अफगानिस्तानमा विमान ‘हराएको’ विवरण, दुर्घटनाको आशङ्का

तस्बिर स्रोत, Getty Images
रुसी उड्डयन निकायले एउटा चार्टर्ड जहाज अफगानिस्तानमाथि रेडार स्क्रिनबाट हराएको बताएको छ। उक्त जहाजमा ६ जना यात्रारत रहेको ठानिएको छ।
भारतबाट उज्बेकिस्तान हुँदै मस्कोतर्फ गइरहेको जहाज सम्पर्कविहीन भएको उक्त रुसी निकायले जनाएको हो।
त्यो विमान 'एअर एम्बुलेन्सका रूपमा प्रयोग भएको' रुसी उड्डयन निकायको भनाइ छ।
उत्तरी अफगानिस्तानका तालिबान अधिकारिहरूले बदअख्शान प्रान्तको दुर्गम क्षेत्रमा एउटा जहाज दुर्घटनामा परेको खबर आएको बताएका छन्।
उनीहरूले दुर्घटना भएको भनिएको क्षेत्रतर्फ एउटा टोली पठाइएको पनि जानकारी दिएका छन्।
यद्यपि अहिलेसम्म उक्त दुर्घटना र त्यसमा मानिसहरूको ज्यान गएको वा नगएकोबारे पुष्टि हुन सकेको छैन।
तालिबानले दिएको जानकारी
बीबीसी हिन्दीका अनुसार बदअख्शान प्रान्तको तालिबान कमाण्डद्वारा जारी एउटा विज्ञप्तिमा उक्त विमान कस्तो खालको थियो र त्यसमा को यात्रारत थिए भन्ने जानकारी प्राप्त भइनसकेको उल्लेख छ।
सञ्चारमाध्यमलाई वितरण गरिएको उक्त विज्ञप्तिमा विमानले आफ्नो मार्ग भुलेको र उक्त प्रान्तको जिबाक जिल्लास्थित उच्च पहाडी क्षेत्रमा दुर्घटना भएको विवरण आएको जनाइएको छ।
पहिले उक्त विमान भारतीय भएको विवरणहरू आएका थिए। तर भारतीय अधिकारीहरूले आफ्नो कुनै पनि विमान नहराएको जनाएका थिए।
समाचार संस्था रोएटर्सका अनुसार रुसी अधिकारीहरूले उक्त विमान 'एअर एम्बुलेन्स' भएको बताएका छन्।
भारतबाट उडेको त्यो 'एअर एम्बुलेन्स' उज्बेकिस्तान र त्यसपछि रुस जाने उडान तालिका रहेको थियो।
उनीहरूले उक्त विमान सन् १९७८ मा बनेको ड्यास फाल्कन-१० (डीएफ-१०) जहाज रहेको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








