विद्युत् प्राधिकरणले शेअर जारी गर्दा बजारमा कस्तो असर पर्ला

- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
नेपाल विद्युत् प्राधिकरण नेपालका ठूलामध्ये एउटा सार्वजनिक संस्थान हो। शेअर बजारमा प्रवेश गर्ने उसको योजना सार्वजनिक भएपछि त्यसले देशको पुँजीबजारमा कस्तो असर पार्ला भन्ने चर्चा हुन थालेको छ।
विवरणहरूमा जनाइएअनुसार प्राधिकरणले प्रिमियम मूल्यमा ठूलो परिमाणमा 'इनिशल पब्लिक अफरिङ" (आईपीओ) शेअर जारी गर्न सरकारी निकायसँग अनुमति मागेको छ।
शेअर बजारको अवस्था के छ?

कुल बजार पुँजीकरण ३१ खर्ब रुपैयाँ रहेको नेप्से परिसूचक २०७८ भदौ २ गते ३१९८ को उच्चबिन्दुमा पुगेकोमा त्यसयता घट्दै १,८०० बिन्दुतिर झरेको थियो।
पछिल्ला केही महिनाहरूमा उक्त सूचकाङ्क २,१०० को हाराहारीमा उक्लिएको छ।
लामो समयदेखि तल झरिरहेको नेपालको शेअर बजारमा प्राधिकरण प्रवेशको खबरले केही उत्साह अनि केही संशय देखिएको छ।
मङ्गलवार प्रकाशित कान्तिपुर दैनिकको समाचारमा प्राधिकरणले प्रतिकित्ता २३० देखि २५० रुपैयाँ पर्नेगरी प्रिमियम मूल्यमा शेअर जारी गर्ने तयारी गरेको छ।
“यति ठूलो र नाफामा रहेको कम्पनी पुँजीबजारमा प्रवेश गर्नु भनेको एकदम राम्रो कुरा हो। खासै राम्रो वित्तीय स्वास्थ्य नभएका कम्पनीहरूको साटो राम्रो कम्पनी आउनु भनेको सकारात्मक मान्नुपर्छ,” नेपाल पुँजीबजार लगानीकर्ता सङ्घका प्रवक्ता नवराज घिमिरेले भने।
विगतमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी)ले डेढ करोड कित्ता शेअर ६०० रुपैयाँको प्रिमियम मूल्यमा बेचेको र त्यसले बजारमा निकै सकारात्मक प्रभाव परेको विश्लेषकहरू सम्झिन्छन्।
“उसले त ३५-४०% लाभांश दिएकोदियै गरेको थियो। आशा जगाएको थियो,” उनले भने। एनटीसीको शेअर मूल्य अहिले झन्डै ९०० रुपैयाँ पुगेको छ।
हालै घोराही सिमेन्ट भन्ने कम्पनीले ४०० भन्दा बढी प्रिमियम मूल्यमा ल्याएको शेअरमा पनि मानिसहरू झुम्मिएको उदाहरण दिँदै उनले प्राधिकरण जस्तो कम्पनीको प्रवेश त एकदमै स्वागतयोग्य भएको बताए।
“तर बजार तल झरिरहेको अहिलेको समयमा यति धेरै शेअर बजारमा आउनु समयको हिसाबले कत्तिको ठिक हो भन्ने प्रश्न चाहिँ बाँकी नै छ,” घिमिरेले भने।

