अगालेगा टापुमा के भारतको नयाँ जासुसी केन्द्र बनेको हो

अगालेगा टापुको नीलो आकाश, सेतो बालुवा र पाम रूखको छहारी देखिने तट

तस्बिर स्रोत, Billy Henri

    • Author, जेकब इभान्स
    • Role, बीबीसी विश्व सेवा

आर्नो पूलेले हिन्द महासागरमा अवस्थित सानो टापु अगालेगा कहिल्यै छोड्न चाहँदैनथे। तर आफ्नो थलोमा सैनिकीकरण भएको ठान्दै उनी यो त्यहाँबाट बाहिरिए।

केही अघिसम्म पनि अगालेगामा ३५० जनाको बसोबास थियो। उनीहरू त्यहाँ माछा मार्थे र नरिवलको खेती गर्थे। मरिशसको राजधानीबाट १,१०० किलोमिटर दक्षिणमा अवस्थित उक्त टापुमा अरू खाद्यपदार्थ वर्षमा चार पटक पानीजहाजबाट ढुवानी भएर आउँथ्यो।

चिकित्सकीय आपत्कालीन अवस्थामा बाहेक टापुमा रहेको एउटा सानो विमानस्थल हतपत प्रयोग हुँदैनथ्यो।

सन् २०१५ मा यो सानो टापु रहेको देश मरिशसले भारतलाई यहाँ तीन किलोमिटर लामो विशाल धावनमार्ग र एउटा ठूलो पानीजहाजमा चढ्न र ओर्लिन लागि प्रयोग हुने ‘जेटी’ निर्माण गर्न दिने सम्झौता गर्‍यो। समुद्री सुरक्षामा दुई देशबीचको सहकार्य बढाउने नीतिअन्तर्गत उक्त सम्झौता भएको थियो।

यद्यपि अगालेगाका केही बासिन्दाहरू यसबाट पूर्ण स्तरको सैन्य उपस्थिति बढ्ने चिन्तामा छन्।

चवालीस वर्षीय पूलेले उक्त परियोजनाविरुद्ध अभियानको नेतृत्व गरे। उनी घर मर्मतको काम गर्छन् र रेगे शैलीको सङ्गीतकार पनि हुन्।

“म आफ्नो टापुलाई माया गर्छु र यसले पनि मलाई माया गर्छ,” उनी भन्छन्। “तर त्यो अखडा बनेपछि मलाई लाग्यो अब म यहाँबाट हट्नुपर्छ।”

आर्नो पूले

तस्बिर स्रोत, Arnaud Poulay

तस्बिरको क्याप्शन, आर्नो पूले अगालेगामा भइरहेको निर्माणकार्यका प्रखर आलोचक हुन्

दक्षिण-पश्चिम हिन्द महासागरमा २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको अगालेगाका दुई वटा टापु समुद्री आवतजावत निगरानीका लागि भारतका निम्ति एक उपयुक्त स्थान हुन सक्छ। सन् २०१९ मा लिइएका भू उपग्रह तस्बिरहरू र यो वर्ष जुलाईमा लिइएका अरू तस्बिरहरूले यहाँ कति धेरै परिवर्तन भएको छ भन्ने देखाउँछन्।

उत्तरमा ला फोर्च र दक्षिणमा भिङ्ट्-सिन्कबीचको मेरुदण्ड जस्तो ठाउँमा धावनमार्ग सुरु हुनुभन्दा अघि पामका रूखहरू कार्पेट बिछ्याए जसरी फैलिएका छन्।

विमान अड्याउने स्थानतर्फको धावनमार्गमा दुई वटा ६० मिटर चौडा भवनहरू देखिन्छन्। अस्ट्रेलिअन न्याश्नल युनिभर्सिटीमा विद्यावारिधि गरिरहेका स्यामुएल ब्याशफिल्डका अनुसार त्यसमध्ये एक भारतीय जलसेनाको पी-८१ विमान राख्न सकिने ह्याङ्गर हुनसक्छ।

