युक्रेनी युद्धबन्दी बोकेको रुसी जहाज दुर्घटनाग्रस्त- मस्को

रुसी जहाज दुर्घटना

तस्बिर स्रोत, RUSSIAN TELEGRAM

रुसको युक्रेनसँग सीमा जोडिएको दक्षिणी बेल्ग्रड क्षेत्रमा एउटा जहाज दुर्घटना परेको छ। मस्कोले जनाए अनुसार रुसी इल्यूशिन–७६ सैन्य ढुवानी जहाज दुर्घटनामा परेको हो।

रुसी रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटनामा कम्तीमा ६५ जना युक्रेनी युद्धबन्दीहरू मारिएका छन्। उनीहरूलाई बन्दी आदानप्रदानका लागि बेल्ग्रड क्षेत्रतर्फ लाने क्रममा उक्त दुर्घटना भएको उसको भनाइ छ।

रिया नोभोस्ती न्यूज एजेन्सीका अनुसार उक्त जहाजमा ६ जना चालक दलका सदस्यसहित युक्रेनी युद्धबन्दीबाहेक अन्य ९ जना पनि यात्रारत थिए।

बेल्ग्रडका क्षेत्रीय गभर्नर भ्याचिस्लाभ ग्लाडकोभले बस्ती नजिकै उक्त जहाज खसेको र त्यसमा रहेका सबै जना मारिएको बताए।

उक्त जहाजमा रहेका व्यक्ति बारेका कुनै पनि विवरणहरूको स्वतन्त्र रूपमा पुष्टी गर्न सकिएको छैन।

युक्रेनी पक्ष के भन्छ?

रुसी जहाज दुर्घटना

तस्बिर स्रोत, RUSSIAN TELEGRAM

युक्रेनी सैन्य कार्यालयलाई उदृत गर्दै प्राभदा वेबसाइटले लेखे अनुसार उक्त जहाजले रुसको एस-३०० हवाई सुरक्षा प्रणालीका निम्ति क्षेप्यास्त्र ढुवानी गरिरहेको थियो। त्यसमा युक्रेनी युद्धबन्दीहरू रहेकोबारे केही पनि उल्लेख छैन।

सामाजिक सञ्जालहरूमा साझा गरिएको भिडिओमा स्थानीय समय अनुसार ११ बजे याब्लोनोभो गाउँ नजिकै एउटा विमान खसेको र त्यसपछि विस्फोट भएको देखिन्छ।

रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनलाई दुर्घटनाको बारेमा जानकारी रहेको बताए। उनले विस्तृत विवरण दिन अस्वीकार गरे।

गत डिसेम्बरमा हवाई आक्रमण हुँदा त्यहाँ २५ जना मारिएका थिए भने १०० जना घाइते भएका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत डिसेम्बरमा हवाई आक्रमण हुँदा त्यहाँ २५ जना मारिएका थिए भने १०० जना घाइते भएका थिए

केही युक्रेनी मिडियाले सुरुमा उक्त जहाजलाई युक्रेनी सेनाले खसालेको हुनसक्ने जनाएका थिए तर पछि ती विवरणहरू हटाइए।

युक्रेनी सेनाले बीबीसी युक्रेनीलाई जहाज दुर्घटनाबारे यथार्थ जानकारी आइनसकेको र त्यो परिस्थितिबारे अनुसन्धान गरिरहेको बताएको छ।

युद्धबन्दीसम्बन्धी जिम्मेवारीमा रहेको युक्रेनी सरकारी निकायले रुसलाई "युक्रेन समाजलाई अस्थिर पार्ने उद्देश्यले युक्रेनविरुद्ध विशेषखाले सूचना प्रवाह गर्ने अभियानहरू सक्रिय रूपमा सञ्चालन गरिरहेको" भन्दै त्यसो नगर्न चेतावनी दिएको छ।

रुसी संसद्को रक्षा समितिका अध्यक्ष आन्देई कर्तापोलोभले त्यहाँ ८० जना युक्रेनी युद्धबन्धीहरूलाई लिएर उडिरहेको अर्को विमान पनि भएको तर त्यसले पछि मार्ग परिवर्तन गरेको दाबी गरेका छन्।

"अब अन्य [बन्दीहरू] आदानप्रदान बारे कुनै पनि कुरा हुन सक्दैन," कार्तपोलोभले रुसी टिभीलाई भने।

उक्त जहाज दुर्घटनाको खबर आएपछि युक्रेनभरि राष्ट्रव्यापी रूपमा हवाई आक्रमणको चेतावनी दिइएको थियो।

युक्रेनको सिमानाबाट करिब ४० किलोमिटर उत्तरमा अवस्थित बेल्ग्रड युक्रेनमा युद्ध सुरु भएदेखि नै हवाई र ड्रोन हमला भइरहेको क्षेत्र हो। त्यहाँ अहिलेसम्म कैयौँको ज्यान गइसकेको छ।

गत डिसेम्बरमा हवाई आक्रमण हुँदा त्यहाँ २५ जना मारिएका थिए भने १०० जना घाइते भएका थिए।

यद्यपि युक्रेनले सैन्य पूर्वाधारलक्षित हमला मात्र गरेको र रुसी हवाई प्रतिरक्षा प्रणालीका ट्रुकाहरू उक्त सहरमा खसेको आरोप लगाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।