दक्षिण अफ्रिकाबाट उडेको विमानको पाङ्ग्रामा लुकेका व्यक्ति एम्स्टर्ड्याममा जीवितै फेला

Plane landing gear

तस्बिर स्रोत, Getty Images

दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भागमा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेको छ।

सामान्यतया जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ।

दक्षिण अफ्रिकाको उक्त सहरबाट उडेको कार्गो विमान केन्याको राजधानी नाइरोबीमा एक पटक रोकिएको थियो।

आकाशमा निकै माथि पुगेपछि अक्सिजनको मात्रा तथा तापक्रम घट्ने हुँदा सास फेर्न नसकेर र कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुन्छ।

प्रहरीले ती व्यक्ति केन्याका नागरिक भएको र उनको उमेर २२ वर्षको भएको सोमवार पुष्टि गरेको छ।

नेदरल्यान्ड्समा 'शरण'

तर केन्याबाट वा दक्षिण अफ्रिकाबाट विमानमा त्यसरी लुके भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

उनले नेदरल्यान्ड्समा शरण लिने इच्छा राखेको बताइएको छ।

ती व्यक्ति होसमा रहेको र कुराकानी गर्न सक्ने अवस्थामा उनको अस्पतालमा उपचार भइरहेको छ।

"उनले नेदरल्यान्ड्समा शरणका लागि आवेदन दिन्छन् भन्ने लागेको छ। तर अहिले उनको उपचार प्राथमक कुरो हो," डच प्रहरीकी एक प्रवक्ताले बीबीसीलाई बताइन्।

'अद्भुत'

लामो दूरीको उडानमा विमानको बाहिरी भागमा लुकेर त्यसरी चढ्ने मानिस जीवित फेला पर्नु असामान्य मानिन्छ।

“ती व्यक्ति उक्त विमानको नोज ह्वील भएको भागमा जीवित फेला परे र उनलाई स्थिर अवस्थामै अस्पताल लगियो,” यसअघि प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचारसंस्था एएफपीलाई बताएकी थिइन्।

"ती व्यक्ति अझै जीवित हुनु अद्भुत कुरा हो," उनले भनिन्।

विमानको अग्रभागमुनि रहेको र विमान अवतरण गर्दा प्रयोग हुने पाङ्ग्रालाई नोज ह्वील भनिन्छ।

नेदरल्यान्ड्समा विगत पाँच वर्षमा सात जनालाई विमानमा लुकेर यात्रा गर्न खोजेका थिए। तर तीमध्ये केवल दुई जना जीवित फेला परे।

डच प्रसारक एनओसका अनुसार विमानस्थलमा फेला परेपछि ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो। एम्बुलेन्स आउँदासम्म सोधिएका प्रश्नको उनले उत्तर दिएका थिए।

कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचारसंस्था रोएटर्सलाई इमेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी थिइन्।

आइतवार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा एकचोटि ओर्लिएको उडानसम्बन्धी डेटाले देखाएको थियो।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, आकस्मिक अवतरण गरेको विमानमा जब रेल आएर ठोकियो