हिज्बुल्लाहसँगको लडाइँमा लेबननमा आठ इजरेली सैनिकको मृत्यु

    • Author, हुगो बचेगा र डेभिड ग्रिटन
    • Role, बीबीसी न्यूज

इजरेली सेनाले दक्षिण लेबननमा लडाइँका क्रममा आफ्ना आठ जना सैनिकको मृत्यु भएको जनाएको छ।

लेबननी सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध स्थल आक्रमण सुरु गरेयताको यो इजरेलले बेहोरेको पहिलो मानवीय क्षति हो।

इरान समर्थित हिज्बुल्लाहले लडाइँमा इजरेली ट्याङ्कहरू ध्वस्त पारेको जनाउँदै इजरेली फौजलाई फिर्ता पठाउन आफूसँग पर्याप्त बल र अस्त्र भएको जनाएको छ।

यसअघि इजरेली सेनाले थप स्थल सेना र बख्तरबन्द फौज लेबननमा भइरहेको कारबाहीमा जोडिएको जनाएको छ।

इजरेलले उक्त कारबाहीको उद्देश्य लेबननी सीमावर्ती गाउँका “आतङ्कवादी पूर्वाधार” नष्ट गर्नु रहेको जनाउँदै आएको छ।

लेबननमा स्थल अतिक्रमण गरेको दोस्रो दिन इजरेली फौजले पहिलो पटक हिज्बुल्लाह लडाकुको सामना गरेका थिए।

घटना

इजरेल डिफेन्स फोर्सेस (आइडीएफ)ले बुधवार एक विज्ञप्तिमार्फत् हवाई सेनाको साथ पाएका आफ्ना सैनिकहरूले कैयौँ दक्षिण लेबननी क्षेत्रमा “आतङ्कवादीहरूलाई मारेको र उनीहरूका आतङ्कवादी पूर्वाधारलाई ठिक निशानामा पर्ने अस्त्र र नजिक दूरीबाट लडेको” जनाएको थियो।

पछि आइडीएफले त्यस क्रममा आफ्ना आठ जना सैनिक मारिएको घोषणा गर्‍यो। ती धेरैजसो कमान्डो थिए।

विवरणहरूका अनुसार छ जनालाई हिज्बुल्लाह लडाकुहरूले एम्बुसमा पारेका थिए भने अन्य दुईजना मोर्टार हमलामा परेका थिए।

हिज्बुल्लाहले आफ्ना दर्जनौँ लडाकुले इजरेली कमान्डोहरूतर्फ ट्याङ्कभेदी मिसाइल प्रहार गरेको जनाउँदै बुधवार एक सीमावर्ती गाउँमा भएका लडाइँका क्रममा दर्जनौँलाई मारेको र घाइते बनाएको जनाएको छ।

मध्य बेइरुतमा इजरेली हमला

यसैबीच मध्य बेइरुतमा भएको एक इजरेली हवाई हमलामा परेर कम्तीमा पाँच जना मारिनुका साथै आठजना घाइते भएको लेबननी अधिकारीहरूले बताएका छन्।

उक्त बहुतले भवनमा एक हिज्बुल्लाहसम्बद्ध स्वास्थ्य केन्द्र रहेको छ र त्यो लेबननको संसद् र संयुक्त राष्ट्रसङ्घको क्षेत्रीय मुख्यालयको केही मिटर दूरीमा छ।

यो बेइरुतको मध्यभागमा भएको पहिलो इजरेली हमला हो। बुधवार रातभर अन्य हमलाहरू भने बेइरुतको दक्षिणी उपनगर दाहियमा भएका थिए।

बुधवार साँझ लेबननको स्वास्थ्य मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा ४६ जना मानिसहरू मारिनुका साथै ८५ जना घाइते भएको जनाएको थियो।

तर उसले त्यसमा सर्वसाधारण र लडाकुहरूको वर्गीकरण गरेको छैन।

लेबननमा '१२ सय जना मारिए, १२ लाख विस्थापित'

दुई सातादेखिका इजरेली हमलाका कारण हिज्बुल्लाह कमजोर बनेको छ।

अन्य हमलाहरूमा समेत गरेर लेबननमा १,२०० भन्दा धेरै मानिसहरू मारिनुका साथै झन्डै १२ लाख जना विस्थापित बनेको लेबननी अधिकारीहरूले बताएका छन्।

गाजा युद्ध सुरु भएसँगै झन्डै एक वर्ष सीमापारका लडाइँ चलेपछि इजरेल आक्रामक बनेको छ।

इजरेलले हिज्बुल्लाहका हमलासँगै विस्थापित बनेका सीमा क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रूपमा उनीहरूका घर फर्काउने काम सुनिश्चित गर्न चाहेको जनाएको छ।

हिज्बुल्लाह लेबननमा उल्लेख्य शक्ति भएको शिया इस्लामिक राजनीतिक, सैन्य र सामाजिक सङ्गठन हो जसले हमासलाई साथ दिनेगरी इजरेलसँग लडिरहेको बताउँछ।

इरानको साथ पाएको हिज्बुल्लाहलाई इजरेल, यूके र कैयौँ पश्चिमा देशहरूले आतङ्कवादी सङ्गठन मान्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।