'ट्रोजन हर्सपछिको सबैभन्दा चातुर्य प्रदर्शन': अमेरिकाको जासुसी गरेको सोभियत कलाकृति

संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकाका प्रतिनिधि हेनरी क्याबोट सिलको उपकरण लुकाइएको ठाउँ औँल्याउँदै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एउटा कलाकृतिमा श्रवण यन्त्र लुकाइएको थियो
    • Author, म्याट विल्सन

सन् १९४५ मा एउटा कलाकृतिमा श्रवण यन्त्र लुकाइएको थियो। जसलाई अमेरिकी सुरक्षा निकायले सात वर्षसम्म पत्ता लगाउन सकेन। छलको निम्ति कुनै कलाकृति प्रयोग गरिएको त्यो पहिलो उदाहरण होइन।

असी वर्षअघि दोस्रो विश्वयुद्धको अन्तिम साताहरूमा रुसी युवकहरूको स्काउटको एक टुकडीले मस्कोस्थित अमेरिकी राजदूतलाई उनको सरकारी निवास स्पासो हाउस पुगेर हातले कुँदेको अमेरिकाको 'ग्रेट सील' प्रदान गर्‍यो।

उक्त उपहार युद्धको समयमा रुस र अमेरिकाबीचको सहकार्यको प्रतीक थियो र अमेरिकी राजदूत डब्ल्यू एवरल ह्यारिमनले गर्वका साथ त्यसलाई सन् १९५२ सम्म आफ्नो घरमा झुन्ड्याएर राखेका थिए।

तर राजदूत र उनको सुरक्षा टोलीलाई उक्त सीलमा एउटा गोप्य श्रवण उपकरण रहेको पत्तो थिएन, जसलाई पछि अमेरिकी प्राविधिक सुरक्षा टोलीले "द थिङ" नाम दिए। त्यसले कूटनीतिक वार्तालापहरूको जासुसी गर्‍यो, जुन कुरा सात वर्षसम्म पत्तो नै लागेन।

दुस्मनभित्र घुसपैठ गर्न र रणनीतिक लाभ लिन एउटा सामान्य जस्तो देखिने कलाकृति प्रयोग गरेर सोभियतहरूले ओडीससको ट्रोजन हर्स पछिको सबैभन्दा चतुर व्यवहार प्रदर्शन गरेका थिए। जासुस कथाको अंश जस्तो सुनिए पनि यो एउटा सत्य कथा हो।

अमेरिकी प्राविधिकहरूले ठम्याए, हातले कुँदिएको ग्रेट सील एउटा अदृश्य कान रहेछ, जसले पर्दा पछाडि राजदूतको छलफलहरू सुन्दै आएको रहेछ।

द थिङले कसरी काम गर्‍यो? प्रतिजासुसीका एक विशेषज्ञ ७९ वर्षीय जोन लिटल लामो समयदेखि उपकरणबाट मोहित भए, र उनले त्यसको आफ्नै प्रतिछाया समेत बनाए।

लिटलको अविश्वसनीय कामबारे एउटा वृत्तचित्र यस वर्ष सार्वजनिक भयो।

उनी द थिङको प्रविधिलाई सङ्गीतको भाषामा वर्णन गर्छन् – यसमा मानिसको आवाजमा कम्पन ल्याउने ड्रमको छाला जस्तै शरीरको नली र झिल्ली हुन्छ।

तर त्यो एउटा सूक्ष्म चिजभित्र टाँसिएको थियो जुन ह्याट पीन जस्तो देखिन्छ र त्यसमा कुनै विद्युतीय प्रवाह थिएन, ब्याट्री थिएन र त्यो तातो हुँदैनथ्यो, जसले गर्दा प्रतिजासुसी जाँचमा देखिँदैनथ्यो।

उक्त उपकरणको इन्जिनियरिङ पनि होसियारीयुक्त सटीक थियो - स्विस घडी र माइक्रो मिटरको मिश्रण। इतिहासकार एच कीथ मेल्टनले त्यस बेला, द थिङले अडियो मनिटरिङसम्बन्धी विज्ञानलाई विगतमा असम्भव मानिने स्तरमा पुर्‍याइदिएको दाबी गरेका छन्।

