भारतमा बलात्कारपछि मारिएकी प्रशिक्षार्थी चिकित्सकबारे नभनिएको कथा

कोलकातास्थित अस्पताभित्र बलात्कारपछि हत्या गरिएकी महिला चिकित्सकप्रति न्याय माग्दै हातमा प्ल्याकार्ड बोकेर नाराबाजी गरिरहेका विद्यार्थीहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२२ को सरकारी तथ्याङ्कअनुसार उक्त वर्ष भारतमा दैनिक सालाखाला ९० वटा बलात्कारका घटना दर्ता हुने गरेका थिए
    • Author, कीर्ति दुबे
    • Role, बीबीसी न्यूज हिन्दी

"बैसट्ठी वर्षको उमेरमा आइपुग्दा मेरा सबै सपना चकनाचुर भएका छन्। हामी अपराधीलाई कडाभन्दा कडा कारबाही होस् भन्ने चाहन्छौँ।"

हामी भारतमा बलात्कारपछि मारिएकी ३१ वर्षीया चिकित्सकका पितासँगै उनैको घरमा छौँ। उक्त घटनाले अहिले सिङ्गो भारत स्तब्ध छ।

राम्रा छरछिमेकको बीचमा एउटा सामान्य सेतो घर छ। उनकी छोरीको विभत्स हत्यापछि यो घरले अहिले सारा सञ्चारमाध्यमको ध्यान खिचेको छ।

भारतीय कानुनका अनुसार पीडित र परिवारजनको परिचय खुलाउन नमिल्ने भएकाले यस सामग्रीबाट परिवारका सबैजनाको नाम र थर हटाइएको छ।

"हाम्रो राज्य र देशमात्र होइन, सारा संसारले न्याय मागिरहेको छ," उनी भन्छन्।

पीडितकी आमा पतिको छेउमा चुपचाप बसिरहेकी छन्। उनी स्तब्ध देखिन्छिन्।

ती कनिष्ठ चिकित्सक घटनाका दिन कोलकातास्थित आरजी कर मेडिकल कलेजमा रात्रिकालीन ड्यूटीमा थिइन्। अगस्ट ९ को रात भवनको सभाहलमा आराम गरिहेका बेला उनको बलात्कार तथा हत्या भयो।

घटनाको केही समयअघि राति ११ बजेतिर आमासँग उनको कुरा भएको थियो।

आमाले हँसिलोसँग छोरीले फोनमा भनेका अन्तिम शब्द सम्झिइन्, "बाबाले समयमै औषधि खाए–नखाएको निधो गर्नू। मेरो चिन्ता नलिनू!"

"त्यही नै हाम्रो अन्तिम कुराकानी थियो। भोलिपल्ट त उसको फोनमा घण्टीमात्रै गइराख्यो।"

उनका बुवाआमा के गर्छन्?

१४ अगस्ट २०२४ मा मेडिकल पेसाकर्मी, अभियानकर्मी र सर्वसाधारणले सिलिगढीमा प्रदर्शन गरे, 'रात हाम्रो पनि हो' शीर्षकमा आयोजित उक्त मार्चमा युवा चिकित्सकको बलात्कार र हत्याको निन्दा गरिएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, 'रिक्लेम द नाइट' मार्चमा प्रदर्शनकारीहरूले ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकप्रति न्याय तथा समग्र भारतका महिलाहरूको सुरक्षाको माग गरे

मृतकका बुवालाई उच्च रक्तचापको समस्या छ र समयमै औषधि लिनु महत्त्वपूर्ण हुन्छ।

"उनी जहिल्यै 'मैले औषधि खान बिर्सिन्छु' कि भनेर खाए नखाएको निधो गर्थिन्," बीबीसीसँगको कुराकानीमा उनका पिताले स्मरण गरे।

"एकपटक मेरो औषधि सकिँदा 'भोलिपल्ट किनौँला' भनेर बसेको थिएँ। उनले थाहा पाइहालिन्। रातको १०–११ बजिसकेको थियो। खाना खाने बेला भइसकेको थियो। उनी के भन्छिन्– बापी (बुवालाई मायाले बोलाउने नाम), औषधि नल्याइँदासम्म यो घरमा कसैले पनि खाना खाँदैन।"

"उनी त्यस्ती थिइन्। उनले कहिल्यै केही कुरामा चिन्ता लिनुपर्ने बनाइनन्।"

विगत

अहिलेको यो घटनाले सन् २०२२ को अर्को मामिलाको स्मरण गराएको छ। त्यस बेला राजधानी दिल्लीमा एक २२ वर्षीया फिजिओथेरपीकी प्रशिक्षार्थीलाई सामूहिक बलात्कारपछि गुडिरहेको बसबाट फ्याँकिएको थियो।