बोइङ ७३७ मोडलको विमानलाई परिमार्जन गरेर पनडुब्बीहरूको निगरानी गर्न र आवश्यक परे आक्रमण गर्न सक्ने गरी पी-८१ विमान बनाइएको हो साथै यसले समुद्रमा हुने सञ्चारसम्पर्कहरूको निगरानी पनि गर्न सक्छ।। यो टापुका बासिन्दाहरूले विमानस्थलको धावनमार्गमा रहेका बेला उक्त विमानको तस्बिर खिचेका छन्।

टापुको उत्तर-पश्चिमी क्षेत्रमा बनाइएको नयाँ जेट्टी समुद्रतर्फ निस्किएको छ। ब्याशफिल्ड समुद्रको सतहमा गस्ती गर्ने भारतीय जहाजहरू र अगालेगामा आपूर्ति गर्ने जहाजहरूले यसको प्रयोग गर्न सक्ने बताउँछन्।

“नयाँ भूउपग्रह तस्बिरहरू उपलब्ध भएसँगै हामीले हिन्द महासागरको सञ्चारमा अगालेगाको भूमिका अझै राम्रोसँग बुझ्न सक्छौँ,” उनी भन्छन्।

इन्टरन्यास्नल इन्स्टिट्यूट फर स्ट्राटेजिक स्टडीजले यसलाई "निगरानी स्टेसन" को रूपमा उल्लेख गरेको छ। र यसमा पनि भारत-निर्मित र मरिससमा अन्यत्र रहेका जस्तै तटीय राडार निगरानी प्रणाली हुनसक्ने बताउँछन्।

अगालेगाको नयाँ धावनमार्गमा भारतीय जलसेनाको पी-८१ विमान

तस्बिर स्रोत, L'association les Amis d'Agalega

तस्बिरको क्याप्शन, अगालेगाको नयाँ धावनमार्गमा भारतीय जलसेनाको पी-८१ विमान

भारत सरकारले अगालेगाबारे बीबीसीको प्रश्नमा जवाफ दिन अस्वीकार गर्दै आफ्नो वेबसाइटमा यसअघि नै राखिएका विज्ञप्तिहरू हेर्न भनेको छ।

त्यसमध्ये एउटामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्द महासागर क्षेत्रमा परम्परागत र गैर-परम्परागत चुनौतीहरू सामना गर्ने मामलामा भारत र मरिसस "प्राकृतिक साझेदारहरू" रहेको बताएका छन्।

यी दुई देशहरूबीच सन् १९७० देखि नै निकट रक्षा सम्बन्ध रहँदै आएको छ। यो देशका राष्ट्रिय सुरक्षा सल्लाहकार, यसको कोस्टगार्ड प्रमुख र प्रहरी हेलिकप्टर स्क्वाड्रनका प्रमुख सबै भारतीय नागरिक र क्रमशः भारतको बाह्य गुप्तचर एजेन्सी, नौसेना र वायु सेनाका अधिकारीहरू छन्।

लन्डनस्थित किङ्स कलेजमा इन्डिया इन्स्टिट्यूटका प्रोफेसर हर्ष पन्त दुवै पक्षले यो सुविधालाई "सैन्य प्रयोजनको भन्दा क्षमता विकासका रूपमा बढी" हेर्न चाहने बताउँछन्।

यद्यपि भारत र उसका पश्चिमी सहयोगीहरू हिन्द महासागरमा चीनको बढ्दो उपस्थितिको बारेमा चिन्तित रहेको कुरा कतै छिपेको छैन।

हिन्द महासागरमा अगालेगाो अवस्थिति देखाउने नक्सा

ठूला देशका लागि आफ्नो सहयोगी सानो देशमा सैन्य चौकी राख्ने कुरा असाधारण नभए पनि अगालेगामा भएको निर्माण कार्यले यो टापुका केही बासिन्दाहरूलाई समस्यामा पारेको छ।

