दक्षिण अफ्रिकाका माफिया–नियन्त्रित 'खतरनाक' सुनखानीहरू

तस्बिर स्रोत, Getty Images
- Author, नोम्सा मासेको
- Role, बीबीसी न्यूज, जोहानिस्बर्ग
डुमिसो अन्य झन्डै ६०० जना पुरुषहरूसँगै माफिया-नियन्त्रित जमिनमुनिको एउटा सानो 'नगर'मा काम गर्छन्। उनी त्यहीँ बस्छन्। यो पहिलेको सुनखानी हो। त्यहाँ बजार तथा 'रेड लाइट' क्षेत्र पनि छ।
उनले बीबीसीलाई बताएअनुसार एउटा ठूलो खानीको कामबाट निकालिएपछि उनले अवैध कामदारका रूपमा भूमिगत गिरोहसँग जोडिने निधो गरे। त्यस्ता कामदारलाई "जामा जामा" भनेर चिनिन्छ।
मूल्यवान् धातुका निम्ति उत्खननकार्य गर्ने उनी त्यसलाई अवैध बजारमा बेच्नका निम्ति हरेक तीन महिनामा सतहमा आउँछन्। उनले यो कामबाट पहिलेभन्दा निकै कमाएका छन् तर यो काममा पहिलेको काम हेरी जोखिम पनि उत्तिकै छ।
'लुट्नुभन्दा उत्तम'
"भूमिगत जीवन निकै कठोर छ। धेरैजना जिउँदै बाहिर आउन सक्दैनन्," ५२ वर्षीय उनले वास्तविक नाम प्रयोग नगर्ने सर्तमा बीबीसीसँग भने। उनलाई नाम खुलाइए आफूमाथि प्रतिशोध साँधिने हो कि भन्ने डर छ।
"सुरुङको एउटा तहमा लास र कङ्कालहरू छन्। हामी त्यसलाई 'जामा–जामा'को चिहान भन्छौँ," उनी भन्छन्।
तर डुमिसोजस्तै बाँच्न सफल हुनेहरूका निम्ति यो काम फाइदाजनक हुन सक्छ।
ढाड भाँच्चिन्जेलको कष्टकर काम सकेर उनी बालुवाका बोराहरूमाथि सुतिरहँदा उनका परिवारजन भने जोहानिस्बर्गको मुख्य सहरमा उनले किनिदिएको घरमा बस्छन्।
उनले सात हजार अमेरिकी डलरजति नगद हालेर एउटा शयनकक्षसहितको घर किनेका हुन्। उनका अनुसार त्यसमा अब अन्य तीन कोठा थपिँदै छन्।
आठ वर्षदेखि अवैध खानीमा कार्यरत कामदारका रूपमा डुमिसो आफ्ना तीन सन्तानलाई शुल्क लाग्ने विद्यालय पठाउन सक्षम भए, तीमध्ये एउटा हाल विश्वविद्यालय पढ्छन्।
"मैले श्रीमती र सन्तानको रेखदेख गर्नुपर्छ र यो नै मैले जानेको उपाय हो," उनले भने। वैध कामको खोजीमा कैयौँ वर्ष बिताएका उनले कार अपहरणकारी वा लुटेरा बनेर अपराधको बढ्दो दरमा योगदान पुर्याउनुभन्दा भूमिगत बसेर परिश्रम गर्न उत्तम ठाने।
उनी अहिले स्टिलफोन्टइन नामक सानो नगरमा रहेको खानीमा काम गर्छन्।
अहिले किन चर्चामा
जोहानिस्बर्गको १४५ किमि उत्तरपूर्वमा अवस्थित उक्त खानीले दक्षिण अफ्रिकाका एक मन्त्री खुम्बुजो चाभेनीले भूमिगत स्थितिमा बसिरहेका सयौँ कामदारलाई "धुवाँ लगाएर" भए पनि बाहिर निकाल्ने बताएसँगै विश्वको ध्यान खिचिरहेको छ। त्यसका निम्ति सुरक्षा बलको प्रयोगमार्फत् खाना र पानीको आपूर्ति रोक्ने ती मन्त्रीको भनाइ थियो।
"अपराधीहरूलाई सहायता दिइनुहुँदैन। अपराधीमाथि मुद्दा लगाउनुपर्छ," चाभेनीले भनिन्।
'सोसाइटी फर दी प्रोटेक्शन अफ आवर कन्स्टिट्यूशन' नामक एक अभियान खानीको सुरुङभित्र पहुँच पाउनुपर्ने भन्दै अदालत गएको छ। प्रहरीका अनुसार उक्त खानी दुई किमिजति गहिरो छ।
