तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कन्डममा कर र सस्तो स्याहार: चीनको जन्मदर वृद्धि गर्ने योजना
- Author, ओसमन्ड जिया
- Role, बिजिनेस रिपोर्टर
- Author, यान चेन
- Role, बीबीसी न्यूज चाइनिज
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनले जन्मदर वृद्धि गर्ने प्रयास गरिरहेकाले आफ्ना नागरिकले ज्यानुअरी १ तारिखदेखि गर्भ निरोधकहरूमा १३ प्रतिशत कर तिर्नुपर्ने र बालबालिकाको हेरचाहमा छुट दिइने जनाएको छ।
गत वर्षको अन्त्यमा घोषणा गरिएको कर प्रणालीमा गरिएको आमूल परिवर्तनले सन् १९९४ देखि लागू भएका धेरै छुटहरू हटाएको छ। त्यति बेला चीनले दशकौँ लामो एक सन्तान नीति लागू गरिरहेको थियो।
यसले विवाहसँग सम्बन्धित सेवाहरू र वृद्ध हेरचाहलाई मूल्य अभिवृद्धि कर (भ्याट) बाट छुट दिन्छ। अभिभावकीय बिदा विस्तार गर्ने र नगद हस्तान्तरण जारी गर्ने व्यापक प्रयासको यो एउटा हिस्सा हो।
बुढ्यौली जनसङ्ख्या र सुस्त अर्थतन्त्रको सामना गर्दै बेइजिङले धेरै भन्दा धेरै चिनियाँ युवाहरूलाई विवाह गर्न र दम्पतीहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न जोडदार प्रयास गरिरहेको छ।
चीनको आधिकारिक तथ्याङ्कले चीनको जनसङ्ख्या लगातार तीन वर्ष खुम्चिएको देखाएको छ। सन् २०२४ मा केवल ९५ लाख ४० हजार बच्चाहरू जन्मेका छन्। यो एक दशकअघि रेकर्ड गरिएको जन्मको सङ्ख्याको आधा हो। त्यति बेला चीनले कति बच्चा जन्माउने भन्ने नियमलाई खुकुलो बनाउन थालेको थियो।।
तैपनि, कन्डमलगायत गर्भ निरोधक चक्की र उपकरणहरू लगायत गर्भ निरोधकहरूमा करले अनावश्यक गर्भधारण र एचआईभी दरको बारेमा चिन्ता बढाएको छ।
एक खुद्रा विक्रेताले मूल्य वृद्धि हुनुअघि ग्राहकहरूलाई स्टक गर्न आग्रह गरेपछि, एक सामाजिक सञ्जाल प्रयोगकर्ताले ठट्टा गरे: "म अब जीवनभरिका लागि पुग्ने कन्डम किन्ने छु।"
अर्का एक जनाले मानिसहरूले कन्डमको मूल्य र बच्चा हुर्काउने मूल्यबीचको भिन्नता बताउन सक्ने भनेर लेखेका छन्।
बेइजिङस्थित युवा पपुलेशन रिसर्च इन्स्टिट्यूटको सन् २०२४ को प्रतिवेदन अनुसार बच्चा हुर्काउने सबैभन्दा महँगो देशमध्ये चीन एक हो। एक अध्ययनले अत्यधिक प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा विद्यालयको शुल्कले लागत बढ्ने र महिलाहरूले काम र घरको हेर्नुपर्ने चुनौतीका कारण खर्च बढ्ने जनाएको छ।
आर्थिक मन्दीका कारण बचतमा असर पर्दा खासगरी युवाहरूलाई उनीहरूको भविष्यको बारेमा अनिश्चित वा कम आश्वस्त महसुस गराएको छ।
"मेरो एउटा सन्तान छ र म अब अरू चाहन्नँ," पूर्वी हुनान प्रान्तमा बस्ने ३६ बर्से डेनियल लुओ भन्छन्।
उनले आफू मृत्यु उमेर वृद्धिबाट चिन्तित नभएको बताएका छन्।
