छोरीहरू जोगाउन म लडाकुहरूबाट बलात्कृत हुन तयार भएँ : युद्धग्रस्त सुडानकी एक महिला

सुडानकी एक महिला

तस्बिर स्रोत, BBC/Mohanad Hashim

    • Author, बार्बरा प्लेट उशर
    • Role, बीबीसी अफ्रिका संवाददाता, ओम्दुरमान

सुडान बर्बादीको सङ्घारमा छ।

सत्र महिनादेखि गृहयुद्धमा रहेका दुई विपक्षी समूहबीच अवस्थित चर्को गर्मी र धुलाम्ये सीमा विन्दुमा एउटा बाँध फुट्न पुग्यो।

म चार घण्टा हिँडेर ओम्दुर्मानको पुछारमा रहेको सेना नियन्त्रित बजारमा किनमेलका लागि आएका महिलाहरूको समूहसँग कुरा गर्दै थिएँ। यो ठाउँ राजधानीकै हिस्सा हो र यहाँ खानेकुरा सस्तोमा पाइन्छ।

ती महिलाहरू दार ए सलामबाट आएका थिए। उक्त क्षेत्र विपक्षी पारामिलिटरी र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को नियन्त्रणमा छ।

उनीहरूकाअनुसार आरएसएफका लडाकुले कुटपिट तथा लुटपाट गर्नुका साथै रकम दिएपछि मात्रै छाड्ने गरी बन्धक बनाउने गरेकाले तिनीहरूका श्रीमानहरू आजकल घरमा बस्दैनन्।

"हामीलाई यो कठिनाइ सहन गाह्रो परेको छ। हामी हाम्रा केटाकेटीलाई खाना खुवाउन चाहन्छौँ। हामी भोका छौँ, हामीलाई खाना चाहिएको छ," तीमध्ये एउटीले भनिन्।

चेतावनी : यस सामग्रीका केही विवरणहरूले केहीलाई विचलित तुल्याउन सक्छन्।

अनि मैले ती महिलाहरूलाई सोधेँ, के महिलाहरू पुरुषभन्दा सुरक्षित छन्? बलात्कारबारे के भन्नुहुन्छ?

एकैसाथ गुञ्जिइरहेका स्वरहरू मत्थर हुन पुगे।

केही बेरको मौनतापछि एउटा स्वर सुनियो।

"यहाँ भएकामध्ये धेरैजना हिंसामा परेका छन्। तर उनीहरू यसबारे कुरा गर्दैनन्," उनको बोलीसँगै गालामा आँसु बगरिरहेको थियो, "आखिर यसले के नै पो फरक पर्छ र?"

"केही केटीहरूलाई आरएसएफले राती बाटैमा सुत्न बाध्य पार्छन्," उनी बोल्दै गइन्, "उनीहरू बजारबाट ढिला गरी फर्किए भने आरएसएफले पाँच छ दिन आफूसँगै राख्छन्।"

उनी बोलिरहँदा उनकी आमा टाउकामा हात लगाएर सुस्केरा काढ्दै थिइन् भने आसपासका अन्य महिलाहरू पनि सुँक्सुकाउन थालेका थिए।

"तपाईँको ठाउँतिर तपाईँकी छोरी बाहिर निस्किइन् भने तपाईँ यसै छाड्दिनुहुन्छ?," उनले सोधिन्, "खोज्न जानुहुन्न? हामी भन्नुस् त! के नै पो गर्न सक्छौँ? हाम्रो हातमा केही छैन। कसैलाई हाम्रो मतलब पनि छैन। संसार कहाँ छ? तपाईँ हामीलाई किन मद्दत गर्नुहुन्न?"

यो आवागमन विन्दु हताश र निराश संसारलाई चिहाउने झ्यालजस्तो थियो।

सुडानको यात्रा गरेकाहरूले त्यहाँ अराजकता, लुटपाट र क्रूरताको शिकार बनेको बताउने गरेका छन्। संयुक्त राष्ट्र सङ्घका अनुसार द्वन्द्वका कारण एक करोडभन्दा धेरै सुडानी आफ्नो घर छोड्न बाध्य भएका छन्।

तर यौनहिंसा यहाँ लामो समयदेखिको द्वन्द्वको विशेषता बनेको छ, जुन सुरुमा सेना र आरएसएफबीच सत्ता सङ्घर्षका रूपमा सुरु भएको थियो भने अचेल यसमा स्थानीय सशस्त्र समूह र छिमेकी देशहरूका लडाकुहरू पनि सामेल हुन थालेका छन्।

संयुक्त राष्ट्र सङ्घका उच्चायुक्त फोल्कर ट्यूर्कले सुडानमा बलात्कारलाई 'युद्धको हतियारका रूपमा प्रयोग गर्ने गरिएको' बताएका छन्।

हालै तथ्यको खोजीमा खटिएको संयुक्त राष्ट्र सङ्घको एउटा मिशनले सेनाका सदस्यहरूबाट बलात्कार र बलात्कारका धम्कीका धेरै घटनाहरू भएको प्रतिवेदन दिएको छ। त्यस्तै आरएसएफ र यसका सहयोगी मिलिसियाहरूले पनि ठूलो मात्रामा यौन हिंसा गरेको र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको फेला पारेको छ।

