दिल्ली बलात्कार काण्ड: दोषीलाई मृत्युदण्ड, पीडितका आमाबुवाद्वारा सन्तोष प्रकट

तस्बिर स्रोत, Delhi Police
भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार पुरुषलाई मृत्युदण्ड दिइएको छ।
उनीहरूलाई शुक्रवार बिहान सबेरै दिल्लीको तिहाड कारागार परिसरभित्र भारतीय समयअनुसार बिहान ५:३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइएको हो।
लगत्तै त्यो कारागार प्रमुखले जाँच गर्दै उनीहरूलाई मृत घोषित गरेका थिए।
आफ्नी छोरीका हत्यारालाई मृत्युदण्ड दिइएपछि निर्भया नामले चिनाइएकी पीडित महिलाका आमाबुवाले थोरै सन्तोषको सास फेरेको सङ्केत दिएका छन्।
न्याय
उनकी आमाले सबै सहयोगीलाई धन्यवाद दिएकी छन्।
"म न्यायपालिका, सञ्चारमाध्यम, राष्ट्रपति र अरू सबैलाई धन्यवाद दिन चाहन्छु। सात वर्षदेखिको सङ्घर्षले बल्ल परिणाम दिएको छ। निर्भयालाई न्याय मिल्यो।"
उनका पिताले पछिल्लो सजायले सबै भारतीय महिला सुरक्षित हुने वातावरण बनाउने आशा व्यक्त गरे।
मृत्युदण्डको भारतीय महिला आयोगका सदस्य लगायत धेरै व्यक्तिहरूले स्वागत गरेका छन्।

तस्बिर स्रोत, Getty Images
दोषी ठहरिएका ती चार पुरुषले क्षमादानका लागि गरेको निवेदनलाई भारतीय राष्ट्रपति तथा सर्वोच्च अदालतले अस्वीकार गरिदिएका थिए।
तेइस वर्षीया निर्भया नाम दिइएकी ती महिलामाथि सात वर्षअघि भएको हिंसात्मक आक्रमणको विरोधमा भारतभरि प्रदर्शनहरू चर्किएका थिए।
त्यसक्रममा धेरै महिलाहरूले समाजमा व्याप्त यौन दुर्व्यवहार र हिंसाविरुद्ध आक्रोश पोखेका थिए।
त्यसपछि भारतमा बलात्कार रोकथाम गर्ने कानुन कडा तुल्याउँदै सजाय पनि बढाइएको छ।