जोन लिटल

तस्बिर स्रोत, John Little

तस्बिरको क्याप्शन, प्रतिजासुसीका एक विशेषज्ञ जोन लिटलले द थिङको प्रतिछाया बनाएका थिए

स्पासो हाउसभित्र द थिङ त्यस बेला मात्र सक्रिय हुन्थ्यो जब नजिकैको भवनमा रहेको रिमोट ट्रान्सीभर अन गरिन्थ्यो।

त्यसले एउटा उच्च फ्रिक्वेन्सी सिग्नल पठाउँथ्यो जसले 'बग एन्टेना'बाट आउने सबै कम्पनलाई परावर्तन गरिदिन्थ्यो।

सन् १९५१ मा मस्कोमा काम गर्ने एक ब्रिटिश सेनाका रेडियो अपरेटरले गल्तीले द थिङले प्रयोग गरेको वेवलेन्थमा ट्यून गर्न पुगे। त्यसबेला टाढाको कोठामा भइरहेको कुराकानी सुनिएपछि मात्र त्यो पत्ता लाग्यो।

अर्को वर्ष, अमेरिकी प्राविधिकहरूले राजदूत निवासमा खोजी गरे र - कम्तीमा तीन दिनको खोजपछि- हातले कुँदिएको ग्रेट सीलमा अदृश्य कान रहेको र पर्दा पछाडि राजदूतका छलफलहरू सुन्ने गरेको ठम्याए।

कलाको जासुसीमा प्रयोग

द थिङको सफलता दर्साउँदै, यसलाई सञ्चालन गरेका रुसी प्राविधिकहरू मध्ये एक, भादिम गोन्चारोफ भन्छन्, "लामो समयसम्म, हाम्रो देश विशिष्ट र धेरै महत्त्वपूर्ण जानकारी प्राप्त गर्न सक्षम भयो जसले हामीलाई निश्चित फाइदाहरू दियो... शीतयुद्धमा।" र, आजसम्म, सोभियत गुप्तचरभन्दा बाहिरका कसैलाई पनि सोभियत सङ्घद्वारा त्यस समयमा पश्चिमा देशको जासुसी गर्न कति अन्य 'थिङहरू' प्रयोग गरेको हुनसक्छ भन्ने जानकारी छैन।

तर जासुसी उपकरणको रूपमा त्यसको सफलतामा मौलिक प्रविधिको आंशिक भूमिका थियो। त्यो प्रभावकारी किन थियो भने त्यसले मानिसहरूलाई आकर्षित गर्ने सुन्दर वस्तुहरूमा सांस्कृतिक अवधारणाको उपयोग गरेको थियो।

हामीले कलाकृति र सजावटका वस्तुहरूलाई हैसियत, स्वाद वा सांस्कृतिक रुचिको प्रतीकको रूपमा विश्वास गर्छौँ। रुसी गुप्तचरले यस धारणालाई आफ्नो मेपल काठको मूर्तिकला ग्रेट सिललाई हतियार बनायो।

जासुसी, छल र सैन्य रणनीतिको लागि हेरफेर गरिएको कलाको इतिहासको यो नै एक मात्र उदाहरण होइन। लियोनार्दो दा भिन्चीले मोनालिसाको चित्र बनाउनुका साथै लियोनार्दो दा भिन्चीले ट्याङ्क र घातक हतियारहरूको पनि डिजाइन गरेका थिए र पिटर पल रुबेन्सले ३० वर्षको युद्धको समयमा जासुसको रूपमा काम गरेका थिए।

पहिलो र दोस्रो विश्वयुद्धको समयमा विभिन्न राष्ट्रका कलाकारहरूले भेष बदल्ने र छलछामपूर्ण कारबाहीको योजना तयार गरेका थिए र ब्रिटिश कलाका इतिहासकार (र, रोयल आर्ट कलेक्सनका सर्भेयर) एन्थोनी ब्लन्ट, दोस्रो विश्व युद्ध भरि र शीत युद्धको सुरुवातमा एक सोभियत जासुस थिए।

