नेपालका जलविद्युत् आयोजनाले किन बारम्बार विस्फोटक पदार्थको अभाव खेप्छन्

जलविद्युत् आयोजना

तस्बिर स्रोत, RSS

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

रामेछापमा बन्दै गरेको नुप्से लिखु जलविद्युत् आयोजनाको काम सुरुङ निर्माणमा प्रयोग गरिने विस्फोटक पदार्थको अभावमा दुई महिनादेखि रोकिएको निर्माताले बताएका छन्।

सुरुङ निर्माणका क्रममा चट्टान फुटाउन प्रयोग गरिने ‘इमल्शन’ र ‘डेटनेटर कर्ड’को अभावमा काम रोकिएको यो एउटा मात्रै जलविद्युत् आयोजना भने होइन। एक महिनाअघि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानसँग ४४ वटा आयोजनाले विस्फोटक पदार्थको अभाव भएको गुनासो गरेका थिए।

यो अवधिमा त्यसमध्ये केही आयोजनाका लागि मात्रै विस्फोटक पदार्थ आयातको प्रक्रिया अघि बढेको बताइएको छ।

जलविद्युत् आयोजना मात्रै नभएर सुरुङ मार्ग प्रयोग गरेका सडक आयोजनाहरूका लागि पनि विस्फोटक पदार्थको अभाव भएको गुनासो गृह र रक्षा मन्त्रालयहरूमा आउने गरेको छ।

रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले नेपालमा उत्पादन भएको विस्फोटक पदार्थबाट नपुग्ने अवस्थामा मात्रै भारत वा चीनबाट आयातका लागि सिफारिस दिइने गरिएको बताए।

भारतबाट आयातमा किन समस्या

विस्फोटको तयारी

तस्बिर स्रोत, Nepali Army

भारतले यस्तो विस्फोटक पदार्थ र त्यसको उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ दुवै नेपालमा पठाउनका लागि दिइने अनुमतिमा ढिलाइ गरेको अधिकारीहरू बताउँछन्।

नुप्से लिखु जलविद्युत् आयोजनाका टीएन आचार्यले विस्फोटक पदार्थको अभावका कारण दुई महिनाभन्दा लामो समयसम्म काम रोकिँदा आयोजनालाई ठूलो घाटा भएको बताए।

रामेछापमा बनिरहेको ५७.५ मेगावाटको उक्त आयोजनाका लागि ७.५ किलोमिटर लामो सुरुङ बनाइँदै छ। सुरुङका लागि बाँकी रहेको १.८ किलोमिटर मध्ये एक किलोमिटर काम सक्ने अवधिसम्म आफूहरूले विस्फोटक पदार्थ नै नपाएको आचार्यको गुनासो छ।

“हामीले सबै प्रक्रिया सकेर आयातका लागि ‘नो अब्जेक्शन लेटर’ पर्खिरहेका छौँ। त्यो आएको छैन र किन आएन भन्ने जानकारी पनि हामीलाई दिइएको छैन,” उनले भने।

यस्तो स्वीकृतिका लागि गृह मन्त्रालयको सिफारिस, नेपाली सेना र रक्षा मन्त्रालयको पूर्वस्वीकृति आवश्यक पर्छ। त्यसपछि मात्रै खरिद गरिने मुलुकले त्यस्तो पत्र दिन्छ।

नेपाली सेनाले आफ्नो आयोजनाका लागि आवश्यक सबै विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्ने बताएपछि आचार्यले भारतबाट आयातको प्रक्रिया सुरु गरेका थिए। तर भारतीय पक्षले उनको मात्रै नभएर नेपालका धेरै यस्ता आयोजनाहरूका लागि आवश्यक विस्फोटक सामग्री उपलब्ध गराउन ढिलाइ गरेको अधिकारीहरू बताउँछन्।

“हामीले प्रशासनिक नेतृत्वसँग कुरा गरेका छौँ। तर स्पष्ट जबाफ हामीलाई आएको छैन,” आचार्यले भने।

रक्षा मन्त्रालयका अधिकारीहरू पनि अभावको गुनासो आए पनि के कारण आयात कम भएकोबारे जबाफ दिन नसकिने बताउँछन्।

“यो चाहिँ हामीले पनि भन्न सक्दैनौँ। नेपाली सेनालाई थप जानकारी होला,” मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख ज्ञानेन्द्र पौडेलले भने।

नेपालमा कति विस्फोटक पदार्थ उत्पादन हुन्छ

कालीगण्डकी कोरिडोर

तस्बिर स्रोत, Nepali Army

नेपालले मकवानपुरको सुनाचरीमा आफ्नै इमल्शन प्लान्ट स्थापना गरेको छ। विस्फोटक पदार्थमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित दुई दशकअघि स्थापना र पछि स्तरोन्नति गरिएको यो कारखाना नेपाली सेनाले सञ्चालन गर्दै आएको छ।

सेनाले आफ्नो उत्पादनबाट नपुग हुने अवस्थामा मात्रै आयोजनाहरूका लागि विस्फोटक पदार्थ अन्य देशबाट आयात गर्ने अनुमतिका लागि सिफारिस दिन्छ।

“अप्ठ्यारो ठाउँमा मानिसहरू काम गर्न नसक्ने र सुरक्षाको दृष्टिले जोखिमयुक्त ठाउँमा इमल्शनको प्रयोगबाट चट्टानहरू फुटाउने काम हुन्छ,” रक्षा मन्त्रालयका सहसचिव पौडेल भन्छन्।