टापुका केही पामको ओत भएका सेतो-बालुवाका तटहरू सहितका केही क्षेत्रहरूमा अहिले नै प्रवेशमा रोक लगाइएको यहाँका बासिन्दाहरू बताउँछन्। वरपर विस्तार भइरहेका भारतीय पूर्वाधारहरूले ला फोर्चलाई पनि ढाक्ने र यहाँ बस्दै आएका १० परिवार यहाँबाट जबर्जस्ती निकालिने हल्ला अहिले यो गाउँमा चलिरहेको छ।

"यो पूर्ण रूपमा भारतीयहरू बाहेकका लागि प्रतिबन्धित क्षेत्र बन्नेछ," असोसिएसन अफ फ्रेन्ड्स अफ अगालेगाका अध्यक्ष लभाल सुप्रमनियन भन्छन्।

उनलाई “अगालेगा पनि चागोस टापुहरूको कथा जस्तै” बन्ने डर छ। यही डर २६ वर्षका घर मर्मतको काम गर्ने बिली अन्‌रीले पनि सुनाए। उनका बुवा अगालेकाका हुन् र आमा चागोसबाट निकालिएकी महिला हुन्।

"मेरी आमाले आफ्नो टापु [गुमाइन्]," अन्‌री भन्छन्। "अब मेरा बुवाको पालो आउँदै छ।"

अगालेखाको राजधानी भिङ्ट-सिन्क

तस्बिर स्रोत, Yohan Henri

तस्बिरको क्याप्शन, अगालेगाको राजधानी भिङ्ट-सिन्क (फ्रान्सेली भाषामा २५) नाम वृक्षारोपण गर्ने दासहरूलाई लगाइने कोर्राको सङ्ख्याबाट राखिएको बताइन्छ

अगालेगाका कैयौँ बासिन्दाहरू त्यहाँबाट २,००० किलोमिटर पर पूर्वमा रहेको चागोस टापुहरूबाट निष्कासनमा परेका परिवारहरूका हुन्। यी टापुहरूलाई सन् १९६५ मा यूके सरकारले ब्रिटिश भूभाग भएको घोषणा गर्दै त्यहाँको सबैभन्दा ठूलो टापु डिएगो गार्सिआमा अमेरिकालाई सञ्चार स्टेसन निर्माण गर्न अनुमति दिएपछि उनीहरू विस्थापित भएका थिए। यो बिस्तारै पूर्ण सैन्य अखडामा परिणत भयो।

अगालेगाको सबै जग्गाको स्वामित्व आफूसँगै राखेको र यहाँ एक मात्र रोजगारदाता रहेको मरिसस सरकारले यहाँको अवस्था निकै दयनीय बनाएर सबैलाई छोडेर जान बाध्य बनाउने हो कि भन्ने चिन्ता बिली अन्‌रीलाई छ।

स्वास्थ्य सेवा र शिक्षाको समस्या, स्थानीय अर्थतन्त्रमा सीमित लगानी, रोजगारीका अवसरको अभाव र स्थानीय जनतालाई आफ्नै व्यवसाय खोल्न लगाइएको प्रतिबन्धका समस्या औँल्याउँदै उनले यस्तो चिन्ता व्यक्त गरे।

मरिसस सरकारका एक जना प्रवक्ताले कसैलाई पनि छाडेर अन्यत्र जान नभनिने बीबीसीसँग बताए। स्थानीय मानिसहरूलाई विमानस्थल र बन्दरगाहमा प्रवेश गर्नबाट मात्रै रोक लगाइएको उनले बताए। उनका अनुसार यी संरचनाहरूले देशलाई समुद्री डकैती, लागूपदार्थको तस्करी र अनियमित माछा मार्ने कुराहरूको नियन्त्रण गर्न मद्दत गर्छ।

मरिससले सैन्य अखडा बनाउन दिएको कुरा पनि यहाँको सरकारले अस्वीकार गरेको छ। यहाँ राष्ट्रिय प्रहरीको पूर्ण नियन्त्रण रहेको सरकारको दाबी छ। यद्यपि, भारतीय खर्चमा निर्माण गरिएका नयाँ संरचनाहरूको "सम्भार र सञ्चालन"मा भारतले सहयोग गर्ने मरिससले स्वीकार गरेको छ।

