लाहोरको शाही इलाकाको नाम हीरामन्डी कसरी रह्यो?

तस्बिर स्रोत, NETFLIX
- Author, जयदीप वसन्त
- Role, बीबीसी पत्रकार
बलिवुडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामन्डी– द डायमन्ड बजार’ नेटफ्लिक्समा रिलिज भएको छ।
त्यसका लागि लागि बनाइएको भव्य सेट र उत्कृष्ट छायाङ्कनको दक्षतासम्मका कारण उक्त सिरिजको चर्चा भइरहेको छ।
आठ एपिसोडको यो शृंखला रिलिज भएदेखि नै चर्चामा छ। कतिपयले यसको प्रशंसा गरिरहेका छन् भने कसैले आलोचना।
हीरामन्डीको कथा भारतको विभाजनअघि लाहोरमा बस्ने एक जना यौनकर्मी महिला मल्लिका जान र उनको यौनशाला वरिपरि घुम्छ।
दशकौँअघि हिरामन्डी नाच, सङ्गीत र सभ्यताको केन्द्र थियो तर समयसँगै परिवर्तन हुँदै गएपछि यो क्षेत्र ‘बदनाम’ बन्न पुगेको थियो।
इतिहासकारका अनुसार यो क्षेत्रको इतिहास ४५० साल पुरानो छ र त्यसको विवरण निकै रोचक रहेको पाइन्छ।
हीरामन्डीको अस्तित्व
सम्राट अकबरको शासनकालमा लाहोर शहर उनको राज्यको केन्द्रमा थियो र त्यसबेला हीरामन्डी क्षेत्रलाई शाही मोहल्ला भनिन्थ्यो।
अहिले पनि लाहोरका केही क्षेत्रहरू जस्तै हैदरी गली, तुबी गली, हीरामन्डी र किला रोडमा रहेको नोवल्टी चोकहरू 'शाही मोहल्ला' नामले नै चर्चित छन्।
शाही कालमा राजपरिवार र उनीहरूका निकट कर्मचारी तथा अन्य कर्मचारी बस्ने क्षेत्रलाई ‘शाही मोहल्ला’ भनिन्थ्यो।
अचेल पनि अटो रिक्सा वा ट्याक्सीबाट ती क्षेत्रमा जानेहरू ‘शाही मोहल्ला’ नै जाने भन्छन्। त्यहाँ अवस्थित धेरै 'यौनशाला'हरू मुगल कालमा बनेका थिए र त्यो त्यस क्षेत्रका लागि स्वर्णयुग थियो।

तस्बिर स्रोत, Getty Images
स्टेज निर्देशक प्राध्यापक त्रिपुरारी शर्मा मुगलकालमा ती क्षेत्रमा सत्तासँग सम्बन्ध भएका धनी र तिनका परिवारको बसोबास रहेको बताउँछिन्।
खुसीका अवसरमा राजदरबारमा उनीहरूका कार्यक्रम हुने गरेको प्राध्यापक शर्मा बताउँछिन्।
उनी भन्छिन्, "अहिले जसरी 'कोठा' शब्दलाई व्याख्या गरिन्छ त्यो सही होइन। कुनै समय कलाको केन्द्र नै कोठा हुन्थ्यो र त्यहाँ गायन, संगीत तथा नृत्य मात्र हुन्थ्यो।"
उनले भनिन्, "कोठामा आबद्ध महिलाहरूले आफूलाई कलाकार वा अभिनेत्री भन्ने गर्थे। त्यहाँ उत्कृष्ट लेख र कविताहरू रचिन्थे। कोठामा निकै माथिल्लो तहको चर्चा हुन्थ्यो र मानिसहरू शिष्ट कुराकानी कसरी गर्ने भन्ने सिक्न पनि त्यहाँ पुग्थे।"
प्राध्यापक त्रिपुरारी शर्माले भनिन्, "समाजमा वार्ता र तर्क कसरी गर्ने भन्ने जान्न मानिसहरु त्यहाँ जाने गर्थे।"
सोह्रौँ शताब्दीको अन्त्यसम्म लाहोर 'मुगल सल्तनत'को केन्द्र नभए पनि त्यहाँ सत्ताको प्रभाव रह्यो।
'शाही मोहल्ला' कहिले अन्य कारणले चर्चामा आयो?
करण जोहरको फिल्म ‘कलङ्क’मा ‘हसनाबाद’ नामको सहर देखाइएको छ। त्यसका लागि प्रेरणा हीरामन्डी क्षेत्रबाट मिलेको देखिन्छ।
मुगलहरूको पतनसँगै भारतीय उपमहाद्वीपमा मराठाहरू बलियो हुँदै गएका थिए र अहमद शाह अब्दालीको आक्रमणको सामना गरिरहेका थिए।
अब्दालीले पञ्जाब, उत्तरी भारत र राजपुतानामा आक्रमण गरे र उनको सेनाले सुरुमा धोबीमन्डी र हीरामन्डी नजिकैको मोहल्ला दारा शिकोहको क्षेत्रमा आफ्नो सेनाको शिविर स्थापना गरे।
त्यहाँ बसोबास गर्ने गणिकाहरूको पनि राजपरिवारका सदस्यहरूसँग सम्पर्क थियो।
अब्दालीको आक्रमणपछि उत्पन्न भएको अवस्थाका कारण त्यस क्षेत्रमा गरिबी बढ्न थाल्यो।
त्यसले गर्दा पैसाका लागि त्यहाँ महिलाहरूले आफ्नो शरीर बेच्न बाध्य भए र त्यसको व्यापार त्यहाँ बढ्न थाल्यो।

