भारतलाई बेचेको बिजुलीको आयबाट फेरि नेपाललाई विद्युत् किन्न पुग्ला कि नपुग्ला

तस्बिर स्रोत, RSS
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
चालु आर्थिक वर्षमा निर्यात गरिएको जलविद्युत्बाट भएको आम्दानीले नै नेपालले भारतबाट आयात गरिने बिजुलीको सम्पूर्ण रकम भुक्तानी गर्न सक्ने प्रक्षेपण गरिएको नेपाल विद्युत् प्राधिरणले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले यो आर्थिक वर्षको छ महिनामा जलविद्युत् निर्यातबाट भएको आम्दानीका आधारमा त्यस्तो अनुमान गरिएको प्राधिकरणका कार्यकारी निर्देशकले बताए।
कुलमान घिसिङले भने, "यसपालि भारततर्फ बिजुली बिक्री पनि बढ्यो। भाउ पनि केही बढेर आयो। त्यसले निर्यातको रकम वृद्धि भएको हो।"
"यसपालि हामी भारतसँग सन्तुलनमा हुन्छौँ भन्ने अनुमान गरेका छौँ।"
गत वर्ष आफूले भारतलाई बेचेर कमाएकोभन्दा निकै बढी रकमको बिजुली नेपालले उक्त देशसँग किन्नुपरेको थियो।
बर्खायाममा निर्यात गर्दै आएको नेपालले हिउँद तथा सुक्खायाममा स्वदेशी माग धान्न भारतबाटै बिजुली किन्दै आएको छ।
हाल विद्यु्त् धेरै खपत हुने समयमा भारतबाट दैनिक ३५० सय मेगावाटभन्दा बढी बिजुली आयात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरण र नेपालको केन्द्रीय ब्याङ्कले सार्वजनिक गरेका विवरण तथा प्रतिवेदनहरूअनुसार नेपालबाट भारतमा हुने बिजुली निर्यात बढिरहेको देखिन्छ।
चालु आर्थिक वर्षको छ महिनामा प्राधिकरणले करकट्टी नगर्दाको नाफा पनि उल्लेख्य वृद्धि भएको छ।
त्यसले गर्दा यो वर्ष भारतसँगको विद्युत् व्यापारमा सन्तुलनमा रहने ठानिएको प्राधिकरणका कतिपय अधिकारीहरू बताउँछन्।
यसपालि भारततर्फ बिजुली बिक्री पनि बढ्यो। भाउ पनि केही बढेर आयो। त्यसले निर्यातको रकम वृद्धि भएको हो...
नाफा कति
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ब्याज र अन्य आर्जनसहित उसले कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको थियो।
त्यस अवधिमा उसको कुल खर्च ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ भएको विवरण सार्वजनिक गरिएको छ।

तस्बिर स्रोत, NEA
यस अवधिको नाफाबारे प्राधिकरणले सार्वजनिक गरिएको एउटा विवरणमा भनिएको छ, "… अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) रु १५ अर्ब ३६ करोड ०६ लाख हुने अनुमान रहेको छ।"
गत वर्षको सोही अवधिमा ब्याज तथा अन्य आर्जनसहित कुल आम्दानी ५८ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ रहेको थियो। त्यस अवधिमा उसले ४७ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ खर्च गरेको थियो।
नेपाल विद्युत् प्राधिकरणले गत वर्षको पहिलो छ महिनामा कर भुक्तानी गर्नु अघिको नाफा १० अर्ब ९१ करोड ५९ लाख ७७ हजार रुपैयाँ कमाएको थियो।
गत आर्थिक वर्षमा भने प्राधिकरणले कुल आम्दानी एक खर्ब १७ अर्ब ४६ करोड ८० लाख रुपैयाँ गरेकोमा एक खर्ब पाँच अर्ब सात करोड ५० लाख रुपैयाँ खर्च गरेको थियो। त्यस वर्ष उसले जम्मा १२ अर्ब ३९ करोड ३० लाख नाफा गरेको उसको प्रतिवेदनमा उल्लेख छ।
भारतमा निर्यात

