आठ वर्षपछि फेरि किन बढ्यो 'लोडशेडिङ' हुने डर

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना

तस्बिर स्रोत, UTKHPL

तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र अस्थायी सञ्चालन गर्ने तयारीबाट नेपाल विद्युत् प्राधिकरण पछाडि हटेसँगै आठ वर्षपछि आगामी हिउँदमा पुनः 'लोडशेडिङ' गर्नुपर्ने जोखिम देखिएको अधिकारीहरूले बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणले विसं २०७३ सालको लक्ष्मी पूजाकै दिनबाट सर्वसाधारण उपभोक्ता र २०७५ सालबाट औद्योगिक क्षेत्रमा 'लोडशेडिङ' अन्त्य भएको घोषणा गरेको थियो। तर नेपालकै सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी केन्द्रबाट अझै लामो समय बिजुली उत्पादन नहुने भएपछि यो हिउँदमा केही क्षेत्रमा विजुली आपूर्ति अपुग हुने र 'लोडशेडिङ' गर्नु पर्ने प्राधिकरणले जनाएको छ।

“यो सुख्खा मौसममा तामाकोशी सञ्चालन हुने अवस्था देखिँदैन। जेठ वा असारसम्ममा मात्रै यो सञ्चालनमा आउँछ,” प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बीबीसीसँग भने।

तर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले केही अत्यावश्यक संरचनाहरूको स्थायी मर्मत सकेर हिउँद नसकिँदै आयोजनाबाट विद्युत् उत्पादन गर्ने प्रयास हुने बताएका छन्।

“कम क्षति भएको बायाँतर्फको बेसिनलाई पूर्ण मर्मत गरेर आयोजनालाई सञ्चालन गर्ने अहिलेको हाम्रो प्रयास छ। त्यसो हुँदा एउटै बेसिनबाट ४५६ मेगावाट क्षमतामा पनि चलाउन सकिन्छ,” उनले भने।

“मङ्सिरभरिमा बायाँ बेसिन मर्मत गरेर प्लान्ट चलाउन हामी लागि परेका छौँ। यद्यपि अनिश्चितताहरू धेरै छन्।”

यसअघि बायाँ तर्फको बालुवा थेग्राउने बेसिनलाई २२८ मेगावाट क्षमतामा मात्रै सञ्चालन गर्दै आइएको थियो।

तामाकोशी सञ्चालनमा नआए लोडशेडिङको जोखिम कस्तो?

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा बाढी

तस्बिर स्रोत, UTKHPL

माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले अबको एक महिनाभित्रै मर्मत सक्ने दाबी गरे पनि आवश्यक सामग्रीको खरिद र ठेक्का प्रक्रियाका लागि समय लाग्ने भएका कारण अनुमान गरिएको भन्दा लामो समय लाग्न सक्ने प्राधिकरणको आकलन छ।

त्यसो हुँदा औद्योगिक क्षेत्रमा लोडशेडिङ हुने “निश्चितजस्तै देखिएको” र सर्वसाधारण उपभोक्ताहरूका हकमा भने प्राविधिक विश्लेषण भइरहेको प्राधिकरणका अधिकारीले बताएका छन्।

“यो हिउँदमा चाहिँ साँझ केही स्थानहरूमा कटौती हुने निश्चित देखिएको छ। केही ग्राहाकवर्गहरू, जस्तो औद्योगिक ग्राहकमा निश्चित असर पर्छ,” घोषले बीबीसीसँग भने।

उनका अनुसार औद्योगिक ग्राहकहरूका लागि देशैभरि बिजुलीको माग उच्च हुने समयमा विद्युत् कटौती हुनसक्छ।

'फेरी लोडशेडिङ नहुनेमा ढुक्क हुने स्थिति छ?' भन्ने बीबीसीको जिज्ञासामा घोषले भने, “अहिले त्यो अवस्था आइसकेको छैन। तामाकोशीको ढिला चालु हुने कुरा हामीले भर्खरै थाहा पाउँदैछौँ। यसको प्रभाव के कति पर्छ मूल्याङ्कन हुँदै छ।”

प्राधिकरणले केही दिनमा यसको विश्लेषण सकेर यसबारे आधिकारिक जानकारी उपलब्ध गराउने बताएको छ।

मेलम्ची जस्तै अस्थायी सञ्चालन गर्ने योजना किन रोकियो?

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मत कार्य

तस्बिर स्रोत, UTKHPL

मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलमा बाढीले क्षति पुर्‍याएपछि हिउँद याममा 'अस्थायी हेडवर्क्स' बनाएर काठमाण्डू उपत्यकामा पानी ल्याएजस्तै माथिल्लो तामाकोशी केन्द्रमा पनि अस्थायी संरचना बनाएर सञ्चालन गर्ने तयारी केन्द्रले सुरु गरेको थियो।

“पहिला हामीहरूले अस्थायी योजना अनुसार सञ्चालनमा ल्याउने र त्यसलाई 'रन अफ रिभर मोड' मा चलाउने सोच राखेका थियौँ। तर त्यो पनि छिटो हुनसक्ने सम्भावना देखिएन। पछि हामीले पूर्ण रूपमै सञ्चालन गर्न आवश्यक काम गर्ने भनेका छौँ,” विद्युत् प्राधिकरणका प्रवक्ता घोषले भने।

