ब्रिटिश इन्डियालाई 'हल्लाएर' इन्दौरका राजालाई गद्दी त्याग गराएको हत्याको त्यो घटना

तस्बिर स्रोत, Alamy
- Author, नियाज फारूकी
- Role, बीबीसी न्यूज, दिल्ली
यो एउटा सामान्य हत्या जस्तो देखिन्थ्यो।
एक सय वर्षअघि सन् १९२५ को ज्यानुअरीकै महिनामा औपनिवेशिक भारतको बम्बई (हालको मुम्बई) को धनी मानिसहरू बस्ने क्षेत्रमा कारमा सवार एक जोडीलाई पुरुषहरूको एउटा समूहले गोली हान्यो। पुरुषको हत्या भयो भने महिलाको अनुहारमा काटेर छाडियो।
तर यो घटनाको पोयो जब खुल्दै गयो, विश्वव्यापी रूपमा यसले चर्चा पायो। यो घटनाको जटिलताले देशका तत्कालीन ब्रिटिश शासकहरूलाई चिन्तामा पार्यो र अन्ततः भारतीय एक राज्यका राजालाई गद्दीत्याग गर्न बाध्य तुल्यायो।
कसरी भयो हत्या

तस्बिर स्रोत, Alamy
पत्रपत्रिका र अखबारहरूले हत्यालाई "ब्रिटिश इन्डियामा भएको सम्भवतः सबैभन्दा सनसनीपूर्ण अपराध" भनी व्याख्या गरे। यसको अनुसन्धान र सुनुवाइका क्रममा यो घटना "चर्चाको विषय" बन्यो।
सन् १९२५ ज्यानुअरी १२ मा हत्या गरिएका व्यक्ति २५ वर्षीय अब्दुल कादिर बावला थिए। उनी एक प्रभावशाली कपडा व्यवसायी र नगरकै कान्छा अधिकारी थिए। उनीसँगै कारमा सवार महिला २२ वर्षीया मुमताज बेगम थिइन्। उनी बावलाकी 'वेश्या' थिइन् र पछिल्ला केही महिनादेखि बावलासँगै बस्दै आएकी थिइन्।
हत्याको साँझ, बावला र मुमताज बेगम कारमा अन्य तीन जनासहित थिए र उनीहरू मालाबार हिलमा कार चलाइरहेका थिए। यो अरब सागरको किनारमा रहेको सम्भ्रान्त परिवारहरू बस्ने क्षेत्र हो। त्यो समय भारतमा कार दुर्लभ थियो र एकदमै धनी मानिसहरूको मात्रै कार हुने गर्थ्यो।
एक्कासि अर्को कारले उनीहरूलाई उछिन्यो। उनीहरूले कुनै प्रतिक्रिया जनाउनुअघि नै उनीहरूको कार त्यो कारसँग ठोक्कियो। पत्रपत्रिका र गुप्तचर निकायका अनुसार उनीहरू आफ्नो कार रोक्न बाध्य भए।
बम्बई उच्च अदालतसमक्ष मुमताज बेगमले भनेकी थिइन्- हमलाकारीहरूले बावलामाथि अपशब्द बोलेर "महिलालाई बाहिर निकाल" भनेर चिच्याएका थिए।
त्यसपछि उनीहरूले बावलालाई गोली हानेका थिए र त्यसको केही घण्टामा उनको मृत्यु भएको थियो।
गल्फ खेलेर फर्कने क्रममा अनजानमा गलत मोड लिएका ब्रिटिश सैनिकहरूको एउटा समूहका सदस्यहरूले गोलीको आवाज सुने र तत्कालै घटनास्थलमा पुगे।
उनीहरूले एक जना अपराधीलाई पक्रिन सफल भए, तर आक्रमणकारीले उनीहरूमाथि गोली चलाउँदा एक जना अधिकारीलाई भने गोली लागेको थियो।
