रुसको जासुसी विमान खसालिदिएको युक्रेनको दाबी

रुसी जासुसी जहाज

तस्बिर स्रोत, REUTERS

युक्रेनको सेनाले सी अफ आजोफमा रुसी सेनाका जासुसी विमानहरू खसालेको बताएको छ। विश्लेषकहरूले त्यसलाई मस्कोको वायु सेनाको शक्तिमा गरिएको ठूलो प्रहार हुनसक्ने बताएका छन्।

सेना प्रमुख जनरल भलेरी जलुज्नीले वायुसेनाले लामो दूरीको रेडार पत्ता लगाउने ए-५० विमान र आईएल–२२ एयर कन्ट्रोल सेन्टरलाई “नष्ट” गरेको बताए।

ए-५० ले हवाई प्रतिरक्षा क्षेत्रहरू पत्ता लगाउँछ र रुसी जेटहरूलाई आक्रमण गर्ने लक्ष्यहरू देखाउन समन्वय गर्छ।

युक्रेनले दक्षिण-पूर्वी क्षेत्रमा रुसी सेनाविरुद्ध महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सङ्घर्ष गरिरहेको छ।

गत वर्ष २३ फेब्रुअरीमा ब्रिटिश रक्षा मन्त्रालयको रुसले "सम्भवतः" छ वटा चलाउन मिल्ने ए-५० विमानहरू प्रयोग गरिरहेको बताएको थियो। ती विमानहरू निर्माणमा करोडौँ डलर खर्च हुन सक्छ।

रुसले के भन्यो?

उक्त आक्रमणको बीबीसीले हालसम्म पुष्टि गर्न सकेको छैन।

रुसी अधिकारीहरूले उनीहरूलाई आक्रमणबारे "कुनै जानकारी" नभएको बताए।

तर उक्त देशका युद्ध समर्थक प्रमुख टिप्पणीकारहरूले एउटा ए-५० जहाजको क्षति निकै महत्त्वपूर्ण हुने बताएका छन्।

रुसले एउटा लोकप्रिय सैन्य च्यानलले “यदि रुसी विमान खसालेको बारे युक्रेनको जानकारी पुष्टि भएमा त्यो रुसी वायुसेनाका लागि अर्को कालो दिन" हुने बताएको छ।

अर्को च्यानलले आईएल-२२ कमान्ड सेन्टरमा रुसकै "फ्रेन्डली फायर"मा परेको जनाएको छ। उसले त्यो रुसमा फर्किएर अवतरण गर्न सफल भएको उक्त च्यानलले जनाएको छ।

जनरल जलुज्नी टेलिग्राममा युक्रेनको वायुसेनाले दक्षिण पूर्वी अजोफ क्षेत्रमा "उत्कृष्ट योजना अनुरूप सैन्य कारबाही सञ्चालन" गरेको बताएका छन्।

युक्रेनी वायुसेना कमान्डर माइकोला ओलश्चुकले टेलिग्राम पोस्टमा विमान खसालेको बारेमा टिप्पणी गरे पनि त्यसबारे विवरण दिएका छैनन्।

गत वर्ष फेब्रुअरीमा बेलारुसी विपक्षी समूह बाईपोलले मिन्स्क नजिकै ड्रोन आक्रमणमा ए-५० सैन्य विमानलाई क्षति पुर्‍याएको दाबी गरेको थियो।

विज्ञ के भन्छन्?

रुसी जासुसी विमान

तस्बिर स्रोत, Getty Images

सुरक्षा मामिलासम्बन्धी थिङ्क ट्याङ्क रुसीका हवाई युद्ध विशेषज्ञ जस्टिन ब्रङ्कले यदि ए-५० खसालिएको पुष्टि भयो भने रुसको वायु सेनाका लागि त्यो "अत्यन्तै महत्त्वपूर्ण र लज्जास्पद क्षति" हुने बीबीसीलाई बताए।

उनले ए-५० लाई "कि कमान्ड, कन्ट्रोल र सर्भिलेन्स प्लेटफर्म"को रूपमा वर्णन गरे।

उनका अनुसार त्यसले रुसी विमान र सतहबाट हावामा प्रहार गरिने क्षेप्यास्त्र प्रणालीलाई "लामो दूरीको चेतावनी र पूर्वचेतावनी तथा कम दूरीमा उडान गर्ने युक्रेनी विमानबारे लक्ष्यसहितको जानकारी" प्रदान गर्ने गर्छ।

उनले रुसी वायुसेनाभित्र यस्ता विमानहरूको "सङ्ख्या थोरै मात्र" रहेको र "प्रशिक्षित चालक दलका सदस्यहरू पनि कम मात्र रहेको” बताए।

त्यसले गर्दा एउटा विमान खसाल्दा पनि रुसका लागि ठूलो धक्का हुने उनको भनाइ छ।

उनले युक्रेनी दाबी पुष्टि भएमा त्यसले युक्रेनी ‘प्याट्रिओट एयर डिफेन्स मिसाइल’को "धेरै लामो दूरीको संलग्नता" हुने बताए।

त्यसले उक्त "अस्त्रको सैद्धान्तिक क्षमतालाई उनीहरूको सीमासम्म" विस्तार गर्नेछ।

बीबीसीका सुरक्षा संवाददाता फ्रान्क गार्डनरले यो घटना "धेरै खराब समाचारबीच युक्रेनका लागि राम्रो समाचारको सानो अंश" भएको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।