माथिल्लो तामाकोशी आयोजनाको 'प्रगति'पछि हिउँदमा 'लोडशेडिङ' हुने सम्भावना कति

तस्बिर स्रोत, UTKHPL
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
बाढीपहिरोले क्षति पुर्याएको झन्डै तीन महिनाअघि माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आंशिक विद्युत् उत्पादन सुरु भएपछि त्यसले सुक्खा याममा "केही हदसम्म राहत" दिएको अधिकारीहरूले बताएका छन्।
स्वदेशी लगानीको ४५६ मेगावाट क्षमताको उक्त आयोजनामा असोज महिनाको विध्वंसकारी विपद्ले ठूलो क्षति पुर्याएको थियो।
त्यसयता सो आयोजनाबाट उत्पादन रोकिएको थियो भने त्यसकै कारण कतिपयले यो हिउँदमा 'लोडशेडिङ' हुन सक्ने चिन्तासमेत व्यक्त भएका थिए।
तर बीबीसीसँग कुरा गर्दै नेपाल विद्युत् प्राधिकरणका प्रवक्ताले अझै पनि दैनिक माग पूरा गर्न चुनौती रहेको भए पनि घरायसी उपभोक्ताका लागि 'लोडशेडिङ' भने नहुने बताए।
माथिल्लो तामाकोशीको पछिल्लो प्रगति के हो?

तस्बिर स्रोत, UTKHPL
माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका सूचना अधिकारी मित्रमणि पोखरेलले असोज १२ गतेबाट बन्द रहेको विद्युत् उत्पादन मङ्गलवारबाट सुरु भएको जानकारी दिए।
उनी भन्छन्, "दुई वटा बालुवा थिग्र्याउने पोखरीमध्ये एउटाको निर्माण सम्पन्न भएर त्यसलाई भरेर उत्पादन सुरु भएको छ।"
उनले बाढी पहिरोका कारण क्षति पुगेको अर्को त्यस्तै पोखरीको निर्माणपछि मात्रै यो आयोजना पूर्ण स्तरमा सञ्चालनमा आउन सक्ने बताए।
यसअघि अधिकारीहरूले पुस १० गतेभित्र नै माथिल्लो तामाकोशी आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्ने बताएका थिए।

तस्बिर स्रोत, UTKHPL
तर पोखरेलले बालुवा थिग्र्याउने दोस्रो पोखरीको मर्मतका लागि अझै केही समय लाग्ने भन्दै त्यसमा 'धेरै क्षति पुगेको र पूरै मर्मत गर्नुपर्ने' अवस्था रहेको बताए।
उनले भने, "त्यहाँको भूमिगत सुरुङ पूरै क्षतविक्षत भएको छ। त्यसको पुनर्निर्माण योजना बनाउने काम भइरहेको छ। विस्तृत कार्यक्रम चाँडै आउँछ।"
नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको स्वायत्त माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडअन्तर्गतको यो परियोजना सन् २०२२ को अगस्ट महिनाबाट सञ्चालनमा आएको हो।
अर्धजलाशययुक्त नदी प्रणालीमा आधारित उक्त आयोजनालाई प्राधिकरणले हिउँदको समयमा भार व्यवस्थापन गर्न प्रयोग गर्दै आएको छ।
स्वदेशी स्रोत र व्यवस्थापनमा ११ वर्षमा बनेको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको लागत करिब ८६ अर्ब रुपैयाँ थियो।
विद्युत् प्राधिकरण के भन्छ?