भाग्नुअघि, बाँकी आक्रमणकारीहरूले दुई पटक घाइते मुमताज बेगमलाई ब्रिटिश अधिकारीहरूबाट छुटाउने प्रयास गरे। ब्रिटिश अधिकारीहरू भने मुमताजलाई अस्पताल लैजान खोजिरहेका थिए।
पत्रपत्रिकाका अनुसार आक्रमणकारीहरूको उद्देश्य सम्भवतः मुमताज बेगमलाई उठाएर लिएर जानु थियो। मुमताजले घटनाको केही महिनाअघि बम्बईमा प्रदर्शन गर्दै गर्दा बावलाले उनलाई त्यहीँ देखेका थिए र त्यस बेलादेखि मुमताज उनीसँगै बस्दै आएकी थिइन्। उनलाई सँगै राखेको भनेर बावलाले त्यसअघि पनि कयौँ पटक धम्कीहरू पाएका थिए।
केन्द्रमा मुमताज बेगम
'इन्यस्ट्रेटेड विक्ली अफ इन्डिया'ले मुमताज बेगमका विशेष तस्बिरहरू देखाउने वाचा गरेको थियो, जबकि प्रहरीले भने दैनिक बुलेटिन जारी गर्ने योजना गरेको 'नवाकाल' पत्रिकाले लेखेको थियो।
बलिवुडले पनि उक्त घटनालाई लिएर एउटा मन्द हत्याको रहस्यबारे चलचित्रमा ढाल्न त्यसबारे केही महिनामै काम गरेको थियो।
'द बावला मर्डर केस : लभ, लस्ट एन्ड क्राइम इन कलोनिअल इन्डिया'का लेखक धवल कुलकर्णी भन्छन्, "यो घटना सामान्य रहस्यात्मक हत्याभन्दा बाहिरको थियो किनभने यसमा एक धनी र जवान व्यक्ति, एक अपमानित राजा र एक सुन्दर महिला जोडिएका थिए।"
सञ्चारमाध्यमहरूमा अनुमान गरिए अनुसार हमलाकारीहरूको खुट्टाको छापले अनुसन्धानकर्ताहरूलाई प्रभावशाली इन्दौर राज्यमा पुर्याएको थियो। यो ब्रिटिशको साझेदार थियो तर त्यहाँ भारतीय नै शासक थिए। मुस्लिम मुमताज बेगम हिन्दू महाराजा तुकोजी राव होल्कर तृतीयसँग बस्थिन्।
मुमताज बेगम आफ्नो सौन्दर्यका लागि प्रख्यात थिइन्। "उनको आफ्नो वर्गमा पनि उनको कोही साथी नभएको बताइन्थ्यो," केएल गौबाले न् १९४५ मा प्रकाशित आफ्नो पुस्तक 'फेमस ट्रायल्स अफ लभ एन्ड मर्डर'मा लेखेका छन्।
तर महाराजाले मुमताजलाई नियन्त्रणमा राख्ने प्रयास गर्थे। उनलाई परिवारसँग एक्लै भेट्न पनि नदिने र निरन्तर निगरानीमा राख्दा उनीहरूबीचको सम्बन्धमा चिसोपना आएको कुलकर्णी बताउँछन्।
"मलाई निगरानीमा राखिन्थ्यो। मलाई भेट्न आउनेहरू र आफन्तलाई भेट्न दिइन्थ्यो तर सधैँ कसैको साथमा हुँदा मात्रै दिइन्थ्यो," मुमताज बेगमले अदालतसमक्ष बयानका क्रममा भनेकी थिइन्।
इन्दौरमा उनले एउटी छोरीलाई जन्म दिइन् तर जन्मिने बित्तिकै उनको निधन भयो।
"मेरो बच्चा जन्मिएपछि म इन्दौरमा बस्न चाहन्नथेँ किनभने नर्सहरूले मेरी छोरी मारिदिएका थिए," मुमताज बेगमले अदालतमा भनिन्।

तस्बिर स्रोत, Getty Images
