पोखरा विमान दुर्घटना: मृतकका परिवारलाई 'पीडा मात्र बल्झाउने' जाँच आयोगको प्रतिवेदन

पोखरा
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

आउँदै गरेको माघे सङ्क्रान्ति कसरी कट्ला भन्ने सकसले अहिल्यैदेखि मैयाँ सापकोटालाई पिरोल्न थालेको छ।

गत वर्ष त्यसै दिन परिवारका भतिजा राजन सापकोटा र (उनकी श्रीमती) बुहारी अनिशा बानियाँ यती एअरलाइन्सको दुर्घटनामा परेका थिए।

घटनाको वर्ष दिन पुग्नै लाग्दा समेत अहिलेसम्म मैयाँले राजनकी आमालाई सम्झाउन सकेकी छैनन्।

दुर्घटनाको ३४८ दिनपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ।

काकी मैयाँको मनमा प्रतिवेदनको विवरणमा नभेटिने प्रश्नहरू मात्र धेरै छन्।

र छानबिन समितिका निष्कर्ष उनलाई "पीडा बल्झाउने अर्को कुरा" भन्दा बढ्ता केही लागेको छैन।

किनकि ती कुनै कुराले राजन र अनिशा फर्कने छैनन्।

'यस्तो कसैलाई नपरोस्'

पोखरा विमानस्थल

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन, नयाँ बनेको ठूलो विमानस्थल र सफा मौसमबीच गत माघ १ मा पोखरामा विमान दुर्घटना भएको थियो

'मानवीय त्रुटि' लाई मुख्य कारण ठानिएको उक्त प्रतिवेदन सार्वजनिक भएको थाहा पाए पनि सापकोटा परिवारलाई त्यसमा खासै सरोकार छैन।

त्यसले उनीहरूको परिवारमा लागेको घाउ मेटिने आशा पनि उनीहरूसँग छैन। आफ्नै ज्यान गुमाएका पाइलटलाई दोष लगाउन पनि उनीहरूलाई मन छैन।

बरु छोराबुहारी गुमाएकी आफ्नी जेठानीको पीडा सुनाउँदै उनी भन्छिन्, "बाहिर निस्कने, हिँड्ने-डुल्ने छैन। आमाको मन त हो नि। गर्भ जाँदा त दामली सम्झेर कति पीडा हुन्छ उ त कमाएर आएको छोरा थियो। वहाँले अहिलेसम्म चित्त बुझाउनु भएको छैन।"

"७२ जनाकै दशा बिग्रेको पनि थिएन होला। यस्तो घटना संसारमा कतै कसैलाई नपरोस्।"

विमानमा सवार सबै ७२ जनाले ज्यान गुमाएको उक्त दुर्घटना नेपालको उड्डयन क्षेत्रको पछिल्लो तीन दशककै सबैभन्दा घातक मानिन्छ।

सङ्क्रान्तिका दिन अमेरिकाबाट फर्केका राजन आफ्नो घर पोखराको हेम्जा फर्कँदै थिए। र, एक वर्षअघि मात्रै विवाह गरेकी उनकी श्रीमती अनिशा राजनलाई स्वागत गर्न काठमाण्डू पुगेकी थिइन्।

चाडबाडकै दिन घर फर्केको छोरासँग रमाइलो गर्न पर्खेकी आमालाई त्यसै दिन बज्रपात परेको थियो।

अनि त्यसै दिनदेखि आफ्नी जेठानीको 'हाँसो हराएको' मैयाँ बताउँछिन्।

"आत्मामा पिर भए पनि बाहिर हामीले बिर्सनै पर्ने रै'छ। तर आमाले बिर्सन सक्नुहुँदो रहेनछ," जेठानी भेट्दाको उनको सकस घटनाको एक वर्ष पुग्न लाग्दा समेत उस्तै छ।

"हामीले उहाँलाई के भनेर सम्झाउनु! नआत्तिनु भन्न पनि भएन। आउँछ भोलि पर्सी भन्न नि भएन। बिसन्चो भएको भन्न नि भएन। आमालाई साह्रै गाह्रो हुने'रैछ।"

'जो छैन, उसैलाई दोष'

उक्त दुर्घटनामा आफ्ना दाइ जितेन्द्रबहादुर कुँवर र भाउजू भगवती थापा कुँवर गुमाएका लोकेन्द्र कुँवर सरकारी प्रतिवेदनमाथि सन्देह पोख्छन्।

त्यस्तो आउला भनेर आफूले पहिल्यै ठानेको बताउँदै उनले भने, "नेपालको राजनीतिदेखि यस्ता दुर्घटनामा जो छैन त्यसैलाई दोष दिने परिपाटी नै देखिन्छ।"

विगतका छानबिन प्रतिवेदनमा समेत त्यस्तै कुरा आउने गरेकाले 'निस्क्यो भन्ने थाहा पाए पनि धेरै निधिखोजी नगरेको' उनी बताउँछन्।

तर उक्त दुर्घटनाले आफूहरूलाई "सधैँको लागि पीडा" दिएर गएको उनी सुनाउँछन्।

"आमाबुवा नै नरहेपछि एउटा बाबु र एउटी नानीको अभिभावकत्व मेरो जिम्मामा छ," उनीहरूलाई देखिरहँदा झन् बढ्ता उक्त घटना बिर्सन नसकिने उनी सुनाउँछन्।

विमान सम्झिँदा पनि परिवारमा बेग्लै त्रास उत्पन्न हुने उनी सुनाउँछन्।

दुर्घटनाअघि सपरिवार काठमाण्डू गएका उनीहरूले छोराछोरीलाई अघिल्लो दिन बसबाट पोखरा पठाएका थिए।