तस्बिर स्रोत, HERITAGE IMAGES
त्यो अवस्थामा गरिबीले पीडित महिलाहरूले रोजगारीका लागि यौन व्यवसाय अपनाउन थाले।
त्यस बेला मुगल गभर्नरले अब्दालीको आक्रमणलाई रोक्न खोजिरहेका थिए।
विभिन्न गुट र सेनाबीचको द्वन्द्वका कारण उत्पन्न अराजकताका कारण त्यो क्षेत्र पनि प्रभावित भएको थियो।
उथलपुथलको त्यो अवधिपछि सन् १७९९ मा लाहोरमा महाराजा रणजीत सिंहको शासन स्थापित भएको थियो। रणजीत सिंहको पालामा त्यो क्षेत्रले खासै समस्या भोग्नु परेको थिएन।
सोही अवधिमा महाराजा रणजीत सिंहका भारदार हीरा सिंहको नामबाट उक्त स्थानको नाम हीरामन्डी राखिएको थियो।
महाराजा रणजीत सिंहको शासनकालमा लाहोर फेरि एउटा प्रमुख केन्द्रको रूपमा विकास भयो।
त्यसको शाही महिमा पनि फर्कियो अनि त्यो मार्च १८४९ मा ईस्ट इन्डिया कम्पनीले लाहोर कब्जा नगरेसम्म जारी रह्यो।
ब्रिटिश र हीरामन्डी
प्राध्यापक शर्माका अनुसार अङ्ग्रेज सत्तामा आएपछि विद्रोहको कारण बन्न सक्ने सबै कुरा बन्द गर्न थाले र यौन व्यवसायीका लागि पनि लाइसेन्स अनिवार्य गरिदिए।
शर्मा भन्छिन् "'कोठा' लागि लाइसेन्स प्रणाली लागु भएपछि प्रहरीले कानुन कार्यान्वयन गर्नका निम्ति ती ठाउँमा छापा मार्न थाल्यो।"
"अङ्ग्रेजी शासनकालमा प्रहरी अनुसन्धानको बहानामा जुनसुकै बेला त्यहाँ छापा मार्ने गर्दथ्यो।"
"त्यस्तो कुरा सामान्य हुन थाल्यो र त्यस्तो अवस्था देखेर मानिसहरू त्यहाँ जान छोडे अनि बिस्तारै त्यो ठाउँको धारणा परिवर्तन हुन थाल्यो।"
शर्माका भनाइमा सोही परिवर्तनका कारण हाम्रो सामाजिक जीवनको एउटा हिस्सा अर्थात् 'कोठा' गलत रूपमा हेर्न थालियो र अन्तत: त्यो क्षेत्र वेश्यावृत्तिको केन्द्रका रूपमा कुख्यात हुन पुग्यो।

तस्बिर स्रोत, Getty Images
फिल्ममा हीरामन्डी
दादासाहेब फाल्केले सन् १९१३ मा पहिलो हिन्दुस्तानी फिल्म बनाएका थिए।
प्रारम्भिक वर्षहरूमा महिलाहरूले चलचित्रमा अभिनय गर्दैन थिए र पुरुषले नै महिलाको नक्कल गरेर चलचित्रमा महिलाको भूमिका खेल्थे।
विभाजनपूर्व भारत र पाकिस्तानको फिल्म उद्योगमा काम गर्ने धेरै कलाकारहरू हीरामन्डीमा बसोबास गर्थे।
भारत र पाकिस्तानको विभाजनपछि त्यहाँ बसोबास गर्ने धेरै मानिस भारत आए र यहाँको फिल्म उद्योग र अन्य क्षेत्रमा लागेर जीवनयापन गर्न थाले।
पाकिस्तानी लेखिका फौजिया सईदले पनि आफ्नो पुस्तकमा हीरामन्डीबारे लेखेकी छन्।
उनले आफ्नो पुस्तक ‘ट्याबुः द हिडन कल्चर अफ ए रेड लाइट एरिया’ लेख्नका लागि आठ वर्ष हिरामन्डीको अनुसन्धान गरिन्।
फौजिया सईदले त्यहाँ बस्ने महिला र अन्य समुदायका मानिसहरूको जीवनका धेरै पक्षहरू बाहिर ल्याएकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








