दिल्ली चिडियाखानाको एक मात्र अफ्रिकी हात्तीको कथा

शङ्कर

तस्बिर स्रोत, Ministry of Environment, Forest and Climate Change

तस्बिरको क्याप्शन, शङ्कर चर्चामा आएको पहिलो पटक होइन
    • Author, सुमेधा पाल
    • Role, बीबीसी हिन्दी

शङ्कर नाम गरेको हात्ती २९ वर्षको छ। खुट्टा सिक्रीले बाँधिरहेको अवस्थामा त्यसले खाना खान्छ।

दिल्लीको जूलजिकल पार्कमा उसलाई अलग्गै बाँधेर राखिएको छ। जिम्बाब्वेले सन् १९९६ मा भारतका भूतपूर्व राष्ट्रपति शङ्कर दयाल शर्मालाई उक्त हात्ती उपहारमा दिएको थियो।

हात्तीको बसोबास अवस्था, खासगरी उसलाई सिक्रीले बाँधेर राखिएकोले वर्ल्ड असोसिएशन अफ जू एन्ड अक्वेरीयम (डब्ल्यूएजेडए) ले दिल्लीस्थित चिडियाखानाको सदस्यता छ महिनाका लागि निलम्बन गरेको बताएको छ।

आचारसंहिता उल्लङ्घन भएकोले उक्त निर्णय लिइएको बीबीसीलाई प्राप्त डब्ल्यूएजेडएको इमेलमा उल्लेख छ।

निलम्बनको अर्थ उक्त चिडियाखाना डब्ल्यूएजेडएका सम्मेलन र अरू गतिविधिमा संलग्न हुन पाउने छैन।

धेरैले यो निलम्बनलाई उक्त चिडियाखानाको साखमा क्षति पुगेको रूपमा अर्थ्याइरहेका छन्।

सन् २०२४ को जुलाईमा शङ्करलाई सिक्रीका कारण चोटपटक लागेको विवरण आएको थियो।

मस्थ भनिने एउटा अवस्थामा उक्त घटना भएको थियो। दुईदेखि तीन महिनासम्म रहने उक्त अवस्थामा टेस्टसटरोन होर्मोनको मात्रा बढेर वयस्क भाले हात्तीहरूले उत्तेजक र अनपेक्षित व्यवहारहरू देखाउने गर्छन्।

सोही बेला डब्ल्यूएजेडएले दिल्लीस्थित चिडियाखानाका अधिकारीहरूलाई खासमा के भएको हो भनेर स्पष्टीकरण सोध्यो।

शङ्करको यात्रा वृत्तान्त

शङ्कर

तस्बिर स्रोत, @KVSinghMPGonda

तस्बिरको क्याप्शन, शङ्करको उमेर २९ वर्ष छ

शङ्कर एउटा अफ्रिकी हात्ती हो जसको पङ्खा आकारको कानले अरू हात्तीभन्दा त्यो फरक रहेको देखाउँछ।

शङ्करबाहेक भारतको दक्षिणी राज्य कर्नाटकस्थित एक चिडियाखानामा अर्को एउटा अफ्रिकी हात्ती रहेको छ।

शङ्कर वयस्क हुनुअघि दिल्लीको चिडियाखानामा अरू भारतीय हात्तीहरूको बथानमा बस्थ्यो जहाँ उसकी साथी बम्बई नामकी हात्ती थिइन्। सन् २००५ मा तिनको मृत्यु भयो।

चिडियाखानाका अधिकारीहरूले बीबीसीलाई बताएअनुसार शङ्कर वयस्क भएर मस्थमा पुगेपछि सहवासका लागि त्यसको साथी कोही भएन।

अन्तर्राष्ट्रिय कानुनले एउटा प्रजातिको हात्तीलाई अर्को प्रजातिको हात्तीसँग सहवास गराउनमा प्रतिबन्ध लगाएको छ।

भारतीय अधिकारीहरूले शङ्करका निम्ति दान स्वरूप एउटा पोथी हात्ती उपलब्ध गराइदिन बोत्स्वाना सरकारलाई आग्रह पनि गरेका छन्।