त्यसको केही महिनामा नै उनी इन्दौरबाट भागेर उत्तरी सहर अमृतसर पुगिन्। त्यो उनकी आमा जन्मिएको ठाउँ थियो तर त्यहाँ पनि उनलाई समस्याले छोडेन।
उनलाई त्यहाँ पनि निगरानी गरियो। मुमताज बेगमका सौतेनी बुवाले अदालतमा बोल्दै महाराजाले रोइकराइ र हारगुहार गरेर फर्काएको बताए। तर उनले त्यो अस्वीकार गरिन् र बम्बई गइन्। त्यहाँ पनि उनीमाथिको निगरानी जारी रह्यो।
हत्याबारे सञ्चारमाध्यमहरूले जे अनुमान गरेका थिए, अदालतको सुनुवाइबाट त्यही पुष्टि भयो : महाराजाका प्रतिनिधिहरूले बावलालाई यदि मुमताज बेगमलाई सँगै राखिरहे नराम्रो परिणामहरू हुन सक्ने धम्की दिएका थिए। तर बावलाले ती चेतावनीहरू बेवास्ता गरेका थिए।
घटनास्थलमा पक्राउ परेका एक मात्र हमलाकारी शफी अहमदले दिएको जानकारीको मरमा बम्बई प्रहरीले इन्दौरबाट सात जना पुरुषलाई पक्राउ गर्यो।
अनुसन्धानबाट महाराजा यो घटनासँग सम्बन्धित रहेको कुरा बेवास्ता गर्न गाह्रो रहेको खुलासा भयो। पक्राउ परेका अधिकांश पुरुषहरू इन्दौरको उनै महाराजाले शासन गरिरहेको राज्यका जागिरे थिए। उनीहरूले त्यही समयमा बिदाको लागि आवेदन दिएका थिए र अपराधको समयमा बम्बईमा थिए।
ब्रिटिश सरकारलाई परेको आपत्
हत्याले ब्रिटिश सरकारलाई कठिन परिस्थितिमा पुर्यायो। यो घटना बम्बईमा भएको भए पनि अनुसन्धानले स्पष्ट रूपमा यो षड्यन्त्र इन्दौरमा योजना गरिएको थियो भन्ने देखायो, जहाँका राजाको ब्रिटिशसँग बलियो सम्बन्ध थियो।
'द न्यू स्टेट्सम्यान'ले उक्त घटना कुनै सानो राज्यमा भएको भए "चिन्ताको कुनै खास कारण नहुने" तर यो भने ब्रिटिश सरकारका लागि "सबैभन्दा अप्ठ्यारो मामिला" भनेर लेखेको थियो।
"तर इन्दौर ब्रिटिश राजको शक्तिशाली सामन्त भएको छ," उसले लेखेको थियो।
सुरुमा ब्रिटिश सरकारले हत्याको इन्दौर सँगको सम्बन्धबारे सार्वजनिक रूपमा मौन रहने प्रयास गरेको थियो। तर भित्री रूपमा उसले पनि धेरै चिन्तासहित त्यसबारे छलफल गर्यो। बम्बई सरकार र ब्रिटिश इन्डियाबीच भएको सञ्चारले त्यसलाई देखाउँछ।
बम्बईका पुलिस कमिश्नर प्याट्रिक केलीले ब्रिटिश सरकारलाई सबै प्रमाणहरूले " इन्दौरमा रचिएको षड्यन्त्र वा इन्दौरबाट भाडाका व्यक्तिहरूलाई मुमताजलाई अपहरण गर्नका लागि उक्साइएको"तर्फ सङ्केत गरेको बताए।
सरकारले विभिन्न पक्षबाट दबाबको सामना गर्यो। बावला सम्बद्ध धनी मानिसहरूको मेमन समुदायले सरकारसँग उक्त विषय उठायो। मेमन मुस्लिम समुदाय हो, जसको मूल हालको गुजरातमा रहेको थियो।