अदालतले खाना तथा अन्य आवश्यक सामग्री खानी कामदारसम्म पुर्याउन सकिने भन्दै अन्तरिम आदेश दिएको छ।

तस्बिर स्रोत, Reuters
खानीको अर्कै सुरुङमा काम गर्ने डुमिसो गत महिना बाहिर आएका छन्। त्यतिखेर अहिलेको देखिएको विवाद आइसकेको थिएन।
फर्कने कि नफर्कने भन्ने निर्णय गर्नुअघि उनी स्थिति कसरी अघि बढ्छ भनेर हेरिराखेका छन्।
सरकारले माफिया–गिरोहहरूद्वारा सञ्चालित र नियन्त्रणहीन हुँदै पेचिलो बनेको उद्योगलाई बन्द गर्ने निर्णय गरेसँगै अहिलेको स्थिति उत्पन्न भएको हो।
"देशले वर्षौँदेखि व्यापक रूपमा फैलिएको अवैध उत्खननको विषयसँग सङ्घर्ष गरिराखेको छ र ती समुदायले परिणाममा बलात्कार, चोरी तथा सार्वजनिक संरचना नष्ट गर्ने कार्यजस्ता आपराधिक क्रियाकलापहरू भोगिराखेका छन्," खानीजन्य स्रोतसम्बन्धी संसदीय समितिका अध्यक्ष मिकातेको माहलौलेले भने।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले खानीलाई "अपराधक्षेत्र" भनेका छन् तर प्रहरीले जमिनमुनि गएर पक्राउ गर्नुका सट्टा समस्या समाधानका निम्ति कामदारहरूसँग वार्ता गरिराखेको छ।
"कानुन कार्यान्वयन गराउने निकायहरूसँग खानीका कामदारसँग ठूलो मात्रामा हतियार भएको हुन सक्ने सूचना छ। आपराधिक गिरोहहरूले अवैध कामदारहरू नियुक्त गर्ने भएकाले र बृहत् रूपमा सङ्गठित आपराधिक सञ्जालको हिस्सा भएकाले यो व्यवस्थित रूपमा सञ्चालित छ," उनले भने।
डुमिसो त्यहाँ काम गर्ने स्थानीय तथा लेसोथोजस्ता छिमेकी देशबाट आएका सयौँ हजार कामदारमध्येका एक हुन्। यी मानिसहरू गएको तीन दशकमा ओह्रालो लागेको दक्षिण अफ्रिकाको खानी उद्योगबाट छाँटिएका थिए। तीमध्ये धेरैजसो प्रतिबन्धित खानीहरूमा 'जामा जामा' बनेका छन्।
त्यस्ता खानी र कामदार कति छन्
उक्त उद्योगका बारेमा अध्ययन गरेका दक्षिण अफ्रिकामा आधारित 'बेन्च्मार्क फाउन्डेशन'का अनुसन्धानकर्ता डेभिड फान वेकले बताएअनुसार देशमा ६,००० जति परित्यक्त खानीहरू छन्।
"(ती खानीहरू) ठूलो औद्योगिक स्तरका निम्ति फाइदाजनक नभएको स्थितिमा पनि ती साना स्तरको उत्खननकार्यका निम्ति फाइदाजनक हुन सक्छन्," 'बीबीसी फोकस अन अफ्रिका पडकास्ट'सँग उनले भने।
डुमिसोका अनुसार उनी एउटा सुनखानी कम्पनीमा 'ड्रिल अपरेटर'का रूपमा काम गर्थे र सन् १९९६ मा कामबाट निकालिनुअघि महिनाको २२० डलरभन्दा कम कमाउँथे।
दक्षिण अफ्रिकाले गम्भीर रूपमा उच्च बेरोजगारीको समस्या भोगिरहेका बेला २० वर्षसम्म पूर्णकालीन काम खोज्न सङ्घर्ष गरेपछि उनी अवैध खानी कामदार बन्ने निर्णयमा पुगे।
अहिले दक्षिण अफ्रिकाका खानीमा दशौँ हजार अवैध कामदार कार्यरत छन्। फान वेकका अनुसार गौटेङ प्रान्तमा मात्रै ३६ हजारजति छन्। उक्त प्रान्त देशको आर्थिक केन्द्र हो, जहाँ १९औँ शताब्दीमा पहिलो पटक सुन पत्ता लागेको थियो।