"एक बाकस कन्डमको थप पाँच युआन वा सायद १० वा धेरै नै भएछ भने २० युआन बढी पर्ला। एक वर्षभरिमा त्यो भनेको केही थप सय युआनमात्रै हो जुन एकदमै सस्तो हो।"
तर अन्यलाई भने महँगो लाग्न सक्छ। चीनको शिआन सहरमा बस्ने रोशी जाओ पनि बढेको मूल्यलाई लिएर चिन्तित छिन्।
आवश्यक हुने गर्भ निरोधक एकदमै महँगो भएपछि विद्यार्थी वा आर्थिक रूपमा सङ्घर्ष गर्नेहरूले "जोखिम उठाउन" सक्ने उनी बताउँछिन्।
त्यो नै नीतिको "सबैभन्दा खतरनाक सम्भावित परिणाम" हुनसक्ने उनले थपिन्।
कर बढाउने सरकारी उद्देश्यमा विज्ञहरू भने विभाजित देखिन्छन्। युनिभर्सिटी अफ विस्कन्सिन-म्याडिसनका जनसङ्ख्याविद् यी फुसियान कन्डममा कर बढाउँदा यसले जन्मदरमा असर पार्छ भन्नुलाई "त्यसबारे ज्यादा सोच्नु" भएको बताउँछन्।
उनका अनुसार बेइजिङ जहाँ पनि कर उठाउन इच्छुक छ र यो आवास बजारमा मन्दी र बढ्दो राष्ट्रिय ऋणसँग पनि जुधिरहेको छ।
करिब १ ट्रिलियन डलरको चीनको भ्याट राजस्व गत वर्ष देशको कर सङ्कलनको ४० प्रतिशत रहेको थियो।
सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरन्याश्नल स्टडिजकी हेनरिएटा लेभिनले कन्डममा कर लगाउने कदम 'साङ्केतिक' भएको र यसले चीनको प्रजनन क्षमतामा उल्लेखनीय रूपमा कमी ल्याएको सङ्ख्यालाई उकास्न मानिसहरूलाई प्रोत्साहित गर्ने बेइजिङको प्रयासलाई प्रतिविम्बित गरेको बताइन्।
हालसालै केही प्रान्तहरूमा महिलाहरूलाई स्थानीय अधिकारीहरूबाट उनीहरूको महिनावारी र बच्चा जन्माउने योजनाबारे सोधपुछ गर्न फोन आएको विवरणहरू आएका छन्। युनान प्रान्तका स्थानीय स्वास्थ्य ब्यूरोले गर्भवती महिलाको पहिचानका लागि यस्तो तथ्याङ्क आवश्यक रहेको बताएको छ।
तर यसले सरकारको छविलाई मद्दत नगरेको लेभिन बताउँछिन्। "कम्युनिस्ट पार्टीले मद्दत गर्न सक्दैन बरु उसले चासो राख्ने हरेक निर्णयमा आफूलाई सामेल गर्छ। त्यसैले यो आफैँ केही तरिकाले आफ्नै शत्रु बन्न पुग्छ।"
विज्ञ र महिलाहरू पनि देशको पितृसत्तात्मक नेतृत्वले यी व्यापक सामाजिक परिवर्तनहरू देख्न नसकेको बताउँछन्।
पश्चिमा र एसियाकै दक्षिण कोरिया र जापानजस्ता देशहरू पनि जन्मदर वृद्धी गर्न सङ्घर्ष गरिरहेका छन्।
अर्को कारण भनेको बच्चा हुर्काउनु पनि रहेको बताइन्छ र अध्ययनका अनुसार त्यसको भार महिलालाई नै पर्छ। अन्य कारणमा विवाह र डेटिङमा समेत कमी आउनु पनि रहेको छ।
चीनको अर्को वास्तविक समस्या भनेको युवाहरूले एक अर्कालाई भेट्नै नखोज्नु पनि रहेको लुओ बताउँछन्।
अनलाइन हुन सजिलो र आरामदायी हुने उनी बताउँछन्।
"२० वर्षअगाडि भन्दा अहिले युवाहरूले धेरै तनावको सामना गर्छन्। पक्कै पनि, भौतिक सुविधाको हिसाबले उनीहरू राम्रा छन्। तर उनीहरूसँग गरिने अपेक्षा धेरै छ। सबै जना थाकेका छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।