत वर्ष क्यानडामा एक शिख राष्ट्रवादीको हत्यापछिको तनाव हाल चर्कँदै गएको देखिएको छ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले भने ती व्यक्ति अर्थात् हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टहरू प्रत्यक्ष रूपमा संलग्न रहेको भन्ने विश्वसनीय आरोपहरूबारे प्रहरीले अनुसन्धान थालेपछि आफ्नो सरकारले प्रतिक्रिया जनाएको बताए।
क्यानडाको गुप्तचर सेवा र प्रहरीले गत वर्ष भ्यान्कुभर सहरनजिकै मारिएका एकजना शिख राष्ट्रवादी हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टहरू प्रत्यक्ष रूपमा संलग्न भएका भन्ने आरोपहरूको पुष्टि गरेका छन्।
'भारतको ठूलो भूल'

तस्बिर स्रोत, Reuters
सोमवार टेलिभिजनमा बोल्दै ट्रूडोले क्यानडेली नागरिकलाई आक्रमण गर्न कूटनीतिज्ञ र सङ्गठित गिरोहका अपराधीहरूको प्रयोग गरेर 'भारतले ठूलो भूल' गरेको बताएका थिए।
ओटावाले क्यानडाका लागि भारतका राजदूतसहित छ भारतीय कूटनीतिक कर्मचारीहरूलाई देश निकाला गरेपछि बोल्दै प्रधानमन्त्री ट्रूडोले त्यस्तो बताएका हुन्।
भारत र क्यानडाबीचको द्वन्द्वका कारण दुई देशबीचको सम्बन्ध निरन्तर खस्किरहेको छ।
सोमवार एक आक्रोशपूर्ण वक्तव्य जारी गर्दै भारतको विदेश मन्त्रालयले त्यस्ता आरोपहरूलाई अतिशयोक्तिपूर्ण भनेको छ।
भारतले क्यानडाको आरोपलाई खण्डन गर्दै प्रधानमन्त्री ट्रूडो आफ्नो राजनीतिक फाइदाको लागि क्यानडाको ठूलो शिख समुदायलाई अनुचित रूपमा खुसी तुल्याउने प्रयासमा लागेका भनेर आरोप लगाएको छ।
भारतले शिख पृथक्तावादी आन्दोलनलाई “आतङ्कवादी” भन्ने गरेको छ।
निष्कासन

तस्बिर स्रोत, Getty Images
सोमवार नै भारतले छ जना क्यानडेली कूटनीतिज्ञलाई देश छाडेर जान भनेको थियो। त्यसरी निष्कासनमा पर्नेमा कार्यवाहक उच्चायुक्त स्टेवार्ट रस ह्वीलर पनि छन्। तिनीहरूलाई अक्टोबर १९ सम्ममा भारत छाड्न भनिएको छ।
कार्यवाहक राजदूत ह्वीलरलाई विदेश मन्त्रालयमा बोलाएर क्यानडाको पछिल्लो कदमका बारेमा स्पष्टीकरण पनि सोधिएको थियो।
त्यसपछि पत्रकारहरूसँग बोल्दै ह्वीलरले क्यानडाले भारतलाई आफूहरूबाट माग गरिएको प्रमाण उपलब्ध गराएको र अब उसले ती आरोपहरूबारे आफैले छानबिन गर्नुपर्ने बताए।
“यो मामिलाको पीँधसम्म नै पुग्नु हामी दुवै देश र जनताको हितमा हुने छ,” उनले भने।
भारतले क्यानडाका लागि आफ्ना उच्चायुक्त सञ्जयकुमार वर्माको बचाउ गर्दै उनको “३६ वर्ष लामो प्रशंसनीय कार्यकाल रहेको” बताएको छ।
“क्यानडाको सरकारले उनीमाथि लगाएको आरोप अनुपयुक्त छ र त्यो निन्दायोग्य छ,” भारतले भनेको छ।
भारतको विदेश मन्त्रालयले आफ्ना उच्च दूत र अन्य कूटनीतिज्ञहरूलाई “फिर्ता बोलाउने” पनि बताएको छ।
“तिनको सुरक्षाका लागि हालको क्यानडेली सरकारप्रति हाम्रो विश्वास छैन। त्यसैले भारत सरकारले हाई कमिश्नर र निसानामा परेका अन्य कूटनीतिज्ञ र अधिकारीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।”

त्यसअघि सोमवार क्यानडेली प्रहरीले “हाम्रो देशमा सार्वजनकि सुरक्षाको मामिलामा उल्लेख्य खतरा देखिएको कारणले गर्दा” जारी अनुसन्धानसम्बन्धी जानकारीहरू सार्वजनिक गर्ने असमान्य कदम चाल्नु परेको बताएको थियो।
सोमवार आरसीएमपीका कमिश्नर माइक डुहिमले एक पत्रकार सम्मेलनमा पत्रकारहरूसँग “एक दर्जनभन्दा बढी पटक मानिसको ज्यानमाथि तत्कालै खतरा रहेको घटनाहरू” बारे जानकारी प्राप्त भएको र त्यो “विशेष गरी” खालिस्तान समर्थक आन्दोलनका सदस्यहरूमाथि केन्द्रित रहेको बताएका थिए।
“हामी यो बिन्दुसम्म पुग्नुपर्यो, जहाँ हामीलाई लाग्यो कि भारत सरकारसँग अब आमनेसमाने हुनै पर्छ,” उनले बताए।
हरदीप सिंह निज्जर

तस्बिर स्रोत, X/VIRSA SINGH VALTOHA
अधिकारीहरूले एक दर्जन भारतीय एजेन्टहरू आरोपित आपराधिक गतिविधिहरूमा संलग्न रहेको बताएका छन्। तर उनीहरूले ती आरोपहरू सन् २०२३ को जुन महिनामा भएको शिख पृथक्तावादी नेता निज्जरको हत्यामा प्रत्यक्ष रूपमा सम्बन्धित रहेनरहेको भने पुष्टि गरेनन्।
हरदीप सिंह निज्जर ब्रिटिश कोलम्बियाको सर्रीमा अवस्थित उनको नेतृत्वमा रहेको एक शिख मन्दिरको बाहिर दुईजना मुकुन्डोधारीले प्रहार गरेको गोलीबाट मारिएका थिए।
भारतले विगतमा उनलाई आतङ्कवादी भनेको थियो र ती आरोपलाई उनका समर्थकहरूले अप्रमाणित भनेर खण्डन गरेका छन्।
क्यानडामा भारतबाहिर शिख समुदायको सबैभन्दा ठूलो बसोबास रहेको छ। उक्त धार्मिक अल्पसङ्ख्यक समुदाय भारतको पञ्जाबका मुख्य बासिन्दा हुन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