तस्बिर स्रोत, RSS
विद्युत् प्राधिकरणले केही वर्षदेखि बर्खायाममा नेपाली बिजुली भारतमा निर्यात गर्दै आएको छ।
चालु आर्थिक वर्षको छ महिनामा नेपालले भारतलाई एक अर्ब ४७ करोड ६४ लाख यूनिट बिजुली निर्यात गरेको छ।
त्यसबापत नेपालले १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ।
गत वर्षको सोही अवधिमा नेपालले कुल एक अर्ब पाँच करोड ८६ लाख ४३ हजार यूनिट बिजुली भारततर्फ पठाइएको थियो।
त्यसबापत नेपालले कुल आठ अर्ब ४३ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको थियो।
गत आर्थिक वर्षभरिमा भने नेपालले भारतमा बिजुली बिक्री गरेर झन्डै १०.५ अर्ब रुपैयाँ आम्दानी गरेको थियो।
भारतबाट आयात
नेपालले आफूले पठाउनेभन्दा बढी रकम बराबरको बिजुली भारतबाट हरेक वर्ष किन्दै आएको छ।
यद्यपि यसपालि त्यस्तो हुने सम्भावना कम बनेको र विद्युत् व्यापारमा भारतसँग सन्तुलन हुने आशा प्राधिकरणका अधिकारीहरूको छ।
चालु आर्थिक वर्षको छ महिनामा नेपालले भारतबाट बिजुली आयात गरेबापत एक अर्ब ९८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ। यद्यपि हिउँद र सुक्खा मौसम भएकाले अहिले त्यो रकम बढ्दो क्रममा रहेको प्राधिकारणका अधिकारीहरूले जानकारी दिएका छन्।
गत वर्षको पहिलो छ महिनाको अवधिका तुलनामा यसपालि कम रकमको बिजुली आयात गर्नुपरेको प्राधिकरणको विवरणमा उल्लेख छ। गत वर्षको पहिलो छ महिनामा नेपालले तीन अर्ब ९० करोड ७३ लाख रुपैयाँ बराबरको बिजुली भारतसँग किनेको थियो।
त्यस्तै गत आर्थिक वर्षमा कुल १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको बिजुली भारतसँग खरिद गरेको थियो।

तस्बिर स्रोत, NEA
नाफा कहाँ जान्छ
प्राधिकरणका अधिकारीका भनाइमा उसले कमाएको नाफा मूलत: पूर्वाधार विस्तार तथा मर्मतसम्भारमा खर्च गर्ने गर्छ।
नेपाल सरकारबाट खासै ठूलो बजेट प्राप्त नभएकाले प्राधिकरणले नाफाबाटै कतिपय कामहरू गरिरहेको उनीहरूको भनाइ छ।
"पूर्वाधार विस्तार र विद्युतीकरणतर्फका आयोजनाहरूमा अर्बौँ रुपैयाँ खर्च गरिरहेका छौँ," प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने।
उनका भनाइमा मुख्य गरी नाफाबाट प्रसारणलाइन विस्तार, प्राधिकरणको सेवा विस्तार तथा पूर्वाधारहरूको मर्मतमा धेरै खर्च हुने गरेको छ। विभिन्न आयोजनाहरूमा पनि प्राधिकरणले लगानी गर्ने गरेको छ।
"पछिल्ला वर्षहरूमा प्राधिकरणले नाफा कमाउँदै गएको छ। त्यसमा निर्यातका साथै हामीले केही खर्चमा नियन्त्रण पनि गरेका छौँ। बर्खायाममा उत्पादन पनि बढेको छ," उनले भने।
"अहिले हामीलाई सरकारले रकम दिएको छैन। पाँच प्रतिशतमा ऋण दिने हो, त्यो पनि गत वर्षकै बाँकी छ। त्यसैले हामीले नाफाकै रकम खर्च गरेर गर्नुपर्छ।"
वित्तीय अवस्था कस्तो

तस्बिर स्रोत, Getty Images
प्राधिकरणको वित्तीय अवस्थामा केही वर्षयता सुधार हुँदै आएको सरकारी प्रतिवेदनले देखाएको छ।
अर्थ मन्त्रालयले प्रत्येक वर्ष प्रकाशन गर्ने सार्वजनिक संस्थानहरूको वित्तीय अवस्थाको ताजा प्रतिवेदनअनुसार प्राधिकरणको चुक्ता पुँजी एक खर्ब ७२ अर्ब रुपैयाँ छ।
उसको 'नेट वर्थ' वा खुद सम्पत्ति दुई खर्ब रुपैयाँभन्दा बढी देखिन्छ भने आर्थिक वर्ष २०७८/७९ को खुद नाफा १३.३७ अर्ब रुपैयाँ रहेको छ।
उक्त आर्थिक वर्षसम्म प्राधिकरणको सञ्चित नाफा २४.८ अर्ब रुपैयाँ छ।
सरसर्ती हेर्दा प्राधिकरणको नाफा धेरै भएको देखिए पनि उसको चुक्ता पुँजीको तुलनामा भने त्यो केबल सात प्रतिशतको हाराहारीमा छ।
प्राधिकरणलाई विगतमा सरकारले २७ अर्ब रुपैयाँको सञ्चित घाटा मिनाहा गरिदिएको थियो।
सन् २०१० मा सरकारले प्राधिकरणको सञ्चित घाटा मिनाहा गरिदिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








