सौर्य एअरलाइन्सको विमान किन एक महिनाका लागि पोखरा जाँदै थियो

तस्बिर स्रोत, Getty Images
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
बुधवार १८ जनाको ज्यान जाने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको विमान झन्डै दुई वर्षको अन्तरालमा गरिने "नियमित जाँचका लागि प्राविधिकहरू लिएर पोखरा जान लागेको" अधिकारीहरूले बताएका छन्।
'सी-चेक' भनिने उक्त विस्तृत निरीक्षणका लागि काठमाण्डूबाट पोखराका लागि उडेको केही क्षणमै क्यानडामा निर्मित उक्त विमान धावनमार्गनजिकै खसेको र त्यसमा आगो लागेको थियो।
उक्त विमानमा सवार १९ जनामध्ये अधिकांश सौर्य एअरलाइन्सका प्राविधिकहरू थिए।
विमानका मुख्य चालक मनीषरत्न शाक्यबाहेक अरू सबैको मृत्यु अधिकारीहरूले जनाएका छन्।
उनको काठमाण्डू मेडिकल कलेजमा उपचार भइरहेको छ।

विमानको अवस्था कस्तो थियो?
विमानहरूबारे जानकारी दिने वेबसाइट प्लेनस्पटर्स् डट नेटका अनुसार मोन्ट्रिओलमा २१ वर्षभन्दा अघि निर्माण भएको उक्त विमान सौर्य एअरलाइन्सलाई सन् २०१७ मा हस्तान्तरण गरिएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार विमानको प्राविधिक जाँच र मर्मत कार्यक्रमअन्तर्गत नियमित रूपमा परीक्षण गर्ने कार्यतालिकाअनुसार उक्त विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जाने अनुमति लिएको थियो।
“यो उक्त विमानको समग्र परीक्षण हुने भन्ने थियो। यहाँभन्दा पहिला उसले यस्तो किसिमको परीक्षण दुई चार वर्षअघि विदेशमा गर्ने गर्थ्यो। अहिले उसले आफ्नै जनशक्ति विकास गरेर पोखरामा हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ह्याङ्गरमा आफ्नै प्राविधिकमार्फत् त्यस्तो जाँच गर्नका लागि सो प्लेन पोखरा जान लागेको थियो।”
उक्त जहाजको उडान अवधि अझै बाँकी रहेकोले उड्नका लागि योग्य रहेको उनले बताए। “प्लेनको ५०-६० घण्टा उडान अवधि अझै बाँकी नै थियो। बिग्रिएपछि गर्ने खालको होइन, नियमित रूपमा गाडीहरू सर्भिसिङ गरे जस्तै गर्नुपर्ने खालको परीक्षणका लागि उड्ने क्रममा दुर्घटना भएको हो।”

विमान किन पोखरा जान लागेको थियो?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले ‘सी-चेक’ भनिने जाँचका क्रममा विमानको सम्पूर्ण पक्ष परीक्षण गरिने बताए।
“विमान उड्न कतिको योग्य छ भन्ने पक्षबाट पनि यसलाई हेर्नुपर्ने हुन्छ। सबै पार्टपुर्जाहरू खोलेर जाँच गर्ने गरिन्छ। सीटहरू हटाउनेदेखि लिएर भित्रका पुर्जाहरूको जाँच हुन्छ। यो नियमित रूपमा उडिरहेको जहाज हो। निश्चित घण्टाको उडान पूरा भएपछि गरिने यो काम हो।”
उड्डयन क्षेत्रका जानकारहरूका अनुसार सी-चेक प्रत्येक १८ देखि २४ महिनाको अन्तरालमा गरिने विमानहरूको विस्तृत खालको निरीक्षण हो। त्यसमा विमानको विभिन्न संरचना, प्रणाली र पार्टपुर्जाको जाँच गरिन्छ।