तस्बिर स्रोत, Rastriya Prasaran Grid Company
के हो आईपीओ र प्राधिकरणले जारी गर्दा के हुन्छ?
शेअर बजारमा दखल राख्ने व्यवसायी ज्ञानेन्द्रलाल प्रधान अहिले नेपालको पुँजीबजारमा जस्तो कम्पनीको पनि आईपीओ हातहातै बिक्री हुने अवस्था रहेको बताउँछन्।
कुनै कम्पनीले शेअर जारी गरेर सर्वसाधारण मानिससँग पुँजी उठाउने प्रक्रियालाई आईपीओ भनिन्छ।
“त्यसैले प्राधिकरणको प्रवेशलाई शेअर लगानीकर्ताहरूले चासोका साथ लिने नै छन्। तर यो नेपालकै सबभन्दा ठूलो आईपीओ हुने देखिन्छ र यसले नेप्सेजस्तो दोस्रो पुँजीबजार बढ्न भने रोक्न सक्छ किनकि धेरैको चासो र लगानी उसमा जान्छ,” प्रधानले बताए।
“विद्युत् प्राधिकरणले पुँजी उठाएर तलब खुवाउने वा ऋण तिर्ने होइन। उसले त लगानी नै गर्छ। त्यसैले यो राम्रो नै मान्नुपर्छ। तर ठूलो परिमाणमा उसले पुँजी सोस्दा दोस्रो बजारमा असर परिहाल्छ,” उनले भने।
लगानीकर्ता सङ्घका प्रवक्ता घिमिरेका अनुसार अहिले नेपालमा शेयर कारोबार गर्न आवश्यक पर्ने डिम्याट खाता खोल्नेहरूको सङ्ख्या ५७ लाख छ भने 'मेरोशेअर' प्रयोगकर्ता ४८ लाख छन्।
“आईपीओहरूमा अनि शेअर किनबेचमा १२-१४ लाख लगानीकर्ता सक्रिय देखिन्छन् भने दुई लाखजति चाहिँ प्रत्येक दिन शेअर बजार अनुगमन गरेरै बस्नेहरूको सङ्ख्या छ,” उनले भने।

तस्बिर स्रोत, Getty Images
प्राधिकरणको वित्तीय स्थिति कस्तो छ?
नेपाल विद्युत् प्राधिकरणको वित्तीय स्थितिमा केही वर्षयता सुधार हुँदै आएको देखिन्छ।
अर्थ मन्त्रालयले प्रकाशन गर्ने सार्वजनिक संस्थानहरूको वित्तीय अवस्थाबारेको पछिल्लो प्रतिवेदनअनुसार प्राधिकरणको चुक्ता पुँजी एक खर्ब ७२ अर्ब रुपैयाँ छ।
उसको 'नेट वर्थ' वा खुद सम्पत्ति दुई खर्ब रुपैयाँभन्दा बढी देखिन्छ भने आर्थिक वर्ष २०७८/७९ को खुद नाफा १३.३७ अर्ब रुपैयाँ रहेको छ।
उक्त आर्थिक वर्षसम्म प्राधिकरणको सञ्चित नाफा २४.८ अर्ब रुपैयाँ छ।
यदि प्राधिकरणले उसको चुक्ता पुँजीको ३० प्रतिशतजति मात्रै शेअर निष्काशन गर्न हो भने पनि त्यो ५० अर्बको हाराहारी हुन आउँछ।
सरसर्ती हेर्दा प्राधिकरणको नाफा धेरै भएको देखिए पनि उसको चुक्ता पुँजीको तुलनामा भने त्यो केवल ७ प्रतिशतको हाराहारीमा रहेको कुराप्रति शेअर विश्लेषकहरूले ध्यानाकर्षण गराएका छन्।
“त्यसमाथि अहिले हाम्रो पुँजीबजारको समस्या आपूर्तिको होइन। शेअरको आपूर्ति कम भएका कारण बजार घटेको स्थिति होइन। त्यसकारण प्राधिकरणले शेअर जारी गर्दैमा हौसिनुपर्ने अवस्था छैन,” एक विश्लेषकले बताए।
साथै विगतमा सरकारले २७ अर्ब रुपैयाँको सञ्चित घाटा मिनाहा गरिदिएको संस्थाले प्रिमियम मूल्य राखेर शेअर ल्याउन खोज्नु उचित नभएको पनि उनले बताए।
सन् २०१० मा सरकारले प्राधिकरणको सञ्चित घाटा मिनाहा गरिदिएको थियो।
(शेयर बजारसम्बन्धी यो समाचारमा उल्लिखित भनाइ सम्बन्धित विश्लेषकहरूका निजी विचार हुन्। शेअर बजारमा हुने उतारचढाव सम्बन्धित बजारमा भर पर्छ।)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।












