'भुइँ छोड्नेबित्तिकै दुर्घटना': १८ जनाको मृत्यु, विमानचालक मात्र जीवित

त्रिभुवन विमानस्थलको धावनमार्गनजिकै खसेको विमानको भग्नावशेष
तस्बिरको क्याप्शन, त्रिभुवन विमानस्थलको धावनमार्गनजिकै खसेको विमानको भग्नावशेष भएको ठाउँमा उद्धारकर्मीहरू
    • Author, अशोक दाहाल, प्रदीप बस्याल र केशव कोइराला
    • Role, बीबीसी न्यूज नेपाली

सौर्य एअरलाइन्सको एउटा विमान बुधवार बिहान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परी आगो लागेपछि एक बालकसहित १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

उक्त विमानमा चालकदलका दुई सदस्य र सौर्य एअरलाइन्सका कर्मचारीहरू चढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बीबीसीलाई बताए।

उक्त विमानका क्याप्टेन मनीषरत्न शाक्यलाई उद्धार गरिएको र उनलाई उपचारका लागि अस्पताल लगिएको नेपाल प्रहरी तथा नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले पुष्टि गरेका छन्। विमानका को-पाइलट सुशान्त कटुवालको भने मृत्यु भयो।

मृतकमध्ये एक विदेशी नागरिक भएको सौर्य एअरलाइन्सले जनाएको छ। उनको नाम आरेफ रेडा उल्लेख गरिएको छ।

सन् २०१८ को मार्चमा बाङ्ग्लादेशबाट नेपाल आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको मृत्यु भएको थियो।

गत वर्ष ज्यानुअरीमा काठमाण्डूबाट उडेको यती एअरलाइन्सको यात्रुवाहक विमान पोखरामा सेती खोँचमा खस्दा ७२ जनाको मृत्यु भएको थियो। यद्यपि एक जनाको शव भने फेला परेको थिएन।

सौर्य एअरलाइन्सको विमानको भग्नावशेष

“सौर्य एअरलाइन्सको CRJ7 (Reg 9NAME) जहाज काठमाण्डूबाट स्थानीय समयानुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव सङ्कलन गरिएको तथा एक घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएको जानकारी गराइन्छ,” प्राधिकरणले बुधवार दिउँसो विज्ञप्तिमार्फत् भनेको छ।

प्राधिकरणका अनुसार सो विमान 'एनुअल मेन्टन्स प्रोग्र्याम' का क्रममा थियो।

सो विमान त्रिभुवन विमानस्थलको उत्तरपूर्वी भेगमा खसेको थियो।

कसरी भयो दुर्घटना

काठमाण्डूबाट पोखराका लागि उडेको विमान गलत दिशाबाट मोडिएको प्रारम्भिक आकलन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखले बताएका छन्।

"उड्नेबित्तिकै देब्रेतिर मोडिनुपर्ने दाहिनेतिर मोडियो," विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले बीबीसी न्यूज नेपालीसँग भने।

त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको स्थान

यद्यपि "अहिलेसम्म दुर्घटनाको कारण खुलिनसकेको" उनले बताए।

"त्यो पछि नै आउला," उनले भने।

उनले विमानले उडान गरेको एक मिनेटभन्दा कम समयमै दुर्घटना भएको देखिएको बताए।

"भुइँ छोड्नेबित्तिकै दुर्घटना भएको छ, मिनेट पनि भएको छैन। भुइँ छोड्नेबित्तिकै घटना भइगयो," निरौलाले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुर्घटनास्थलमा जे देखियो

यसअघि सौर्य एअरलाइन्सका एक अधिकारीले सो विमानमा सर्वसाधारण यात्रु नचढेको बताएका थिए। उनका अनुसार सो विमान "सी-चेक" अर्थात् परीक्षणका क्रममा थियो।

दुर्घटनालगत्तै एम्बुलेन्स र दमकलहरू त्यस ठाउँमा परिचालित थिए।

नेपाली सेनाले उद्धारका लागि विमानस्थलस्थित आफ्नो टोली पनि खटेको जनाएको छ।

'विमानचालकको उद्धार'

दुर्घटनास्थलबाट विमानचालक मनीषरत्न शाक्यलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ

