साउदी अरबमा यस वर्ष कैयौँ हज तीर्थयात्रीको मृत्यु हुनुको कारण के हो?

तस्बिर स्रोत, Getty Images
- Author, जहरा फतिमा र बीबीसी विश्व सेवा
- Role, बीबीसी न्यूज
यस वर्षको हज तीर्थयात्राका क्रममा सैयौँ मानिसहरूको मृत्यु भएको ठानिएको छ। तीमध्ये अधिकांशको मृत्यु तापक्रम ५१ डिग्री सेल्सिअस नाघेपछिको चरम गर्मीका कारण भएको ठानिएको छ।
एएफपी समाचार संस्थाले एक अरब कूटनीतिज्ञलाई उद्धृत गर्दै ६५८ जना इजिप्टका नागरिकहरूको मृत्यु भएको जनाएका छन्।
इन्डोनेशियाले आफ्ना २०० भन्दा धेरै नागरिकहरूको मृत्यु भएको उल्लेख गरेको छ भने भारतले आफ्ना ९८ जना मानिसहरूको मृत्यु अहिलेसम्म थाहा भएको जनाएको छ।
पाकिस्तान, मलेशिया, जोर्डन, इरान, सेनेगल, टुनिसिया, सुडान र ईराकको स्वायत्त कुर्दिस्तान क्षेत्रले समेत आफ्ना नागरिकहरूको मृत्यु भएको पुष्टि गरेका छन्।
अमेरिकाले समेत आफ्ना कैयौँ नागरिकहरूको ज्यान गएको ठानेको द वाल स्ट्रीट पत्रिकाले लेखेको छ।
मित्रजन तथा आफन्तहरूले हराईरहेकालाई अस्पतालमा खोज्नुका साथै अनलाइनमा सन्देशहरू पोस्ट गरिरहेका छन्।
मुस्लिमहरूको पवित्र सहर मक्कामा बर्सेनि ठूलो सङ्ख्यामा मुस्लिमहरूले हजयात्रा गर्ने गर्छन्।
आर्थिक र शारिरिक रूपमा सक्षम सबै मुस्लिमहरूले आफ्नो जीवनकालमा कम्तीमा एकपटक उक्त तीर्थयात्रा गर्नुपर्ने बताइन्छ।

तस्बिर स्रोत, Getty Images
साउदी अरबका अनुसार यस वर्ष १८ लाख मानिसहरूले हज गरेका थिए।
एएफपीको विवरण अनुसार मृत्यु हुनेमध्ये आधाभन्दा धेरै दर्ता नभइकन गएका तीर्थयात्री थिए। उनीहरू अनियमित प्रक्रियाबाट हज पुगेका थिए।
दर्ता नभइकन जाने तीर्थयात्रीहरू वातानुकुलित टेन्ट, होटल वा प्राथमिक स्वास्थोपचारजस्ता व्यवस्थित सुविधाबाट बञ्चित हुने एएफपीले लेखेको छ।
शुक्रवार जोर्डनका अधिकारीहरूले साउदी अरबमा मुस्लिम तीर्थस्थल जाने अनौपचारिक बाटोलाई सहजीकरण गर्ने कैयौँ ट्राभल एजेन्ट्स र व्यक्तिहरूलाई पक्राउ गरेको जनाएका छन्।
इजिप्टले समेत त्यस्तैखाले छानबिन गर्दैछ।
साउदी अरबले पछिल्ला वर्षमा हजका लागि सुरक्षाका उपाय बढाए पनि त्यो अझै पर्याप्त नभएको भन्दै आलोचना हुने गरेको छ। त्यस्तो आलोचना खासगरी दर्ता नभएका तीर्थयात्रीका हकमा हुने गर्छ।
पछिल्ला मृत्युलाई लिएर साउदी अरबले प्रतिक्रिया जनाइसकेको छैन।
ती मृत्युसँग जोडिएका केही पक्ष यस्ता छन्:
चरम तातो