बवालका नगरपालिकामा कार्यरत साथीहरूले उनको हत्यामा शोक व्यक्त गर्दै भने, "यो घटनाको पछाडि पक्कै केही हुनुपर्छ।"
ब्रिटिश इन्डियाको विधायिकाको माथिल्लो सदनमा भारतीय सांसदहरूले जबाफ माग गरे र उक्त मुद्दाबारे ब्रिटिशको तल्लो सदन हाउस अफ कमन्समा पनि छलफल भयो।

तस्बिर स्रोत, Alamy
एक पूर्व प्रहरी अधिकारी रोहिदास नारायण दुसारले आफ्नो पुस्तकमा हत्याबारे लेख्दै अनुसन्धान सुस्त गतिमा अघि बढाउन दबाव रहेको तर प्रहरी आयुक्त केलीले राजीनामा दिने धम्की दिएको उल्लेख गरेका छन्।
उक्त मुद्दा बम्बई उच्च अदालतसम्म पुग्दा त्यहाँ अभियोजन र प्रतिवादी दुवैतर्फ वरिष्ठ वकिलहरू थिए।
तीमध्ये एक मोहम्मद अली जिन्नाह थिए, जो पछि सन् १९४७ मा भारतको विभाजनपछि पाकिस्तानका राष्ट्रपिता बने। जिन्नाहले एक अभियुक्त र इन्दौर सेनाका शीर्ष जेनरल आनन्दराव गङ्गाराम फणसेको तर्फबाट वकालत गरे। जिन्नाहले उनलाई मृत्युदण्डको सजाय हुनबाट जोगाएको बताइन्छ।
अदालतले तीन जनालाई मृत्युदण्ड र तीन जनालाई आजीवन कारावासको सजाय सुनाएको थियो। तर यसले महाराजालाई जबाफदेही बनाउन सकेन।
सुनुवाइको नेतृत्व गर्ने न्यायाधीश एलसी क्रम्पले सुनुवाइपछि यस्तो उल्लेख गरे "उनीहरू [आक्रमणकारीहरू] पछाडि व्यक्तिहरू थिए, जसलाई हामी ठ्याक्कै सङ्केत गर्न सक्दैनौँ।"
"तर जहाँसम्म १० वर्षसम्म इन्दौरका महाराजाकी 'भित्रिनी' रहेकी एउटी महिलालाई अपहरण गर्ने प्रयास गरिएको छ, त्यहाँ इन्दौरलाई यो आक्रमण भएको ठाउँको रूपमा हेर्नु कम्तीमा अनुचित हुँदैन।"
मुद्दाकै कारण ब्रिटिश सरकारले महाराजाविरुद्ध तत्कालै कारबाही गर्नुपरेको थियो। उसले उनलाई दुई विकल्प दियो : भारतको संसद्मा पेस गरिएका कागजातअनुसार छानबिन आयोगको सामना गर्नु वा पदत्याग गर्नु।
महाराजाले राजीनामा दिए।
"मालाबार हिल ट्र्याजेडीसँग मेरो कथित सम्बन्धबारे थप अनुसन्धान गरिने छैन भन्ने बुझाइमा म मेरो छोराको पक्षमा मेरो सिंहासन त्याग्छु," उनले ब्रिटिश सरकारलाई लेखे।
राजगद्दी त्याग गरेपछि महाराजाले आफ्नो परिवार र समुदायको इच्छाविपरीत अमेरिकी महिलासँग विवाह गर्ने जिद्दी गरेर थप विवाद निम्त्याएका थिए। ब्रिटिश गृह मन्त्रालयका अनुसार अन्ततः ती महिलाले हिन्दूधर्म अँगालिन् र उनीहरूले विवाह गरे।
यसैबीच मुमताज बेगमलाई हलिवुडबाट प्रस्ताव आयो र उनी अमेरिका गइन्। त्यसपछि उनी गुमनाम भइन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