"'जामा जामा'हरू प्राय: महिनौँ बाहिर ननिस्कीकन बस्छन्। उनीहरूलाई खाना तथा अन्य आवश्यकताका निम्ति बाह्य सहयोग आवश्यक पर्छ। यो कठिन र जोखिमयुक्त काम हो," 'ग्लोबल इनिशटिभ अगेन्स्ट ट्रान्स्न्याश्नल अर्गनाइज्ड क्राइम' नामको अभियान समूहको प्रतिवेदनमा भनिएको छ।
"केहीले खानीका विपक्षी गिरोहबाट जोगिन पेस्तोल, सटगन र अर्धस्वचालित हतियार बोक्छन्," त्यसमा थपिएको छ।
'अन्धो भएछु झैँ लाग्यो'
डुमिसोले बीबीसीलाई बताएअनुसार उनीसँग पेस्तोल थियो, तर 'सुरक्षा शुल्क' का नाममा आफ्नो गिरोहलाई मासिक आठ डलरजति बुझाउँथे।
घातक हतियार बोकेका उनीसम्बद्ध गिरोहका सुरक्षाकर्मीले विशेष गरी लेसोथोका गिरोहहरूको खतराबाट जोगाउँथे। उनीहरूसँग अझै डरलाग्दा हतियार भएको ठानिन्थ्यो।
चौबीसै घण्टा गिरोहको सुरक्षाघेरामा रहेर डुमिसो चट्टान फोर्नका निम्ति 'डाइनामाइट'को प्रयोग गर्थे भने सुन खोज्नका निम्ति गैँती, बेल्चा र छिनोजस्ता साधारण साधन पनि चलाउँथे।
जे भेटिन्थ्यो, गिरोहको नाइकेलाई बुझाउँथे। नाइकेले उनलाई हरेक दुई सातामा कम्तिमा १,१०० डलर दिन्थे। उनले बताएअनुसार उनी केही सुन लुकाउन सक्षम भए र कालो बजारमा बेचेर अतिरिक्त आय गरे।
डुमिसो त्यस्तो व्यवस्थपानमा काम गर्ने भाग्यभानी कामदार हुन्। उनका अनुसार अन्य कामदारहरू अपहरण गरेर सुरुङमा ल्याइएका हुन्छन्, दासले झैं काम गर्छन्, तर न सुन न पारिश्रमिक नै पाउँछन्।

तस्बिर स्रोत, Getty Images
डुमिसोका अनुसार उनी एक पटकमा तीन महिनाजति जमिनमुनि बस्छन्। त्यसपछि सुन बेच्न र परिवारसँग समय बिताउन दुईदेखि चार साताका निम्ति बाहिर आउँछन्।
"मलाई आफ्नो ओछ्यानमा सुत्न र घरमा बनाएको खाना खान मन लाग्छ। स्वच्छ हावामा सास फेर्नु असाध्यै बलियो अनुभव हो।"
डुमिसो आफूले खनेको खाल्डो हराएका बेला प्राय: धेरै बाहिर आउँदैनन्, तर तीन महिना जमिनमुनि बसेपछि अति हुन्छ।
एकपटक बाहिर निस्कँदाको अनुभव स्मरण गर्दै उनले भने, "घाममा आँखै उघार्न सकिनँ, मलाई त अन्धो भएछु झैँ लाग्यो।"
उनको अनुहार पनि पहेँलिएको थियो, जसका कारण पत्नीले उनलाई जँचाउन लगिन्। "मैले डाक्टरलाई म कहाँ बस्छु भन्नेबारे इमानदारीसाथ सबै बताएँ। उनले केही भनेनन्, उपचार मात्रै गरे र भिटामिनहरू दिए।"
बाहिर आएपछि के गर्छन्
जमिनमाथि आएपछि उनी आराम मात्रै गरेर बस्दैनन्। उनी अन्य अवैध खानी कामदरसँग मिलेर मुनिबाट ल्याइएका धातुयुक्त ढुङ्गाहरूलाई फुटाएर तथा पिसेर धुलो बनाउने काम गर्छन्।
त्यसपछि यसलाई उनका समूहले अस्थायी प्रशोधन केन्द्रमा "धुलाउने" काम गर्छन्, जहाँ मर्करी र सोडिअम साइनाइडजस्ता खतरनाक रसायनहरू प्रयोग गरेर सुनलाई छुट्याइन्छ।
त्यसपछि डुमिसोले आफ्नो भागको सुन आधिकारिक मूल्य (७७ डलर प्रतिग्राम) भन्दा कम प्रतिग्राम ५५ डलरका दरले बेच्छन्।
उनका अनुसार उनीसँग पहिल्यैदेखि तयार एक जना क्रेता छन्, जसलाई उनी 'ह्वाट्स्याप'मार्फत् सम्पर्क गर्छन्।
"पहिलोपटक भेट्दा मलाई तिनको भर लागेन। मैले उनलाई प्रहरी कार्यालयको कार पार्क गर्ने ठाउँमा भेटौँ भनेँ। मलाई त्यहाँ सुरक्षित हुन्छ भन्ने थाहा थियो।"