तस्बिर स्रोत, Getty Images
यस पटक साउदी अरबमा अभूतपूर्व तातो लहर देखा परेका कारण यति ठूलो सङ्ख्यामा हजयात्रीको मृत्यु भएको बताइन्छ ।
साउदी अरबको स्वास्थ्य मन्त्रालयले गर्मीबाट बच्न पानी पिउन अपिल जारी गरे पनि धेरै हज यात्री गर्मीको सिकार भए।
नाइजेरियाली हजयात्री आयशा इद्रिसले बीबीसीलाई भनिन्, "ईश्वरको कृपाले मात्र म बाँचेकी छु, किनभने त्यहाँ निकै गर्मी थियो।"
"मैले छाता प्रयोग गर्नुपर्यो। म आफूलाई शीतल राख्नको लागि लगातार जम्जमको पानी (पवित्र पानी) खन्याइरहेकी थिएँ।"
अर्का हज यात्री नईमको गर्मीका कारण मृत्यु भएको बताइएको छ।
बीबीसी अरबिक सेवासँग कुरा गर्दै उनका छोराले भने, “आमासँग अचानक मेरो सम्पर्कविच्छेद भयो। हामीले धेरै दिन खोज्यौँ त्यसक्रममा वहाँको हजको क्रममा मृत्यु भएको थाहा भयो। मक्कामा गाडिने वहाँको इच्छालाई हामी सम्मान गर्नेछौँ।“

अत्यधिक गर्मीसँगै हजयात्रीले शारीरिक रूपमा कठिन गतिविधि पनि गर्नुपर्ने हुन्छ।
विशाल खुला ठाउँमा बस्नु पर्ने भएकाले अत्यधिक गर्मी महसुस हुन्छ। धेरै हजयात्रीहरू वृद्ध र अस्वस्थ छन्।
यद्यपि हजको समयमा गर्मीसँग सम्बन्धित मृत्युहरू असामान्य हैनन्। यो सन् १४०० देखि भइरहेको छ।
वैज्ञानिकहरूले विश्वव्यापी तापमान वृद्धिका कारण अवस्था बिग्रने चेतावनी दिएका छन्।
क्लाइमेट एनालिटिक्सका कार्ल फ्रेडरिक स्लुसनरले समाचार संस्था रोएटर्सलाई भने, "विगत १,००० वर्षदेखि गर्मीको मौसममा हज यात्रा हुँदै आएको छ तर जलवायु सङ्कटले यो अवस्थालाई अझ खराब बनाउँदैछ।"
उनीहरूको अनुसन्धानले सन् १८५० देखि १९०० को बीचमा रहेको आजको तापक्रमको तुलनामा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसले बढेको र हजको समयमा तातो लहरको जोखिम पाँच गुणासम्म बढ्न सक्ने देखाएको छ।
निकै भिडभाड र सरसफाइको समस्या
त्यहाँबाट आएका कैयौँ विवरणमा साउदी अधिकारीहरूको खराब व्यवस्थापनले स्थितिलाई अझ खराब बनाएको बताइएको छ।
जसमा तीर्थयात्रीका लागि तोकिएका स्थानमा समेत उनीहरूले सास्ती खेप्नुपरेको उल्लेख छ।
विवरणहरूका अनुसार आवासको व्यवस्था राम्रोसँग गरिएको थिएन।
आवश्यकताभन्दा बढी मानिसलाई टेन्टमा राखिएको थियो जहाँ गर्मीबाट जोगाउने उचित व्यवस्थापन थिएन। यसबाहेक सरसफाइमा पनि सर्वसाधारणलाई समस्या परेको छ।

