सिम्रिक एअरको हेलिकप्टर सङ्खुवासभाको सिप्रुङमा दुर्घटना, उद्धारपछि एकको मृत्यु

तस्बिर स्रोत, RSS
सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका-४ सिप्रुङमा शुक्रवार सिम्रिक एअरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका एकजनाको उद्धारका क्रममा मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले “उद्धार गरेर ल्याइँदै गर्दा सङ्खुवासभाकै स्थानिय व्यक्ति भविन गुरुङको मृत्यु भएको” बीबीसीलाई बताए।
प्राधिकरणले हेलिकप्टरमा पाइलटसहित पाँचजना यात्रु रहेको जनाएको छ।
पाइलटसहित घाइते अन्यलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डू लगिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार दुर्घटना दिउसो सवा एक बजेतिर भएको थियो।
सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार उद्धारका लागि जिल्ला सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको थियो।
सिम्रिक एअरले समेत लुक्लाबाट आफ्नो अर्को हेलिकप्टरलाई उद्धारका लागि पठाएको थियो।

तस्बिर स्रोत, RSS
उद्धारपछि जिल्ला सदरमुकाममा ल्याएर थप उपचारका लागि घाइतेहरूलाई काठमाण्डू लागिएको बताइएको छ।
घटनास्थल काठमाण्डूबाट पूर्व झण्डै २०० किलोमिटरको हवाई दूरीमा पर्छ।
उक्त हेलिकप्टरले माथिल्लो अरुण जलविद्युत परियोजनाका लागि सामान बोक्ने काम गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।
यस दुर्घटनासँगै उड्डयन प्राधिकरणले सिम्रिक एअरका 'सबै हेलिकप्टरहरूको निरीक्षण' र उडान सञ्चालन तथा व्यवस्थापनका विषयमा कम्पनीको 'अडिट' का लागि उसका सबै उडानहरू रोकेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रतिवेदन अनुसार सन् २०१२-२०२२ बीचमा भएका हेलिकप्टरका १२ दुर्घटनामा २७ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो दुई दशकमा नेपालमा भएका हेलिकप्टर दुर्घटनामध्ये सिम्रिक एअरका चारवटा विमान दुर्घटना भएकामा एक घटनामा मात्र मानवीय क्षति भएको सरकारी प्रतिवेदनले देखाउँछ।












