दुर्घटनामा परेको विमानका क्याप्टेनले अस्पतालमा हात उठाउँदै भने, ‘ठिक छु’

क्याप्टेन मनीषरत्न शाक्य
तस्बिरको क्याप्शन, सन् २०२३ को ज्यानुअरीमा लिइएको क्याप्टेन मनीषरत्न शाक्यको तस्बिर
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

अठार जनाको ज्यान गएको सौर्य एअरलाइन्स विमान दुर्घटनामा एक जना मात्रै बाँच्न सफल भए। उनी हुन् क्याप्टेन मनीषरत्न शाक्य।

क्याप्टेन शाक्यको विमानस्थलभन्दा केही सय मिटरको दूरीमा रहेको सिनामङ्गलस्थित काठमाण्डू मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

बुधवार अपराह्न शल्यक्रियाका लागि शल्यक्रिया गर्ने कक्षमा लैजाने क्रममा शाक्यले आफ्नो अवस्थाबारे बुझ्न भेला भएका आफन्त र शुभेच्छुकलाई हात उठाएर आफू ठिकै भएको सन्देश दिए।

प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एअरलाइन्स विमान दुर्घटनाका घाइते क्याप्टेन मनीषरत्न शाक्यलाई भेट्न अस्पतालमा

तस्बिर स्रोत, PM's Secretariat

तस्बिरको क्याप्शन, प्रधानमन्त्री केपी शर्मा ओली पनि क्याप्टेन मनीषरत्न शाक्यलाई भेट्न अस्पताल पुगेका छन्

स्वास्थ्यकर्मीले गुडाउन मिल्ने शय्यामा शल्यक्रिया कक्षतर्फ बढाउँदै गर्दा शाक्यले दाहिने हात उठाएर अभिवादन गरे।

“अल गुड (सबै ठिक छ)?” भनेर आफन्तले टाढैबाट उनको अवस्थाबारे चासो राख्दा शाक्यले हात उठाउँदै भने, “एस, एस (हो, ठिक छु)।”

बीबीसी नेपालीकी संवाददाता सृजना श्रेष्ठ अस्पताल पुग्दा क्याप्टेन शाक्यका बुवाआमा व्याकुल देखिन्थे। अस्पतालमा उनको परिवार र आफन्तसहित नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि पनि उनको अवस्था बुझिरहेका थिए।

बुधवार साँझ प्रधानमन्त्री केपी शर्मा ओली पनि क्याप्टेन मनीषरत्न शाक्यलाई भेट्न अस्पताल पुगेका छन्।

विमान दु्र्घटना

कहाँ र कस्तो अवस्थामा थिए विमानचालक?

उक्त विमान दुई टुक्रा भएको थियो।

दुर्घटनास्थलबाट उनलाई सुरक्षाकर्मीहरूले उद्धार गर्दै गरेको तस्बिर नेपाल प्रहरीले सार्वजनिक गरेको छ।

उक्त तस्बिरमा उनको अनुहार रगतपच्छे देखिन्छ। होसमै भएका शाक्यलाई सुरक्षाकर्मीले समातेर दुर्घटनास्थलबाट निकाल्दै गरेको देखिन्छ।

विमानका कोपाइलट सुशान्त कटुवालसहित उक्त विमानमा सवार बाँकी सबैको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

विमानको एउटा टुक्रा धावनमार्गबाहिर उत्तरपूर्वी भागस्थित एउटा खाली ठाउँमा राखिएको एउटा कन्टेनरमा बज्रिएको थियो।

क्याप्टेन शाक्यलाई विमानको ककपिट भएको भाग ठोकिएको कन्टेनरनजिकै उद्धार गरिएको नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक डम्बर विश्वकर्माले बीबीसीलाई बताए।

"उहाँ ककपिटको एअरशील्ड खुलेको हुनाले निसासिँदै हुनुहुँदो रहेछ। हामीले झ्याल फोडेर उहाँलाई तत्काल बाहिर निकाल्यौँ," उनले भने।

उनका अनुसार ककपिटको छेउसम्मै आगो फैलिसकेको अवस्थामा पाइलटको जीवितै उद्धार गरिएको हो।

"उद्धार गर्दा उहाँको अनुहारभरि रगत थियो तर बोल्न सक्ने अवस्थामै हामीले अस्पताल पुर्‍याएका हौँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, विमान दुर्घटनामा ज्यान गुमाएका प्राविधिकका आफन्त के भन्छन्?