तस्बिर स्रोत, EPA
पाकिस्तानको इस्लामावादकी ३८ वर्षीया अमिना भन्छिन्, “हामी मक्कामा बसेका टेन्टहरूमा एयर कन्डिसनर थिएन। अधिकांश समय त्यहाँ जडान गरिएका कुलरहरूमा पानी थिएन। ”
"ती पालमा यतिबिधि उकुसमुकुस भयो कि हामी पसिनाले भिजेको हुन्थ्यौँ र त्यो एउटा भयानक अनुभव थियो।"
जकार्ताबाट हज गर्न आएकी फौजिया पनि यस्तै कुरा गर्छिन्। पालमा धेरै भिड र गर्मी भएकोले धेरै मानिस बेहोस भएको उनीहरूको भनाइ छ।
यद्यपि साउदी स्वास्थ्यमन्त्रीले हज यात्रीका लागि पूर्ण व्यवस्था मिलाइएको बताएका छन्।
एक सरकारी विज्ञप्तिमा हजयात्रीहरूका लागि १८९ अस्पताल, स्वास्थ्य केन्द्र र मोबाइल क्लिनिकहरू निर्माण गरिएको उल्लेख छ। त्यसमा कुल ६५०० शय्या छन्।
यसबाहेक हज यात्रीका लागि ४० हजारभन्दा बढी मेडिकल, प्राविधिक, प्रशासनिक कर्मचारी र स्वयंसेवक खटाइएका छन्।
यातायात

तस्बिर स्रोत, Getty Images
हज तीर्थयात्रीहरूले धेरैजसो अत्यधिक गर्मीमा लामो पदयात्रा गर्नुपर्छ जसको लागि तीर्थयात्रीहरूले अवरुद्ध सडक र कमजोर पूर्वाधारलाई दोष दिन्छन्।
निजी समूहका लागि हज यात्राको आयोजना गर्ने मोहम्मद आचा भन्छन्, "गर्मीमा सामान्य हजयात्रीले दिनमा १५ किलोमिटर हिँड्नुपर्छ। त्यस क्रममा उनीहरूले गर्मी, थकान र पिउने पानीको अभाव सामना गर्नु पर्ने हुन्छ।"
"यो मेरो १८औँ हज हो र मेरो अनुभवमा साउदीले सुविधा दिँदैन तर नियन्त्रण गर्छ। सहयोगका नाममा केही गर्दैनन्,” उनी थप्छन्।
"सुरुवाती वर्षमा पुग्नका लागि यू–टर्न खुला थियो तर अहिले ती सबै रुट बन्द भएका छन्। जसले गर्दा ए श्रेणीको टेन्टमा बस्ने सामान्य हजयात्रीले समेत गर्मीका बीच आफ्नो पालमा पुग्न २.५ किलोमिटर हिँड्नु पर्छ।"
"यदि बाटोमा आपत्कालीन अवस्था आयो भने अर्को ३० मिनेटसम्म कुनै पनि सहयोग पुग्न सक्दैन। न त्यहाँ जीवन रक्षक सुविधा छ न त सडकमा पानीको व्यवस्था नै गरिएको छ।”
बिना कागजात हज यात्रा