द थिङको अनौठो सन्दर्भमा, साङ्गीतिक इतिहास पनि सान्दर्भिक छ। आम रूपमा लियोन थेरामिन भनिने लेफ सर्गेयभिच टर्मन त्यो सृजनशीलताका आविष्कारक हुन् जो एक प्रतिभाशाली सङ्गीतकार थिए।

उनले विश्वको पहिलो विद्युतीय उपकरण तयार गरे - यसको निर्माणपछि थेरामिनको रूपमा चिनिए। यो सङ्गीत यन्त्र केही पनि नछोएरै बजाउन सकिन्छ - हावामा हात चलाउँदा त्यसको एन्टेनाले यन्त्रका नोटहरूलाई परिचालन गर्छ।

थेरामिनको भयानक आवाज १९५० को दशकमा अमेरिकी साई-फाई फिल्मको निम्ति पर्याय बन्न पुग्यो। सम्भवतः त्यसको विशेष उदाहरण द डे द अर्थ स्ट्यान्ड स्टिल (१९५१) हो, जसलाई प्राय: शीत युद्धको त्रासदीको कथाको रूपमा उद्धृत गरिन्छ।

लियोन थेरामिन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९२७ मा जासुसी सङ्गीत उपकरण प्रदर्शन गर्दै प्रतिभाशाली सङ्गीतकार लियोन थेरामिन

यो पत्ता लागेपछि अमेरिकी गुप्तचर निकायले 'द थिङ' लाई अति गोप्य राखेको थियो। तर आणविक हतियारको होडको चरमोत्कर्षका बेला सन् १९६० मे महिनामा रुसी आकाशमा एक अमेरिकी यू-२ जासुसी विमानलाई गोली हानेर खसालियो।

त्यसपछिको कूटनीतिक आक्रोशबीच अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले शीतयुद्धको जासुसी एकपक्षीय नभएको प्रमाणित गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा ग्रेट सीलको सार्वजनिक रूपमा पर्दाफास गरिदिए।

प्रतिजासुसी विशेषज्ञ जोन लिटल राजदूत निवासमा भएको घुसपैठ सुरक्षाको लज्जास्पद उल्लङ्घन रहेको ठान्छन्, "वास्तवमा विमान गोली हानेर झारिएपछि द थिङको पहिचान सार्वजनिक भएको हो।" तर द थिङको वास्तविक प्राविधिक निपुणता कहिल्यै पनि आम जनता सामु खुलेन।

बन्द ढोका पछाडि, उपकरणको बारेमा ब्रिटिश प्रतिजासुसले गहिरो अध्ययन गरे, जसले यसको कोड नाम एसएटीवाईआर नाम दिए। र, पूर्वसुरक्षा अधिकारी पिटर राइटले सन् १९८७ मा आफ्नो संस्मरण पाईक्याचरमा सबै कुरा नखुलाउँदासम्म उक्त उपकरणबारेको विस्तृत विवरण राज्यको एउटा आधिकारिक गोप्य सूचनाको रूपमा रह्यो।

जसरी त्यो उक्त समयको निम्ति प्राविधिक रूपमा निकै परिष्कृत थियो र जसरी शीत युद्धको जासुसी प्रपञ्चलाई प्रभावित गरेको थियो द थिङले इतिहासकारहरूलाई प्रभावित तुल्याएको छ।

तर यसले रङ्गमञ्च र कला ग्यालरीहरूको रौनक बाहिर भइरहने सम्भ्रान्त संस्कृतिको कलात्मक कामको इतिहासको अँध्यारो र विचित्रको पक्ष पनि उजागर गरेको छ, जहाँ शास्त्रीय सङ्गीतकारहरूले सैन्य सूचना सङ्कलन गर्न जासुसी उपकरणहरू र हातले कुँदिएका कलाकृतिहरूको सृजना गर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।