तस्बिर स्रोत, Nepal Police

तस्बिरको क्याप्शन, दुर्घटनास्थलबाट विमानचालक मनीषरत्न शाक्यलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ

काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार घाइते विमानचालकलाई उद्धार गरी उपचारका लागि नजिकै रहेको काठमाण्डू मेडिकल कलेज शिक्षण अस्पताल लगिएको छ।

“एक जना क्याप्टेनलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ।”

घाइते विमानचालकको आँखा र निधारमा चोट लागेको र उनी "सकुशल" रहेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बीबीसीलाई बताए।

उनका अनुसार शवहरू महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पठाइसकिएको छ।

दुर्घटना भएको केही क्षणमै धावनमार्गनजिकै धुवाँको मुस्लो उठेको देखिने तस्बिर र भिडिओहरू सामाजिक सञ्जालमा देखा परेका थिए।

उक्त विमानबाट "केही पड्किएको आवाज आएको" सुनिएको विमानस्थलस्थित एक अधिकारीले बताएका छन्।

त्रिभुवन विमानस्थलनजिकै दुर्घटनास्थल

विमानमा को थिए

सौर्य एअरलाइन्सको विमान दुर्घटनास्थल
तस्बिरको क्याप्शन, सौर्य एअरलाइन्सको विमान धावनमार्गबाहिर उत्तरपूर्वी भागमा खाली ठाउँमा राखिएको एउटा कन्टेनरमा खसेको थियो

दुर्घटनामा परेका विमानमा सवार सबै जना सौर्य एअरलाइन्ससँग सम्बन्धित छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मृतकमध्ये एक बालक पनि छन्। सुरुमा सौर्य एअरलाइन्सले विमानचालकबाहेक विमानमा सवार १७ जना सबै आफ्ना कर्मचारी भएको जानकारी दिएको थियो।

सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार ती बालक सोही विमानमा पत्नीसहित चढेका एक कर्मचारीका छोरा हुन्।

कर्मचारीमध्ये एक जना विदेशी नागरिक भएको सौर्य एअरलाइन्सको विज्ञप्तिमा उल्लेख छ। सौर्य एअरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यका अनुसार आरेफ रेडा यमनका नागरिक हुन् र इन्जिनियरका रूपमा कार्यरत थिए।

उक्त विमानसेवा कम्पनीले विमानमा सवार सबै जनाको नाम सार्वजनिक गरेको छ।

सौर्य एअरलाइन्सको विमान दुर्घटनामा परेपछि दमकल र एम्बुलेन्स

नेपालमा भएका केही विमान दुर्घटना

  • मे २०२३ः सङ्खुवासभाको सिप्रुङमा सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा पर्दा एक यात्रुको उद्धारका क्रममा मृत्यु
  • जुलाई २०२३ः सोलुखुम्बु जिल्लामा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पर्दा मेक्सिकोबाट सगरमाथा हेर्न आएका एकै परिवारका पाँच जनासहित छ जनाको मृत्यु
  • ज्यानुअरी २०२३ः काठमाण्डूबाट चालकदलका चार र ६८ यात्रुसहित उडेको यती एअरलाइन्सको ATR 72 विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा पर्दा सबै जनाको मृत्यु
  • मे २०२२ - पोखराबाट जोमसोमका लागि उडेको एअरको यात्रुवाहक ट्विनअटर 9NAET विमान दुर्घटनामा पर्दा २२ जनाको मृत्यु
  • एप्रिल २०१९ - सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
  • फेब्रुअरी २०१९ - एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
  • सेप्टेम्बर २०१८ - गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
  • मार्च २०१८ - बाङ्ग्लादेशबाट नेपाल आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
  • फेब्रुअरी २०१६ - पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
  • मे २०१५ - भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त; छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
  • जुन २०१५ - सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
  • मार्च २०१५ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
  • फेब्रुअरी २०१४ - पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
  • सेप्टेम्बर २०१२ - काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
  • मे २०१२ - भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
  • सेप्टेम्बर २०११ - हिमालको दृश्यावलोकन अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डूनजिकै कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
  • डिसेम्बर २०१० - लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
  • अगस्ट २०१० - काठमाण्डूबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
  • अक्टोबर २००८ - लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
  • सेप्टेम्बर २००६ - सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।