तस्बिर स्रोत, Reuters
त्यो पूरा गर्न एकदेखि चार हप्तासम्म लाग्ने बताइन्छ। विमान पूर्ण रूपमा राम्रो अवस्थामा रहेको र आवश्यक मर्मत र फेरबदल सम्पन्न भएको सुनिश्चित गर्न यो जाँच गरिने बताइन्छ।
सौर्य एअरलाइन्सले यस्तो प्राविधिक जाँच गराउनका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गर एक महिनाको लागि भाडामा लिएको थियो।
नियमित जाँचका लागि आउन लागेको विमान काठमाण्डूमा दुर्घटनाग्रस्त भएको खबर तत्कालै समाचारहरूमार्फत् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले पाएका थिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जशोदा सुवेदीले बीबीसीसँग भनिन्, “यहाँ हाम्रोमा सुविधासम्पन्न ह्याङ्गर छ। हामीलाई एक महिनाका लागि ह्याङ्गर चाहियो भनेर निवेदन दिनुभएको थियो। हामीले अनुमति दिएपछि उहाँहरू आउन लाग्नुभएको थियो।”
सौर्य एअरलाइन्सका अधिकारी के भन्छन्?
उक्त दुर्घटनामा पर्नेमध्ये अधिकांश सौर्य एअरलाइन्सका प्राविधिकहरू छन्। घाइते भएका सो विमानका क्याप्टेन शाक्य एअरलाइन्सका चीफ-अफ-अपरेशन पनि हुन्।
ज्यान गुमाउने सागर आचार्य उड्डयन सुरक्षा हेर्ने विभागका प्रमुख र दिलीप वर्मा गुणस्तर हेर्ने निकायका प्रमुख हुन्।
उक्त विमानमा एक यमनी प्राविधिक र एअरलाइन्सका एक कर्मचारीकी पत्नी र उनीहरूका नाबालाक छोरा पनि विवरणहरू पनि आएको छ।
सौर्य एअरलाइन्सका सेल्स र मार्केटिङ विभागका प्रमुख मुकेश खनालले संस्थाका धेरै सदस्य सो दुर्घटनामा परेको भन्दै प्राविधिक जनशक्ति त्यसमा सवार रहेको बताए।
“हामीले नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर उक्त जहाजलाई जाँचका लागि लैजान लागेका थियौ। बिग्रेको जहाजलाई लैजान खोजेको होइन। काठमाण्डूमा गर्नका लागि ह्याङ्गर थिएन। बर्खाको मौसम पनि छ। त्यही भएर हामीले उता लैजान खोजेका थियौँ।”

तस्बिर स्रोत, Reuters
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ बाट बिहान ११ः११ बजे उडेको केही सेकन्डमा नै उक्त विमान दुर्घटनाग्रस्त भएको थियो।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले सो विमानले उड्नेबित्तिकै सन्तुलन गुमाएको त्यसपछि दाहिनेतिर ढल्किएर जमिनमा बजारिएर खाल्डोमा खसेको बताएका छन्।
दुर्घटनास्थलको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री केपी ओलीले प्राधिकरणका उच्च अधिकारीहरूसँग दुर्घटनाको कारणबारे छलफल गरेका थिए। सहप्रबन्धक भुलका अनुसार अहिले नै के कारणले दुर्घटना भयो भन्न सकिने अवस्था छैन।
यद्यपि दुर्घटना भएको तरिका हेर्दा आकस्मिक रूपमा प्राविधिक समस्या उत्पन्न भएर त्यस्तो भएको हुन सक्ने प्रारम्भिक सङ्केत देखिएको उनले बताए।
प्राविधिक जनशक्ति सवार रहेको भनिएको उक्त दुर्घटनाग्रस्त विमानमा बालक कसरी सवार भए भन्नेबारेमा आफूहरूले थप बुझेर मात्रै उत्तर दिन सक्ने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका छन्।
छानबिन आयोग गठन
मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त विमान दुर्घटनाको कारण पत्ता लगाउन र यसबारे विस्तृत जाँच गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको नेतृत्वमा छानबिन आयोग गठन गरेको छ।
उक्त आयोगलाई आगामी दिनमा यस्ता दुर्घटना हुन नदिने सुझाव ४५ दिन भित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
उक्त आयोगमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपुराज ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डङ्गोल सदस्य छन्।
मन्त्रिपरिषद्को बैठकले आगामी दिनमा हावाई दुर्घटना हुन नदिन सबै वायु सेवा सञ्चालक कम्पनीले हवाईजहाजको निरन्तर परीक्षण गर्ने र नागरिक उड्डयन प्राधिकरणले त्यसको नियमित अनुगमन गराउने पनि निर्णय लिएको छ।
सरकारले उक्त दुर्घटनाबाट आफू स्तब्ध रहेको भन्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै बिहीवार देशभर आधा झण्डा झुकाउने निर्णय लिएको छ।
दुर्घटनामा घाइते भएका विमान चालक मनीषरत्न शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना पनि सरकारले गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