तस्बिर स्रोत, Getty Images
हज गर्नका लागि एक व्यक्तिले विशेष हज भिसाको लागि आवेदन दिनुपर्छ।
तर साउदी अधिकारीहरूले कडिकडाउ गर्दागर्दै पनि केही मानिसहरू वैध कागजातबिनै समेत हज यात्रामा जान खोज्छन्।
यस्तो अवस्थामा समस्याहरू पर्दा हज तीर्थयात्रीहरूले सहायता माग्नुको साटो साउदी अधिकारीहरूलाई छल्ने प्रयास गर्छन्।
टेन्टमा भीड लाग्नु र अत्यधिक मृत्यु हुनुलाई दर्ता नगरी जाने हजयात्रीहरू जिम्मेवार रहेको अधिकारीहरू बताउँछन्।
दर्ताबिनै हज गर्न गएका कारण धेरैको मृत्यु भएको छ ।
इन्डोनेशियाको राष्ट्रिय हज र उमराह आयोगका अध्यक्ष मुस्तौलिह सिरादज भन्छन्, "हज भिसा बिनाका मानिसहरू हज क्षेत्रमा प्रवेश गरेकोमा हामीलाई शङ्का छ।"
हज र उमराहका लागि राष्ट्रिय समितिका सल्लाहकार साद अल-कुरेशीले बीबीसीलाई भने, "हज भिसा नभएको जोसुकैलाई हामीले स्वागत गर्दैनौँ र उनीहरू [आफ्नो] देश फर्किनुपर्छ।"
हज भिसा पाएका व्यक्तिलाई दिइने 'नुसुक कार्ड'बाट यस्ता हजयात्रीको पहिचान हुने गरेको उनले बताए।
उक्त कार्डमा बारकोड छ जसको सहायताले हजयात्रीले पवित्र स्थानहरूमा प्रवेश गर्न सक्छन्।
वृद्ध, कमजोर र बिरामी हज तीर्थयात्रीहरू
प्रत्येक वर्ष हजको समयमा हुने मृत्युको एउटा कारण धेरै हजयात्रीहरू आफ्नो जीवनभरको बचतका भरमा जीवनको उत्तरार्धमा हज गर्न खोज्नु रहेको बताइन्छ।
धेरै मुस्लिमहरू यदि आफ्नो मृत्यु भइहालेमा समेत त्यो हजको समयमा हुने सम्झेर मक्का पुग्छन्। किनकि पवित्र सहरमा मर्नु र त्यहाँ गाडिनु कुनै आशिष् भन्दा कम नहुने उनीहरूको विश्वास पाइन्छ।
हज गर्दागर्दै कसैको मृत्यु भयो भने के हुन्छ ?
साउदी अरबमा हरेक वर्ष अत्यधिक गर्मी, भीडले कुल्चिएर, बिरामी परेर वा सडक दुर्घटनालगायत विभिन्न कारणले हजयात्रीको ज्यान जाने गरेको छ।
यस्तो अवस्थामा साउदी अरबको सरकारले मृतकको पहिचान र अन्त्येष्टिजस्ता अन्य कुराहरूको जिम्मेवारी लिन्छ।
साउदी अरबको हज कानुनमा प्रस्टसँग उल्लेख गरिए अनुसार यदि कुनै व्यक्तिले हज गर्दा आफ्नो ज्यान गुमाएमा उसको शव देश पठाइने छैन बरु साउदी अरबमा नै गाडिनेछ।
प्रत्येक हज यात्रीले आफ्नो हज आवेदन फारममा घोषणा गर्दा नै यदि आफ्नो साउदी अरबको जमिन वा आकाशमा मृत्यु भएमा साउदी अरबमा नै गाडिने सहमति जनाएका हुन्छन्। यस सम्बन्धमा परिवारका कसैको आपत्ति भएमा समेत स्वीकार नगरिने उक्त कानुनमा उल्लेख छ।

तस्बिर स्रोत, Getty Images
साउदी अरबमा हज गर्न जाने क्रममा कसैको मृत्यु भएमा सबैभन्दा पहिले साउदी अरबस्थित सम्बन्धित देशको हज मिसनलाई खबर गरिन्छ।
हज गर्न आउने सबैले लगाउनु पर्ने नाडी वा घाँटीको पहिचान ब्यान्डबाट मृतकको नाम, उमेर, एजेन्सी, देश, परिचयपत्र नम्बर र पहिचान ब्यान्ड जस्ता केही महत्त्वपूर्ण जानकारीहरू प्राप्त गर्न सकिन्छ।
अन्त्येष्टिको प्रार्थना मक्काको मस्जिद अल-हरम वा मदिनाको पैगम्बरको मस्जिदजस्ता महत्त्वपूर्ण मस्जिदहरूमा हुन्छ।
शवलाई धुने, कपडाले बेर्ने र साउदी सरकारले उपलब्ध गराएको फ्रिजरमा राख्नेजस्ता सबै खर्चहरू हज यात्राकै खर्चले समेट्छ।
कुनै चिह्नबिना कहिलेकाहीँ एकै ठाउँमा धेरै शवहरू सरल प्रक्रियासाथ गाडिन्छन्। चिहानको पुस्तिकामा कसलाई कहाँ गाडिएको छ भनेर सूची राख्ने हुँदा परिवारहरूले चाहेमा चिहानहरू हेर्न सक्छन्।
साउदी सरकारले विभिन्न समूह र रेड क्रसेन्टको सहयोगमा "मर्यादित र सम्मानजनक अन्तिम संस्कार प्रक्रिया" सुनिश्चित गरेको बताउँछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