"अचेल हामी कुनै पनि कार पार्किङमा भेट्छौँ। हामीसँग एउटा जोख्ने भाँडो हुन्छ। हामी ठाउँका ठाउँ सुन जोख्छौँ। म सुन दिन्छु, उनले नगद दिन्छन्," आफूले ३,८०० देखि ५,५०० डलरसम्म लिएर हिँड्ने गरेतर्फ औँल्याउँदै उनले भने।
उनले प्रत्येक तीनतीन महिनामा यति रकम हात पार्छन्। यसको अर्थ उनले प्रतिवर्ष १५,००० देखि २२,००० डलरसम्म आम्दानी गर्छन्, जुन कुनै वैध खानी कामदारले पाउने २,७०० डलरभन्दा निकै हो।
डुमिसो गिरोहका नेताहरूले झन् धेरै कमाउने बताउँछन् तर कति भन्ने थाहा छैन।
अधिकारीहरूको चिन्ता

तस्बिर स्रोत, Getty Images
यसले आपराधिक सञ्जालविरुद्ध कारबाही गर्न कठिन बनाएको फान वेक बताउँछन्। उनका अनुसार सरकारले जोहानिस्बर्ग र केपटाउन वरपर बस्ने ठूला मानिसहरूलाई नभई खानीका कामदारहरूलाई निसाना बनाइरहेको छ।
रामाफोसाले अवैध उत्खननका कारण "देशको अर्थतन्त्रले निर्यातबाट हुने आय, रोयल्टी र करहरूमा अर्बौँ र्यान्ड बराबरको मूल्य चुकाउनु परेको" बताए। त्यसका साथै उनले खानी कम्पनीहरूले सञ्चालनमा नरहेका खानीहरूलाई बन्द गर्ने वा सुधार्ने कार्यको जिम्मेवारी लिने सुनिश्चित गर्न सरकारले तिनीहरूसँगको कामलाई निरन्तरता दिने बताए।
फान वेकले 'बीबीसी फोकस अन अफ्रिका' पडकास्टमा सरकारले 'जामा जामा'हरूमाथि कडाइ गरे दक्षिण अफ्रिकाको आर्थिक सङ्कट झन गहिरिने बताए।
"खानी सञ्चालनलाई गैरअपराधीकरण गर्न, थप व्यवस्थित र नियमन गर्ने नीति हुनुपर्छ।"

कामका निम्ति जमिनमुनि जाने बेला डुमिसो त्यहाँको 'बजार'को असाधारण मूल्यबाट बच्न बाक्साका बाक्सा डिब्बावाला खानेकुरा बोक्छन्।
खानाबाहेक त्यहाँ चुरोट, टर्चलाइट, ब्याटरी तथा खन्ने सरसामान बेचिने गरेको उनले बताए।
यी कुराहरूले समयक्रममा जमिनमुनि एउटा समुदाय वा सानो नगर विकसित भएको देखाउँछन्। डुमिसोले बताएअनुसार त्यहाँ 'रेड लाइट' क्षेत्र पनि छ। यौनकर्मीहरूलाई त्यहाँका गिरोहहरूले त्यहाँको बजारमा पुर्याएका हुन्।
उनी काम गर्ने सुरुङमा विभिन्न तहहरू भएको र सुरुङका ती झुक्याउने खालका सञ्जाल एकअर्कासँग जोडिन्छन्।
"ती राजमार्गहरूजस्तै हुन्, जहाँ शौचालय र 'जामा जामा'का चिहानजस्ता विभिन्न स्थान र तहका दिशा पत्ता लगाउन सङ्केतहरू बनाइएका छन्," उनले भने।
"केही प्रतिद्वन्द्वी गिरोहका सदस्यहरूद्वारा मारिएका हुन्छन्, अन्य ढुङ्गा खसेर लाग्दा वा ठूल्ठूला चट्टानमा पिसिएर मर्छन्। मैले नै एक साथी गुमाएको छु। सुन लुटपाटपछि उसको टाउकामा गोली हानिएको थियो।"
भूमिगत जीवन खतरायुक्त भए पनि डुमिसोजस्ता हजारौँ मानिस जोखिम बेहोर्न चाहन्छन्। उनीहरूका अनुसार बेरोजगारी दर ३० प्रतिशतभन्दा धेरै भएको देशमा जोखिम नमोल्नुको विकल्प भनेको गरिब भएर बाँच्नु र गरिब भएरै मर्नु हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