सुनाचरी इमल्शन प्लान्टबाट बर्सेनि करिब २,४०० टन विस्फोटक पदार्थ उत्पादन हुँदै आएको सेनाले जनाएको छ। तर नेपालमा निर्माणाधीन ठूला जलविद्युत् आयोजनाहरू, काठमाण्डू-तराई द्रूतमार्ग, सिद्धबाबा सुरुङमार्ग लगातका विकास आयोजनाहरूमा सुरुङ बनाउन आन्तरिक उत्पादनले मात्रै बजारको माग धान्ने अवस्था नरहेको जानकारहरू बताउँछन्।

नेपालमा वार्षिक ४,००० टनभन्दा बढी विस्फोटक पदार्थको माग रहेको अनुमान छ। त्यसका अतिरिक्त इमल्शनलाई विस्फोट गराउन आवश्यक गर्ने 'डेटनेटर कर्ड' जस्ता सामग्री नेपालमा नबन्ने भएका कारण देशबाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ।

नेपाली सेनाले सुनाचरीमा उत्पादन गर्ने विस्फोटक पदार्थका लागि आवश्यक कच्चा पदार्थ र डेटनेटरजस्ता सामग्री पनि भारतबाट नै खरिद गर्दै आएको छ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले कच्चा पदार्थको अभावमा कहिलेकाहीँ नेपाली कारखानाको उत्पादन पनि रोकिने गरेको बताए।

“कच्चा पदार्थको अभावले कहिलेकाहीँ ढिलोचाँडो हुने अलग कुरा भयो। तर हाम्रोमा उत्पादन भइरहेको छ र बजारको माग र नियम अनुसार हामीले भएसम्म दिएकै छौँ,” केसीले बीबीसी न्यूज नेपालीसँग भने।

“तर माग धेरै भएपछि हाम्रो उत्पादनले धान्न नकसेको चाहिँ हो।”

उनले विकास निर्माणका काममा प्रयोग हुने विस्फोटक पदार्थको बजारमा अभाव भएको जानकारी नेपाली सेनाले पनि सञ्चारमाध्यमहरूबाट पाएको बताएका छन्।

“बजारमा अभाव भएको जस्तो देखिएको छ,” उनले भने। “हामीहरूकहाँ पनि माग बढ्दो छ। हामीसँग भएको उत्पादन भएसम्म सडक जलविद्युत्‌मा दिइरहेकै छौँ।”

नेपाली सेनाको कारखानामा एउटा मात्रै शिफ्टमा काम हुने गरेका कारण पनि कारखानाले क्षमतानुसार उत्पादन गर्न नसकेको जानकारहरू बताउँछन्।

किन भारतबाट धेरै आयात हुन्छ

जलविद्युत् आयोजनाको सुरुङ

तस्बिर स्रोत, RSS

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले नेपाली सेनाले उत्पादन गर्ने विस्फोटक पदार्थले बजारको २० प्रतिशतभन्दा कम मात्रै माग पूरा गरिरहेको बताए।

बाँकी ८० प्रतिशत विस्फोटक पदार्थ भारत वा चीनबाट आयात भइरहेको इप्पानको दाबी छ। रक्षा मन्त्रालयका अधिकारीहरूले यसबारेको तथ्याङ्क नभएको बताएका छन्।

नेपालमा भारतबाट आयात हुने विस्फोटक पदार्थ भन्सार बिन्दुसम्म आइपुग्दा प्रतिकेजी १७० रुपैयाँ पर्ने गरेको इप्पानका उपाध्यक्ष आनन्द चौधरीले बताए। उनका अनुसार चीनबाट विस्फोटक पदार्थ आयात गर्दा भारतभन्दा दोब्बर मूल्य पर्छ।

“एक त चीनमा यसको मूल्य महँगो छ अर्को ढुवानी खर्च पनि महँगो हुने र समय धेरै लाग्ने भएकाले धेरैले भारतबाटै आयातका लागि स्वीकृति लिन्छन्,” उनले भने।

नेपाली सेनाले उत्पादन गर्ने विस्फोटक पदार्थको मूल्य भने प्रतिकेजी २४९.८८ रुपैयाँ तोकिएको छ।

जलविद्युत् आयोजनाको क्षमता र सुरुङको लम्बाइअनुसार यस्ता आयोजनाहरूका लागि आवश्यक पर्ने विस्फोटक पदार्थको आवश्यकता फरकफरक हुने गर्छ।

“औसत सुरुङको आकार भएका आयोजनाहरूका लागि सामान्यतया २०० देखि ३०० टन विस्फोटक पदार्थ खपत हुन्छ,” इप्पानका उपाध्यक्ष चौधरी भन्छन्।

सात किलोमिटरभन्दा लामो सुरुङ बनाइरहेको नुप्से लिखु आयोजनाले ५०० टन लाग्ने आकलन गरेको थियो।

नेपालमा बन्ने १० मेगावाटभन्दा ठूला अधिकांश जलविद्युत् आयोजनाले पानी लैजानका लागि सुरुङ बनाउने गरेका छन्। नेपालमा अहिले ३,२०० मेगावाट क्षमता बराबरका जलविद्युत् आयोजनाहरू निर्माणाधीन रहेको र त्यसमध्ये अधिकांश आयोजनाहरूले सुरुङ बनाइरहेको इप्पानले जनाएको छ।

विस्फोटक पदार्थको प्रयोगबाट काम छिटो हुने लागत कम हुने मात्र नभई चट्टानी भूगर्भ भएका कतिपय ठाउँमा यस्तो विस्फोटक पदार्थ अत्यावश्यक जस्तै हुने जानकारहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।