उनका शरीरका चोट पनि घातक थिए।

उक्त घटनापछि यौनजन्य हिंसाविरुद्धको कानुनलाई कडा बनाइयो। तर त्यस्ता मामिलाको उजुरी बढ्दै गएको छ र भारतका महिलाहरूलाई न्यायमा पहुँच पाउन अझै चुनौतीपूर्ण देखिन्छ।

कोलकाताको यो पछिल्लो बलात्कार र हत्याको घटनाले पुन: एकपटक स्वास्थ्यकर्मीहरूले सामना गरिरहेको सुरक्षा चुनौतीबारे ध्यानाकर्षण गराएको छ। उनीहरूले कार्यस्थलसम्बन्धी सुरक्षा र त्यसमा पनि खास गरी महिलाहरूको सुरक्षाका निम्ति गहन तथा निष्पक्ष जाँच तथा सङ्घीय कानुनको माग गरेका छन्।

बलात्कारपछि हत्या गरिएकी पोस्टग्र्याजुएट प्रशिक्षार्थी चिकित्सकप्रति न्याय माग्दै नाराबाजी गर्ने क्रममा "नो सेफ्टी, नो ड्यूटी" लेखिएको प्लेकार्ड बोकेका चिकित्सकहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उक्त भयावह आपराधिक घटनालाई लिएर कोलकातामा मात्र नभई भारतका धेरै सहरहरूमा आक्रोश फैलिएको छ र न्यायको माग गर्दै प्रदर्शन भएका छ्न्

भारतका सङ्घीय स्वास्थ्यमन्त्री जेपी नड्डाले चिकित्सकहरूसँग सुरक्षित व्यावसायिक वातावरणका निम्ति कडा उपायहरू अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

चिकित्सा शिक्षालाई नियमन गर्दै आएको भारतको सरकारी नियामक राष्ट्रिय चिकित्सा आयोगले पनि सबै मेडिकल कलेज तथा संस्थाहरूलाई सुरक्षित कार्यस्थलको प्रत्याभूति गराउन परिपत्र गरेको छ।

एउटा जिन्दगी समाप्त भयो

कोलकातामा युवा चिकित्सक बलात्कारपछि मारिएकी घटनाको निन्दा गर्दै चिकित्सकहरूको देशव्यापी हड्तालका क्रममा बेङ्गलुरुको एउटा अस्पतालमा पोस्टर बोकेर प्रदर्शनरत चिकित्सकहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ती कनिष्ठ चिकित्सक ३६ घण्टा लामो कठिन रात्रिकालीन ड्यूटीमा थिइन् र सभाकक्षमा आराम गर्न गएकी थिइन्, भोलिपल्ट बिहान आंशिक नग्न अवस्थामा उनको शव भेटियो

हामीले कोलकाताबाट केही किलोमिटरको दूरीमा एउटा साँघुरो गल्लीमा पीडितका परिवारजनलाई भेट्यौँ। त्यसको एकापट्टि प्रहरीले अवरोध राखेको थियो। त्यहाँ उभ्याइएका बहुसङ्ख्यक न्यूज च्यानलका दर्जनौँ क्यामेराहरूले हरेक क्षणहरूलाई कैद गरिराखेका थिए।

अर्को छेउमा १०–१५ जना प्रहरी अधिकारीको एउटा समूह सुरक्षार्थ खटिएका थिए। उनीहरूको सेतो बर्दी घाममा चम्किइरहेको थियो।

उनीहरूको एउटै उद्देश्य भने ती क्यामेराहरूले ब्यारिकेडपारिका पीडितको पारिवारिक घरका दृष्यहरूलाई खिच्न नसकून् भन्ने सुनिश्चित गर्नु थियो।

नौ अगस्टको रात ती पीडित कनिष्ठ चिकित्सक ३६ घण्टा लामो कठिन रात्रिकालीन ड्यूटीमा थिइन् र सभाकक्षमा आराम गर्न गएकी थिइन्।

भोलिपल्ट बिहान आंशिक नग्न स्थितमा उनको शव भेटियो।

उक्त भयावह आपराधिक घटनाले कोलकातामा मात्र नभई देशका धेरै सहरहरूमा समेत आक्रोश फैलिएको छ र न्याय माग्दै प्रदर्शनहरू गरिएका छन्।

देशका लाखौँ महिलाहरूको सुरक्षाको माग गर्दै कोलकातामा 'रिक्लेम द नाइट' मार्चको आयोजना गरियो।