एक जना महिलाले बीबीसीसँगको कुराकानीमा आरएसएफले आफूलाई बलात्कार गरेको आरोप लगाइन्।

हामीले उनलाई शौक अल–हर भनिने 'हिट मार्केट'को चोकमा भेटेका थियौँ।

युद्ध सुरु भएदेखि यो बजार ओम्दुर्मानस्थित मरुभूमिको सडकको बाँझो क्षेत्रमा फैलिएको छ। सस्तो भएकाले उक्त बजारले गरिबहरूलाई आकर्षित गर्छ।

सुडानका बालबालिका

तस्बिर स्रोत, BBC/Ed Habershon

तस्बिरको क्याप्शन, सुडानको द्वन्द्वले ठूलो मानवीय सङ्कट निम्त्याएको छ

मिरिअम (वास्तविक नाम होइन) उनको भाइसँगै शरणको खोजीमा आफ्नो दार ए सलामस्थित घरबाट भागेकी थिइन्।

अहिले उनी एउटा चिया दोकानमा काम गर्छिन्। उनका अनुसार युद्धको सुरुवातताका दुई हतियारधारी मानिसहरू उनको घरमा छिरे र उनका छोरीहरूलाई बलात्कार गर्ने प्रयास गरे। उनका छोरीहरूमध्ये एउटी १७ वर्षकी थिइन् भने अर्की १० वर्षकी थिइन्।

"मैले छोरीहरूलाई मेरो पछिल्तिर उभिइराख्न भनेँ र आरएसएफलाई भनेँ: यदि तिमीहरू बलात्कार गर्न चाहन्छौ भने मलाई गर," उनले भनिन्।

"उनीहरूले मलाई कुटे र लुगा फुकाल्न भने। मैले लुगा फुकाल्नुअघि छोरीहरूलाई त्यहाँबाट निस्कन भनेँ। उनीहरू अन्य केटाकेटीलाई लिएर बारबाट हाम्फाले। त्यसपछि उनीहरूमध्येका एकजना ममाथि आयो।

अन्तर्राष्ट्रिय जाँचकर्ताहरूसँग आरएसएफले यौन हिंसा र मानवअधिकार उल्लङ्घनका घटनालाई रोक्न आवश्यक सबै उपाय अपनाइएको बताएको छ।

तर असङ्ख्य र निरन्तर रूपमा त्यस्ता घटनाहरू भइरहेका छन्। त्यस्ता क्षतिको दीर्घकालीन प्रभाव पर्ने देखिन्छ।

सन् २०२४ को मे ३० मा लिइएको यो तस्बिरले ओम्दुर्मानका दोकानहरूको क्षति दर्शाउँछ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हवाई हमला र सडकहरूमा हुने लडाईँले सुडानमा ठूलो विध्वंश भएको छ

लहरै उभिएका रूखको छायामा एउटा होचो स्टूलमा बसेकी फातिमा(वास्तविक नाम होइन)ले मसँगको कुराकानीमा आफू जुम्ल्याहा केटाकेटीलाई जन्म दिन ओम्दुर्मान आएको र यतै बस्ने योजना बनाएको बताइन्।

उनले बताएअनुसार उनको छिमेककी एक १५ वर्षीय बालिका पनि गर्भवती बनेकी छिन्। ती बालिका र उनकी सत्र वर्षीय दिदीलाई चारजना आरएसएफका सिपाहीहरूले बलात्कार गरेका थिए।

उनका अनुसार किशोरीहरू चिच्याएको सुनेर ब्युँझिएका मानिसहरू के भएको रहेछ भनेर बुझ्न घर बाहिर आएका थिए, तर हतियारधारीहरूले तुरुन्त घर नफर्किए गोली हान्ने चेतावनी दिए।

भोलिपल्ट बिहान उनीहरूले शरीरमा यौनहिंसाका चिन्हसहितका किशोरीहरूलाई फेला पारे। तिनका दाइ घरकै एउटा कोठामा थुनिएका थिए।

"युद्धको समयमा आरएसएफ आउनासाथ हामीले बलात्कारका कुराहरू सुन्न थाल्यौँ र छिट्टै हाम्रै छिमेकमा त्यस्तो भएको देख्न थाल्यौँ," फातिमाले भनिन्, "सुरुमा हामीले (प्रतिवेदनहरूका बारेमा) शंका गरेका थियौं तर हामीलाई केटीहरूलाई बलात्कार गर्ने आरएसएफ नै हो भन्ने थाहा छ।"

अन्य महिलाहरू आरएसएफ–नियन्त्रित क्षेत्रस्थित आफ्नो घर फर्कनका निम्ति जम्मा हुन थालेका छन्। उनीहरूका अनुसार अत्यन्तै गरिब भएका कारण मिरिअमले झैँ दार ए सलाम छोडेर नयाँ जीवन सुरु गर्न उनीहरू असमर्थ छन्।

जहिलेसम्म यो युद्ध जारी रहन्छ, उनीहरूसँग त्यही भयावह स्थितितर्फ फर्कनुको विकल्प छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।