भूउपग्रह तस्बिरहरूमा जहाजहरू राख्न सकिने जेट्टीको आकार देखिन्छ

तस्बिर स्रोत, Maxar

तस्बिरको क्याप्शन, अगालेगाको उत्तरी क्षेत्रमा तीव्र निर्माण कार्यहरू भइरहेका छन्। भूउपग्रह तस्बिरहरूमा जहाजहरू राख्न सकिने जेट्टीको आकार देखिन्छ

मरिसस र भारतका सरकारहरू समुद्री र हवाई यातायातमा गरिएका सुधारहरू टापुवासीहरूको फाइदा र उनीहरूलाई गरिबीबाट माथि उकास्न सहयोग पुग्ने किसिमले तयार गरिएको बताउँछन्। तर स्थानीयबासीहरू दाबी गरिएजस्तो नभएको बताउँछन्। त्यहाँबाट अझै पनि प्रत्येक वर्ष मरिससको मुख्य टापुसम्म चार वटा मात्रै 'फेरी'हरू चल्छन् र यहाँबाट कुनै पनि यात्रुवाहक उडानहरू भएका छैनन्।

यहाँ भारत-निर्मित नयाँ अस्पतालमा आफूहरूलाई पहुँच नदिइएको अगालेगाका स्थानीयबासीहरूको आरोप छ। यद्यपी मरिसस सरकारले एक प्रेस विज्ञप्ति जारी गर्दै यहाँका शल्यक्रिया कक्षहरू,एक्स-रे मसिनहरू र दन्त चिकित्सा उपकरणहरूको प्रशंसा गरेको थियो।

उत्तरी टापुस्थति स्वास्थ्य केन्द्रमा उपलब्ध हुने भन्दा थप सहयोग आवश्यक परेका र खाना पकाउने तेलले पोलेका एकजना बालकलाई गत अक्टोबरमा यो अस्पतालमा प्रवेश नदिइएको बिल अन्‌री बताउँछन्।

"त्यो भारतीयहरूका लागि मात्रै हो!" उनी भन्छन्।

घाइते बालक र उनका बावुआमालाई त्यसपछि मरिससको मुख्य टापुमा विमानमार्फत् लगिएको थियो।लभाल सुप्रमन्यन ती बालक अझै अस्पतालमा रहेको र अगालेगा जाने अर्को डुङ्गाको तालिका नआएसम्म उनका बुवाआमा पनि मरिससको मुख्य टापुमै रहने बताउँछन्।

जलनबाट पिडित ती बालकले खेपेको पीडाबारे सोधिएको प्रश्नमा मरिसस सरकारले कुनै जबाफ दिएन। भारत सरकारले पनि यसबारे प्रतिक्रिया दिन अस्वीकार गर्‍यो।

मरिससको संसद्‌मा हालैको एक सम्बोधनमा प्रधानमन्त्री प्रविन्द जुगनोथले अगालेगाको सामाजिक-आर्थिक विकास उनको सरकारको एजेन्डामा पहिलेभन्दा उच्च प्राथमिकतामा रहेकोछ।

टापुका बासिन्दाहरूको लागि स्वास्थ्य र शिक्षा, यातायात सञ्जाल र मनोरञ्जन सुविधाहरूमा सुधारका साथै माछा मार्ने क्षेत्र र नरिवलका उत्पादनहरू बढाउन "गुरु योजना" बनाइएको उनले बताए।

तर भारत र मरिसस दुवैले सन् २०१५ मा भएको समझदारीपत्रको विस्तृत विवरण प्रकाशित गरेका छैनन् यसैकारण पनि त्यहाँ अविश्वासलाई बल पुग्न गएको छ र त्यहाँ उनीहरूको भविष्यको योजनाहरू पनि अज्ञात नै रहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।