के विमानचालक खतरामुक्त छन्?

अस्पतालकी मेडिकल निर्देशक डा मीना थापाका अनुसार उनको टाउकोमा र अनुहारका विभिन्न ठाउँमा चोट लागेको छ।

उनले भनिन्, “हामीले शरीरका विभिन्न ठाउँका उहाँका चोटहरू उपचार गरेका छौँ। अहिले उहाँले न्यूरो सर्जरी वार्डमा निगरानीमा हुनुहुन्छ।”

डाक्टर थापाका अनुसार क्याप्टेन शाक्यको ढाडको हड्डी पनि भाँच्चिएको छ जसको शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ।

“हामीले दुई तीन दिनपछि ढाडको शल्यक्रिया गर्ने सोचिरहेका छौँ।”

क्याप्टेन मनीषरत्न शाक्य

तस्बिर स्रोत, Nepal Police

तस्बिरको क्याप्शन, क्याप्टेन मनीषरत्न शाक्यको घटनालगत्तै घाइते अवस्थामा उद्धार भएको थियो

चिकित्सकहरूका अनुसार उनको अवस्था खतरामुक्त देखिए पनि टाउकोमा चोट भएका व्यक्तिहरूलाई दुई दिन निगरानीमा राख्ने गरिन्छ।

उहाँको अवस्था खतरामुक्त छ भनेर भन्न सकिने अवस्था छ भन्ने बीबीसीको प्रश्नमा डा थापाले भनिन्, “त्यति गम्भीर नभए पनि अहिले नै खतरामुक्त हो भनेर ग्यारेन्टी गर्ने बेला चाहिँ भएको छैन।"

"टाउकोमा लागेको चोटको कहिलेकाहीँ पछि पनि असर देखिन सक्छ। त्यस कारण ४८ घण्टा न्यूरो आईसीयूमा नै निगरानीमा राख्छौँ।”

विमान दु्र्घटना

शाक्यले गत वर्षको ज्यानुअरीमा पोखरामा यती एअरको विमान दुर्घटनापछि विमान सुरक्षाका बारेमा केही मिथ्या सूचनाबारे बीबीसीसँग कुरा गरेका थिए।

त्यसमा उडिरहेको विमानको ढोका खोल्न मिल्छ भन्ने कतिपयको बुझाइको खण्डन गर्दै शाक्यले भनेका थिए, “उडिरहेको जहाजमा विशेष गरी प्रेसराइज्ड एअरक्राफ्टहरूमा हावामा (मिड-एअरमा) ढोका खोल्न मिल्दैन।”

उनले त्यसलाई बुझाउँदै भनेका छन्, “किन मिल्दैन भन्दाखेरि ढोकामा प्रेसरलक हुन्छ। त्यो प्रेसरको विरुद्ध खोल्नुपर्ने भएकोले त्यो ढोका खोल्न सम्भव छैन।”

उनले हावामा १०,००० वा १२,००० फिटभन्दा माथिको उचाइमा पुग्दा अक्सिजनको मात्रा कम हुने भएकोले जहाजलाई चापमा राखेर गरेर ८,००० फिटको क्याबिन एल्टिट्यूड मेन्टेन गरिएको हुने बताएका थिए।

तर जहाज ३०,००० वा ४०,००० फिट सम्म उड्ने भएकाले उच्च दबाव व्यवस्थित गरिने भएकोले त्यसविरुद्ध ढोका खोल्न सम्भव नहुने बीबीसीसँग बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।