माथिल्लो तामाकोशीमा भएको क्षतिको सबै मर्मत गरेर यसलाई पहिलेको स्वरूपमा सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ।

“हेडवर्क्स र कन्ट्रोल रुम निर्माण गर्ने र पूर्ण मर्मत गरेर पहिलेकै अवस्था र क्षमतामा सञ्चालनमा ल्याउने व्यवस्थाको तर्जुमा गर्दा यसको सञ्चालनमा ढिलाइ हुन गएको हो,” प्रवक्ता घोष भन्छन्।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भएको क्षति

तस्बिर स्रोत, UTKHPL

प्राधिकरणले केन्द्रमा भएको क्षतिको मर्मत बर्खाअघि नै सकिने सम्भावना रहेको बताएको छ।

“सुख्खा मौसमको अवसरलाई हामीले छिटो सदुपयोग गरेनौँ र यो केन्द्र अस्थायी रूपमा सञ्चालन गर्‍यौँ भने फेरी यो मौका नपाउन पनि सक्ने अवस्था देखिएका कारण हामीले प्लान्टलाई पुरानै अवस्थामा सञ्चालनमा ल्याउने बरु अहिले अलिकति अप्ठ्यारो परे पनि झेल्ने की भन्ने सोच विद्युत् प्राधिकरणले बनाएको छ,” उनले भने।

बाढी र पहिरोका कारण केन्द्रले संरचना र उपकरण लगायतमा भएको क्षतिबापत एक अर्ब ७८ करोड रुपैयाँको बीमा दाबी गरिएको प्रमुख कार्यकारी अधिकृत गौतमले जानकारी दिए।

माथिल्लो तामाकोशी किन अवरुद्ध छ?

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्षति मूल्याङ्कन हुँदै

तस्बिर स्रोत, UTKHPL

दशैँअघि तीन दिनको अविरल वर्षाका कारण २०० जना भन्दा धेरैको ज्यान जाने गरी देशका अधिकांश स्थानमा आएको बाढी र पहिरोको मारमा स्वदेशी लगानीको सबैभन्दा ठूलो यो जलविद्युत् केन्द्र पनि परेको थियो।

असोज १२ गते केन्द्रको 'कन्ट्रोल रूम' मा माथिबाट पहिरो खस्दा त्यहाँ कार्यरत दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाली सेनाका दुई जना जवान सहित चार जनाको ज्यान गएको थियो।

प्राधिकरणका अनुसार माथिबाट खसेको पहिरो र नदीमा आएको बाढीले केन्द्रको नियन्त्रणकक्ष, बाँध, बालुवा थिग्राउने पोखरी, त्यहाँसम्म पानी लैजाने नहर लगायतका संरचना सहित पहुँच मार्गमा पनि ठूलो क्षति पुर्‍याएको छ।

“असोज ११ गते नै केन्द्रबाट विद्युत् उत्पादन नरोकेको भए अझै धेरै क्षति हुने अवस्था रहेछ। तर नदीमा उच्च बाढी भएका कारण अघिल्लो दिनबाटै प्लान्ट बन्द थियो,” गौतमले भने।

“अगाडिपट्टी रहेको सुन्दर झरनाको माथिबाट आएका ठूलठूला ढुङ्गाका कारण दुई तल्लाको कन्ट्रोल रुम पूर्ण रूपमा ढलेको अवस्था छ।”

बालुवा थिग्राउने दुई वटा पोखरीमध्ये खोला छेउको बायाँतर्फको पोखरीमा कम र भित्तापट्टिको दायाँतर्फको पोखरीमा ठूलो क्षति पुगेको गौतमले जानकारी दिए। माथिबाट ठूला ठूला चट्टानहरू २२५ मिटर लामा पोखरीमा खसेका कारण तिनलाई हटाउन समय लागेको थियो।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मत हुँदै

तस्बिर स्रोत, UTKHPL

केन्द्रले नियन्त्रण कक्ष अब भूमिगत बनाउने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत गौतमले जानकारी दिए।

केन्द्रले यसअघि मङ्सिरबाट अस्थायी रूपमा विद्युत् उत्पादन गर्ने तयारीका लागि पहुँचमार्ग बनाउने र आयोजनास्थलमा थुप्रिएका ढुङ्गा माटो सफा गर्ने काम गरिरहेको थियो।

बालुवा थिग्राउने दुई वटामध्ये एउटा पोखरी मर्मतको गरेर अस्थायी रूपमा केन्द्रबाट मङ्सिरमा १७०, पुसमा १३० र माघबाट ९० मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने दाबी यसअघि गरिएको थियो।

केन्द्रका प्रमुख कार्यकारी अधिकृत गौतमका अनुसार अघिल्लो महिनाको असोजमा दैनिक चार करोड बराबरको विद्युत् उत्पादन गरिरहेको केन्द्रले हिउँदमा कम्तीमा पनि डेढ करोडको क्षति बेहोरिरहेको छ।

स्वदेशी स्रोत र व्यवस्थापनमा एघार वर्षमा बनेको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको लागत करिब ८६ अर्ब रुपैयाँ थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।