विश्वकप छनोट क्रिकेट: नेपाल सुपर सिक्समा पुग्न सकेन

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

आखिरमा जित्नै पर्ने भनिएको एउटा महत्त्वपूर्ण खेलमा ब्याटिङ नचलेपछि राष्ट्रिय क्रिकेट टोली एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल भएको छ।

जिम्बाब्वेको हरारेमा शनिवार भएको खेलमा नेपाल ७ विकेटले पराजित भयो।

पछिल्ला दुई खेलमा प्रभावकारी ब्याटिङ गरेको नेपाल नेदरल्यान्ड्सको अगाडि भने चल्न सकेन। टोलीले ४४.३ ओभरमा अलआउट हुँदै जम्मा १६७ रनको मध्यम स्कोर बनायो।

जसलाई अनुभवी नेदरल्यान्ड्सले ३ विकेटको क्षतिमा २७.१ ओभरमा सहजै पूरा गर्‍यो।

हारसँगै नेपालको सुपर सिक्स पुग्ने ढोका बन्द भएको छ। चार खेलमध्ये एउटामा मात्रै जितेको नेपालको २ अङ्क छ भने नेदरल्यान्ड्सले ४ अङ्क जोडेर सुपर सिक्स सुनिश्चित गरेको छ।

विश्वकप क्रिकेटको छनोट चरण अन्तर्गत पाँच-पाँचवटा टोली रहेको दुई समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने नियम छ। सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आगामी सेप्टेम्बरमा हुने एक दिवसीय विश्वकप क्रिकेट खेल्नेछन्।

सुपर सिक्समा पुग्न नसकेपछि अब नेपालले सातौँ देखि दशौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। छनोट चरणमा रहेका दुई समूहका १० मध्ये अन्तिम चार टोलीले त्यस स्थानका लागि खेल्नेछन्।

शर्ट बलको जालो

जिम्बाब्वेको ताकासिङ्गे स्पोर्टस् क्लबमा टस जित्नु नेदरल्यान्ड्सका लागि पहिलो फाइदा थियो। नेदरल्यान्ड्सले नेपाललाई ब्याटिङको निम्तो दियो।

हारले सुपर सिक्सको बाटो बन्द हुने बुझेको डच टोलीले नेपाल विरुद्ध गतिलो रणनीति बुनेर आएको देखियो।

नेपाली खेलाडीहरू 'शर्ट बल' खेल्न गाह्रो मान्छन्। नेपालको कमजोरी बुझेका नेदरल्यान्ड्सले शर्ट बलको जालो बुन्यो। जुन पूर्ण रूपमा सफल भयो।

नेपालका ७ जना खेलाडीहरू विपक्षीको 'शर्ट बल' को सिकार हुन पुगेका थिए।

निरन्तर विकेट

ओपनर आशिफ शेख तीव्र गतिका बलर लोगन भान विकको बलमा तेस्रो ओभरमा बोल्ड भएसँगै नेपालको पहिलो विकेट पतन भयो। भान विकले नेदरल्यान्ड्स सर्वाधिक ४ विकेट लिए।

अर्का ओपनर कुशल भुर्तेलले २७ रन बनाए। उनले ४२ बलमा २ चौका प्रहार गरेका थिए।

भुर्तेल र भीम सार्कीले त्यसपछि ढिलो खेल्दै इनिङ सम्हालेका थिए। यो जोडीले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी पनि गरे। तर उल्लेख्य रन भने जोड्न सकेनन्।

जम्मा २२ रन बनाएर सार्की आउट हुँदा नेपाल १८.१ ओभरमा ४ खेलाडी गुमाई ६६ रनको कमजोर स्थितिमा थियो।

नेपालबाट कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए। उनी पनि शर्ट बल खेल्ने धुनमा क्याच आउट हुन पुगेका थिए।

त्यसपछि आएका कुशल मल्लले पनि १२ रन मात्र जोड्न सके। आरिफ शेख टिक्न नसक्नु पनि नेपाललाई घाटा भयो। उनी ६ रन मात्र बनाएर पवेलियन फर्किए।

दीपेन्द्र सिंह ऐरी पनि अनावश्यक शर्ट बल खेल्न खोज्दा १४ रनमा आउट भए।

गुलशन झाले ९ रनमा खेलिरहँदा एक पटक जीवनदान पाएका थिए। तर उनको इनिङ्स पनि लामो हुन सकेन। उनले जम्मा १५ रन जोडे।

गुलशन लगत्तै करण केसी पनि १ रनमै आउट भए। दुवै खेलाडी शर्ट बलमा उस्तै शैलीमा आउट भएका थिए।

एक समय छिट्टै नै अल आउट हुने खतरामा परेका बेला गुलशन र सन्दीप लामिछानेले मिलेर ३२ रनको साझेदारी गर्दै टिमको स्थिति अलिक सुधारेका थिए।

लामिछानेले केही समय रोमाञ्चक ब्याटिङ क्षमता प्रस्तुत गरे। जम्मा ३३ बलको सामना गरेका उनले ४ चौका प्रहार गरेका थिए। उनले बनाएको २७ रन नेपालको दोस्रो ठूलो स्कोर थियो।

उनले खेललाई ५० ओभर सम्म लम्ब्याउने प्रयास गरेका थिए। तर ४४.३ ओभरमा छक्का हान्ने धुनमा उनी बाउन्ड्री लाइनमा समातिन पुगे।

नेदरल्यान्ड्सको सहज जित

मध्यम लक्ष्य पाएको नेदरल्यान्ड्सले फटाफट रन बटुल्यो।

ओपनर म्याक्स ओडोड र विक्रमजित सिंहले १३ ओभरमा ८६ रनको साझेदारी गर्दै छिट्टै खेल टुङ्ग्याउने सङ्केत गरिदिएका थिए।

चौथो ओभरमा ओडोड १५ रन बनाएर खेलिरहँदा उनले जीवनदान पाएका थिए। ललित नारायण राजवंशीको बलमा कुशल भुर्तेलले उक्त क्याच छोडेका थिए।

त्यसपछि झन आक्रामक देखिएका ओडोडले ९० रन बनाए। उनलाई गुलशन झा ले बोल्ड गरे।

१३ औँ ओभरमा सन्दीप लामिछानेले ओपनिङ साझेदारी तोडेका थिए। उनले ३० रन बनाएर खेलिरहेका विक्रमजित सिंह लाई एलबीडब्लुको धरापमा पारेका थिए।

लामिछानेले वेस्ली वारेसजीको विकेट पनि लिए।