"अहिले पनि एअरपोर्टको बाटो ओहोरदोहोर गर्दा कहालीलाग्दो त्यो दिन सम्झेर आँखा रसाउँछन्," जितेन्द्रका भाइ लोकेन्द्र सुनाउँछन्।

उमेरले ८४ वर्ष लागेकी एक्ली आमा पहिले हिँडडुल गर्ने भए तापनि त्यस घटनापछि घरबाटै बाहिर निस्किन छाडेको उनी सुनाउँछन्।

विमान पक्षले 'गल्ती स्वीकारेको' बुझाइ

कैयौँ सामाजिक संस्थामा संलग्न रहेका पोखराका पत्रकार त्रिभुवन पौडेलका दाइ उत्तम पौडेलले छानबिन प्रतिवेदनलाई 'गल्तीको स्वीकारोक्ति'का रूपमा बुझेका छन्।

"कति व्यवस्थापकीय त्रुटिहरूसहित चालकहरू विमान चलाउँदा रहेछन् भन्ने थाहा पाइयो," उनी सुनाउँछन्।

छानबिन प्रतिवेदनमा चालकको त्रुटि नै दुर्घटनाको "मुख्य सम्भावित कारण" भनेको छ।

र उड्डयन अधिकारीहरूले “ठूलो विमानस्थल, सफा मौसम र ‘कन्डिसन’को जहाज एवं तालिमप्राप्त चालकहरू हुँदाहुँदै” दुर्घटना हुनुमा दुवै पाइलटका लागि उक्त धावनमार्ग नयाँ हुनु र उनीहरूले विशेष तालिम नपाउनु पनि कारण हुनसक्ने उल्लेख गरेका छन्।

मृतकका दाइ उत्तम पौडेल भन्छन्: "व्यवस्थापकीय त्रुटिको पराकाष्ठा नै रहेछ भन्ने बुझियो।"

पत्रकारिता गरिरहेका त्रिभुवन पौडेलको पोखरामा राम्रो सामाजिक पहिचान थियो।

दुर्घटनामा परेको विमानको फाइल तस्बिर

तस्बिर स्रोत, REUTERS

घटनापछि उनको सामाजिक संलग्नता जताततै महसुस हुँदा झन् त्यस दुर्घटना भुल्न सकस भइरहेको उनका दाइ सुनाउँछन्।

"पीडा एकातर्फ छ भने व्यवहारहरू अर्कोतर्फ। भाइको मृत्युपछि त हाम्रो जीवन नै अन्धकार बन्यो," उनले सुनाए।

भाइ सम्पादक र प्रकाशक भएको साढे दुई दशकभन्दा बढ्ता समयदेखि चलेको 'पोखरा हटलाइन'को प्रबन्ध निर्देशक भएर काम गरेकाले पनि उत्तमको भाइ र उनको कामसँग बढी नै साइनो थियो।

"सबैतिर राम्रो सम्बन्ध बनाएर राखेकाले उसको एकखाले सामाजिक अभिभावकत्व थियो। परिवारमा मात्र नभएर हामीले बाहिर धेरैतिर उसको अभाव महसुस भएको देख्छौँ," उत्तम सुनाउँछन्।

"उसले धेरैको अप्ठ्यारोमा सघाउँथ्यो। अहिले धेरैले उसलाई खोज्छन्। तर ऊ हामीसँग छैन।"

'सबै जिम्मेवार हुन आवश्यक'

उक्त विमानकी को-पाइलट अन्जु खतिवडाका काका कमल खतिवडाले दुर्घटना घटेको साता बीबीसीसँग गरेको कुराकानीमा "आफैलाई पीडा मात्र हुने" भन्दै त्यससम्बन्धी समाचार हेर्न छाडेको बताएका थिए।

वर्ष दिन पुग्न लाग्दा छानबिन समितिको प्रतिवेदन बाहिरिएपछि समेत उनले त्यसलाई हेर्न चाहेका छैनन्।

"हाम्रो पीडा आफ्नो ठाउँमा छ। तर प्राविधिक कुरामा के विचार राख्नु र खै," उनी भन्छन्।

तर यस्ता घटनामा कोही एउटा पक्षलाई मात्र दोष दिएर कहीँ नपुगिने उनी बताउँछन्।

"कमजोरी सरकारी निकायको पनि हुन्छ, व्यक्तिको पनि हुन्छ, प्राधिकरणको पनि होला। सबै मिलेर काम गरे मात्र उड्डयन क्षेत्र सुरक्षित हुनसक्छ। सबै पक्ष जिम्मेवार हुन जरुरी छ।"

सरकारी प्रतिवेदनमा उल्लेख भएका कतिपय कुराहरूले उक्त जहाज चलाउने कम्पनी यती एयरलाईन्सप्रति पनि केही प्रश्न उठाएको देखिन्छ भने नागरिक उड्डयन प्राधिकरणले पनि पूरा गर्नुपर्ने कतिपय कुरा पूरा नगरेको देखाउँछ।

नयाँ विमानस्थलबारे जानकारी दिने ‘एरोनटिकल इन्फरमेशन पब्लिकेशन’ (एआईपी) मा पर्याप्त जानकारी नभएको उक्त जाँच आयोगले पाएको प्रतिवेदनमा उल्लेख छ।

एआईपीमा विवरणहरू अद्यावधिक गर्ने काम प्राधिकरणले गर्नुपर्नेमा त्यो नगरेको त्यसले पुष्टि गर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।