तस्बिर स्रोत, RSS
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष माथिल्लो तामाकोशीको आंशिक सञ्चालनले केही सहयोग पुर्याउने बताउँछन्।
उनले भने, "हाम्रो प्रणालीमा आपूर्ति र माग सम्बोधन गर्न चुनौती छ। अपुग धेरै नै छ। यसले केही हदसम्म राहत चाहिँ दिएको छ।"
नेपालको हाल जलविद्युत् जडान क्षमता झन्डै ३,४०३ मेगावाट पुगेको छ। तर अधिकांश जलविद्युत् आयोजनाहरू नदी प्रणालीमा आधारित भएकाले हिउँद महिनामा उल्लेख्य रूपमा बिजुली उत्पादन घट्ने गर्छ।
अघिल्ला वर्षमा यो वर्ष हिउँदमा कुल क्षमताको करिब एक तिहाइ मात्र विद्युत् उत्पादन हुन थालेको अधिकारीहरू बताउँछन्।
नेपालले भारतको प्रतिस्पर्धी विद्युत् बजारबाट ८०० मेगावाटसम्म विद्युत् किन्ने गरेको थियो। यो वर्ष पुसबाट थप ६५० मेगावाट बिजुली किन्न थाल्ने ऊर्जामन्त्री दीपक खड्काले हालै सार्वजनिक रूपमा बताएका थिए।
नेपालले भारतको उत्तर प्रदेश र बिहारबाट थप ६०० मेगावाट बिजुली आयातको प्रस्ताव गरेको थियो। तर भारतले त्यसबारे कुनै जबाफ नदिएको बताइएको थियो।
यद्यपि नेपालको ऊर्जा मन्त्रालयले त्यसबारे आएका विभिन्न समाचार विवरणको खण्डन गर्दै 'भारतीय विद्युत् व्यापार कम्पनीसँग सीधा वार्तामा आधारित दुईपक्षीय सम्झौता वा बोलकबोलमार्फत् वा पावर एक्सचेन्ज कमिटी अन्तर्गत' नेपाल विद्युत् प्राधिकरणले आवश्यक विद्युत् आयात गर्नसक्ने जनाएको थियो।
अधिकारीहरू थप विद्युत् खरिद प्रक्रियामा भएको प्रगतिबारे प्राधिकरणको सञ्चालक समितिले जवाफ दिन सक्ने बताउँछन्। उक्त समितिको नेतृत्व ऊर्जामन्त्रीले गर्ने गर्छन्।
विद्युत् प्राधिकरणका प्रवक्ता घोषले हाल ६०० मेगावाट जति विद्युत् अपुग रहेको बताए।
घोषका अनुसार साँझ ५ बजेदेखि राति ९ बजेसम्म नेपालमा सबैभन्दा धेरै बिजुलीको माग हुने गर्छ।
अधिकारीहरूका अनुसार त्यस अवधिमा भारतबाट विद्युत् आयात हुँदैन तर अघिपछि हुन्छ।
के यसपालि 'लोडशेडिङ' हुन्छ?

तस्बिर स्रोत, RSS
नेपाल विद्युत् प्राधिकरणले विसं २०७३ सालको लक्ष्मी पूजाकै दिनबाट सर्वसाधारण उपभोक्ता र २०७५ सालबाट औद्योगिक क्षेत्रमा 'लोडशेडिङ' अन्त्य भएको घोषणा गरेको थियो।
यसपालि पनि घरेलु खपत गर्ने वर्गमा 'लोडशेडिङ' नहुने विद्युत् प्राधिकरणका अधिकारीहरू बताउँछन्।
प्रवक्ता घोषको भनाइ छ, "नेपालको जुनसुकै गाउँमा घरहरूमा यो पालि पनि बिजुली अनवरत बल्छ। गार्हस्थ्य वर्गमा 'लोडशेडिङ' हुँदैन।"
'पीक आवर'मा उद्योगहरूमा आपूर्ति बन्द गरेर प्राधिकरणले सर्वसाधारण उपभोक्तालाई विद्युत् दिने गरेको अधिकारीहरू बताउँछन्।
प्रवक्ता घोषले सबैतिरका उद्योगको बिजुली उक्त अवधिमा नकाटिने गरेका उल्लेख गर्दै निश्चित औद्योगिक करिडरमा आपूर्ति प्रभावित भएका बताए।
अधिकारीहरूले काठमाण्डूका उद्योगहरूमा समस्या नरहेको भन्दै अहिले विद्युत् कटौतीबाट हेटौँडा-परवानीपुर करिडर, बुटवल र दुहबी करिडरका ठूला उद्योगहरू प्रभावित भइरहेको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