अस्पताल सुरक्षित हुनुपर्ने बताउँदै पीडितका पिताले भने, "अस्पतालको ड्यूटीमै भएका बेला उनीमाथि त्यस्तो बर्बर घटना भयो।"

उनका अन्तिम शब्दहरूको सम्झना

बलात्कारपछि हत्या गरिएकी चिकित्सकको माटोले बनाइएको मूर्तिको नाडीमा राखी बाँध्दै अर्की चिकित्सक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बलात्कारपछि हत्या गरिएकी चिकित्सकको माटोले बनाइएको मूर्तिको नाडीमा राखी बाँध्दै अर्की चिकित्सक

उनको निधनले परिवारमा ठूलो रिक्तता छाएको छ।

उनका पिता उनी सधैँ कसरी अरूलाई पहिलो स्थानमा राख्थिन् भन्ने स्मरण गर्छन्, "उनको विवाह लगभग निश्चित भइसकेको थियो। तर उनी भन्थिन्– बापी, त्यत्रो पैसा कहाँबाट ल्याउनुहुन्छ? चिन्ता नलिनू। म मिलाउँला।"

उनी बोल्दै गर्दा उनकी पत्नीले सुँक्कसुँक्क गरेको आवाज प्रतिध्वनित भइरहेको थियो।

उनीहरूको बैठक कक्ष आजीवन लुगा सिलाउने काम गरेका उनका पिताका उपकरणहरूले अव्यवस्थित थियो। एउटा सिलाई मशीन थियो, धागोका डल्लाहरू थिए, एउटा ठूलो आइरन थियो भने कपडाका टुक्राहरू भुइँभरि छरिएका थिए। बैठक कक्षछेउको भर्‍याङ भएर परिवार बसोबास गर्ने भवन पुग्न सकिन्थ्यो, जहाँ उनको शयनकक्ष छ। एघार दिनदेखि त्यस कोठाको ढोका बन्द छ। अगस्ट १० यता मातापिताले छोरीको कोठामा पाइलासम्म पनि हालेका छैनन्।

"उनी सानो छँदा हामीले आर्थिक हिसाबले निकै सङ्घर्ष गर्‍यौँ," उनका पिताले स्मरण गरे, "उनी त्यस्तै पाँच वर्षजतिकी थिइन् होला। उनलाई फलफूल मन पर्थ्यो, खासगरी अनार एकदम मन पराउँथिन्। एक पटक बाहिर जाँदा उनले केही देखिन् र सोधिन्– 'बापी, तपाईँ पूजाका निम्ति अनार किन्नुहुन्न?' उसले आफ्नो निम्ति कहिल्यै केही माग्नै सकिनँ…" उक्त प्रसङ्ग पूरा नहुँदै उनी भक्कानिएर रुन थाले।

"दह्रो बन्नुस्!," छेवैमा उभिइरहेका एक आफन्तले बिस्तारै ढाडस दिए।

दह्रो हुने भन्ने कुरा उनलाई भारजस्तो भएको छ।

ती छोरी यो दम्पतीका एक मात्र सन्तान थिइन्। सानैबाट सिक्नमा उत्साहित उनी शिक्षकहरूकी पनि प्रिय थिइन्।

"जब उनी सानी थिइन्," पिता स्मरण गर्छन्, "शिक्षकहरूले उनलाई बोकेरै स्कूल पुर्‍याउँथे।"

"हामी तल्लो वर्गबाट आएका हौँ र जे गर्‍यौँ, आफ्नै बलबुतामा गरेका हौँ," उनले भने।

"मान्छेहरू 'तिमीहरू छोरीलाई डाक्टर बनाउन सक्दैनौ' भन्थे। तर उनले सबैलाई गलत साबित गरिन् र सरकारी मेडिकल कलेजमा भर्ना हुन सफल भइन्।"

उनकी आमा छोरीको स्मरण गर्दै चुपचाप भएर पतिका कुरा सुनिराखिन्।

उनका हात बारम्बार रातो र सेतो चुराको बीचमा रहेको सुनको चुरालाई छुन पुग्थे, जुन उनले छोरीसँगै गएर किनेकी थिइन्।

उनले आफ्नी छोरीले प्रत्येक रात सुत्नुअघि कसरी डायरी लेख्थिन् भन्ने स्मरण गरिन्।

"उनले मेडिकल कलेजमा स्वर्णपदक हासिल गर्न चाहेको लेखेकी थिइन्। उनी आफ्नो जीवन राम्रो बनाउन चाहन्थिन् र हाम्रो पनि राम्रो ख्याल राख्न चाहन्थिन्," उनले मलिन स्वरमा भनिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।