‘सिक्रीबाट मुक्त भएको थियो’

डब्ल्यूएजेडएले सदस्यता खारेज गरेपछि भारतका वातावरण मन्त्रीले शङ्करको स्वास्थ्यबारेको योजनामाथि काम गरे। अक्टोबर ११ तारिखको दिन शङ्करलाई सिक्रीबाट मुक्त गरियो।

पर्यावरण, वन तथा जलवायु परिवर्तन राज्यमन्त्री कीर्ति वर्धन सिंहले चिडियाखाना पुगेर शङ्करको बसोबास अवस्थाको निरीक्षण गरे।

एउटा वक्तव्यमा उनले भनेः “मस्थबाट निस्किनासाथ शङ्कर सिक्रीबाट मुक्त भयो।”

शङ्करको स्वास्थ्य अवस्थामा थप सुधार ल्याउने विषयमा सम्बन्धित विज्ञहरूसँग परामर्श पनि गरिएको सरकारले बतायो।

योजनाअन्तर्गत चिडियाखानाका कर्मचारीहरूलाई पर्याप्त प्रशिक्षण, शङ्करको खान्कीका लागि उपयुक्त योजना र बस्ने स्थानमा परिवर्तनको विषय समेटियो।

“यसअघि मस्थको अवस्थामा शङ्कर निकै आक्रामक भयो र सीमा पर्खालहरू भत्काउन थालेपछि त्यसलाई सिक्रीले बाँधेर राख्नुपर्‍यो,” सिंहले भने।

“मस्थमा हुँदा हात्तीहरूले यो खालको व्यवहार देखाउनु स्वाभाविक नै हो। मन्त्रालयले शङ्करको लागि पोथी हात्ती खोज्न, त्यसको खोरमा परिवर्तन ल्याउन तथा सिक्री हटाउने प्रयास गरिरहेको छ।”

त्यसका साथै शङ्करको अवस्थाको आकलन गर्नका लागि एउटा वन्यजन्तु उद्धार केन्द्रका पशुचिकित्सकहरूको एक टोली बोलाइएको छ।

टोलीका एकजना सदस्य डा. निरज साङ्गवान आउँदो एप्रिलमा शङ्करको मस्थ आउनुअघि त्यसका लागि सुरक्षित वातावरण सिर्जना गर्नु महत्त्व हुने बताउँछन्।

हेरचाह गर्ने मानिसहरूसँग शङ्करको निकटता बढाउनुपर्ने विषयमा समेत छलफल भएको छ।

शङ्करको थप अवस्थाको आकलन गर्ने उद्देश्यका साथ उक्त टोली अझै केही समय त्यही रहनेछ।

किन चर्चामा शङ्कर

शङ्कर

तस्बिर स्रोत, Nikita Dhawan/BBC

तस्बिरको क्याप्शन, सिक्रीमा शङ्करलाई बाँधिएकोमा कतिपयले आपत्ति जनाउने गरेका छन्

दिल्ली चिडियाखानामा शङ्करको बसोबासको अवस्थालाई लिएर चर्चा परिचर्चा भएको यो पहिलो पटक होइन।

एउटा गैरसरकारी संस्था युथ फर एनिमल्सकी संस्थापक निकिता धवनले दिल्ली उच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

शङ्करलाई सम्बन्धित वन्यजन्तु आरक्षमै पुनर्स्थापित गर्नुपर्ने माग उनले आफ्नो रिट निवेदनमा गरेकी थिइन्।

तर शङ्कर भारतको भएको र चिडियाखानामा रहने भन्दै अदालत उनको मागप्रति सहमत भएन।

डब्ल्यूएजेडएको निर्णयबारे बीबीसीले धवनको प्रतिक्रिया लिनका लागि सम्पर्क गर्‍यो।

उनले भनिन्, “दीर्घकालीन रूपमा शङ्करलाई चाहिँ चिडियाखानाले कुनै हल दिनसकिरहेको छैन। उदाहरणका निम्ति दीर्घकालीन स्वास्थ्य हेरचाह, शङ्करका पैतालामा पनि समस्या छन् भने हरेक वर्ष हुने मस्थका बेला स्रोतसाधन छैनन्।”

हात्ती कस्तो जनावर?

जटिल सामाजिक जीवन भएका हात्तीहरू भव्य जनावर हुन् र प्राणी जगत्‌मा तिनीहरू सबैभन्दा चलाख हुन्छन्।

अफ्रिकी र एशियाली हात्तीहरू आमाको नेतृत्वको बथानमा बस्छन्।

यौवनकालमा भाले हात्तीहरू बथान छोड्छन् र एक्ला भालेहरू मिलेर बथान बनाउँछन् जसलाई अविवाहितहरूको बथान भन्ने गरिन्छ।

घरपालुवा बनाइएका हात्तीको व्यापार तथा उपहारका रूपमा दिने कार्यको इतिहास लामै छ।

रोमनकालमा र अरू समयमा पनि युद्धमा अफ्रिकी र एशियाली हात्तीहरूको प्रयोग तिनीहरूको बासस्थानभन्दा टाढासम्म भएका अभिलेख पाइन्छ।

आधुनिक इतिहासमा चाहिँ अफ्रिकी र एशियाली देशहरूबाट सर्कसमा प्रयोगका लागि हात्तीहरू पश्चिमा देशहरूमा लगिएको पाइन्छ।

अरू केही घटना

चिडियाखानामा उपयुक्त व्यवहार नगरिएका कारण धेरैको ध्यान तान्ने “एउटै हात्ती” शङ्कर मात्र होइन।

कावानः दयनीय बसोबास अवस्थाका कारण एउटा पाकिस्तानी चिडियाखानाबाट “संसारकै सबैभन्दा एक्लो हात्ती”लाई सन् २०२० मा कम्बोडिया सारिएको थियो।

मालीः यो पोथी हात्ती लगभग पूरै जीवन फिलिपिन्सको एउटा चिडियाखानामा बसेकी थिई। सन् १९८१ मा फिलिपिन्सकी प्रथम महिला इमेल्डा मार्कोसलाई श्रीलङ्काले उपहार स्वरूप दिएको थियो। संसारकै सबैभन्दा “दुःखी” भनिएको हात्तीको मृत्यु सन् २०२३ मा भएको थियो।

मुथु राजाः सन् २००१ मा यो थाई हात्ती श्रीलङ्काको एउटा बौद्ध मन्दिरलाई उपहारमा दिइएको थियो। दुर्व्यवहार गरिएको आरोपपछि सन् २०२३ मा मुथु राजालाई श्रीलङ्काले फिर्ता पठायो।

म्यान कुमाराः सन् २०१३ मा श्रीलङ्काको एउटा बौद्ध मन्दिरलाई उपहार स्वरूप दिइएको हात्तीमाथि दुर्व्यवहार नगर्न सन् २०२० मा म्यान्मारले श्रीलङ्कालाई आग्रह गरेको थियो।

मोन्डुलाः यी अफ्रिकी पोथी हात्तीको साथी मरेपछि स्कटल्यान्डमा तिनी एक्ली भइन्। पुरानै बासस्थानमा फर्काउन सन् २०१७ मा अधिकारकर्मीहरूले माग गरे।

लुसीः “संसारकै सबैभन्दा चिसो” हात्तीकी रूपमा चिनिएकी यी हात्तीलाई क्यानडाको एउटा चिडियाखानाबाट निकाल्न अभियानकर्मीहरूले अभियान चलाए। दुई वर्षकी हुँदा ती टुहुरी हात्तीलाई श्रीलङ्काबाट क्यानडा लगिएको थियो।

हानाकोः राम्रो अवस्थामा राख्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय अभियानको केन्द्रमा परेको यो एशियाली हात्तीको सन् २०१६ मा मृत्यु भएको थियो।

एनीः श्रीलङ्काबाट यूके पुर्‍याइएको यो हात्तीको ५५ वर्षसम्म सर्कसमा प्रयोग गरियो। सन् २०११ मा तिनको उद्धार गरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।